मन्दोदरी शर्मा बिगत ४ वर्षदेखी आफ्नो टाउको र काँध दुख्ने समस्याबाट पिडित छन। काँधको जकडाहटबाट सुरु भई असजिलो टाउको दुखाइमा परिणत हुने आफ्नो यो दीर्घकालिक समस्याको जड नजिकका अस्पताल र पोलिक्लिनिकहरुले पत्ता लगाउन नसकेपछि उनी काठमाडौको ठूलो अस्पताल आइन्। डाक्टरले अनेक जाँच र परीक्षणपश्चात डाक्टरले शरीरमा कुनै विशेष समस्या नरहेको निश्कर्ष सुनाउँदै दुई हप्ताको लागि सामान्य औषधि लेखेर दिए। केही दिन समस्या सुधार भएजस्तो लागेको पनि थियो उनलाई। तर, केही दिनपछि दुखाइ फेरि जस्ताको तस्तै भयो।
एक रात मनमा कुरा खेल्न थाल्यो, अहँ एउटै ठाउँमा यसरी दुखिरहने समस्या भित्र ठुलो कारण नभै हुन सक्दैन। मेरो समस्याको जड घाँटीमा पो छ कि, क्यान्सर नै भयो भने? फेरि टाउको दुखाइ त ट्युमरको कारणले हुन सक्छ रे भन्दै थिइन् अर्की दिदीले। सोच्दासोच्दै उनको शरीरनै सिथिल भएर आयो। धड्कन अस्वभाविक रुपमा बढ्यो। श्वास प्रश्वास अवरुद्ध होला जस्तो लाग्यो। चिसो रातमा पनि शरीर पसिनाले भिझ्यो। मलाई केही भयो भने फेरि यो सानी छोरीको हालत के होला, उनले सोचिन्।
अस्पताल त राम्रो भन्थे खै.. । आखिर डाक्टरले मेरो कुरा दुई मिनेट पनि त राम्रोसँग सुनेन। डाक्टर पो नराम्रो पर्यो कि? छटपटीमै उनले निर्णय गरिन्। काठमाडौँ गएर फेरि राम्रो डाक्टरलाई नदेखाइ भएन..
जान्ने सुन्ने आफन्तहरुसँग अनेक सोधखोज गरी देशकै ठूलो डाक्टरको नाम पत्ता लगाएर उत्साहका साथ उनी फेरि काठमाडौ आइन्। अनेक महँगो जाँचपश्चात निश्कर्ष सुनाउँदै ती ठूला डाक्टरले पनि भने, ‘तपाईँलाई केही समस्या छैन, चिन्ता लिने बानी छोड्नु पर्योप। डाक्टरको कुरा सुनेपछि रिसको झोकमा मनमनै उनले भनिन्, मलाई जस्तो भएको भए थाहा पाउँथ्यो। अझ चिन्ता नलिनु रे। मलाइ रहर होलानी चिन्ता लिएर बस्नलाई ...यही सुन्न बाँकी थियो यत्रो खर्च गरेर। के के न ठूलो डाक्टर भनेको त...। यस्तो बारम्बारको प्रक्रियामा उनको चार लाख भन्दा बढी खर्च भइसक्यो। रिपोर्ट र बिलले एउटा झोला नै भरिएको छ। समस्या भने जहाँको तहीँ। छाती र माथिल्लो पेटको वरीपरी दुख्ने एवं अस्वभाविक थकान महसुस हुने समस्यासँग जुधिरहेका तर्कबहादुरको पनि करीब करीब उस्तै ब्यथा र कहानि छ। यी घटनाहरु सोमाटिक सिम्प्टोम डिसअर्डरका केही प्रतिनिधि घटनाहरु मात्र हुन्। सोमाटिक सिम्प्टोम डिसअर्डर दुखाई, थकान लगायतका शारीरिक अनुभुती र लक्षणप्रति व्यक्तिको संवेदनशिलता अत्याधिक रुपमा बढ्न जाने र त्यसको कारण उत्पन्न हुने स्वास्थ्यको स्वभाविक चिन्ताले शारीरिक एवं मानसिक उर्जाको अत्याधिक क्षय हुने विशेष अवस्था हो।
