काठमाडौं - कोरोना संक्रमितको चाप बढ्दै गएपछि सरकारले वीर अस्पताललाई ‘कोभिड १९ युनिफाइड’ केन्द्रीय अस्पतालको रुपमा घोषणा गर्यो।
कोभिड अस्पतालको रुपमा परिणत भएपछि वीर अस्पतालले जेठ १८ गतेदेखि नवनिर्मित सर्जिकल भवनमा संक्रमितको उपचार सुरु गरेको थियो। संक्रमितको उपचारका लागि सुरुवाती दिनमा ५० शय्याबाट सेवा सुरु गरिएको थियो।
हाल कोभिड संक्रमित घट्दै गएपछि वीर अस्पतालमा पनि कोभिडका बिरामीमा कमी आएको छ। सर्जिकल भवनको आइसीयूमा हाल कुनै पनि बिरामी नरहेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
कोभिड संक्रमितको संख्यामा कमी आएपछि उक्त सर्जिकल भवनमा ननकोभिड सम्बन्धी सेवा गत एक महिनादेखि सुरु भएको छ। उद्घाटन भएको ९ महिनापछि सर्जिकल भवनबाट कोभिडसँगै ननकोभिडका सेवाहरु नियमित रुपमा सुरु भएको हो।
सर्जिकल भवनमा सेवा सुरु भएसँगै महँगो शुल्क तिरेर निजी अस्पतालमा सर्जरी सेवा लिन जानुपर्ने बाध्यता हटेको डा बस्नेतले बताए। योसँगै आइसीयू अभावमा बिरामीलाई फिर्ता पठाउनुपर्ने समस्या समेत हटेको उनले बताए।
उनले भने, ‘आइसीयूको आवश्यक पर्यो भनेर रिफर हुने समस्यालाई हामीले पूर्ण रुपले बन्द गरेका छौँ। आइसीयू र एचडीयू पाइएन भनेर वीर अस्पतालबाट रिफर हुने समस्या अहिले अन्त्य भएको छ।’
अपरेशनका लागि तीन÷चार महिना कुर्नुपर्ने बाध्यता पनि अब विस्तारै हटेर जाने उनको विश्वास छ। सर्जिकल भवनबाट हाल सर्जिकल वार्ड, सिटिभीएस जनरल सर्जरी वार्ड, ३० शय्याको आइसीयू सेवा सञ्चालन गरेको छ। सर्जिकल भवनमा ३० र पुरानो भवनमा २५ गरी ५५ शय्याको आइसीयू वीर अस्पतालले सञ्चालन गरिरहेको छ। १० शय्याको एचडीयू छ।
चार वटा अपरेशन थिएटर (ओटी) सर्जिकल भवनमा सुरु भएको छ। विशेषगरी सर्जिकल भवनमा अपरेशन थिएटर, पोस्ट अपरेटिभ वार्ड, आइसीयू र सर्जिकल वार्डहरु हुन्। सबै सेवाहरु सञ्चालन गरिएपनि पूर्ण क्षमतामा जान केही समय लाग्ने डा बस्नेतले बताए।
‘जनशक्ति भयो भने हामी आज भोलि नै पुरा तयार छौँ। हामीसँग शय्या, भेन्टिलेटर, वार्डको सबै व्यवस्था छ। तर जनशक्तिको त्यति व्यवस्था छैन,’ उनले भने, ‘हामीले ५०० सय नै शय्या सञ्चालन गरेपनि एकैदिन आउने भन्ने पनि हुँदैन। हामीले विशेषगरी आइसीयू सेवा दिएका छौँ।’
कोभिडको समयमा राखिएको करार जनशक्तिको भरमा सर्जिकल भवन
कोभिड व्यवस्थापनका लागि करारमा राखिएका जनशक्तिकै भरमा सर्जिकल भवनको सेवाहरु सञ्चालित छन्। उनीहरुलाई परिचालन गरी सर्जिकल भवनका नियमित सेवाहरु सुरु गरिएको डा बस्नेतले बताए।
