काठमाडौं - कोरोना संक्रमितको उपचारमा सुरुदेखि नै खटिएको अस्पताल हो, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।
नेपालमा पुष्टि भएको पहिलो कोरोना संक्रमितको उपचार नै शुक्रराज अस्पतालमा भएको थियो। कोरोना महामारीसँगै आएको चुनौतीलाई अवसरमा परिणत गरी यो अस्पताल फरक पहिचान बनाउन सफलसमेत भयो।
कोरोनासँगै अन्य विभिन्न सरुवा रोगको उपचारमा यो अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरु दिनरात खटिन्छन्। तर यो अस्पतालको अवस्था भने निकै दयनीय छ।
पुराना भौतिक संरचना, संकुचित ठाउँ तर बिरामीको बाक्लो भीड।
अस्पताललाई चिनाउन यी तीन वाक्य नै काफी छन्।
देशको एकमात्र केन्द्रीय सरुवा रोग अस्पताल हो, यो अस्पताल। तर अस्पतालको भौतिक संरचना र सेवालाई हेर्दा लाग्छ, यो सरकारबाट अपहेलित अस्पताल हो। या भनौँ, सरकारको कम प्राथमिकतामा परेको अस्पताल पनि हो।
देशका कुनाकाप्चाबाट बिरामीहरु उपचारका लागि शुक्रराज अस्पताल पुग्छन्। १९९० सालमा कलेरा अस्पतालको रुपमा स्थापित यस अस्पतालको लामो इतिहास छ। यो २०१९ सालमा सरुवा रोग युनिट नामकरण गरी वीर अस्पतालअन्तर्गत थियो। तर २०३४ सालमा सरुवा रोग अस्पतालको रुपमा वीर अस्पतालबाट छुट्टिएर बेग्लै अस्पतालको रुपमा सञ्चालन भयो। २०५३ सालदेखि भने टेकु अस्पतालको नाम रुपान्तरण भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिणत भएको हो।
सीमित क्षमता, बढ्दो रोगको जोखिम र बिरामीको चाप
देशको एकमात्र केन्द्रीय सरुवा रोग अस्पताल भए पनि यसको विकास र विस्तारमा भने सरकारले खासै चासो दिएको देखिँदैन। देशभरका सरुवा रोगका बिरामीको भरोसाको केन्द्र यो अस्पतालका भौतिक संरचनानिकै पुराना र जीर्ण छन्। झण्डै ४० वर्ष पुराना संरचनाका कारण अस्पतालबाटै संक्रमण पो हुन्छ कि भनेर डर मान्नुपर्ने अवस्था छ।
सरकारले विकास र विस्तारमा चासो नदिँदा शुक्रराज अस्पताल सीमित क्षमता र पुराना भौतिक संरचनामा खुम्चिएर सेवा दिइरहनुपर्ने बाध्यतामा छ। बर्सेनि नयाँ–नयाँ सरुवा रोगहरु देखिँदै छन्। बिरामीको बढ्दो चाप छ। तर रोगको जोखिम र बिरामीको चाप अनुसार भने यस अस्पतालको क्षमता सरकारले बढाउन सकेको छैन।
अस्पतालकी निर्देशक डा मनिषा रावल भन्छिन्, ‘अहिले ठाउँ अभाव छ। सरुवा रोग अस्पताल भनिएपनि अझै धेरै सेवा तथा वार्डहरु प्रोटोकल अनुसार चलाउन सकिरहेका छैनौं।’
अस्पतालको बहिरंग विभाग (ओपिडी), एन्टी रेट्रोभाइरल थेरापी (एआरटी), प्रयोगशाला, फोहरमैला व्यवस्थापन केन्द्र, इन प्यासेन्ट (आइसीयू र इमरजेन्सी) र प्रशासन गरी ६ वटा भवन छन्। प्रयोगशाला, एआरटी सेन्टरबाहेक अन्य भवन ४० वर्ष पुराना छन्। ती भवनमा पनि २०७२ सालको भूकम्पले क्षति पुर्याएको छ।
शुक्रराज अस्पतालमा आइसीयू सञ्चालनमा आएको पनि चार वर्षमात्र भयो। चार वर्षअघि चार शय्याको आइसीयू तयारी अवस्थामा भएपनि एनेस्थेसिया जनशक्ति अभावका कारण सञ्चालनमा थिएन। आइसीयू अभावमा विशेषगरी एचआइभी संक्रमितहरुलाई समस्या हुन्थ्यो। एचआइभी संक्रमितहरुमा कुनै न कुनै संक्रमण वा दीर्घ रोग भएका कारण उनीहरुलाई बढी आइसीयू चाहिने गरेको डा रावल बताउँछिन्। त्यो बेला आइसीयू आवश्यक पर्दा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता थियो। तर अन्य अस्पतालले झट्टै उनीहरुलाई भर्ना गर्न मान्दैन थिए।