मेडिकल साइन्सले यसलाई दुखेको मनको शारीरिक अभिव्यक्ति भनेर व्याख्या गरेको छ। यो समस्यामा आन्तरिक गडबडी त्यती खतरनाक नहुँदा नहुँदै पनि कष्ट र पीडा भने अत्याधिक हुने गर्छ। करिब ५–७ प्रतिशत व्यक्तिहरु यस्तो रोगसँग संघर्ष गरिरहेका हुन्छन्। पुरुष भन्दा महिलामा यो समस्या केही बढी पाइन्छ। सामान्यतः जीवन, जगत र समाजप्रति भावनात्मक हिसाबले कुनै न कुनै रुपमा बढी सम्वेदनशील हुने व्यक्तिहरुमा यो समस्या अधिक पाइने गर्छ। एक मनोवैज्ञानिक सिद्दान्तले यसलाई ‘गुडनेस’ स्वभाविक भन्दा बढी भएको अवस्थाको रुपमा व्याख्या गरेको छ। आम रुपमा धेरै व्यक्तिलाई दिनानुदिन हुन सक्ने सामान्य शारीरिक असहजताहरु समेत स्वास्थ्य र सुरक्षाको बढ्दो संवेदनशिलताको कारण यी बिरामीहरुमा रोगका लक्षणको रुपमा प्रस्तुत हुन सुरु हुन्छन्। शारीरिक उर्जाको क्षय सँगै ती लक्षणहरु बिस्तारै गम्भीर लाग्न थाल्छन। पिडित व्यक्तिले सामान्य लक्षणमा पनि सबभन्दा खराव परिणामको सम्भावना देख्ने र अर्कोतर्फ रोगको सामना गर्न सक्ने आफ्नो स्वभाविक क्षमतालाई नजरअन्दाज गर्ने हुनाले पर्सेप्सन, कोग्निसन र अट्रिब्युसनको त्रुटि यो बिमारको आधार मानिएको छ।
अर्को एक सिदान्तका अनुसार, निश्कर्षमा नपुगेका भावनात्मक द्वन्द, असन्तुष्टि र दुबिधाहरु पनि अप्रत्यक्ष रुपमा यस्तो समस्याको कारण बनिदिन सक्छन्। धेरै जना चिकित्सकबाट बारम्बार जाँच र परीक्षण गर्दा पनि विशेष समस्या केही छैन भन्ने निश्कर्ष आउने साथै यस प्रक्रियामा समय र लाखौँ रुपयाँ खर्च हुने हुँदा कहिले काहीँ परिवारका सदस्यहरुबाट बिमारको बाहना गरेको, अल्छी बनेको भन्ने जस्ता लाञ्छना आउने सम्भावना रहन्छ। आफ्नै मान्छेबाट आउने यस्तो लाञ्छनाले यो बिमारलाई थप जटील बनाइदिने हुन्छ।
स्वास्थ्य जाँचको रिपोर्टका आधारमा शारीरिक समस्या रहितताको निश्कर्षका बावजुद यसमा व्यक्तिले अनुभुत गरेका पीडा नितान्त वास्तविक हुन्छन। यो बाहनाबाजी होइन भन्ने कुरामा हरेक व्यक्ति स्पष्ट हुनु जरुरी हुन्छ।
स्पष्ट रुपमा अनुमान गर्न नसकिने दुखाई र अन्य शारीरिक लक्षणको कारण पिडीत व्यक्ति आफुलाई अत्यन्त गम्भीर बिमारको चँगुलमा परेको ठान्ने हुन्छन। उनीहरु आफ्नो रोग चिकित्सकले पत्ता लगाउन नसकेको मानी अविश्वासमा अनेकौँ चिकित्सककोमा परीक्षणको लागि धाईरहन्छन्। यसले व्यक्तिलाई दैनिक जिम्मेवारी वहनमानै चुनौती खडा गरिदिन्छ ।
व्यक्ति प्रायः आफ्नो रोग बाहेक अन्य महत्वपूर्ण विषयमा सोच, बिचार र व्यवहार गर्न कठिन हुने अवस्थामा समेत पुग्न सक्छ। एक प्रकारको भयसँग लगातार संघर्ष गरिरहेको हुन्छ। सामान्यतः यस्तो स्थिति ६ महिना भन्दा बढी रहेपछि मात्र यसलाई चिकित्सकीय बर्गिकरणमा सोमाटिक सिम्प्टोम डिसअर्डर मान्ने गरिन्छ।
