काठमाडौं - नर्भिक अस्पतालका पेट रोग विशेषज्ञ डा सन्दीपराज कुँवरले पेटमा सिक्का, पीन, चुच्चो हड्डी अड्किएका धेरै बिरामीको बिना शल्यक्रिया उपचार गरेका छन्।
तर उनले आफ्नो जीवनमा पहिलो पटक पेटमा चम्चा अड्किएका बिरामीको उपचार गरे। उनका लागि यो घटना नयाँ अनि चुनौतीपूर्ण थियो। एक १७ वर्षीया किशोरीको आमाशयमा अड्किएको चम्चा निकाल्नु डा कुँवरको लागि सहज थिएन। त्यो पनि बिना शल्यक्रिया।
कुनै धारिलो वस्तु पेटसम्म पुगे त्यसले आन्द्रामा प्वाल पार्ने, घाउ बनाउने र आन्तरिक रक्तश्राव हुने सम्भावना बढी हुन्छ।
उनी भन्छन्, ‘धारिलो वस्तु पेटसम्म पुग्दा त्यसलाई निकाल्न निकै गाह्रो हुन्छ। त्यसले आन्द्रामा प्वाल पार्ने, घाउ बनाउने, खाना अड्किने जस्ता सम्भावना धेरै हुन्छ। त्यसैले यो जटिल खालको उपचार हो।’
कसरी निकालियो पेटभित्र पुगेको १०/१२ सेन्टिमिटरको चम्चा?
आइतबार साँझ एक १७ वर्षीया किशोरी पेट दुखेको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा पुगिन्। उनले पेटमा चम्चा अड्किएको बताइन्। एक्सरे गरेर हेर्ने क्रममा उनको आमाशयमा १०/१२ सेन्टिमिटर लामो चम्चा अड्किएको देखियो।
शल्यक्रिया गर्दा उपचार प्रक्रिया जटिल हुने भएकाले डा कुँवर सहितको टिमले इण्डोस्कोपी मार्फत पेटमा अड्किएको चम्चा निकाल्ने प्रक्रिया सुरु गरे। यसका लागि उनीहरुले इण्डोस्कोपी गर्दा ‘विथ र्याट टुथ टुल्स’ अर्थात उपचारमा प्रयोग हुने मुसाको दाँत जस्तो चिम्टी आकारको प्रविधि प्रयोग गरेका थिए। डा कुँवरका अनुसार इण्डोस्कोपी प्रविधिबाट बिरामीको मुखबाट उक्त टुल्स छिराएर पेटमा रहेको चम्चालाई च्यापेर बाहिर निकालिएको हो।
पेटमा अड्किएको चम्चा निकाल्न उनीहरुलाई ४५ मिनेट लागेको डा कुँवरले जानकारी दिए।
के गर्दा छिर्यो पेटमा चम्चा?
ती किशोरीमा एनोरेक्सिया नर्भोसाको समस्या रहेको डा कुँवरले बताए। यो समस्या भएका व्यक्तिले खाना खाएपछि मोटाउने डरले बान्ता गर्ने गर्छन्। ती युवतीले पनि खाना खाएपछि मुखमा चम्चा राखेर बान्ता गर्ने क्रममा चम्चा पेटभित्र गएको थियो।
‘ती युवतीले खाना खाएपछि बान्ता गराउन खोजिएको देखिन्छ। चम्चाको सहायताले बान्ता गराउन खोज्दा चम्चा पेट भित्र पसेको हो’ डा कुँवरले भने।
हाल ती किशोरी उपचारपछि डिस्चार्ज भएकी छिन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। यस किसिमको जटिल उपचार जीवनमा पहिलो पटक गरेको डा कुँवर सुनाउँछन्।
उनले भने, ‘मैले बच्चाको पेटमा सिक्का, पीन, हड्डीहरु अड्किएको उपचार गरे। तर पेटभित्र चम्चा अड्किएको जटिल इण्डोस्कोपी मैले पहिलो पटक गरे। बिरामी अस्पताल आउन ढिला भएको भए आन्द्रामा प्वाल पर्ने, घाउ हुने संभावना हुन्थ्यो। समयमै उपचार भएका कारण बिरामी सुरक्षित भयो।’
डा कुँवर सहित एनेस्थेसिस्ट डा ज्योति श्रेष्ठ, शल्यक्रिया विभागका डा सञ्जय पौडेल लगायतको टिमले उपचार गरेको थियो।