काठमाडौं- धनुषाको जनकपुरस्थित जानकी मेडिकल कलेज २३ वर्ष पुरानो अस्पताल हो। जेनरल मेडिसिन, सर्जरी, पेडियाट्रिक, गाइनोलगायत आधारभूत सेवाहरु दिइरहेको यस अस्पतालले आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ। आगामी ६ महिनाभित्र युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) यी सेवाहरु सुरु गर्ने प्रक्रियामा जानकी मेडिकल कलेज छ। सेवा विस्तारका लागि अस्पतालले हाल तीन सय शय्याको नयाँ भवन समेत बनाउँदैछ।
जानकी मेडिकल कलेजमा के के सेवाहरु उपलब्ध छन्? सेवा विस्तारका लागि अस्पतालको योजना लगायत विषयमा हामीले अस्पतालकी निर्देशक एवं एनेस्थेसिया, क्रिटिकल केयर विशेषज्ञ डा प्रियंका शर्मासँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
– जानकी मेडिकल कलेज अहिले कसरी सञ्चालन भइरहेको छ?
जानकी मेडिकल कजेल सन् १९९९ मा स्थापना भएको हो। हाल एमबीबीएस, नर्सिङ, बीपीएच, पिजीको अध्ययन यस मेडिकल कजेलमा हुन्छ। गत वर्षदेखि हामीले पिजी कार्यक्रम पाएका हौँ। नेपाली र भारतीय दुवै विद्यार्थीहरु छन्। कुल सिटमध्ये एक तिहाई विद्यार्थी भारतका हुन्छन्। हालसम्म ६ सयभन्दा बढी भारतीय र ९ सयभन्दा बढी नेपाली विद्यार्थी पास आउट भइसकेका छन्। एउटा रमदैया भवाडी र अर्को सिटीमा गरी दुई ठाउँमा अस्पताल सञ्चालनमा छ। दुवै गरी ५५० शय्याको अस्पताल हो। रमदैया भवाडीमै हाम्रो थप तीन सय शय्याको नयाँ भवन बन्दैछ।
– जानकी मेडिकल कलेजले दिने विशेषज्ञ सेवाहरु के के छन्?
यो मेडिकल कलेज भएकाले सबै विद्यामा सेवा दिनुपर्ने हुन्छ। जेनरल मेडिसिन, सर्जरी, पेडियाट्रिक, गाइने, साइकाइट्रिक, आइसीयू, एनआइसीयू, इमरजेन्सी, आँखा, नाक कान घाँटी, अर्थोपेडिक सेवाहरु सञ्चालनमा छन्। अहिले हामी यिनै आधारभूत सेवाहरु दिइरहेका छौँ। तर युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) यी सेवाहरु ६ महिनाभित्र सुरु गर्ने प्रक्रियामा छ। हाल चिकित्सक, नर्स, प्रशासन लगायत गरी करिब ४५० जना कर्मचारी छन्।
– यो अस्पतालमा दैनिक कति बिरामी सेवा लिन आउँछन्?
दुई ठाउँमा सञ्चालित अस्पताल गरी ओपिडीमा दैनिक ८० देखि एक सय बिरामीहरु आउँछन्। आइतबार र सोमबार बिरामीको संख्या अलि धेरै हुन्छ। यहाँ धेरैजसो डेलिभरी र सिजेरियन पनि हुन्छ। ल्याप्रोस्कोपी सर्जरी पनि हुन्छ। पित्तथैलीको सर्जरी, एपेन्डीक्स, हर्निया निकाल्ने सर्जरी नियमित रुपमा दिनको एक÷दुई वटा नै भइरहन्छ।
– सबैभन्दा बढी कुन रोगका बिरामीहरु सेवा लिन आउँछन्?
सामान्यतया धेरैजसो स्त्री तथा प्रसूति रोगको समस्या लिएर महिलाहरु आउँछन्। यो बाहेक मानसिक रोग सम्बन्धी उपचार गराउन आउने बिरामी पनि धेरै पाएकी छु। विशेषगरी सिटीमा रहेको अस्पतालमा मानसिक रोग सम्बन्धी समस्या लिएर धेरै बिरामी आउँछन्। ओपिडीमा एक सय जना बिरामी आए भने २५ जना बिरामी जति मानसिक रोग सम्बन्धीकै बिरामीहरु हुन्छन्। मानसिक रोगको समस्या यो ठाउँमा मैले अलि बढी पाएकी छु। यो सँगै हाडजोर्नी, इएनटी (आँखा, नाक, कान, घाँटी) का बिरामीहरु पनि बढी आउँछन्।
– काठमाडौं र जनकपुरमा काम गर्दाको अनुभवमा फरक के पाउनु भयो?
