काठमाडौं - सुदूरपश्चिमका एक पुरुषको सानैदेखि सपना थियो– ‘पढाइमा राम्रो अंक ल्याउने, अमेरिका जाने र टन्ना पैसा कमाउने।’ आफ्नो सपना पूरा गर्न उनी पढाइमा निकै जोड दिन्थे। तर मेहनतका बावजुद पनि उनको पढाइको स्तर सामान्य नै थियो। उनी सधैं दोस्रो श्रेणीमै सीमित हुन्थे। अमेरिका जाने कयौँ पटकको प्रयास असफल भएपछि उनले बैतडीकै एक विद्यालयमा पढाउन थाले।
परिवारको दबाब उनले विवाह गरे। अमेरिका जाने आफ्नो अधुरो सपना श्रीमतीले पुरा गर्लीन् भन्ने उनको ठूलो आशा थियो। तर श्रीमतीलाई विदेशमोह थिएन। उनी जे काम गरेपनि स्वदेशमै गरौँ भन्ने गर्थिन्।
दुवैको अलग विचारले वैवाहिक जीवनमा दूरी ल्याउन थाल्यो। बढ्दो दूरी र असन्तुष्टीले उनलाई विस्तारै डिप्रेसनमा धकेल्दै गयो। वैवाहिक जीवनसँगै उनी आफ्नो पेशामा पनि रमाउन छाडे। पारिवारिक कलह, बढ्दो असन्तुष्टी र अधुरो सपनाले डिप्रेसनको समस्यालाई दिनप्रति दिन बढाउँदै लग्यो।
डिप्रेसनकै कारण विद्यार्थीलाई राम्रोसँग पढाउन सकेनन्। विद्यालयले पनि उनलाई जागिरबाट निष्कासन गर्यो। डिप्रेसनले गाँज्न थालेको ३/४ वर्षपछि उनले आत्महत्या गर्ने निधो गरे। उनलाई लाग्यो, ‘म बाँचे भने सबैलाई बोझ मात्र हुन्छु। मेरो जीवनको कुनै अर्थ छैन।’
त्यसपछि सुरु भयो, उनको आत्महत्या प्रयासको शिलशिला। एक पटक या दुई पटक होइन उनले आत्महत्याको कोसिस गरेका थिए, ७३ पटकसम्म।
आत्महत्या प्रयासको क्रम नरोकिएपछि परिवारले उपचारका लागि उनलाई काठमाडौंको एक अस्पतालमा भर्ना गरे। त्यो बेलासम्म उनले ३४ पटकसम्म आत्महत्याको प्रयास गरेका थिए। उपचारपछि उनले निरन्तर औषधि खान थाले। तर आफू ठिक भएको भन्दै उनले औषधि पनि खान छाडे। र, फेरि आत्महत्याको कोसिस गर्न थाले। आत्महत्याको प्रयास नरोकिएपछि उनलाई पुनः अस्पताल भर्ना गर्नुपर्यो।
उपचार, औषधि र थेरापी एक महिनासम्म चल्यो। निरन्तरको उपचारपछि उनी निको भए। हाल उनी सरकारी जागिरमा आवद्ध छन्।
000
तराईकी एक सुत्केरीले केही वर्षअघि आत्महत्याको प्रयास गरिन्। त्यो पनि शिशु जन्मिएको १९ दिनमा।
श्रीमान विदेशमा थिए। घर परिवारले उनलाई गर्ने व्यवहार राम्रो थिएन। शारीरिक तथा मानसिक हिंसा उनले सहदै आएकी थिइन्। यतिसम्मकी गर्भवती र सुत्केरी अवस्थामा पनि उनले परिवारबाट साथ पाइनन्। डिप्रेसनमा रहेकी उनले शिशु जन्मिएको १९ दिनमा आत्महत्या गर्ने निर्णयमा पुगिन्।
काखको शिशुलाई छाडेर मर्ने निधोमा पुग्नु उनको लागि सहज थिएन। तर डिप्रेसनमा आउने नकारात्मक सोचले उनलाई शिशुको माया पनि लाग्न छाड्यो। आत्महत्याको प्रयास त गरिन् तर सफल भइनन्। केही समयपछि आफ्नो समस्या बारे उनले नजिकको छिमेकीसँग भनिन्।
