काठमाडौं– कोभिड महामारीको बेला देशभर लकडाउन भयो। सार्वजनिक यातायातहरू बन्द भए। सोही समय चितवनबाट एक युवती मालबाहक ट्रकमा काठमाडौं आउँदै थिइन्। तर त्यो यात्रा उनको लागि सुरक्षित भएन।
बाटोमा उनलाई ट्रक चालकले बलात्कार गरे। त्यसपछि बीच बाटोमै फालिदिएर हिँडे। प्रहरीले उनलाई भेटेपछि उपचारका लागि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल लगे। उनको अवस्था निकै नाजुक बनिसकेको थियो। ती युवतीको उपचार अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) अन्तर्गत भएको थियो।
000
लकडाउनकै बेला २१ वर्षीया युवती गोरखाबाट काठमाडौं आउने क्रममा बाटोमै बलात्कृत भइन्। सार्वजनिक यातायात नचल्दा उनी पनि ट्रक चालकसँग अनुरोध गरेर आएकी थिइन्। खाजा खाने भन्दै ट्रक चालक र सहचालक ती युवती लिएर एक गेस्ट हाउसमा पसे।
युवती उनीहरू दुवैबाट गेस्ट हाउसमै बलात्कृत भइन्। प्रहरीले समयमै अस्पताल नपुर्याएको भए उनको मृत्युसमेत हुन सक्ने प्रसूति गृहकी ओसीएमसी कार्यक्रम इन्चार्ज एवं सिनियर नर्सिङ अफिसर सुकमाया लामा सम्झन्छिन्। योनीमा गम्भीर चोटपटक भएका कारण ती युवतीको शल्यक्रिया नै गर्नु परेको उनी बताउँछिन्।
प्रसूति गृहमा वर्षेनी बढ्दै सेवा लिनेको संख्या
ओसीएमसी कार्यक्रम इन्चार्ज सुकमायाले विगत १० वर्षदेखि बलात्कार पीडितको उपचार गरिरहेकी छन्। तीन वर्षको बालिकादेखि ९२ वर्षको वृद्धासम्म यौन हिंसामा परेको उनी बताउँछिन्।
बलात्कार, बलात्कार प्रयास जस्ता तीन/चार वटा घटना दैनिक प्रसूति गृहको ओसीएमसी पुग्छन्। यो क्रम वर्षेनी बढ्दो भएको ओसीएमसीको तथ्यांकले देखाउँछ।
गएको जेठमा मात्र ५१ जना महिलाले ओसीएमसीमार्फत उपचार सेवा पाए। गत पाँच वर्षमा एक हजार ८९९ जनाले ओसीएमसीमार्फत उपचार गराएका छन्। आर्थिक वर्ष २०७३/७४ मा २१५, २०७४/७५ मा २९५, २०७५/७६ मा ५८१, २०७६/७७ मा ३०८ र २०७७/७८ मा ५०० जनाले ओसीएमसीमा सेवा लिएको अस्पतालको तथ्यांक छ।
यो तथ्यांकले पनि यौन हिंसा वर्षेनी बढिरहेको स्पष्ट पार्छ। २०७३/७४ बाट बढ्न थालेका घटना २०७६/७७ मा कोरोना र लकडाउनका कारण केही घटेको छ। तापनि, उक्त अवधिमा ३०८ जनाले ओसीएमसीमा सेवा लिएका छन्। कोरोना महामारीपछि भने ओसीएमसीमा सेवा लिन आउनेको संख्या पुनः बढेको छ।
ओसीएमसीबारे अझै पनि जनचेतना बढाउन आवश्यक रहेको लामा बताउँछिन्। प्रत्येक विद्यालयमा रहेका सबै नर्सलाई ओसीएमसीबारे अभिमुखीकरण गर्न सके उनीहरूले बालबालिकालाई यसबारे बुझाउन सक्ने उनले बताइन्। धेरै बालबालिकाहरू आफन्त र शिक्षकबाटै यौनजन्य हिंसामा परिरहेको उनको भनाइ छ।
‘विद्यालय नर्स त अहिले धेरै विद्यालयहरूमा छन्। उनीहरूलाई लैङ्गिक/यौन हिंसा भनेको के हो? हिंसा भए कहाँ उजुरी दिने? ओसीएमसी भनेको के हो? उपचार सेवा के छन्? पैसा लाग्छ/लाग्दैन लगायत विषयमा अभिमुखीकरण दिनुपर्छ,’ उनले भनिन्, ‘विद्यालय उमेरका बालबालिकालाई यति जानकारी मात्र दिन सके उनीहरू हिंसाप्रति सचेत हुन सक्छन् र प्रतिकार पनि गर्न सक्छन्।’