यहाँको मानिसहरु स्वास्थ्य प्रति त्यति धेरै सचेत छैनन्। स्वास्थ्य भनेको के हो? कुन रोगको लक्षण के हुन्छ? कुन अवस्थामा अस्पताल जानुपर्छ भन्ने जस्ता कुराहरुमा त्यो ज्ञान तथा जानकारी अलि कम छ। रोगले नच्याँप्दासम्म बिरामीहरु अस्पताल आउँदैनन्। रोगले थलिएपछि मात्र अस्पताल आउने क्रम यहाँ धेरै छ। रुटिन चेकअप भन्ने कुरा त यहाँ छँदै छैन। काठमाडौंमा काम गर्दा यदी कुनै बिरामीलाई रोग लागेमा परीक्षणहरु गर्न त्यति अप्ठ्यारो मान्दैनन्। तर यहाँ रोग पत्ता लागिसकेपछि पनि गराउनुपर्ने परीक्षणहरु सहज तरिकाले गराउँदैनन्। टर्छ भने टारौँ भन्ने किसिमको मानसिकता मैले पाएकी छु। अन्तिम अवस्थामा बिरामीहरु आउँदा उपचार सहज हुँदैन। जटिल अवस्थामा पुगिसकेपछि आउँदा चिकित्सक र अस्पताललाई उपचार गर्न पनि चुनौतीपूर्ण हुन्छ।
डाक्टर र अस्पतालको सुविधाभन्दा पनि चिनजानको आधारमा उपचार खोज्छन्। कस्तो चिकित्सक हो? अस्पतालमा सुविधाहरु के के छन् भन्ने कुराको जानकारी नलिई चिनजानको आधारमा आँखा चिम्लेर उपचार गराउँछन्। राम्रो डाक्टर र सुविधा भएको अस्पताल खोज्दैनन्। बिरामीहरुले तत्काल नतिजा खोज्छन्। एक दिनमै नतिजा खोज्छन्। उपचार सुरु गरिएपछि बिरामीमा सुधार आउन केही समय त लाग्छ नै तर यहाँ ठिक भएन हामी बिरामीलाई काठमाडौं नै लैजान्छौ भनेर लैजानु हुन्छ। हामीले कति बिरामीहरुलाई ‘हाइ रिस्क कन्सेन’ साइन गरेर केही भयो भने तपाईकै जिम्मेवारी हुन्छ भनेर पठाएका छौँ। धेरै पटक काउन्सिलिङ्ग गर्दा पनि नमानेर बिरामी लैजादा बाटोमै मृत्यु भएको घटना पनि छन्।
– अस्पतालको सेवा विस्तारका लागि यहाँहरुको योजना के छन्?
हाम्रो योजनाहरु दुई प्रकारका हुन्छन्। एक, बिरामीको सेवा र दोस्रो शैक्षिक कार्यक्रमप्रति। शैक्षिक तर्फको कुरा गर्दा सर्जरी र इमरजेन्सी मेडिसिन गरी दुई विद्यामा पिजी कार्यक्रम पाएका छौँ। अन्य विद्यामा पनि पिजीको सिट लिएर विस्तार गर्ने हाम्रो योजना छ। एमबीबीएसमा हाल हामीले ५० सिट मात्र पाएका छौँ। वर्षको दुई पटक भर्ना गर्न पाउने सरकारले नीति ल्याएको छ। त्यो अनुसार पनि हामीले वर्षको एक सय जना विद्यार्थीहरुलाई भर्ना लिन पाउँछौँ। विद्यार्थी बढेपछि फ्याकेल्टी पनि बढाउनुपर्ने हुन्छ।
सेवामा भने आधारभूत सेवाबाट विशेषज्ञ सेवाहरु सुरु गर्ने योजना छ। अब चिरेरभन्दा पनि दूरबिनको प्रविधिबाट गरिने ल्याप्रोस्कोपिक सर्जरी गर्ने पनि योजना छ। ल्याप्रोस्कोपिक जनरल सर्जरीमा हुन्छ। तर प्रसूति सेवामा पनि छैन। प्रसूतिमा ल्याप्रोस्पकोपिक सर्जरी सुरु गर्ने योजना हो। जनकपुरमा युरोलोजीका चिकित्सकहरुको कमी छ। मिर्गौलामा पत्थरी, पिसाबनलीमा पत्थरी भएका बिरामीहरु उपचारका लागि अझै पनि काठमाडौं या धरान नै जानुपर्ने बाध्यता छ। मिर्गौला रोग सम्बन्धीको ओपिडी सेवा हामीसँग छ तर डायलासिसको सेवा अहिले छैन। डायलासिस गर्नुपर्ने बिरामीलाई हामीले रिफर गरिरहेका छौँ। मिर्गौला र पिसाब सम्बन्धी रोगको सबै किसिमको उपचार यहीँ गर्ने अर्को मुख्य उद्देश्य हो।
– अस्पताल सञ्चालनका क्रममा यहाँले सामना गर्नु परेको समस्या तथा चुनौतीहरु के के छन्?
