काठमाडौं - सरकारले अपाङ्गगता भएका व्यक्तिका लागि ‘सहायक प्रविधि सामग्री सेवा सम्बन्धी मापदण्ड २०७८’ निर्माण गरेको छ।
अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने स्वास्थ्य सहायक सामग्रीलाई व्यवस्थित गर्न कुष्ठरोग नियन्त्रण तथा अपाङ्गगता व्यवस्थापन शाखाले उक्त मापदण्ड निर्माण गरेको हो। उक्त मापदण्डले यही वैशाख २३ गते मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको शाखाका प्रमुख डा रविन्द्र बास्कोटाले बताए।
उनले भने, ‘यो मापदण्ड हालै मात्र स्वास्थ्य मन्त्रालयबाट स्वीकृति भयो। यो मापदण्ड सबै ७५३ वटै पालिकामा पठाउँछौँ। साथै यो सँग सम्बन्धित मन्त्रालय र विभागमा पनि पठाउँछौ।’
हाल विभिन्न स्थानमा बिना कुनै मापदण्ड अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सहायक सामग्री वितरण हुने गरेको उनले बताए। यही क्रमलाई व्यवस्थित र एकीकृत गर्नका लागि मापदण्ड निर्माण गरिएको उनले जानकारी दिए। सेवाग्राहीको अभिलेख राख्नुपर्ने, सामग्री पाटपुर्जा मेसिनरी उपकरण कस्तो हुनुपर्ने, संस्थाले बहन गर्नुपर्ने उत्तरदायित्व, जनशक्ति कस्तो हुनुपर्ने, प्रमाणमा आधारित अभ्यास, मूल्य निर्धारण लगायत विषय मापदण्डमा उल्लेख छन्।
उनले भने, ‘अपाङ्गता भएका व्यक्तिलाई राज्यको दायित्वभन्दा पनि सामाजिक कल्याणको रुपमा विभिन्न स्वास्थ्य सामग्री वितरण गरिन्थ्यो। यो स्वास्थ्य सहायक सामग्री स्वास्थ्य संस्था र तालिम प्राप्त स्वास्थ्यकर्मीले मात्र नापजाँच गरेर मात्र प्रदान गर्नुपर्छ भनेर हामीले मापदण्ड बनाएका छौँ।’
अपाङ्गता भएका व्यक्तिको अवस्था र आवश्यकता अनुसार स्वास्थ्यकर्मीले परीक्षण गरेपछि मात्र स्वास्थ्य सहायक सामग्री वितरण गर्नुपर्ने उनले बताए। उनका अनुसार कुनै पनि व्यक्ति वा संस्थाले हचुवाको भरमा यी स्वास्थ्य सहायक सामग्री वितरण गर्न मिल्दैन। मन्त्रालयबाट स्वीकृत भएको उक्त मापदण्ड स्थानीय तहमा भने वितरण हुन बाँकी छ।
पालिकाहरुले आफ्नो क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिको संख्या, आवश्यकताको पहिचान र कसलाई कस्तो किसिमको सामग्री चाहिन्छ भनेर विश्लेषण गनुपर्छ। त्यसका लागि पालिकामा स्वास्थ्य प्राविधिक व्यक्तिको आवश्यक पर्ने उनले बताए।
अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सहायक सामग्री वितरणका लागि संख्याको आधारमा शाखाले वर्षेनी दुईदेखि तीन लाख रुपैयाँ बजेट समेत पठाउँदै आएको छ।
‘स्वास्थ्य सहायक सामग्री लगाएपछि बिग्रिन भाँचिन सक्छ। त्यसैले सुरुमा लगाउनदेखि पछि प्रयोग गर्ने तरिका सबै सिकाउनुपर्छ। त्यो काम भनेको स्वास्थ्यकर्मीले गर्छ। त्यसैले स्वास्थ्यकर्मीबाट नापजाँच गरेर मात्र ती सामग्री वितरण गर्नुपर्छ भनेको हो।’ उनले भने।
स्वास्थ्य सहायक सामग्रीको आवश्यकता धेरै पूर्ति न्यून
