काठमाडौं- काठमाडौंमा दुईजनामा हैजा पुष्टि भएको छ। बागबजारस्थित दुई दिदी बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरु उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए।
अस्पताल भर्ना हुने क्रममा हैजा आशंका गरिएपनि आइतबार मात्र पुष्टि भएको हो। र्यापिड टेस्टमा पोजेटिभ आएपनि उनीहरु दुवै जनाको दिसाको कल्चर गरिएको थियो। दिसाको कल्चर गरेपछि आउने नतिजालाई आधिकारिक र स्तरीय मानिने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
हाल उनीहरुको अवस्था सामान्य रहेको र आइसीयूबाट वार्डमा सार्ने तयारी भएको अस्पताल स्रोतले जानकारी दिएको छ।
के छ सरकारको तयारी?
काठमाडौंमा झाडापखाला र हैजाका बिरामी देखिएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयारी अघि बढाएको छ।
हैजा पुष्टि भएपछि महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक समेत बसेको थियो। सोमबारदेखि नै हैजा सम्बन्धी जनचेतना बढाउने, पानीको गुणस्तरको सर्भिलेन्स गर्ने, अस्पतालहरुमा झाडापखाला तथा हैजाको सर्भिलेन्स कडा बनाउने महाशाखाका निर्देशक डा चुमनलाल दासले बताए।
उनले भने, ‘सबैभन्दा बढी जनचेतनाका पाटोलाई हामीले जोड दिएका छौँ। अब पानीको गुणस्तर सर्भिलेन्स गर्छौ। अस्पतालमा पहिलेदेखि नै हैजाको सर्भिलेन्स हुन्थ्यो। यसलाई अब झनै कडा रुपमा गर्न भन्छौँ। सबै निकायसँगको सहकार्यमा अघि बढ्छौँ।’
के हो हैजा?
हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ। झाडापखाला गराउने संक्रमणहरुमध्ये हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्ने संभावना बढी हुन्छ। दश संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउने डा पुनले बताए। उनका अनुसार समयमा उपचार नपाए मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्दछ।
‘हैजाले कडा रुप लियो भने बिरामीको केही घण्टामै मृत्यु समेत हुन सक्छ। त्यसैले हैजाको लक्षण देखिने बित्तिकै तत्काल उपचार गर्नुपर्छ।’ उनले भने।
हैजाको छिटो पहिचान र सही उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय भएको डा पुन बताउँछन्।
अचानक पीडारहित चामल पखालेको चौलानी पानी जस्तो अत्यधिक तारन्तार दिसा हुनु, बान्ता हुनु, पेट तथा खुट्टाका मांशपेशी बाउँडिनु, तिर्खा लाग्नु र बैचैनी हुनु हैजाका लक्षणहरु हुन्।
प्रदूषित खाना र पानीका कारण हैजा लाग्ने गर्दछ। काठमाडौंमा हैजा देखिएपछि सावधानी नअपनाउँदा फैलने संभावना हुने उनले बताए। काठमाडौंमा हैजा फैलिए स्वास्थ्य उपचार व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ।
उनले भने, ‘काठमाडौंमा हैजाको प्रवेश भइसक्यो। यदी सावधानी अपनाइएन भने हैजा फैलिन सक्छ। हैजाले कडा रुप लियो भने व्यक्तिको मृत्यु हुने संभावना पनि धेरै हुन्छ।’
सरसफाईमा ध्यान दिनु र स्वच्छ खाना अनि पानी खानु झाडापखालाबाट बच्ने उपाय भएको उनले बताए।
बढ्दै झाडापखालाका बिरामी
शुक्रराज अस्पतालमा झाडापखालाका बिरामीको संख्या दैनिक बढ्न थालेको छ। आइतबार मात्र झाडापखालाका १० जना बिरामीले शुक्रराज अस्पतालमा उपचार गराएका छन्।
हाल दैनिक ५÷६ जना झाडापखालाका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। यसअघि गत बिहीबार एकैदिन २२ जना झाडापखालाका बिरामी शुक्रराज अस्पताल पुगेका थिए।
गएको तीन महिनामा मात्र ४२५ जना झाडापखालका बिरामीले शुक्रराज अस्पतालमा उपचार गराएका छन्। अस्पतालका अनुसार चैतमा ११६, वैशाखमा १६२ र जेठमा १४७ जनाले उपचार गराएका हुन्।
मनसुन सुरु भएपछि वर्षेनी झाडापखाला, आऊँ, हैजा, टाइफाइड, स्क्रबटाइफस, पेट सम्बन्धी र अन्य सरुवा रोगको समस्या देखिने गरेको छ। अधिकांश व्यक्तिहरु झाडापखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने गरेको र निको नभएपछि मात्र अस्पताल आउने गरेको डा पुनको अनुभव छ।
काठमाडौंमा थुप्रिएको फोहोर समयमै नउठ्दा पनि झाडापखाला, हैजा लगायत सरुवा रोगको जोखिम बढाउने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन्। यसअघि समयमै अव्यवस्थित फोहोरका कारण हैजा लगायत सरुवा रोग फैलाउने चेतावनी समेत उनीहरुले दिँदै आएका थिए।