काठमाडौं– डा दिलासा डोटेल मिस नेपालको प्रतिस्पर्धामा छिन्। उनी मिस नेपालको टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छिन्।
डा दिलासा डोटेलले चितवन मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पुरा गरेकी हुन्। मिस नेपालमा सहभागी डा डोटेलको यही प्ल्याट फर्ममार्फत स्वास्थ्य क्षेत्रमा केही गर्ने योजना छ।
पेशाले चिकित्सक भएपनि उनलाई सामाजिक कार्यमा पनि रुचि छ। कुनै पनि आवाज उठाउन एउटा विशेष ठाउँ चाहिने भएकाले मिस नेपालमा सहभागी भएको उनी बताउँछिन्।
मिस नेपालमा सहभागी डा डोटेलसँगको उनको योजना र मिस नेपालको यात्राका विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्। डा डोटेलले व्यक्त गरेको धारणा उनकै शब्दमा:
म सिरहाको विष्णुपुरमा जन्मिएकी हुँ। मेरो विद्यालय र प्लस टु अध्ययन बुटवलबाट गरे। एमबीबीएस चितवनको मेडिकल कजेलबाट गरेकी छु।
हाल म मिस नेपाल २०२२ को प्रतिस्पार्धामा छु। म चिकित्सकीय पेशाका साथै विभिन्न संघ संस्थामा पनि आवद्ध छु। ब्युटी प्याजेन्ट र चिकित्सकीय पेशा फरक भन्ने बुझाई अहिले पनि धेरै पाउँछु। ब्युटि प्याजेन्ट भन्ने बित्तिकै मोडलिङ्ग नै गर्नुपर्छ भन्ने छैन। विश्व सामु नेपाललाई चिनाउने र केही गर्ने एउटा राम्रो मञ्च हो, मिस नेपाल।
मिस नेपालमा सहभागी हुनुको मेरो एउटै उद्देश्य छ, नेपालको स्वास्थ्य प्रणालीमा केही गर्नु। किनभने नेपालको स्वास्थ्य प्रणालीमा धेरै सुधार र विकास गर्नुपर्ने आवश्यकता छ। नेपालको स्वास्थ्य सेवा बिरामी केन्द्रित बनाउनुपर्छ। स्वास्थ्य संस्थाको सेवा व्यवस्थित र गुणस्तरीय हुनुपर्छ। ठाउँ अनुसार रोगको उपचार गर्ने पनि व्यवस्था गराउनुपर्छ। उपचारमा मात्र नभई अस्पतालको सेवा निदानात्मक, उपचारात्मक र पुर्नस्थापनाका विषयमा पनि केन्द्रित हुनुपर्छ। यही विषयहरु नै मैले मिस नेपालको मञ्च मार्फत आवाज उठाउँछु।
मिस नेपालमा सहभागी हुने रहर मलाई कक्षा सात पढ्दादेखि नै थियो। सुरुमा मिस नेपालमा सहभागी हुने कुरा परिवारमा राख्दा सर्पोट थिएन। डाक्टर पढ्ने व्यक्ति मिस नेपालमा किन जाने ? जस्ता कुराहरु आउँथ्यो। तर मैले आफ्नो उद्देश्य बारे परिवारलाई सम्झाए। त्यसपछि मेरो परिवार र आफन्तबाट मलाई अहिले पुरा समर्थन छ।
ब्युटी प्याजेन्ट भन्ने बित्तिकै मोडलिङ्ग भन्ने मात्र होइन। यही सोचलाई परिवर्तन गर्नुपर्ने देखिन्छ। म मोडलिङ्ग गर्नका लागि नभई स्वास्थ्यका विषयलाई यो ठूलो मञ्चबाट उठाउने उद्देश्यका साथ सहभागी भएकी हुँ। स्थानीयस्तरबाट आवाज उठाउनु भन्दा ठूलो मञ्चबाट आवाज उठाउनु धेरै फरक हुन्छ।
हाल म टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छु। मलाई अहिले जित र हातको मतलव छैन। म मेरो उद्देश्यमा स्पष्ट छु। म मेहनत गर्छु तर फलको आशा गर्दिन। म मेरो तर्फबाट पुरा मेहनत गर्छु। मेरो यो यात्रामा मलाई भोट दिएर साथ दिनु हुन पनि सबैलाई आग्रह गर्दछु।