काठमाडौं- नेपालमा विशेषज्ञता अनुसार नर्सिङ क्षेत्र छुट्याइएको छैन। ‘जनरल’ र ‘कम्युनिटी’ गरी दुई किसिमको मात्र दरबन्दी नर्सिङ क्षेत्रमा छ।
तर अहिले विशेषज्ञता अनुसार नर्सिङ क्षेत्रमा पनि दरबन्दी सिर्जना गर्नुपर्ने आवाज उठ्न थालेका छन्। र, यो वहस तथा वकालतको विषय पनि बन्न थालेको छ। संस्थागत रुपमा यसलाई वकालत गरिरहेकामध्ये एक हो, पेडियाट्रिक नर्सिङ एशोसिएसन अफ नेपा (पिनान)।
चिकित्सा पेशामा जस्तै नर्सिङमा पनि विशेषज्ञता अनुसार नर्सहरुलाई खटाइनुपर्ने पिनानले आवाज उठाइरहेको छ। विशिष्टीकरण नहुँदा कयौँ नर्सहरु जनरल दरबन्दीमै सीमित भएको एशोसिएसनले जनाएको छ।
कयौँ नर्सहरुले आफुले पढे अनुसारको काम गर्न नपाएको एशोसिएसनकी अध्यक्ष अप्सरा पाण्डे बताउँछिन्। नर्सिङ क्षेत्रमा पनि विशिष्टीकरण हुन आवश्यक रहेकोमा उनको जोड छ। तर सरकारले सबै नर्सहरुलाई एकै ठाउँमा राखेर हेर्ने गरेको उनीहरुको गुनासो थियो।
भन्छिन्, ‘आवश्यकता भएर नै नर्सहरुमा विशिष्टीकरण अनुसारको पढाई भइरहेको छ। तर सरकारले सबै नर्सहरुलाई एउटै डोकोमा राखेर हेरेको छ। हेल्थ केयर सिस्टमको एउटा विद्या नर्सिङ क्षेत्र जस्तो। तर नर्सिङ एउटा विद्याभन्दा पनि यो एक पेसा हो। जसमा दक्षता अनुसारको सिपहरु हुन्छन्।’
आवश्यकता नभएको भए यसको अध्ययन र लगानी नै नहुनुपर्ने उनको भनाई छ। उनका अनुसार नेपालको नर्सिङ क्षेत्रमा विशिष्टीकरणको आवश्यकता छ। तर यो प्राथमिकतामा पर्न सकेको छैन।
दक्षता अनुसारको सिप प्रयोग गर्न सके मात्र बिरामीको उपचार र राज्यको लगानी सही रुपमा उपयोग हुन सक्ने उनी बताउँछिन्। ‘आवश्यकता हो भने सही मानिसलाई सही ठाउँमा काम लगाऊँ भन्ने हाम्रो कुरा हो। यो हुनका लागि केही गर्नुपर्छ भन्ने सोचले हामीले यो विषयको वकालत गरेका हौँ।’ उनले भनिन्।
करिब चार वर्षअघि विशिष्टीकरण अनुसार यसको दर्ता नेपाल नर्सिङ परिषदमा दर्ता हुँदैन थियो। विशिष्टीकरण अनुसार दर्ता हुनुपर्ने भन्दै नेपाल नर्सिङ संघ र पेडियाट्रिक नर्सिङ एशोसिएसनले वकालत गरेपछि परिषदले दर्ता गरेर लाइसेन्स दिने काम सुरु ग¥यो।
एशोसिएसनका अनुसार नेपालमा हाल पेडियाट्रिक १२६ र चाइल्ड हेल्थ ३ जना परिषदमा दर्ता भएका छन्। २०७४ सालमा स्थापित एशोसिएसनमा हाल ५३ जना पेडियाट्रिक नर्सहरु आवद्ध छन्।
पेडियाट्रिक नर्सिङको महत्व
नेपालमा बाल मृत्युदर अझै पनि समस्याको रुपमा छ। नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा नवजात शिशु मृत्युदर प्रति हजारमा २१, शिशु मृत्युदर ३२ र पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर ३९ छ।
बाल मृत्युदर समस्याको रुपमा रहेको देशमा पेडियाट्रिक अर्थात् बाल चिकित्सा नर्सको आवश्यकता र महत्व देखिन्छ। बालबालिकाहरुलाई विशेष किसिमको उपचार आवश्यक पर्ने हुनाले पेडियाट्रिक नर्सको महत्व भएको अध्यक्ष पाण्डे बताउँछिन्। तर मनपरी ढंगले नर्सको काम विभाजन हुँदा उनीहरुको सिपको उचित प्रयोग हुन नसकेको उनले बताइन्।
