काठमाडौं- बिरामीको शरीरमा चढाइने रगत सुरक्षित हुनुपर्दछ। दाताबाट प्राप्त गरेको रगत असुरक्षित भए बिरामीको शरीरमा सामान्यदेखि जटिल खालका असर (प्रतिक्रिया) देखिन सक्छन्। बिरामीको सुरक्षाका लागि रक्तदाताले रक्तदान गरेदेखि बिरामीमा चढाउने बेला र चढाइसकेपछि निगरानी गर्नु आवश्यक छ। रक्तसञ्चार सेवा सुरक्षामा सुधार ल्याउन र वितरण गरिएको रगतबाट बिरामीमा कुनै कारणवश देखापर्न सक्ने असरको बारेमा अध्ययन गर्न सरकारले ‘हेमोभिजिलेन्स कार्यक्रम’ लागू गरेको छ।
रगत माथिको निगरानी गर्नु नै, हेमोभिजिलेन्स हो।
बिरामीको सुरक्षाको हिसाबले रगत माथि निगरानी बढाउनु आवश्यक मानिन्छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सन् २०१७ देखि विभिन्न १६ वटा अस्पतालहरुमा हेमोभिजिलेन्स कार्यक्रम लागू गरेको छ। बिरामीको सुरक्षालाई केन्द्रित गरेर यो कार्यक्रम सुरु गरिएको प्रयोगशालाकी निर्देशक डा रुना झाले बताइन्।
उनले भनिन्, ‘चढाउने रगत बिरामीको लागि सुरक्षित हुनुपर्यो। रगत चढाउनुको आफ्नै साइड इफेक्टहरु पनि छन्। त्यसैले अत्याश्वयक र ज्यानलाई जोखिम नभएसम्म रगत चढाउनु हुँदैन। चढाइएको रगत बिरामीको लागि बढीभन्दा बढी सुरक्षित होस् भनेर रगतको ट्रान्सफ्युजन माथि निगरानी बढाउनु जरुरी छ।’
प्रयोगशालाले गत चार वर्षमा ३० हजार ४७९ जनाको ब्लड ट्रान्सफ्युजन मनिटरिङ्ग गरेको हेमोभिजिलेन्सको वार्षिक प्रतिवदेन सार्वजनिक गरेको छ। जमसध्ये ५४१ जनामा सामान्य किसिमको ट्रान्सफ्युजन प्रतिक्रिया देखिएका थिए। रक्त सञ्चार सेवामा हेमोभिजिलेन्स अर्थात् रगत माथिको निगरानी बढाउने काम वर्षेनी बढ्दै गएको निर्देशक रुना झाले बताइन्।
सन् २०१७ मा हेमोभिजिलेन्स सम्बन्धी गाइडलाइन बनेपछि यो कार्यक्रम सन् २०१८ देखि मात्र सुरु भएको थियो। दुई सरकारी र दुई निजी अस्पतालबाट यो कार्यक्रम सुरु गरिएको थियो। परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहिद गंगालाल ह्रदयरोग केन्द्र, ओम अस्पताल र नेपाल क्यान्सर अस्पतालमा पाइलटिङ्गको रुपमा यो कार्यक्रम सुरु गरिएको थियो।
कार्यक्रम लागू भएको पहिलो वर्ष सन् २०१८ मा १ हजार १२ जनामा रगतको निगरानी गर्दा १३२ जनामा सामान्य खालको प्रतिक्रिया देखिएको थियो। सन् २०१९ मा १ हजार ५६१ जनाको निगरानी गर्दा १७२, २०२० मा ९ हजार २१० जनाको निगरानी गर्दा १८४ जना र २०२१ मा १८ हजार ६९६ जनाको निगरानी गर्दा ५३ जनामा सामान्य खालको प्रतिक्रिया देखिएको प्रतिवदेनमा उल्लेख छ। निगरानी गर्ने क्रम बढीरहँदा रगत चढाउने क्रममा देखिने प्रतिक्रियाहरु भने घट्दै गएको निर्देशक झाले बताइन्।
उनले भनिन्, ‘अस्पतालहरुमा रगत चढाइएको व्यक्तिको निगरानी गर्ने क्रम बढ्दो छ। तर रगत चढाउने क्रममा बिरामीको शरीरमा देखिने प्रतिक्रियाहरु भने घट्दो छ। यो कार्यक्रमको प्रभावकारिता हो भनेर बुझ्न सकिन्छ।’