त्यसपछि शुक्रराज अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)सँगको समन्वयमा एनेस्थेसियाको क्रिटिकल पार्टमा सहयोग गर्ने सम्झौतासहित चार शय्याको आइसीयू सुरु गर्यो।
एक सय शय्याको अस्पतालमा हाल २४ शय्या आइसीयू छ। कोरोना महामारीको पहिलो लहरमा २० र दोस्रोमा चार थप गरी २४ शय्याको आइसीयू बनाइएको छ। ती आइसीयू पनि कोभिडको जनशक्तिले मात्र परिचालन भएको छ। एउटा आइसीयू बराबर एक नर्स र भेन्टिलेटरसहितको आइसीयू भए दुई नर्सआवश्यक पर्ने उनले बताइन्। कोभिड करारमा रहेका ४१ स्वास्थ्यकर्मीहरुको म्याद पनि चैतसम्म मात्र छ।
उनीहरुको सम्झौता नवीकरण नभए सञ्चालनमा रहेका २४ आइसीयूलाई फेरि चार शय्यामा झार्नुपर्ने बाध्यता देखिन्छ।
उनी भन्छिन्, ‘कोभिड करारमा राखेका स्वास्थ्यकर्मीको भरमा हाम्रो आइसीयू सञ्चालित छ। उनीहरुको पनि सम्झौता चैतमा सकिएपछि के गर्ने भन्ने समस्या छ।जनशक्ति उपलब्ध भएन भने २४ शय्याको आइसीयूलाई फेरि चार शय्यामा झार्नुपर्ने बाध्यता हुन्छ। जनशक्तिअभावमा आइसीयू कसरी सञ्चालन गर्ने ?’
आइसीयू बन्द भए विपन्न वर्ग र नन्कोभिडका बिरामी मारमा पर्ने उनको बुझाइ छ। कोभिडसँगै नन्कोभिडका लागि पनि आइसीयू आवश्यकपर्ने उनले बताइन्।
हाल शुक्रराज अस्पतालमा सरकारी १२९, अस्पताल विकास समितिबाट २३, कोभिड करार ४१ र छात्रवृत्ति करारमा ३५ गरी २२८ कर्मचारी कार्यरत छन्। हाल ओपिडीमा दैनिक १५० देखि २ सयको हाराहारी र इमर्जेन्सीमा १० देखि १५ जना बिरामी उपचारका लागि आउँछन्।
डा मनिषा रावल २०७४ सालमा सल्यानबाट काठमाडौं सरुवा भएर आएकी थिइन्। त्यो बेला उनले अस्पतालको निर्देशकको जिम्मेवारी पाएकी थिइन्। निर्देशकको रुपमा काम गरिरहँदा उनलाई महसुस भयो–अस्पताललाई सरकारले प्राथमिकता दिएन।
भन्छिन्, ‘जब म चार वर्षअघि निर्देशकको रुपमा यहाँ आएको थिएँ। कर्मचारी अभाव वा कुनै समस्याबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराउँदा पनि त्यति प्राथमिकता पाउँदैन थियो।’
तर कोभिड महामारीमा शुक्रराज अस्पतालले निर्वाह गरेको भूमिकाबाट भने सरकारको केही प्राथमिकता पाउन सकेको उनको बुझाइ छ।
तीन सय शय्याको भवन बनाउने योजना
आठ वर्षअघि अस्पतालका निर्देशक डा केदार सेन्चुरी थिए। उनले अस्पताललाई तीन सय शय्याको बनाउने योजना अघि सारेका थिए। यो बीचमा धेरै निर्देशक परिवर्तन भए तर योजना अघि बढ्न सकेको थिएन।
तीन सय शय्याको अस्पताल बनाउने गुरुयोजना दुई वर्ष अघिमात्र सरकारी कार्यक्रममा पर्यो। त्यो पनि जग्गा छनोट विवादका कारण अल्झिन पुगेको थियो। टेकु अस्पतालमै तीन सय शय्याको भवन बनाउने सुनिश्चितता चालु आर्थिक वर्षमा भएको छ।
शुक्रराज अस्पतालको आफ्नै जमिन ७२ रोपनी छ। तर १६ दशमलब ५ रोपनीमात्र प्रयोग गरिरहेको छ। बाँकी जमिन स्वास्थ्य सेवा विभागको प्रयोगमा छ। हाल निर्माण हुन लागेको तीन सय शय्याको भवन बनाउनका लागि अस्पताललाई २६ रोपनी जमिन चाहिएको छ। त्यसका लागि विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र आर्थिक प्रशासन भवन रहेको जमिन प्रयोग गरिने अस्पतालकी निर्देशक डा रावलले बताइन्।
