चितवनको भरतपुरमा यही वैशाख ९ गतेदेखि नेपाल फर्मा एक्स्पो २०२२ हुँदैछ। तीन दिनसम्म चल्ने एक्स्पोको तयारी लगभग पुरा भएको आयोजक नेपाल औषधि उत्पादक संघ (एपोन)ले जनाएको छ। एक्स्पो हरेक दुई वर्षमा हुँदै आइरहेको छ। कोभिड महामारीका कारण यो पटकको एक्स्पो केही ढिला आयोजना भएको छ। एक्स्पोको तयारी कहाँसम्म पुग्यो? एक्स्पोको उद्देश्य के हो? नेपालमा औषधि बजारको अवस्था के छ? लगायत विषयमा एपोनका उपाध्यक्ष सन्तोष बरालसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानी:
– नेपाल फर्मा एक्स्पोको तयारी कहाँसम्म पुग्यो ?
नेपाल फर्मा एक्स्पोको लागि १६० वटा स्टलहरु राखिएका थिए। जुन हालसम्म सबै बुक भइसक्यो। स्टल अपुग भएको अवस्था छ। २५ वटा नेपाली औषधि उद्योगहरु र बाँकी विभिन्न बहुराष्ट्रिय कम्पनीले स्टल बुक गरेका छन्। फर्मा एक्स्पो सम्बन्धी काम तथा सेमिनारहरु पनि भइरहेका छन्। मार्केटिङ, मेडिकल रिप्रेजेन्टिभ, फर्मासिस्ट लगायतलाई तालिम तथा सेमिनारको आयोजना गरेका छौँ। वैशाख ८ गते म्यानेजर, फर्मासिस्ट र ९ गते चिकित्सकहरुका लागि पनि सेमिनारको आयोजना गरिएको छ। एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। स्वास्थ्यमन्त्री, उद्योगमन्त्री, नेपाल उद्योग वाणिज्य महासंघका प्रमुख लगायतले पनि एक्स्पोको अवलोकन गर्ने तय भएको छ।
– नेपाल फर्मा एक्स्पोको उद्देश्य के हो?
डाक्टर, पारामेडिक्स, होलसेलर, औषधिका बिक्रि कर्ताहरु र औषधि सम्बन्धी जानकार व्यक्तिहरुका साथै सर्वसाधारलाई औषधि कसरी उत्पादन हुन्छ? कस्तो खालको उपकरण प्रयोग हुन्छ? कस्तो किसिमको केमिकल तथा संरचनाहरु प्रयोग गरिन्छन्? र कसरी औषधि बन्छ भन्ने लगायत प्रविधिहरु देखाउने नै मुख्य उद्देश्य हो। यस बाहेक हामीले सञ्चारमाध्यमबाट धेरैभन्दा धेरै एक्स्पोको जानकारी दिने उद्देश्य पनि राखेका छौं। किनभने आम मानिसले पनि नेपालमा उत्पादन भइरहेका औषधि र प्रविधिहरु बारे थाहा पाउन भन्ने हाम्रो उद्देश्य र चासो हो। विदेशको मात्र औषधि नेपाल आउँछ भन्ने होइन। नेपालमा पनि त्यस्तै किसिमको प्रविधि प्रयोग गरेर गुणस्तरीय औषधि बन्ने रहेछ भनेर आम मानिसलाई जानकारी दिने पनि हाम्रो उद्देश्य छ। त्यसकारण नेपालमै कसरी औषधि बन्छ भन्ने विषयमा जानकारी लिन एक्स्पो भ्रमण गर्न सबैलाई आग्रह गर्छु।
– औषधिमा आत्मनिर्भरता तर्फ अघि बढ्न यो एक्स्पोले कस्तो खालको सहयोग गर्छ?