यहाँको धेरैजसो मानिसहरु आफ्नो स्वास्थ्य समस्याप्रति त्यति धेरै सचेत छैनन्। समयमै उपचारका लागि अस्पताल नआउँदा पनि हामीलाई समस्या हुन्छ। रोगले जटिल अवस्था लिइसकेपछि मात्र बिरामी अस्पताल आउने प्रचलन हटाउन निकै जरुरी छ। समयमै गरिएको उपचार सफल र प्रभावकारी हुन्छ भन्ने कुरा बिरामीलाई बुझाउन निकै आवश्यक छ।
उपचार सेवा दिइरहँदा हामीले सामना गर्नु परेको अर्को समस्या भनेको भाषा हो। यहाँ अधिकांशले मैथिली भाषा बोल्नु र बुझ्नु हुन्छ। त्यसैले यहाँको भाषा जान्न एकदमै जरुरी छ। उहाँहरुले नेपाली बुझेपनि सहज हुने भाषा होइन। भाषा नबुझ्दा पनि उपचारमा समस्या हुने गरेको स्वयं मेरो व्यक्तिगत अनुभवहरु छन्। बिरामीको उपचार गर्दा उनीहरुको अलिअलि भाषा बुझेर मात्र हुँदैन। उनीहरुले व्यक्त गर्ने सबै कुराहरु बुझ्नु उत्तिकै आवश्यक हुन्छ। उनीहरुलाई पनि आफ्नो समस्या खुलेर भन्न सक्ने वातावरण बनाउनुपर्छ। यो समस्या समाधानका लागि हामीले मधेश प्रदेश घर भएकै र मैथिली भाषा आउने चिकित्सकलाई राखेका छौँ। उहाँहरुले बिरामीसँग सहज तरिकाले कुराकानी गर्न सक्नु हुन्छ।
यहाँको जनतालाई स्वास्थ्य प्रति जागरुक बनाउन पनि उत्तिकै आवश्यक देख्छु। यसका लागि हामीले समय–समयमा विभिन्न स्वास्थ्य शिविर तथा कार्यक्रमको आयोजना गर्छौ। भर्खरै मात्र पनि हामीले महोत्तरी र धनुषामा गरी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ। जसमा ८७० भन्दा बढी व्यक्तिहरुले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। उहाँहरुलाई उपचारप्रति आकर्षित गर्न हामीले सहुलियत कार्ड पनि बनाइदिएका छौँ। उक्त सहुलियत कार्ड लिएर आउनेहरुलाई विभिन्न उपचारमा हामीले ५० प्रतिशतसम्मको छुट दिने व्यवस्था पनि गरेका छौँ।
बिरामीहरुले चिनजानको आधारमा भन्दा पनि राम्रो चिकित्सक र राम्रो सेवा सुविधा भएका अस्पतालमा उपचार गराउन आवश्यक छ। यहाँका नागरिकले सबै किसिमको उपचार यही नै पाऊँन भन्ने हाम्रो मुख्य उद्देश्य हो। कुनै पनि उपचार सेवा लिन काठमाडौं या धरान जानुपर्ने बाध्यता हटाउने योजनाका साथ हामी अघि बढीरहेका छौँ। कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस् भन्ने पनि मुख्य उद्देश्य हो।