‘पेडियाट्रिक नर्स पढेकाहरुमध्ये कोहीलाई ट्रमा सेन्टरमा त कोहीलाई जेरियाट्रिमा मनपरी ढंगले राखिएको छ।’ उनले भनिन्, ‘सम्बन्धित विषय अनुसार उनीहरुलाई खटाइएको छैन। जसले जे पढेको छ, उसलाई त्यही खटाउन पाएँ अझ प्रभावकारी सेवा दिन सकिन्थ्यो।’
उनी थप्छिन्, ‘ठूलो मानिस र साना बालबालिकालाई उपचार गर्ने तरिका फरक हुन्छ। जस्तै ५०० एमजी को एमोक्सीलिन औषधि बच्चालाई दिँदा उसको तौल र उमेर अनुसार गणना गरेर दिनुपर्छ। हामीले बालबालिकाको स्वास्थ्यमा राम्रो गर्न सक्यौ भने मात्र स्वस्थ युवाहरु बन्न सक्छन्।’
विशिष्टीकरण अनुसार नर्सिङ दरबन्दी सिर्जना हुनुपर्ने सहित बालबालिकाको स्वास्थ्य पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताइन्। नीतिगत रुपमा पनि सरकारलाई दबाब दिन आफुहरुले प्रयास गरिरहेको उनले बताइन्। क्लिनिकल अभ्यासमा बालबालिकाको हेरचाहका निश्चित नर्सिङ प्रक्रिया बनाउने एशोसिएसनको तयारी छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपाल स्वास्थ्यको रणनीतिक योजना २०२२–३० तर्जुका लागि सुझाव संकलन गरिरहेको छ। यसमा पनि आफुहरुले छलफल गरेर पेडियाट्रिक नर्सिङ क्षेत्रको अवस्था र समस्या बारे सुझाव पेश गर्ने तयारीमा रहेको उनले बताइन्।
सबै नर्सहरु जनरल हुँदैनन्
चिकित्सकीय क्षेत्रमा जस्तै नर्सिङमा पनि क्षेत्र अनुसार नर्सिङ सेवाहरु दिन थालिएको छ। जस्तै, मेडिकल, सर्जिकल, पेडियाट्रिक, कम्युनिटी, क्रिटिकल केयर नर्सिङ लगायत हुन्। तर बाहिरी मुलुकमा जस्तो नेपालमा यो अवधारणा धेरै विकसित भइसकेको छैन।
पढेको विषय अनुसार नर्सहरुको सही रुपमा पदस्थापन हुन नसकेको एशोसिएसनकी सचिव सोचना सापकोटा बताउँछिन्। नर्स भन्ने बित्तिकै सबै जनरल मात्र हुन्छ भन्ने भ्रम अझै पनि रहेको उनको बुझाई छ। उनले भनिन्, ‘सबै नर्सहरु जनरल मात्र हुन भन्ने हिसाबले हेरिएको छ। उनीहरुको अनुभव र पढाई अनुसार नर्सहरुलाई काममा लगाइएको छैन।’
नेपालमा पेडियाट्रिक नर्सहरु कति छन् भन्ने यकिन तथ्यांक स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायसँग नरहेको उनले बताइन्। सबै जना संगठित भए मात्र यो विषयलाई सही रुपले वकालत गर्न सकिने उनले बताइन्।
सरकारले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरेपनि त्यही स्वास्थ्य सेवा प्रवाह गर्ने मुख्य आधारमध्येको नर्सलाई सही रुपमा परिचालन गर्न नसकेको उनले बताइन्।
‘जति पढेपनि एउटै वर्गाीकरणमा राखेर हेर्ने नजर परिवर्तन हुनुपर्छ। उनले भनिन्, ‘नर्सहरु विशिष्टीकरण हुन्छन्। एउटा नर्सले सबै क्षेत्रमा आफ्नो दक्षता दिन सक्दैन। त्यसैले उनीहरुको दक्षता र पढाई अनुसार पदस्थापन गर्नुपर्छ।’
सरकारले नर्सहरुको दक्षता, पढाई र अनुभव अनुसार दरबन्दी सिर्जना गरेर पदस्थापन नगरेसम्म यो समस्याको समाधान नहुने उनले बताइन्। बजारमा विशेषज्ञ नर्सहरु पर्याप्त भएपनि सरकारले परिचालन गर्न नसकेको उनले बताइन्। उनका अनुसार सरकारी क्षेत्रबाट प्रयास नहुँदासम्म नीजि क्षेत्रले यसको सुरुवात हुन सक्दैन।