२०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको करिब २ प्रतिशत अर्थात् करिब ५ लाख १२ हजार व्यक्तिमा कुनै न कुनै किसिमको अपाङ्गता देखिएको छ। २०७८ सालको जनगणनाको नयाँ तथ्यांक आउन बाँकी छ। अपाङ्गताको प्रकारलाई विशेषगरी १० भागमा वर्गीकरण गरिएको छः
१. शारीरिक
२. दृष्टि सम्बन्धी
३. सुनाई सम्बन्धी
४. श्रवण दृष्टिविहीन
५. स्वर र बोलाई सम्बन्धी
६. मानसिक÷मनोसामाजिक
७. बौद्धिक
८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया)
९. अटिजम समबन्धी
१०. बहु
यी १० मध्ये नेपालमा सबैभन्दा धेरै शारीरिक अपाङ्गता भएका व्यक्तिहरु छन्। दृष्टि सम्बन्धीलाई दोस्रो, सुनाई सम्बन्धीलाई सरकारले तेस्रो सूचीमा राखेको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद, इपिडिमियोलोजी र शाखाले हालै मात्र ‘द ¥यापिड एसिसटिभ टेक्नोलोजी एसिसमेन्ट’ (राटा) सर्भे गरेको थियो। अध्ययनको उद्देश्य थियो, स्वास्थ्य सहायक सामग्री आवश्यक पर्ने जनसंख्या बारे थाहा पाउनु।
यो अध्ययन गएको नोभेम्बर डिसेम्बरमा भएको थियो। उक्त सर्भेको रिपोर्ट भने सार्वजनिक गर्न बाँकी रहेको शाखाले जनाएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा जेनेभाट फर्किएपछि रिपोर्ट सार्वजनिक गर्ने तयारी भएको उनले बताए।
कुल जनसंख्याको २५ प्रतिशत (करिब ७५ लाख) अर्थात् चारमध्ये एक जनालाई कुनै न कुनै रुपमा सहायक सामग्री चाहिने गरेको अध्ययनमा देखिएको थियो। २५ प्रतिशत जनसंख्यालाई सहायक सामग्री आवश्यक भएपनि १० प्रतिशतले मात्र पाइरहेका छन्। आवश्यकताको अनुपातमा पूर्ति हुन नसकेको अध्ययनमा पाइएको प्रमुख बास्कोटाले बताए।
‘सहायक सामग्रीको आवश्यकता धेरै छ। तर आवश्यकता अनुसारको सामग्री पु¥याउन नसकिएको देखिएको छ। पाउनेहरुमा पनि अरुले च्यारिटीमा दिएको, संस्था तथा विभिन्न डोनरहरुले दिएको मात्र छन्।’ उनले भने।
करिब तीन प्रतिशत व्यक्तिलाई ह्वीलचियरको आवश्यकता भएपनि एक प्रतिशतले मात्र ह्वीलचियर पाएको उनले बताए। अझै पनि दुई प्रतिशत अपाङ्गता भएका व्यक्ति सहायक सामग्रीको पहुँचबाट टाढा रहेको अध्ययनमा देखिएको छ।
४५ वटा स्वास्थ्य सहायक सामग्रीको मूल्य निर्धारण
सरकारले ४५ वटा स्वास्थ्य सहायक सामग्रीको मूल्य निर्धारण गरेको छ। मूल्यमा एकरुपता ल्याउन यी सामग्रीको मूल्य निर्धारण गरिएको प्रमुख बास्कोटाले बताए। वैशाखी, छडी, ह्वीलचियर, कृत्रिम हात, कृत्रिम खुट्टा, चस्मा, ब्रेल लगायत ४५ प्रकारका सामग्री यस अन्तर्गत पर्दछन्।
उनले भने, ‘मूल्यमा आफुखुशी नहोस् भनेर हामीले यी स्वास्थ्य सामग्रीको मूल्य निर्धारण गरेका छौँ। निर्धारण गरिएको भन्दा बढी मूल्य लिन पाइँदैन। एउटा ह्वीलचियर देखाएर दुई लाखको बिल अब उठाउन पाइँदैन।’
कुन सामग्रीको मूल्य कति?