सामान्य र नियमित महिनावारी हुने गरेको महिलामा गर्भको अवधि करिब ४० हप्ता अर्थात २८० दिनको हुन्छ। यो अवधि अन्तिम पटक भएको महिनावारीको पहिलो दिनदेखि सुरु हुन्छ र यसलाई सामान्य बुझाइमा ९ महिनाको गर्भ भन्ने गरिन्छ। धेरैजसो गर्भवती महिला तथा उनका घरपरिवारका मान्छेलाई ९ महिना काटेपछि अर्थात बच्चा जन्मिने सम्भावित दिन (ईडिडि) कटेपछि के गर्न के नगर्ने भन्ने कुराले पिरोल्छ जुन कुरा स्वभाविक पनि हो।
के कारणले लम्बिन्छ गर्भ
खासगरी भन्ने हो भने अहिलेसम्म ठ्याक्कै यहि कारणले गर्भ लम्बिन्छ भन्ने कुरा थुप्रै अध्ययन अनुसन्धानले बताउन नसकेको भएतापनि सम्भावित कारणका रुपमा निम्नलिखित कुरालाई लिएको पाइन्छ।
कहिलेकाही महिलाको अनियमित महिनावारीको कारणले उसको अन्तिम महिनावारी बारे अन्यौल हुन्छ र हिसाबकिताबमा गडबडी पर्न जान्छ जसको कारण हुनुपर्ने मिति र दिइएको बच्चा जन्मिने सम्भावित दिन फरक पर्न जान्छ।
पहिलोपटकको गर्भमा पनि महिना कट्ने सम्भावना बढी हुन्छ।
यदि अघिल्ला गर्भहरुमा ४२ हप्तापछि वा २९४ दिनपछि बच्चा जन्माएको इतिहास छ भने यसपालिको गर्भ पनि लम्बिने दर बढ्दै जान्छ।
यकदमै न्यून अर्थात नगन्य रुपमा बच्चामा हुने असामान्य खालका शारीरिक वनावटका कारण पनि गर्भ लम्बिने सम्भावना हुने गर्दछ। जस्तै : placental sulphatase deficiency, anencephaly etc.
महिना/डेट कटेपछि के गर्ने के नगर्ने ?
गर्भको ४० हप्ता अर्थात २८० दिन कटेको अवस्थामा आफुले नियमितरूपमा गर्भ जाँच गरिरहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह लिई चेकजाँच गराउने र यदि आमा र बच्चाको अवस्था सामान्य अर्थात नर्मल छ भने अझै १ हप्तापछि सम्म कुर्न मिल्छ।
यो विचमा यदि गर्भमा बच्चा कम चलेको जस्तो लागे, निरन्तर टाउको दुखे, आँखा धमिलो देखिने भए तथा रगत पानी बगेमा जतिसक्दो चाँडो अस्पताल जानु पर्दछ।
डेट कटेपनि व्यथा सुरु भएकाे छैन, गार्हो/सारो परे तथा व्यथा लागे मात्र अस्पताल जाउँला भनेर बस्नु हुँदैन।
हुनसक्ने जोखिमहरु
लगभग १० प्रतिशत (३-१४ ) गर्भहरु ४२ हप्तापछि सम्म र ४ प्रतिशत (२-७) चाहिँ ४३ हप्तासम्म लम्बिन सक्ने विभिन्न अध्ययनले देखाएका छन्।
४२ हप्तापछिका गर्भहरुमा पेरिन्याटल मोर्टालिटि (perinatal mortality) हुने जोखिम लगभग दोब्बरले बढेको पाइएको छ।
महिना कटेका बच्चाहरु सामान्य बच्चा भन्दा ठुला हुने भएकाले जन्मिने क्रममा विभिन्न खालका जटिलता (व्यथा लम्बिने , बच्चाको टाउको तथा कुम अड्किने जसले गर्दा बच्चाको हाडजोर्नी तथा नसाहरुमा चोटपटक लाग्ने) हरु आउन सक्दछन।
आमामा हुने जोखिमहरुमा: विभिन्न औजारको प्रयोगमा सुत्केरी गराउनु पर्ने, योनिमार्ग तथा अन्य प्रजनन अंगहरुमा चोटपटक लाग्न सक्ने र धेरै रगत बग्न सक्ने अनि कहिलेकाहीँ अप्रेसन गरेर बच्चा जन्माउन पर्ने हुनसक्छ।
तसर्थ कुनै पनि गर्भवती महिलाको बच्चा जन्मिने सम्भावित मिति अर्थात इडिडि/EDD (Expected date of delivery) नाघेपछि जति दिनहरु बढ्दै जान्छन आमा र बच्चामा त्यही अनुसारले जटिलताहरु हुने सम्भावना पनि बढ्दै जान्छन। यस्ता जोखिम तथा जटिलता ४२ हप्ता अर्थात २९४ दिन कटेपछि बढी हुने विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन्।
-(लेखक प्रदेश अस्पताल सुर्खेतमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञकाे रुपमा कार्यरत छन्।)