काठमाडौं- कलंकीका एक पुरुषले बिहीबार एक होटलमा खाजा खाए। रातिबाट उनलाई पेट दुख्न थाल्यो। पेटको दुखाईसँगै उनलाई पखाला लागेको थियो। रातभरीसम्म पनि पखाला नरोकिएपछि उनी शुक्रबार बिहानै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे। उनले खाएको खाजा दूषित भएका कारण पखालाको समस्या देखिएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। उनी जस्तै दैनिक ४÷५ जना बिरामी हाल झाडापखालाको समस्या लिएर शुक्रराज अस्पताल पुग्छन्।
गएको तीन महिनामा ४०९ जना बिरामीले शुक्रराज अस्पतालमा उपचार गराएका छन्। अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार झाडापखालाको समस्या लिएर उपचार गर्न आउने बिरामीको संख्या बढ्न थालेको छ। चैतमा ११६ वैशाखमा १६२ र जेठको २६ गतेसम्म १३१ जना बिरामीले झाडापखालाको उपचार गराएको गौतमले जानकारी दिए।
यो पटक नेपालमा मनसुन छिटो भित्रियो। मनसुन सुरु भएपछि वर्षेनी झाडापखाला, आऊँ, हैजा, टाइफाइड, स्क्रबटाइफस, पेट सम्बन्धी र अन्य सरुवा रोगको समस्या देखिने गरेको उनले बताए। भारी वर्षा र बाढी पहिरोले पानीका मुहान दूषित बनाउँछ। पानीका मुहान दूषित हुँदा सरुवा रोग फैलाउने संभावना हुने उनले बताए।
काठमाडौंको चोक अनि गल्लीहरुमा फोहोरका डुंगुरहरु यत्रतत्र थुप्रिएका छन्। लामो समयदेखि थुप्रिएको फोहोर उठ्दा सडकमै कुहिएका छन्। थुप्रिएका ती फोहोर सरुवा रोग फैलने कारण बन्न सक्ने डा पुन बताउँछन्।
उनले भने, ‘मनसुन सुरु भएपछि झाडापखाला लगायत संक्रामक रोगको जोखिम बढ्छ। त्यही माथि काठमाडौंमा थुप्रिएका फोहोरले त्यो जोखिमलाई झनै बढाउँछ। संक्रामक रोग फैलिन सक्छ।’
अधिकांश व्यक्तिहरु झाडापखाला लाग्दा फार्मेसीबाट औषधि किनेर खाने गरेको उनले पाएका छन्। औषधि खाँदा निको नभएपनि मात्र अधिकांश व्यक्तिहरु अस्पतालसम्म आउने गरेको उनको अनुभव छ। काठमाडौंमा हालसम्म हैजाको समस्या भने देखिसकेको छैन। हैजा फैलिए स्वास्थ्य उपचार व्यवस्थापन गर्न समस्या हुने उनको भनाई छ।
कैयौं सातादेखि थुप्रिने फोहोरले तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बताउँछन्। अधिकांश संक्रामक रोग दूषित पानी र खानेकुराबाट नै फैलिने गरेको उनले बताए।
‘काठमाडौंका धेरै मानिसले जमिनमुनिको पानी खान्छन्। धेरै दिनसम्म फोहोर नउठ्दा जमिनमुनीको पानी दूषित हुन सक्छ। पानीको माध्यमबाट विभिन्न रोग सर्न सक्छ।’ उनले भने।
काठमाडौं उपत्यकामा रहेका १८ नगरपालिकाबाट दैनिक १ हजार ५४ मेट्रिक टन फोहार उत्सर्जन हुने गर्दछ। वातावरण व्यवस्थापन विभागका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट ५१७, ललितपुर र अन्य नगरपालिकाबाट ५३७ टन फोहोर उत्सर्जन हुने गरेको छ।