ती छिमेकीलाई मानसिक समस्या र डिप्रेसनबारे केही जानकारी थियो। उनले ती महिलालाई केही हौसला दिइन्। उपचार बारे बताइन्। अनि मनोचिकित्सकको सम्पर्कमा पुगिन्। मनोचिकित्सकको निरन्तर परामर्श र उपचारपछि उनको अवस्था सामान्य छ।
000
बैतडीका ती पुरुष र तराईकी सुत्केरीमात्र होइन डिप्रेसनले गाँज्दै जाँदा आत्महत्याको प्रयाससम्म पुगेका धेरै जना निरन्तरको उपचार र परामर्शपछि सामान्य जीवनमा फर्किएका छन्। निको भएपछि घर-परिवार र जागिर तथा व्यापार व्यावसयामा रमाइरहेका छन्। तर समस्याको पहिचान भएर पनि उपचारमा नजाने, उपचारमा गएर पनि बिचमै उपचार तथा परामर्शलाई छाड्ने र समस्याको पहिचान नै नभइ आत्महत्या गर्नेहरु पनि निकै छन्।
नेपाल प्रहरीको तथ्यांकले पनि आत्महत्याको संख्या बढ्दो क्रममा रहेको देखाउँछन्। मनोचिकित्सकहरु भने आत्महत्याको बढ्दो ग्राफलाई धेरै हदसम्म कम गर्न सकिने बताउँछन्। समस्या पहिचान गरेर उपचार तथा परामर्शपछि धेरै मानिसहरुले जीवन बचाउन सकिने मनोचिकत्सकहरु बताउँछन्।
वर्षेनी बढ्दै आत्महत्याको समस्या
नेपालमा दैनिक रुपमा औसतमा १९ जनाले आत्महत्या गर्छन्। र, यो संख्या वर्षेनी बढ्दो क्रममा छ। गत पाँच वर्षमा मात्र २९ हजार २४६ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांक छ।
आर्थिक वर्ष (आ.व) २०७४/७५ मा ५ हजार ३१७ र आ.व २०७५/७६ मा ५ हजार ७८५ जनाले आत्महत्याबाट ज्यान गुमाएका थिए। यो संख्या ४६७ ले बढ्दै आ.व २०७६/७७ मा ६ हजार २५२ पुग्यो। आ.व २०७७/७८ मा ७ हजार १४१ र २०७८/७९ को चैतसम्म ४ हजार ७५१ जनाले आत्महत्या गरे।
यो हिसाबले हेर्दा आ.व ७५/७६ मा र ७६/७७ मा वर्षेनी साढे चार सयको दरले आत्महत्या बढेको देखिन्छ। तर आ.व ७७/७८ मा भने दुई गुणाले वृद्धि हुँदै ७६/७७ को तुलनामा ८७६ ले वृद्धि भएको छ।
अधिकांशले आत्महत्याका लागि पासो र विषको बाटो रोज्ने गरेका छन्। आर्थिक वर्ष २०७७/७८ मा कुल आत्महत्या ७ हजार १४१ मध्ये आधाभन्दा बढी ५ हजार ७३१ (५२ प्रतिशत) ले झुण्डिएर आमहत्या गरेका छन्। १ हजार २८६ ले विष खाएर, ४४ जनाले हाम फालेर, ३५ जना डुबेर, १५ जना आगो लगाए, औजार हातहतियारबाट १४ जनाले आत्महत्या गरेका थिए।
प्रदेशगत रुपमा हेर्ने हो भने आत्महत्या गर्ने सूचीको पहिलो नम्बरमा प्रदेश एक देखिन्छ। प्रदेश ५ दोस्रो र बागमति प्रदेश तेस्रो नम्बरमा छ।
