धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच वटा स्थानीय तहमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ।
नेपाल सरकारले देशभरी आगामी २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा आज बुधबारदेखि नै अभियानका रुपमा अघि बढाइएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने छ। बाँकी आठ पालिकामा भने आगामी २५ गतेदेखि अभियान शुरु गरिने छ।
कैलालीमा दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइड विरुद्धकोे खोप लगाउने लक्ष्य रहेको छ। खोप अभियानका लागि नौ सय २४ खोप केन्द्र र एक हजार नौ सय ३३ खोप सेसन स्थापना गरिएका छन्।
कैलालीमा विद्यालयमा रहेका दुई लाख आठ हजार आठ सय २८ तथा विद्यालय बाहिर रहेका ४० हजार दुई सय २० बालबालिका सबैलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले टाइफाइड विरुद्धको खोप अभियानलाई लक्षित गरी मंगलबार अभिमुखीकरण कार्यक्रम गरेको छ। १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाका विद्यालयमा आगामी वैशाख २ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने बताए। उनका अनुसार उपमहानगरपालिकामा ५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।
देशभर यो कार्यक्रम २५ गतेदेखि लागु हुने भए पनि धनगढीका अधिकांश विद्यालयले परीक्षाको मिति तोकिसकेकाले २३ गतेदेखि नै सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए।
उपमहानगरपालिका भित्र एक सय ३२ खोप केन्द्र र एक सय ४१ खोप सेसन संख्या रहने छन् । त्यस्तै, तीन सय ३० महिला स्वास्थ्य स्वयंसेविका र ८६ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ।
यो खोप लगाउँदा खोप लगाएको स्थानमा रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बोहराले बताए।
सरकारले टाइफाइड विरुद्धको खोपलाई नियमित खोपका रुपमा अघि बढाउन देशभरीनै पहिलो चरणमा अभियानका रुपमा अघि बढाउने तयारी गरेको थियो। ‘विश्वभरी अहिले २५ प्रकारका खोपहरू नियमित रुपमा समावेश गरिएको छ’ उनले भने– नेपाल हालसम्म १२ प्रकारका खोपहरूमात्र नियमित रहेका छन्। अगामी साउनदेखि टाइफाइड विरुद्धको खोपलाई नियमित खोपमा राखि १३ प्रकारका खोप समावेश गरिने छ।
प्रति एक लाख जनसंख्यामा एक सय भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्च दरमा वर्गिकरण गरिएको छ। ‘यो अवस्थाको आधारमा नेपालमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर रहेको छ’ उनले भने ‘नेपालमा विगत ५ वर्षको तथ्यांक अनुसार हरेक वर्ष करिव चार लाख ५० हजार जना टाइफाइडबाट संक्रमित हुने गरेको छ। विगत ३ वर्षको तथ्यांक अनुसार पानी र खानेकुराबाट हुने संक्रमाक रोगहरूमध्ये टाईफाइड तेस्रो स्थानमा रहेको छ। अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो करण यहि रोग रहेको छ।’ उनका अनुसार नेपालमा हरेक वर्ष करिव दुई हजारदेखि दुई हजार पा“च सय टाइफाइड संक्रमित हुने गरेको छ। यस आधारमा ११ हजार एक सय ५७ प्रति लाख जना टाइफाइड संक्रमित रहेका छन्।
टाइफाइड रोग भनेको के हो ?
टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो। ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ।
यो रोगको लक्षण के के हुन् ?
उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ। कसै कसैलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ। यो रोगको संक्रमणबाट केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा संक्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी जटिलता समेत देखा पर्न सक्छन््।