औषधिमा आत्मनिर्भरता तर्फ अघि बढ्न पक्कै पनि यो फर्मा एक्स्पाले एक किसिमको सहयोग गर्छ नै। किनभने हिजोसम्म विदेशी औषधि मात्र राम्रो हुन्छ भन्ने धेरैको मानसिकता थियो। तर अहिले त त्यो धारणा परिवर्तन भइसकेको छ। एक्स्पोमा हामीले अहिले प्रयोग गरिरहेका नवीनतम प्रविधिको बारे जानकारी दिन्छौं। एक्स्पोबाट नीति बनाउनेदेखि औषधि सेवन गर्ने सर्वसाधारणले नेपालमा प्रयोग भइरहेका प्रविधि बारे थाहा पाउँछन्। जसले गर्दा हामी औषधि बनाउन सक्षम भइसकेका छौँ भन्ने सन्देश पनि दिन्छ। र, जब यही स्वदेशमा औषधि बन्छ भने विदेशबाट किन ल्याउने भन्नका लागि पनि उर्जा मिन्छ। औषधि सम्बन्धी नीति नियम बनाउने क्रममा पनि यसले केही सहयोग गर्छ भन्ने हाम्रो अपेक्षा छ।
– अहिले औषधिको बजार कस्तो छ? हामी औषधिमा कति आत्मनिर्भर छौँ?
खुद्रा मूल्य (बिरामी स्वयंले खरिद गर्ने), होलसेल मूल्य र कम्पनी मूल्य गरी नेपालमा औषधि बजार ९५ अर्बको देखिएको छ। त्यसमा ४० देखि ४५ अर्ब नेपाली उद्योगले ओगटेको देखिन्छ। नेपाली औषधि उद्योगले ६ सय प्रकारका औषधिहरु बनाउँछ। ६ सय प्रकारका औषधिमा ८० प्रतिशत हाम्रो बजार छ। समग्रमा पुरा औषधि बजारमा भने हाम्रो हिस्सा ४५ देखि ५० प्रतिशत छ। हामीले स्वदेशमा बनाइरहेका औषधिहरु समेत बाहिरबाट आइरहेका छन्। सरकारलाई हामीले नेपालमा बन्ने औषधि ‘हामीलाई बनाउन दिनुहोस्, बाहिरबाट कच्चा पदार्थ मात्र आउन दिनुहोस्, नेपालमा नबन्ने औषधि ल्याउँदा हामीलाई कुनै समस्या छैन’ भनेका छौँ। नेपालमा धेरै मात्रामा उत्पादन भइरहेका औषधिको कच्चा पदार्थ मात्र ल्याउने नीति लिने हो भने हाम्रो बजार हिस्सा धेरै माथि पुग्छ। नेपालमा प्याकिङ्ग मटेरियलका उद्योगहरु खुलिसकेका छन्। र, दुई वटा कच्चा पदार्थका उद्योग पनि खोलेको देखिन्छ। कच्चा पदार्थ प्रत्यक्ष र अप्रत्यक्ष गरी दुई किसिमको हुन्छ। नेपालमा अप्रत्यक्ष कच्चा पदार्थको सुरुवात भइसकेको छ। यसले नेपालमा बजार खुल्ने अवस्था भयो भने उद्योगहरु पनि फस्टाउँछन्।
– नेपालमै उत्पादन हुने औषधिहरुको आयात प्रतिस्थापन गर्न के कुराले रोकेको छ?
यो निकै गाह्रो प्रश्न हो। कसलाई दोष लगाउने र कसलाई भन्ने जस्तो कुरा हो। मुख्य गरी नियमन निकाय नै समस्याको रुपमा देखिएको छ। तर त्यो मात्र सत्य नहुन पनि सक्छ। नियमन निकायलाई देखाएर अन्यले चलखेल गरेको हुन सक्ने पनि हाम्रो अनुमान छ।
– स्वदेशी उत्पादनलाई सरकार आफैंले विश्वास नगरेको पो हो की?