टेकुमै तीन सय शय्याको ६ तल्ले अस्पताल बनाउने निर्णयपछि नक्सासमेत पास भइसकेको छ।हाल ‘प्राइमरी कन्सेप्सुल डिजाइन’ लगभग तयार भइसकेको उनले बताइन्।
उनले भनिन्, ‘सरकारको कार्यक्रममा परेको दुई वर्ष भयो। तर पहिलो वर्ष कहाँ बनाउने भन्ने निश्चित भएन। कहिले चन्द्रागिरी, कहिले भक्तपुरमा बनाउने भन्ने भयो। अस्पताल टाढा बनाउँदा बिरामीलाई झन्झट हुने भएकाले यही बनाउने निर्णय भयो।’
अस्पतालको थीडी नक्सा बन्न भने एक महिना लाग्नेछ। सुरुवाती दिनमा वाई आकारको भवन बनाउने कुरा भएपनि धेरै क्षेत्रफल ओगट्ने भएकाले हाल वर्गाकार भवन बनाउन लागिएको छ।
भवन विभागले चालु आर्थिक वर्षको असारसम्ममा टेण्डर आह्वान गर्ने योजना छ। टेण्डरपछि तीनदेखि पाँच वर्षभित्र अस्पताल निर्माणको काम सक्ने अस्पतालको लक्ष्य छ। अस्पताल निर्माणका लागि आवश्यक पर्ने लागत खर्चबारे तय भइनसकेपनि करिब एक अर्ब खर्च लाग्ने अनुमान छ।
अस्पतालको प्रयोगशाला र ओपिडी भवनबाहेक अन्य भवनहरु क्रमशः भत्काउँदै लैजाने उनले बताइन्। नयाँ भवन बनाउँदै गर्दा अस्पतालको सेवा भने केही प्रभावित हुन सक्ने उनको भनाइ छ। यद्यपि अस्पतालको सेवा ठप्पैचाहिँ हुँदैन।
नयाँ भवन नबन्दासम्म ३०÷४० शय्याको अस्पतालको रुपमा भएपनि सेवा दिइने उनले बताइन्। ओपिडी सेवा सञ्चालन भएपनि भर्ना हुनुपर्ने सेवा पनि प्रभावित हुनसक्ने उनले बताइन्।
‘ओपिडीमा आउने, कुकुरले टोकेर आउने बिरामीलाई खासै असर पर्दैन। हाल २४ शय्याको आइसीयू छ। त्यो बेला २÷३ शय्याको बनाउन पनि सकिन्छ या नसकिएला पनि,’ उनले भनिन्, ‘एचडीयू, आइसीयू र क्याबिनको सुविधा दिन सक्दैनौ होला। किनभने हामीले एउटा ठूलो हलजस्तो बनाएर सेवा दिनुपर्ने हुन्छ।’
तीन सय शय्या अस्पतालको योजना योजना अघि बढाउन तत्कालीन निर्देशक डा अनुप बास्तोलाको पनि महत्वपूर्ण भूमिका छ। उनले आफू निर्देशक भएका बेला अस्पताल बनाउने कामलाई अघि बढाउन धेरै प्रयास गरेको कर्मचारीहरु बताउँछन्।
तीन सय शय्याको भवन भएपछि विभिन्न सरुवा रोगहरुको उपचार गर्न सहज हुने डा रावलले बताइन्। निर्माण हुन लागिरहेको उक्त अस्पताल सरुवा रोगको प्रोटोकल अनुसार बन्नेछ। कोभिड जस्तो महामारीसँग जुध्न सकिने तरिकाले अस्पतालका पूर्वाधारनिर्माण हुने उनले बताइन्।
‘कुन महामारी कति बेला आउँछ, कसैलाई थाहा हुँदैन। यदि महामारी आइहाल्यो भने सिक्ने होइन। सिधै प्रणालीमा गएर सेवा दिने तथा कर्मचारी परिचालन गर्ने तरिकाले यो भवन बन्दैछ’ उनले भनिन्।
कोभिड महामारीको समयमा नन्कोभिडका धेरै बिरामीहरु सेवाबाट बञ्चित भए। सरकारको मुख्य ध्यान नै कोरोना नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुँदा नन्कोभिडका बिरामीले दुःख पाए। तर ३ सय शय्याको भवन बनेपछि नन्कोभिड या जनरल बिरामीले दुःख नपाउने निर्देशक रावलको अपेक्षा छ। भवन निर्माणको काम आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले बताइन्।
पर्याप्त छैन बजेट