ओसीएमसीले गम्भीर प्रकृतिका पीडितलाई रिफर पनि गर्ने गरेको छ। मेजर सर्जरी गर्नुपर्ने, मानसिक परामर्श आवश्यक भएका, साना बालबालिकाको उपचार चाहिनेहरूलाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, मानसिक अस्पताल र कान्ति बाल अस्पतालमा रिफर गर्ने गरिएको प्रसूति गृहकी ओसीएमसी प्रमुख डा सपना अमात्य वैद्यले बताइन्।
आफ्नै श्रीमानबाट यौनजन्य हिंसा बढी
प्रसूति गृह पुगेका ६५ प्रतिशतभन्दा बढी पीडित नेपाल प्रहरीको सहयोगमा आइपुग्छन्। अन्य संघसंस्था, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पनि उपचार लिन आउँछन्। तर, आफैँ स्वविवेकले आउने भने कमै रहेको ओसीएमसी प्रमुख वैद्य बताउँछिन्।
प्रसूति गृहमा आउने पीडितमध्ये अधिकांश श्रीमान्बाटै हिंसामा परेका हुन्छन्। वैद्य भन्छिन्,‘अधिकांश महिलाहरू आफूलाई यौन शोषण भएको भनेर यहाँ आउँदैनन्। शारीरिक हिंसा भएपछि आउँछन्। धेरैजसो आफ्नै श्रीमानबाट यौनजन्य हिंसामा परेकाहरू हुन्छन्। त्यसबाहेक परिवारका सदस्य र छिमेकीहरूबाट पनि यौन शोषण भएको पाइन्छ।’ १० देखि ५५ वर्षका महिला बढीजसो हिंसामा पर्ने गरेको उनको भनाइ छ।
ओसीएमसी सेवाका लागि टोल फ्रि नम्बर राख्ने योजना भएपनि पर्याप्त जनशक्ति नहुँदा सुरु गर्न नसकिएको वैद्यले बताइन्। ‘टोल फ्रि नम्बर राखेपछि एक/दुई जनशक्ति निरन्तर रुपमा बस्नुपर्छ। आठ–आठ घण्टाको ड्युटी गरेपनि ६ जना स्टाफ त चाहिन्छ। आज सुरु गरेर भोलि बन्द गर्दा राम्रो हुँदैन,’ उनले भनिन्।
प्रसूति गृहमा ओसीएमसी कार्यक्रम २०६९ सालदेखि नै लागू भएको हो। ओसीएमसी कार्यक्रम सञ्चालनका लागि डा वैद्यसहित सात जना नर्सिङ स्टाफ पनि छन्। यो सेवा २४ घण्टा नै उपलब्ध छ।
डा वैद्य ओसीएसमी कार्यक्रम सुरु भएदेखि नै यसमा आबद्ध छिन्। हाल ओसीएमसी कार्यक्रम व्यवस्थित बन्दै गएपनि सुरुवाती दिनमा उनलाई सेवा दिन निकै अप्ठ्यारो हुने गर्दथ्यो। त्यति बेला आफूले तालिम तथा अभिमुखीकरण नपाएका कारण सेवा दिन अप्ठ्यारो भएको उनले बताइन्।
प्रसूति गृहमा मात्र नभएर यो कार्यक्रम लागू भएका सबै अस्पतालमा सेवा लिनेहरूको संख्या बढ्दो छ। राष्ट्रिय ट्रमा सेन्टरमा गएको चैतदेखि ओसीएमसी कार्यक्रम लागू भएको छ। गएको चार महिनामा १८ जनाले ओसीएमसी कार्यक्रम मार्फत सेवा लिएको फोकल पर्सन सुमन चौधरीले जानकारी दिइन्।
राष्ट्रिय ट्रमा सेन्टरमा आउने अधिकांश घटना घरेलु हिंसाकै हुन्छन्। मादक पदार्थ सेवन गरी श्रीमान्ले कुट्दा घाइते भएकाहरू उपचारमा आउनेको संख्या धेरै छ। कार्यक्रम भर्खरै सुरु भएकाले ट्रमा सेन्टरमा भौतिक पूर्वाधार थप्न बाँकी रहेको चौधरीले बताइन्।ओसीएमसी कार्यक्रम लागू नहुँदा पहिले पीडितको गोपनियताको सुरक्षा गर्न र सेवा दिन असहज हुने गर्दथ्यो। अहिले सेवा दिन सहज भएको उनले बताइन्।
के हो ओसीएमसी कार्यक्रम?
लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले लागू गरेको कार्यक्रम हो अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) कार्यक्रम।
लैङ्गिक हिंसा पीडित वा प्रभावितहरूलाई आवश्यक सबै सेवा जतिसक्दो चाँडो एकद्वार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य भएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनीदेवी कार्कीले बताइन्। ओसीएमसी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारीसमेत गरिसकेको छ।
१० वर्षमा यो कार्यक्रम ७७ जिल्लाको ८८ वटा अस्पतालमा विस्तार भइसकेको कार्कीले बताइन्। ओसीएमसी कार्यक्रममार्फत सरकारले विशेषगरी सात प्रकारका सेवाहरू उपलब्ध गराउँदै आएको छः
१.स्वास्थ्य उपचार
२.मनोसामाजिक परामर्श
३.चिकित्सकीय कानूनी सेवा
४.सुरक्षा
५.आश्रय
६.कानूनी उपचार
७.पुनर्स्थापना केन्द्र
नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गुनासो हेर्दा सबैभन्दा धेरै घरेलु हिंसाका घटना बढी देखिएको उनले बताइन्।
घरेलु हिंसामा कुटपिट, यातना, दुव्र्यवहार र हिंसा बढी छन्। हिंसाका प्रकार ठाउँअनुसार भिन्न छन्। मधेश प्रदेशमा दुव्र्यवहार, कुटपिट, विभेद, दाइजो नल्याएको र बोक्सीको आरोपमा हुने हिंसा धेरै छन्। घरेलु हिंसासँगै बलात्कार र बलात्कार प्रयासका घटना पनि बढी छन्।
अघिल्लो आर्थिक वर्षमा झण्डै नौ हजार जनाले ओसीएमसीमार्फत सेवा लिए। कार्यक्रम लागू भएका अस्पतालहरूले सेवा लिएकाको अभिलेख राख्छन्। ओसीएमसी सम्बन्धी जानकारी तथा तथ्यांक स्वास्थ्य मन्त्रालयको एकीकृत स्वास्थ्य सूचना प्रणालीमा राख्ने तयारी भइरहेको कार्कीले बताइन्।
वर्षेनी बढ्दै बलात्कार र घरेलु हिंसाका घटनाहरू
ओसीएमसी मार्फत सेवा लिने व्यक्तिको संख्या वर्षेनी बढ्नुलाई दुई प्रकारले अथ्र्याउन सकिन्छ। एक, बलात्कार र घरेलु हिंसाका घटनामा वृद्धि र दोस्रो, ओसीएमसी कार्यक्रमप्रतिको बढ्दो सचेतना।
नेपाल प्रहरीको विगत पाँच वर्षको तथ्यांकले बलात्कार, बलात्कार प्रयास र घरेलु हिंसाका घटना वर्षेनी बढ्दै गएको पुष्टि गर्छ। पाँच वर्षमा ९ हजार ५१७ महिला तथा बालबालिका बलात्कृत भएकाछन् भने ३ हजार ४७१ जनामाथि बलात्कारको प्रयास भएको छ। ६४ हजार ५९८ महिला घरेलु हिंसामा परेका छन्।
आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ मा ९ हजार ५१७ जना बलात्कार र ३ हजार ४७१ जनामाथि बलात्कारको प्रयास भएको छ। आव २०७३/७४ मा १ हजार १३१, २०७४/७५ मा १ हजार ४८०, २०७५/७६ मा २ हजार २३०, २०७६/७७ मा २ हजार १४४ र २०७७/७८ मा २ हजार ५३२ जना बलात्कृत भएको प्रहरीको तथ्यांक छ। यस्तै, २०७३/७४ मा ५३६, २०७४/७५ मा ७२७, २०७५/७६ मा ७८६, २०७६/७७ मा ६८७ र २०७७/७८ मा ७३५ जना माथि बलात्कारको प्रयास भएको छ।
बलात्कारका मात्र होइन, घरेलु हिंसाका घटनाको ग्राफ पनि वर्षेनी उकालो लाग्दो छ। आव २०७३/७४ मा ११ हजार ६२९ महिला घरेलु हिंसामा परे। यो संख्या बढ्दै २०७४/७५ मा १२ हजार २२५ पुग्यो। २०७५/७६ मा १४ हजार ७७४, २०७६/७७ मा ११ हजार ७३८ र २०७७/७८ मा १४ हजार २३२ जना महिला घरेलु हिंसाबाट पीडित भएको प्रहरीको तथ्यांक छ।