स्वदेशी औषधि उद्योगले औषधि बजारको यति ठूलो हिस्सा आगटेको छ। चिकित्सकहरुले पनि ती औषधिहरु प्रेसक्र्याइब गरिरहेका छन्। बिरामीहरुले पनि खाइरहेका छन्। त्यसैले सरकारले स्वदेशी उत्पादनलाई विश्वास नगरेको भन्न चाँही मिल्दैन।
– औषधि उद्योग सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिको अवस्था के छ?
औषधि उद्योग सञ्चालनका लागि दुई÷तीन किसिमको जनशक्तिहरु आवश्यक पर्छन्। मेजर औषधि म्यानुफ्याक्चरिङ गर्न आवश्यक पर्ने जनशक्ति भनेको फर्मासिस्टहरु नै हुन्। नेपाललाई आवश्यक पर्ने फर्मासिस्टहरु पर्याप्त मात्रामै छन्। उपकरणहरु सञ्चालन गर्ने जनशक्तिहरु पनि छन्। हामीलाई उपकरण उपलब्ध गराउने कम्पनीहरुले पनि हामीलाई केही न केही जनशक्तिहरु सहयोग नै गरिरहेका हुन्छन्। त्यसले गर्दा अहिलेसम्म हामीलाई उद्योग सञ्चालनका लागि आवश्यक पर्ने जनशक्तिमा कुनै समस्या छैन।
– केही उद्योगहरुले आफ्नो क्षमताको २० देखि ३० प्रतिशत मात्र औषधि उत्पादन गरेको तर सरकारले सहयोग गरे थप क्षमतामा जान सकिन्छ भन्ने भनाई आउने गर्छ। वास्तवमा यो के हो ?
शतप्रतिशत यही कुरा होइन। तर केही हदसम्म भने सत्य हो। सरकारले कुनै पाँच वा पाँचभन्दा बढी उद्योगले कुनै औषधि नेपालमै बनाउँछ भने त्यो औषधि बाहिरबाट नल्याउने नीति बनाओस्। साढे ३ सयभन्दा बढी विदेशी कम्पनीहरु छन्। ती कम्पनीहरुले हामीले बनाउने औषधि नल्याइदिने हो भने हाम्रो बजार त स्वतः विकास हुन्छ। त्यसले उत्पादन क्षमता पनि बढ्छ।
कुनै पनि उद्योगले विस्तार गर्नुपर्यो भने जग्गा पाउँदैन। जग्गा पायो भने किन्न सकिँदैन। जग्गा किन्यो भने उद्योग बनाउने पैसा त्यही सकिन्छ। यो समस्या छ। अर्को भनेको बैंकले दिने ब्याज हो। सरकारले पाँच वर्षसम्मको घाटा कभर गर्छु भन्छ। तर बैंकले भने तेस्रो वर्षमा जसरी पनि चाहिन्छ भन्छ। त्यसैले दोधारे नीति यहाँ देखिन्छ। इच्छाशक्ति भयो भने सबै समस्याहरु समाधान गर्न सकिन्छ।
– औषधिको मूल्य समायोजनको कुरा पनि बेला–बेलामा आउने गर्छ। खास कुरा के हो?
१४ वर्ष अघि सरकारले विभिन्न २२ प्रकारका औषधिहरुको मूल्य तोकेको थियो। तर त्यसपछि हालसम्म समायोजन भएको छैन। अन्तर्राष्ट्रिय स्तरमा कच्चा पदार्थ, प्याकेजिङको कच्चा पदार्थको मूल्य आकासिएर तीन सय गुणासम्म बढी सक्यो। तर सरकारले भने त्यही मूल्यमा औषधि बेच्न भनिरहेको छ। त्यसले गर्दा समस्या भएको हो। हामीले अहिले २२ वटा औषधिको मूल्य समय अनुसार समायोजन गर्न कार्यविधि बनाउन आग्रह गरेका छौँ। र, त्यो कार्यविधि वर्षैपिच्छे समायोजन हुनुपर्छ। समायोजनको अर्थ मूल्य बढाउने भन्ने मात्र होइन। यदी घट्ने छ भने घटाउँदा पनि हुन्छ। त्यसमा हामी कुनै समस्या छैन।