काठमाडौं उपत्यकामा दैनिक उत्सर्जन हुने फोहोरको व्यवस्थापन करिब २६ किलो मिटर टाढा रहेको नुवाकोटको ककनी गाउँपालिकाको वडा नं २ मा रहको सिसडोलको ४३२ रोपनी जग्गामा हुँदै आएको थियो। सिसडोलमा फोहोर फाल्न बन्द भएपछि काठमाडौं उपत्यकाको फोहोर उठ्न समस्या भएको हो। दुई वर्षको लागि मात्र सिसडोलमा फोहोर व्यवस्थापन गर्ने भनिए पनि त्यसो हुन सकेन।
वातावरण व्यवस्थापन विभागले विशेषगरी प्रयोगको आधारमा फोहोरमैलालाई ११ प्रकारमा वर्गाीकरण गरेको छ:
१. घरेलु फोहोरमैला
२. औद्योगिक फोहोरमैला
३. रासायनिक फोहोरमैला
४. स्वास्थ्य सेवा सम्बन्धी फोहोरमैला
५. हानिकारक फोहोरमैला
६. मलखाद योग्य सड्ने फोहोरमैला
७. रछाने फोहोरमैला
८. मलखाद अयोग्य सडियल फोहोरमैला
९. कवाडी फोहोरमैला
१०. प्लास्टिकजन्य फोहोरमैला
११. सिसाजन्य फोहोरमैला
यी ११ प्रकारका फोहोरमैलामध्ये रासायनिक फोहोरमैलाले मानिसको स्वास्थ्य, जीवजन्तु, वनस्पति र वातावरणलाई सबैभन्दा धेरै हानी गर्ने गर्छ।
स्वास्थ्य नीति २०७६ ले वातावरणीय प्रदूषणलाई वैज्ञानिक ढंगले नियमन तथा नियन्त्रण गर्ने व्यवस्था गरेको छ।
नीतिमा भनिएको छ, ‘प्रति–जैविक प्रतिरोधलाई न्यूनीकरण गर्दै संक्रामक रोग नियन्त्रण तथा व्यवस्थापनका लागि एकद्धार स्वास्थ्य पद्धतिको विकास तथा विस्तार गरिनुका साथै वायु प्रदूषण, ध्वनि प्रदूषण, जल प्रदूषण लगायतका वातावरणीय प्रदूषणका साथै खाद्यान्न प्रदूषणलाई वैज्ञानिक ढंगले नियमन तथा नियन्त्रण गरिनेछ।’
यो सहित स्वास्थ्य नीतिले घरायसी तथा समुदायजन्य फोहोरमैला व्यवस्थापन तथा वातावरणीय सरसफाईलाई प्रवद्र्धन गर्न समन्वय तथा पैरवी गरिनेछ भन्ने कुरा उल्लेख गरेको छ। सरकारले नीति ऐन ल्याएपनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको डा मरासिनीले बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालयलाई यो बाध्यात्मक त बनाएको छैन। तर यसरी फोहोर थुप्रिदा रोग फैलिने संभावना हुन्छ, फोहोर समयमै व्यवस्थापन गर्नुपर्छ भनेर महानगरपालिकालाई भन्न सक्नुपर्छ।’
वर्षेनी यस किसिमको समस्या आएपनि सरकार गम्भीर हुन नसकेको उनको बुझाई छ। फोहोर व्यवस्थापनका लागि सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने उनले बताए। वैज्ञानिक रुपमा फोहोरको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ।
फोहोरमैला र प्रदूषणले मानिसको जीवन मात्र नभई सबै पृथ्वीमा रहेका सबै प्राणीहरुको जीवन जोखिममा छ। होटल, रेस्टुरेण्ट, गार्मेन्ट, उद्योग, कलकारखाना, अस्पताल, घरबाट उत्सर्जित हुने फोहोरलाई त्यही ठाउँमा व्यवस्थापन गर्ने योजना सरकारसँग हुनुपर्ने उनले बताए।