अस्पतालको आम्दानीको स्रोत बिरामीको सेवा शुल्क नै हो। त्यसमा पनि प्रयोशालामार्फत् दिइने सेवाहरु नै मुख्य हुन्। अस्पतालको प्रयोगशालामा सबैभन्दा बढी सिटी स्क्यान गराउने बिरामी आउँछन्। दैनिक ५ देखि १२ जनाको सिटि स्क्यान हुने गरेको अस्पतालले जनाएको छ। योसहित अल्ट्रासाउण्ड, भिडियो एक्स–रेलगायत सेवा उपलब्ध छन्।
योबाहेक सरकारले अस्पताल सञ्चालनका लागि पठाउने बजेट हो। चालु आर्थिक वर्षका लागि सरकारले शुक्रराज अस्पताललाई १५ करोड विनियोजन गरेको थियो। तर उक्त बजेट पनि कर्मचारीको तलब भत्तामै खर्च गर्दा माघमै सकिने गरेको उनले बताइन्।
उनले भनिन्, ‘१५ करोड बजेट भनेको अपुग हो। त्यो पनि कर्मचारीको तलब भत्तामै सकिन्छ। त्यसपछि आर्थिक वर्षको अन्तमा हामीले मन्त्रालयसँग माग्नुपर्छ। हामीलाई केही खरिद गर्नुपर्यो भने समस्या हुन्छ।’
अस्पतालको इमर्जेन्सीमा बिरामीको उपचारमा एकरुपता ल्याउन स्ट्यान्टर्ड ट्रिटमेन्ट प्रोटोकल बनाउने, एमआरआई सेवा सुरु गर्ने, वैदेशिक रोजगारीमा जानेहरुलाई केन्द्रित गरी होलबडी प्याकेज सुरु गर्ने उनको योजना छ।
जब महामारी, तब शुक्रराज अस्पताल
सरकारले देशमा विपत आएका बेला मात्र शुक्रराज अस्पताललाई सम्झने गरेको अस्पतालका कर्मचारीको गुनासो छ।
२० वर्षदेखि शुक्रराज अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन शुक्रराज अस्पताल सरकारको प्राथमिकतामा नपरेको बताउँछन्। देशमा कुनै महामारी र विपद आएका बेला मात्र सरकारले शुक्रराज अस्पताललाई सम्झने गरेको उनले बताए।
उनले भने, ‘जुन बेला देशमा महामारी फैलन्छ। त्यो बेला सबैको नजर टेकु अस्पतालमा फर्कन्छ। कोरोना महामारी होस् या डेंगुको महामारी नै किन नहोस्। अरु बेला बेवास्ता गर्ने तर महामारीको बेला मात्र फर्केर हुँदैन।’
सरुवा रोग अस्पताललाई सरकारले उच्च प्राथमिकतामा राखेर भवन निर्माण, दक्ष जनशक्ति र अध्ययन अनुसन्धानको पाटोलाई महत्व दिनुपर्ने उनी बताउँछन्। विपदको बेला शुक्रराज अस्पताल सबैको भरोसाको केन्द्रविन्दु बनेपनि त्यही अनुसार सरकारले प्राथमिकतामा राखेको उनले पाएका छैनन्। कोभिड कम हुँदै गएपछि सरकारले शुक्रराज अस्पताललाई पनि बिर्सदै जाने उनले बताए।
नेपालसहित विश्वमा नयाँ–नयाँ सरुवा रोगहरु फैलिरहेको अवस्थामा शुक्रराज अस्पतालको क्षमतालाई वृद्धि गर्नुपर्नेमा उनको दुई मत छैन।
उनले भने, ‘कोभिडजस्तै अन्य महामारी त कति आउँछन्, आउँछन्। ती महामारीको सामना गर्न शुक्रराज अस्पतालको क्षमता विस्तार गरिनुपर्छ। एक सय शय्यामा मात्र सीमित हुनु हुँदैन।’
तीन सय शय्याको अस्पताल बनाउने तयारी गरिरहँदा सरकारले भवन बनाउन मात्र नभई जनशक्ति र अध्ययन अनुसन्धानको पाटोलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनले बताए। दक्ष जनशक्ति अभावमा प्रभावकारी सेवा दिन नसकिने र अनुसन्धान बिना रोगसँग लड्न नसक्ने उनको बुझाइ छ।
कोभिडजस्तो संक्रामक रोगको व्यवस्थापनका लागि सधै पूर्वतयारी अवस्थामा रहनुपर्ने डा पुनको सुझाव छ।
‘र, त्यो पूर्वतयारी भनेकै सरुवा रोग अस्पतालको स्तर वृद्धि गरी क्षमता बढाउनु हो,’ उनले निस्कर्ष सुनाए।