प्रदेश १ मा आ.व ७५/७६ मा १ हजार २३७, ७६/७७ मा १ हजार ३४१, ७७/७८ मा १ हजार ५१८ जनाले आत्महत्या गरेका थिए। ७८/७९ को चैतसम्म प्रदेश एकमा १ हजार २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। यी सात वटै प्रदेशमा पनि आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दो क्रममा रहेको यो ग्राफले पनि प्रस्ट पार्छ।
प्रहरीको तथ्यांक अनुसार आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ। गएको चार वर्षमा ८ हजार ४०७ जना महिलाले आत्महत्या गर्दा १३ हजार १३९ जना पुरुषले आत्महत्या गरेका छन्। यो संख्या कुल आत्महत्याको झण्डै आधा हो।
स्रोत: प्रहरी प्रधान कार्यालय
विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ। जुन संख्या प्रत्येक ४० सेकेण्डमा एउटा आत्महत्या बराबर हुन्छ। प्रत्येक आत्महत्याले १३५ व्यक्तिहरुलाई प्रभाव पार्दछ।
कुल आत्महत्यामध्ये ७७ प्रतिशत आत्महत्या न्यून तथा मध्यम आय भएका देशहरुमा हुने गरेको छ। १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको चौथो कारण आत्महत्या हो। एक व्यक्तिले आत्महत्याका लागि २० पटकभन्दा बढी प्रयास गर्ने गरेको डब्लुएचओले जनाएको छ।
मानिसले किन गर्छन् आत्महत्या?
कुनै व्यक्तिले जब आफ्नो शरीरलाई अन्त्य गर्ने निर्णय गर्छ र, विभिन्न योजना बनाएर मृत्युसम्म पुग्छ भने त्यसलाई आत्महत्या भनिन्छ।
कतिपयले आत्महानी र आत्महत्यालाई एउटै रुपमा अथ्र्याउँछन्। तर वरिष्ठ चिकित्सा मनोविद् डा पशुपति महतका अनुसार ‘आत्महानी’ र ‘आत्महत्या’ दुई फरक कुरा हुन्।
आफू बाँच्ने संभावना राखेर गरिएका योजना हुन्, आत्महानी।
आफन्तकै अगाडि विष खाने, झुण्डिने, तर्साउने, भित्तामा टाउको ठोक्ने, आफैँलाई भुत्ल्याउने यसका उदाहरणहरु हुन्। जहाँ उनीहरु आफूलाई हानी गर्न खोज्छन् तर उद्दार हुने र बाँच्ने संभावना धेरै हुन्छ। तर आत्महत्या लामो समयदेखि बुनिएका योजना हुन्। जहाँ व्यक्ति बाँच्ने संभावना अत्यन्तै न्यून हुन्छ।
डा महत भन्छन्, ‘आत्महत्या एकदम धेरै योजनावद्ध, कुन साधनले, कुन बेला, कसरी गर्ने भनेर केही समय अघिदेखि नै व्यक्ति तयार हुन्छ। अहिले भर्खर मलाई आत्महत्या गर्न मन लाग्यो भने मैले तुरुन्तै आत्महत्या गरिहाल्दिन।’
व्यक्तिले जब आफ्नो जीवनलाई अर्थहीन देख्न थाल्छ। जीवनप्रति कुनै आशा बाँकी रहँदैन। र, मर्नैपर्ने निर्णयमा पुग्छ। त्यसपछि उनीहरुले आत्महत्याका लागि योजना बनाउन थाल्छन्।
आत्महत्याको प्रमुख कारण हो, ‘मानसिक स्वास्थ्य समस्या’। आत्महत्याको कारणमध्ये ९० प्रतिशत बढी कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने गरेको छ। त्यसमा पनि गम्भीर खालका डिप्रेसन करिब ८० प्रतिशत प्रमुख जिम्मेवार रहेको डा महत बताउँछन्।