अनेकौं परीक्षण पश्चात जव चिकित्सकहरुले दुखाइको मुल कारण शरीरमा नभै मनमा छ भन्ने निश्कर्षका साथ उपचार वा काउन्सेलिङको लागि साइकियाट्रिस्ट-साइकोलोजिष्टकोमा जाने सल्लाह दिन्छन, कतिपय व्यक्तिहरु यसलाई प्रतिरोध गर्ने वा सहजता पूर्वक लिन नसक्ने हुन्छन। धेरै व्यक्तिहरुले भौतिक रुपमा आफू दुखी हुनुपर्ने कुनै कारण नरहेको र जीवनबाट धेरै कुरा पाईरहेको ठानी समस्यामा मनको सम्बन्धलाई नकार्ने गर्छन। बिरामीको चित्त नदुखाउँनकै लागि मात्र समेत कयौं चिकित्सक ‘डायग्नोसिस’ भन्न नै हिचकिचाउने गर्छन। दुबै पक्षबाट आउने यो हिचकिचाहटले समस्यालाई थप जटिल बनाउँ छ। लक्षणको आधारमा बिरामीले सम्भावित ठानेका अनेक भयानक रोगको तुलनामा यो सहज र सुलभ रुपमा उपचार गर्न सकिने मनोवैज्ञानिक समस्या हो। स्पष्ट हुनु जरुरी छ, सबै मनोवैज्ञानिक समस्या उपचार गर्न कठिन हुन्छन भन्ने धारणा बिलकुल गलत अवधारणा हो।
आफूलाई कुनै कडा रोग लागेको छ वा लाग्दैछ भनी त्रसित भैरहने इलनेस एन्जाइटी डिसअर्डरसँग यो सोमाटिक सिम्प्टोम डिसअर्डरको केही समानता पाइन्छ। यी दुबै समस्याका कारण र उपचार पनि केही हदसम समान हुने गर्छन। यी बिरामीहरु आफैंमा त्यति गम्भीर नहुँदा नहुँदै पनि निदान अर्थात रोग पत्ता लगाउने प्रकृयामा संबेदनशिलताको अभावले अस्वभाविक र अनावश्यक बढी खर्च हुने समूहमा पर्छन्।
स्वभावतः बाहिर कारण प्रत्यक्ष नहुने हुनाले समस्याको उपचार पनि भित्री अप्रत्यक्ष कारणहरुमा लक्षित हुने गर्छ। औषधिको प्रयोग यसमा केबल लाक्षणिक उपचार मात्र हो। यसले रोगलाई नियन्त्रण गर्न सक्दैन।
अन्तरनिहित समस्या समाधानको लागि मूलतः ती लक्षणहरु किन र कसरी सम्भव छन् भन्ने कुरा व्यक्तिलाई स्विकार्य लाग्ने गरी फिजियोलोजी र चिकित्सकीय प्रमाणको परिधिमा रही जानकारी दिन सक्नु पर्छ।
पर्सेप्सन, कोग्निसन र अट्रिब्युसनको समस्याको प्रमुख आधार हुने हुनाले त्यसको मनोवैज्ञानिक ब्याख्या उपचारको सबभन्दा महत्वपूर्ण पाटो हो। उपचारको दोस्रो चरण दुखेको मन र भावनात्मक द्वन्दलाई व्यवस्थापन गर्नमा केन्द्रित हुने गर्छ। यसैकारण चिकित्सा विज्ञानले काउन्सेलिङ् (साइकोथेरापी) लाई सोमाटिक सिम्प्टोम डिसअर्डर को प्रमुख उपचार मानेको छ।
बिरामीले अनुभुत गर्ने असह्य कष्ट र पीडाका बावजुद ‘कोग्निटिभ विहेवियर थेरापी’, ‘एस्सेप्टेन्स एन्ड कमिटमेन्ट थेरापी’ र अन्य काउन्सेलिङका स्थापित विधिहरुको उपयुक्त प्रयोगमार्फत यो समस्याको प्रभावकारी व्यवस्थापन सम्भव छ।
-(सुवेदी क्लिनिकल साइकोलोजिष्ट हुन्।)