वीर अस्पतालले कोभिड व्यवस्थापनका लागि १८० स्टाफ नर्स सहित २ सय जना जनशक्तिका राखेको थियो।
ती जनशक्तिहरुको सम्झौता पनि चैत मसान्तमा सकिँदैछ। उनीहरुको सम्झौता असार मसान्तसम्मका लागि लम्ब्याउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको डा बस्नेतले जानकारी दिए।
उनले भने, ‘कोभिडका लिइएको जनशक्तिको सम्झौता चैत्र मसान्तसम्म भन्ने छ। तर हामीले स्वास्थ्य मन्त्रालयमा असार मसान्तसम्म लम्ब्याउन आग्रह गरिरहेका छौँ। असार मसान्तसम्म भयो भने यी सेवाहरु यथावत रहन्छन्।’ उनले करारका जनशक्तिको म्याद थपिएन भने सेवा प्रवाहमा समस्या हुने बताए।
५२० शय्याका लागि ५६६ स्टाफ नर्स सहित ८३१ जनशक्तिको आवश्यकता रहेको उनले बताए। उनका अनुसार दरबन्दी स्वीकृत भएपनि जनशक्तिहरु आउने प्रक्रियामा रहेको छ। ३ सय जना लोक सेवाको प्रक्रियामा रहेको र आगामी ६ महिनासम्म आउने सम्भावना रहेको उनले बताए।
जनशक्ति भए कोभिड र ननकोभिडका बिरामीलाई सेवा दिन सक्छौँ
कोभिड महामारी आए कोभिड र ननकोभिडका दुवै बिरामीलाई व्यवस्थापन गर्न सक्ने आफुहरुको क्षमता भएको उनको दाबी छ। कोभिड व्यवस्थापनका लागि निर्माण गरिएका कोभिड वार्ड, आइसीयू, पिसिआर प्रयोगशाला लगायत संरचनाहरु यथावत अवस्थामा राखिएको उनले बताए।
‘हामीसँग प्रशस्त ठाउँहरु छन्। कोभिड र ननकोभिड दुवै बिरामीलाई हामी व्यवस्थापन गर्न सक्छौ। कोभिडमा प्रयोग गरिएका संरचनाहरुलाई यथावत राखेका छौँ। महामारीको समयमा हामी कुनै पनि समय यी सेवाहरु सञ्चालन गर्न सक्छौ।’ उनले भने।
विशेषज्ञ सहितको सेवा वीर अस्पतालमा थप्ने तयारी रहेको उनले बताए। ओटी र वार्ड सञ्चालन गर्ने उपकरणहरु केही खरिद गरिएको र बाँकी अस्पताल सञ्चालनका लागि आधारभूत आवश्यक पर्ने उपकरणहरु असार मसान्तसम्म खरिद प्रक्रिया सकिने उनले बताए।
उक्त भवनमा दुई वटा एमआरआई, दुई वटा सिटि स्क्यान, डिएसए, पेट स्क्यान राख्ने ठाउँ भएपनि बजेट व्यवस्थापन नभएको उनले बताए। यी सबै उपकरणहरु वीर अस्पतालमा हुनुपर्ने भन्दै डा बस्नेत बजेट व्यवस्थापनमा जुटेका छन्।
उनले भने, ‘यी सबै उपकरणहरु आवश्यक छ। यसका लागि बजेट व्यवस्था भएको छैन। प्रक्रियामा छ। यी सबै उपकरणहरु वीर अस्पतालमा हुनुपर्छ। यसले गर्दा आम नेपालीले सर्वसुलभ रुपमा सहज किसिमले सबै उपचार वीर अस्पतालमा पाउँछन्।’
वीर अस्पतालको ओपिडीमा हाल दैनिक करिब दुई हजार र इमरजेन्सीमा ३ देखि ४ सय र आइसीयू चाहिने १० जना बिरामी आउँछन्।
(भिडियो – अनुराग लम्साल)