छोटो समयमै सफलताको सिँढी उक्लिने थोरै हुन्छन् । तिनैमध्येका एक हुन्– नरेशकुमार श्रेष्ठ । सन् १९८२ मा भारतीय ग्ल्याक्सो कम्पनीको मेडिकल रिप्रेन्जेटिभ (एमआर) का रूपमा करिअर थालेका श्रेष्ठ मिहिनेत, भिजन र इमान्दारीका कारण अहिले पानस फर्मास्युटिकल्सको मार्केटिङ डाइरेक्टर (एमडी)का रूपमा मात्रै नभएर नेपालको औषधि क्षेत्रकै चर्चित व्यक्तित्व बन्न पुगेका छन् ।
ग्ल्याक्सोमा झन्डै आठ वर्ष काम गरेपछि श्रेष्ठ नेपाल फर्मास्युटिकल्स ल्याबरोटरिज (एनपिएल) मा फस्ट लाइन म्यानेजर हुँदै मार्केटिङ विभागको उपाध्यक्षसम्म बन्न सफल भए । एनपिएलमा १८ वर्ष बिताएका उनलाई उद्योग कसरी अगाडि बढाउने पूर्ण ज्ञान छ । त्यसैले त उनी हरेक कम्पनीको रोजाइमा पर्छन् । प्रतिस्पर्धाले नै मानिसलाई उत्कृष्टता हासिल गर्न सघाउँछ ।
औषधि क्षेत्रमा प्रवेश गर्नुअघि उनी विराटनगरको एक विद्यालय पढाउँथे र विद्यार्थीका प्यारा विज्ञान शिक्षक पनि थिए । उनको करिअरको सुरुआततिर न नेपाली औषधि उद्योग धेरै थिए, न त डाक्टर नै । तर, थोरै भए पनि डाक्टरहरू नेपाली औषधिका बारेमा जान्न उत्सुक हुन्थे, प्रशस्त समय दिन्थे, प्रोत्साहन पनि गर्थे । बजार प्रतिनिधि र डाक्टरबीच बिरामीको हकहितमा कुरा हुन्थे ।
अहिले दुवैको संख्या बढेको छ र प्रतिस्पर्धा पनि चर्को छ । उनको अनुभव छ, “अहिले डाक्टरहरूमा औषधिका बारेमा सुन्ने समय कम भएको छ । त्यसले कतिपय अवस्थामा बिरामीलाई पनि समस्या पारेको छ ।” कम्पनी र डाक्टरबीचको संवादहीनताले ‘अनइथिकल मार्केटिङ प्राक्टिस’ बढाएको उनको अनुभव छ । अहिलेको प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादन र संस्थालाई स्थापित गर्नु निकै ठुलो चुनौती रहेको श्रेष्ठको अनुभव छ । उनलाई लाग्छ ‘कन्टिन्यु इम्प्रुभमेन्ट इज ह्वाट वी बिलिभ ।’
हरेक डाक्टरको मनमा बस्न सिपालु श्रेष्ठले छोटो अवधिमै पानसलाई सफलताको बाटोमा पु¥याएका छन् । उनको अनुभवमा सबै उद्योग बिक्री बढाउन लागेका छन् । तर, ज्ञान बढाउनेमा कोही लागेको देखिँदैन । त्यसैले नेपाली उत्पादन विदेशीसँगको प्रतिस्पर्धामा झन् पछाडि परेको स्थिति छ । त्यसैले औषधि उद्योग सञ्चालनअगावै खास कुन बाटो जाने हो, त्यो पहिल्याउनु जरुरी हुन्छ ।
हरिगोपाल पौडेल, मार्केटिङ म्यानेजर
म उहाँसँग १६ वर्षदेखि काम गरिरहेको छु । उपभोक्ताको चाहना र सन्तुष्टि बुझेर काम गर्दा नै नतिजा राम्रो आउँछ भन्ने उहाँको मान्यता छ । उहाँले तत्कालको बिक्री र नाफाभन्दा पनि दुरदृष्टि राखेर काम गरेको मैले महसुस गरेको छु । ‘इथिक्स’ बाहिर नगईकन इमान्दारीपूर्वक काम गर्ने हो भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ । नतिजा तुरुन्त आउने होइन, काम गर्दै जाँदा आउँछ । त्यसका लागि धैर्य चाहिन्छ ।
माधव अधिकारी, सह प्रबन्ध निर्देशक
पानस टिममा सञ्चालित संस्था हो । टिम मिलाउने उहाँ निकै सिपालु हुनुहुन्छ । उहाँको लामो अनुभव र काम गर्ने तौरतरिका निकै राम्रो छ । बजार मूल्यांकन हेर्दा पनि उहाँको पर्फमेन्स राम्रो देखिएको छ । उहाँ खुला दिलको स्पष्टवक्ता हुनुहुन्छ । काम गर्दा पनि मजा लाग्छ । औषधि भनेको सेवाको मार्केटिङ हो । यसमा विश्वासको ठुलो भूमिका छ । उहाँले त्यो विश्वास दिलाइरहनुभएको छ ।