रगत चढाउने क्रममा प्रतिक्रिया देखिएकामध्ये ८१ प्रतिशतमा ज्वरो, ९/९ प्रतिशतमा चिसो लाग्ने तथा श्वासप्रश्वासमा कठिनाइ र एक प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको थियो। हालसम्म गम्भीर खालको समस्या नदेखिएको प्रयोगशालाले जनाएको छ।
हाल १६ वटा अस्पतालहरुले अस्पताल ट्रान्सफ्युजन समिति गठन गरेर रगत माथिको निगरानी गर्दै आएको छ। रगतको संकलन, रक्ततत्व तयारीदेखि बिरामीलाई रगत चढाउँदासम्ममा निगरानी गर्ने तथा वितरण गरिएको रगतबाट बिरामीमा कुनै कारणवश देखापर्ने असरको बारेमा अध्ययन गरिन्छ। वितरण गरिएको रगतबाट बिरामीमा देखापर्न सक्ने असर तथा प्रतिक्रियाका कारण पत्ता लगाई आगमी दिनमा दोहोरिन नदिनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो।
जहाँ मेडिकल सुपरिटेण्टेन्ट/निर्देशक, गाइनोकोलोजिस्ट/सर्जन/अन्कोलोजिस्ट/एनेस्थेसिष्ट/फिजिसियन, अस्पताल प्रशासक लगायत गरी सात जनाको समिति हुने गर्दछ। यो समितिले मासिक रुपमा रिर्पोटिङ गरेपनि अध्ययन तथा विश्लेषण भने वार्षिक रुपमा हुने गर्दछ।
यो भोलेन्टिएर कार्यक्रम हो। अर्थात् यी १६ वटा अस्पतालहरु स्वतःस्फूर्त रुपमा आफैँ आवद्ध भएका हुन्। सरकारले यो कार्यक्रम लागू गर्न अस्पतालहरुलाई अनिवार्य रुपमा नियम लगाइएको छैन। रक्तसञ्चार सेवाको गुणस्तरको लागि यो कार्यक्रम आवश्यक देखिएपनि अझै धेरै अस्पतालहरुले यो कार्यक्रम लागू गरेको देखिदैन।
हेमोभिजिलेन्स सेवा सुरु गर्ने अस्पतालहरु:
१. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
२. नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर
३. नेपाल मेडिकल कजेल शिक्षण अस्पताल
४. किस्ट मेडिकल कलेज शिक्षण अस्पताल
५. नेपाल मेडिसिटी अस्पताल
६. नेपाल रेडक्रस सोसाइटी
७. अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल
८. मनमोहन मेमोरियल मेडिकल कलेज
९. हिमाल अस्पताल
१०. नोबेल अस्पताल
११. कान्तिपुर अस्पताल
१२. नर्भिक अन्तर्राष्ट्रिय अस्पताल
१३. वीर अस्पताल
१४. एपीएफ अस्पताल
१५. नेपाल पुलिस अस्पताल
१६ करुणा अस्पताल
काठमाडौं उपत्यका बाहिरका अस्पतालमा पनि यो कार्यक्रम लागू गर्न आग्रह स्वरुप पत्र पठाउने तयारी भएको निर्देशक झाले बताइन्। रगतको ट्रान्सफ्युजन बढी हुने ठूला नीजि तथा सरकारी अस्पतालहरुलाई पनि यो कार्यक्रममा आवद्ध हुन उनको आग्रह छ।
‘अहिलेसम्म यो लाइसेन्ससँग जोडिएको विषय नभएको या कार्यक्रम अनिवार्य रुपमा लागू गर्नुपर्ने छैन। त्यसैले पनि धेरै जना यो कार्यक्रममा जोडिनु भएको छैन। यो कार्यक्रममा आवद्ध हुन हामी सबै अस्पतालहरुलाई आग्रह गर्दछौँ।’ उनले भनिन्।