काठमाडौं- दुर्घटनाका कारण कुनै बेला व्यक्तिको हात चुडिने तथा चोटपटक लाग्ने गर्दछ। सामान्य चोटपटक लाग्दा शल्यक्रियाको आवश्यक पर्दैन। तर दुर्घटनामा परेर हात तथा औँला चुडिए शल्यक्रिया मार्फत नै त्यसको उपचार गर्नुपर्ने हुन्छ।
नेपालमा पनि ह्याण्ड सर्जरी अर्थात् हातको शल्यक्रिया सम्बन्धी सेवा उपलब्ध छन्। जसमध्ये त्रिवि शिक्षण अस्पतालले पनि ह्याण्ड सर्जरीको सेवा दिइरहेको छ। ह्याण्ड सर्जरी भनेका के हो? कुन अवस्थामा गरिन्छ?
उपचारको पाटो के हो? लगायत विषयमा हामीले त्रिवि शिक्षण अस्पतालका प्लास्टिक तथा ह्याण्ड सर्जन डा जयनमान श्रेष्ठसँग कुराकानी गरेका छौँ। डा श्रेष्ठसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
ह्याण्ड सर्जरी भनेको के हो?
– चोटपटक वा जन्मजात रुपमा केही व्यक्तिको हातमा विभिन्न समस्याहरु हुन्छन्।
– जन्मजात वा चोटपटकबाट हुने हात सम्बन्धी समस्याको उपचार नै ह्याण्ड सर्जरी हो।
ह्याण्ड सर्जरी अन्तर्गत के के सेवाहरु पर्छन् ?
– धेरैजसोको चोटपटकको कारण नै हातको सर्जरी गर्नुपर्ने हुन्छ।
– त्रिवि शिक्षण अस्पतालमा विभिन्न चोटपटकका कारण दैनिक ३÷४ जना व्यक्तिहरु आउँछन्।
जन्मजात हातमा हुने समस्याहरु भनेको के हो ?
– बच्चा जन्मदा नै औँला जोडिएको, पाँचभन्दा बढी औँलाहरु भएको समस्याहरु हुन्छन्।
– केहीको बुढीऔँला नै नभएका व्यक्तिहरु पनि हुन्छन्। जसको ह्याण्ड सर्जरीबाट उपचार गर्न सकिन्छ।
त्रिवि शिक्षणमा विशेषगरी हात सम्बन्धी कस्तो समस्या लिएर बढी आउँछन् ?
– त्रिवि शिक्षण अस्पतालमा विशेषगरी चोटपटकको कारण हातमा समस्या लिएर नै बढी आउँछन्।
– जसमा धारिलो हतियारले सानो घाउदेखि धेरै जटिल अवस्थाका व्यक्तिहरु आउने गर्छन्।
– हात थिचिएपछि रगतको नसा, हड्डी सबै नै खराब भएर पनि बिरामीहरु आउँछन्।
– कुनै बेला पुरै हात काटिएको, औला चुडिएको जस्ता जटिल अवस्थाको पनि हामीले शल्यक्रिया गर्छौ।
कुनै दुर्घटना वा चोटपटकका कारण हात तथा औँलाहरु चुडिए कति समयभित्र उपचार गर्नुपर्छ?
– कसैको हात वा औँला काटियो भने सुरुमा त्यसलाई चिसो बनाएर राख्नुपर्छ।
– छुटिएको भागलाई अलिकति चिसो सफा कपडाले बेरेर सफा पोलिथिन ब्यागले बेरेर राख्ने र त्यसलाई आइस भएको झोलामा बाँधेर राख्नुपर्छ।
– चुडिएको भागलाई सकेसम्म छिटो वा ६ घण्टाभित्र अस्पताल पुर्याउनुपर्छ।
शल्यक्रियापछि जोडिएको हात तथा औँलाहरु पुरानै अवस्थामा फर्किन्छन्?
– जोडिएको अंगले पछि कत्तिको काम गर्छ भन्ने कुरा फिजियोथेरापीमा पनि भर पर्छ।
– जोडिएको अंगलाई चलाउनुपर्छ। एक्सरसाइज गर्नुपर्छ। नसाहरुलाई टाँसिन दिनु हुँदैन।
– शल्यक्रियापछि शतप्रतिशत राम्रोसँग काम गर्छ भन्ने हुँदैन। तर धेरै हदसम्म काम भने गर्छ।
ह्याण्ड सर्जरीको उपचार कत्तिको खर्चिलो छ?
– ह्याण्ड सर्जरी आफैँमा धेरै जटिल खालको शल्यक्रिया हो।
– शल्यक्रियामा लाग्ने खर्च बिरामीको अवस्था हेरेर पनि हुन्छ।
– लामो समयसम्म यसको उपचार र फलोअप गर्नुपर्ने भएकाले यो खर्चिलो पनि बन्न सक्छ।
अन्त्यमा यहाँको सुझाव?
– चोटपटक लागेर शल्यक्रिया गरिएको हातलाई पछिसम्म अन्य उपचारको खाँचो पर्छ।
– कसैको हातको बुढी औँला काटिएको छ भने हामीले खुट्टाको कुनै औँला त्यहाँ राखेर नयाँ औँला पनि बनाउँछौ।
– कुनै बेला घाँटीमा चोटपटक लाग्दा हातको रगत सञ्चार गर्ने नसाहरु च्यातिन्छन्। जसले गर्दा हात काम नलाग्ने, लुलो हुने समस्या हुन्छ।
– शरीरका विभिन्न ठाउँबाट नसाहरु ल्याएर त्यसलाई चलायमान बनाउने किसिमको प्रविधिबाट पनि त्रिवि शिक्षण अस्पतालमा उपचार हुन्छ।
– धारिलो सामग्री चलाउँदा सावधानीपूर्वक प्रयोग गर्न मेरो सुझाव छ।
भिडियो – अनुराग लम्साल