डिप्रेसन प्रमुख कारण भनिएपनि डिप्रेसन हुँदैमा आत्महत्याको सोच आइहाल्दैन। डिप्रेसनले गाँज्दै गएर गम्भीर अवस्थामा पुगेपछि मात्र आत्महत्याको सोच आउने गरेको उनले बताए। डिप्रेसनले सोचलाई नकारात्मक बनाइदिने र मर्न मन लाग्ने हुने उनले बताए।
नेपालमा आत्महत्याको समस्या वर्षेनी बढ्दै गइरहेको उनले बताए। डा महतका अनुसार आत्महत्या बढ्नुको मुख्य कारण छन्। ती हुन्:
– सामाजिक भेदभाव
– जनचेतनाको अभाव
– समयमै उपचारको उपलब्धतामा कमी र सहज पहुँच नहुनु
– असुरक्षा
– आर्थिक अभाव
– लैङ्गिक हिंसा
– बञ्चितीकरण
– हिंसात्मक वातावरण
नेपालमा आत्महत्या गर्नेको तथ्यांक हुने गरेपनि कति व्यक्तिले आत्महत्याको प्रयास गर्छन् भन्ने यकिन तथ्यांक नरहेको उनले बताए।
उनले भने, ‘मृत्युभन्दा आत्महत्याको प्रयास धेरै पटक हुन्छ। झण्डै २५ गुणा बढी हुन्छ भनिन्छ। एउटा व्यक्तिले आफ्नो जीवन अन्त्य गर्न औसतमा झण्डै २५ पटक आत्महत्याको प्रयास गरेको हुन सक्छ।’
विकसित मुलुकमा एक पटक आत्महत्या प्रयास गरेको व्यक्तिलाई बचाउन चिकित्सकले निरन्तर सम्पर्कमा राख्ने गरेको उनले बताए। एक चिकित्सकले तीन जना बिरामीलाई हेरे मात्र पुग्छ। तर नेपालमा भने एक जना चिकित्सकले धेरै बिरामी हेर्नुपर्ने भएकाले गुणस्तरीय मानसिक स्वास्थ्य कायम हुन नसकेको उनी बताउँछन्। नेपालको स्वास्थ्य प्रणाली बिरामी केन्द्रित नभएको उनले बताए।
‘चाप धेरै हुने भएकाले बिरामीले चिकित्सकको पाउने समय भनेको २/३ मिनेट मात्र हो। औषधि खाएको छ? कस्तो छ? ठिक छ? एक हप्तामा आउनु भन्यो सकियो। चिकित्सकहरु औषधि लेख्नमा मात्र उद्दत हुनुहुन्छ’, उनले भने, ‘उसको अवस्था कस्तो छ? निन्द्रा लाग्छ/लाग्दैन? सोचाई कस्तो भएको छ? घर परिवारसँग कस्तो छ? भनेर अलिकति मात्र परामर्श गर्ने हो भने पनि त्यसले बिरामीलाई धेरै फरक पर्छ।’
डिप्रेसन बारे धेरैले अझै पनि अधिकांशले खुलेर कुरा गर्दैनन्। खुलेर कुरा नगर्ने भएकाले हतपत्त धेरैले समस्या बारे थाहा पाउन सक्दैनन्। डिप्रेसनमा रहेका बेला व्यक्तिले विभिन्न लक्षणहरु देखाउँछन्। जसलाई नजरअन्दाज नगरी उनीहरुलाई उपचारमा लैजान सके आत्महत्याको समस्यालाई रोक्न सकिने उनले बताए।
आत्महत्याका संभावित लक्षणहरु:
– नकारात्मक सोच आउनु
– जीवनलाई अर्थहीन र मूल्यहीन देख्नु
– निराश हुनु, दिक्क लाग्नु, रुन मन लाग्नु, दुखी भइरहनु
– लागु औषधि र मादक पदार्थको सेवन बढ्नु
– निद्रामा गडबडी र भावनात्मक उतारचढाव हुनु
– आत्महत्या गर्ने योजना बनाउनु