अशिक्षा, गरिबी, पितृसत्तात्मक सोचका कारण बलात्कारजन्य र घरेलु हिंसाको घटना बढ्दै गइरहेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख कार्कीले बताइन्। सरकारले लैङ्गिताको आधारमा हिंसा हुन नदिने र हिंसा प्रतिकार गर्न सक्ने खालको वातावरण निर्माण गर्नुपर्ने उनी बताउँछिन्।
‘हिंसा प्रतिकार गर्ने क्रममा व्यक्तिको मृत्यु हुन्छ भने पनि सजाय नहुने भनेर हाम्रो प्रचलित कानूनले नै भनेको छ। तरपनि महिलाहरू हिंसा प्रतिकार गर्ने स्तरमा अझै पुगिसकेका छैनन्,’उनले भनिन्, ‘श्रीमानले हिंसात्मक व्यवहार गरे पनि महिलाहरूसहेर बस्न बाध्य भइरहेका छन्। उनीहरूमा हिंसा प्रतिकार गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता छ।’
सरकारको छैन आफ्नै पुनर्स्थापना केन्द्र
ओसीएमसी कार्यक्रमलाई थप विस्तार गरी सुदृढीकरण गर्दै लैजाने सरकारले जनाएको छ। तर, सरकारको आफ्नै पुनर्स्थापना केन्द्र भने छैन।
आफ्नै पुनर्स्थापना केन्द्र नहुँदा अल्पकालीन र दीर्घकालीन पुनर्स्थापना केन्द्रमा हिंसा पीडितलाई राखिने गरेको छ। यसरी राख्दा समस्या हुने गरेको कार्की बताउँछिन्। पुनर्स्थापना केन्द्र खोल्नका लागि स्थानीय तहले अग्रसरता लिनुपर्ने उनले बताइन्।
हिंसा नै हुन नदिने र हिंसा भइहाले प्रतिकार गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उनको जोड छ। त्यही सुरक्षित वातावरण निर्माणका लागि आफुहरूले प्रयास गरिरहेको उनले बताइन्। उनी भन्छिन्, ‘ओसीएमसी भनेको घटना भएपछि मात्र काम गर्ने ठाउँ हो। तर, अब हिंसा हुन नदिने वातावरण बनाउनेदेखि उनीहरूलाई मर्यादित जीवन बिताउन प्रयास गर्नुपर्ने हुन्छ। यसका लागि सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने हाम्रो योजना छ।’
हिंसाबाट पीडित व्यक्तिका लागि कार्यक्रम राम्रो भएपनि स्वास्थ्य मन्त्रालयको सक्रियताले मात्र नपुग्ने उनको भनाई छ। एकीकृत सेवा सञ्चालन आफैँमा चुनौतीपूर्ण भएकाले सबै निकायको महत्वपूर्ण भूमिका हुने उनले बताइन्। कार्यक्रम प्रति लक्षित वर्गले अपनत्व लिन सक्ने वातावरण बनाउन पनि सबै निकाय एकजुट भएर लाग्नुपर्ने उनले बताइन्।
‘अस्पतालले तीन वटा सेवा मात्र प्रत्यक्ष रुपमा दिन सक्छ। बाँकी त अन्य निकायसँगको समन्वयमा दिने हो। यो कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न अझ बढी सुदृढीकरण गर्न लक्षित वर्गमा कार्यक्रम प्रति अपनत्व बढाउनु पर्छ,’ उनले भनिन्, ‘यो कार्यक्रम मेरो हो, मैले त्यहाँ गए भने सेवाहरू पाउँछु भन्ने कुराहरूको जानकारी दिनुपर्ने जस्ता कुराहरूसुधार गर्नुपर्ने विषयहरू पनि छन्।’
अझै पनि यो कार्यक्रमप्रति हिंसामा परेका व्यक्तिहरूको अपनत्व वा जानकारी जति हुनुपर्ने हो त्यति हुन नसकेको उनले बताइन्। स्वास्थ्य मन्त्रालयको अग्रसरताले मात्र एकीकृत सेवा र ओसीएमसी कार्यक्रम प्रभावकारी रुपमा अघि बढ्न नसक्ने हुँदा नेपाल प्रहरी, महिला आयोग, महिला मन्त्रालय सबैको महत्वपूर्ण भूमिका हुने कार्कीको भनाइ छ।