– सामाजिक सञ्जालहरुमा आत्महत्या गर्ने विचार, योजना तथा निराशाजनक अभिव्यक्तिहरु प्रकट गर्नु
– केही गर्न मन नलाग्नु, चाँडो रिसाउनु
– अन्य व्यक्तिसँग कुरा गर्न नसक्नु र नचाहनु
– साथीभाइसँग घुलमिल नहुनु
– एकोहोरो भइरहनु, एकान्त मनपराउनु
– रमाइलो गर्न मन नपराउनु
– कुनै पनि काम गर्न जाँगर नआउनु
– आफ्नो कुरा कसैसँग पनि नभन्नु।
डा महत भन्छन्, ‘यदी कुनै व्यक्तिले आफ्नो समस्या बारे भन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर यो बिमारी हो, उपचार गर्यो भने ठिक हुन्छ भनेर विश्वास दिलाउन सक्यो भने उनीहरु उपचारमा आउँछन्। नभए उनीहरुले यो समस्या हो भनेर स्वीकार्दैनन्। मानसिक रोग हो भन्यो भने उसको निम्ति यो झन् असह्य हुन्छ।’
आत्महत्याको घटना घटिसकेको परिवारमा अन्य सदस्यहरु सधै जोखिममा रहने गरेको बताए। धेरै महिलाहरु लैङ्गिक विभेदमा आधारित हिंसाका कारण आत्महत्या गर्न बाध्य हुने गरेको उनले बताए। सामाजिक भेदभाव, लैङ्गिक तथा अन्य हिंसाका कारण महिलाहरुमा डिप्रेसनको बढी समस्या देखिएको छ। १५ देखि २९ र ७० वर्ष माथिका व्यक्तिहरु डिप्रेसनको जोखिममा पर्छन्।
बेलैमा उपचारमा जान सके आत्महत्याको समस्या रोकथाम गर्न सकिन्छ। यसको लागि जनचेतना बढाउन र आफ्नो समस्याबारे खुलेर कुरा गर्न आवश्यक रहेको उनी बताउँछन्। हरेक पालिकामा कम्तीमा एक जना तालिमप्राप्त मनो परामर्शदाता हुनुपर्ने र सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ११ प्रकारको औषधिको निरन्तरता, जिल्ला अस्पतालमा मानसिक रोग विशेषज्ञद्वारा मासिक रुपमा भएपनि सेवा उपलब्ध गराउने व्यवस्था हुनुपर्ने उनले बताए। प्रदेशस्तरका अस्पतालमा कम्तीमा तीन जना मनोचिकित्सक, क्लिनिक मनोविद हुनुपर्ने उनले बताए।
उनले भने, ‘परिवारको भूमिका निकै महत्वपूर्ण हुन्छ। तर परिवारलाई बुझाउन पनि बुझाउने र बुझेको मान्छे चाहिन्छ। समयमै समस्याको पहिचान र उपचार हुने हो भने आत्महत्याको दर एकदमै घटाउन सकिन्छ।’
उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा आधारभूत मानसिक स्वास्थ्य भित्र परामर्श, औषधि उपचार राख्ने र समुदायस्तरमा जनचेतना फैलाउने हो भने ८० प्रतिशतबढी डिप्रेसन, एन्जाइटी सम्बन्धी समस्या समाधान हुन्छ।
सरकारले देशका १३ अस्पतालमा मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्दैछ। दश शय्या सहितको सेवा सञ्चालनका लागि यी १३ अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार समेत गरिसकेको छ। सरकारले मानसिक रोगको उपचारमा प्रयोग हुने ११ प्रकारको औषधि ‘साइको ट्रपिक ड्रग’ उपलब्ध गराउँदै आएको छ।