काठमाडौं - नेतृत्वदायी भूमिकामा आउन हर कोहीको आफ्नै संघर्षका कथाहरु हुन्छन्। चाहे त्यो पुरुष हुन् या महिला। फरक यत्ति हो, महिलाका लागि यो थप चुनौतीपूर्ण भइदिन्छन्।
प्रशासनिक सँगै सामाजिक र पारिवारिक बन्धनले महिलाहरुलाई ती जिम्मेवारी थप बोझिलो बनाइदिन्छ। तापनि ती चुनौतीलाई चिर्दै केही महिलाहरु नेतृत्वदायी भूमिकामा अघि बढीरहेका हुन्छन्।
तिनै महिलामध्येकी एक हुन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा मनिषा रावल।
पाल्पामा जन्मिएकी डा रावलले आइएससी सम्मको अध्ययन बुटवलमा पुरा गरिन्। दुई छोरी र एक छोरा भएपनि उनको परिवारमा कहिल्यै छोरा छोरी बीच भेदभाव भएन। छोरीले गर्न हुने र नहुने भनेर कुनै पनि काम छुट्याइएन।
उनले भनिन्, ‘मेरो मध्यम वर्गाीय परिवार हो। बुवा र आमा दुवै शिक्षित भएर पनि होला। हामी छोरा छोरी बीच कुनै पनि कुरामा कहिल्यै भेदभाव गर्नु भएन।’
सानै उमेरदेखि भेदभाव र हेपाहा प्रवृत्ति बारे उनले सुनेकी थिइन् तर अनुभव भने गरेकी थिइनन्। तर कामको शिलशिलामा भने उनले त्यसलाई अनुभव गरिन्।
....मेरो ठाउँमा पुरुष भएको भए त्यो हेपाहा प्रवृत्ति हुन्थ्यो?
स्वास्थ्य सेवामा २१ वर्ष बिताएकी उनले सरकारी जागिर २०७२ सालबाट सुरु गरिन्। सुरुवाती दिनमा उनलाई सरकारी जागिर तर्फ खासै रुचि थिएन। ‘जहाँ गएपनि मेहनत गर्ने नै हो, बिरामीको सेवा गर्ने हो’ भन्ने सोच उनमा थियो।
तराईंका विभिन्न जिल्ला, खोटाङ, ओखलढुंगा, हेटौंडा, कालीकोट, भोजपुर, संखुवासभा लगायत जिल्लामा उनले काम गरिन्। यो क्रममा सरकारी सेवा प्रवेश गर्नुपर्छ भन्ने उनलाई लागेन।
तर काम गर्दै जाँदा सरकारी क्षेत्रमा प्रवेश गरेपछि विभिन्न कार्यक्रममा जोडिन र योगदान दिन मिल्ने उनलाई लाग्यो। र, सरकारी सेवामा प्रवेश गर्ने उनले निधो गरिन्।
‘म निजी क्षेत्रमा काम गरिरहेको थिएँ। तुलना गर्दा मैले मेरो भिजन सानो पाएँ। जबकी सरकारको दिगो लक्ष्य सहितको धेरै कार्यक्रम रहेछन्,’ उनले भनिन्, ‘एउटा क्लिनीसियनको रुपमा मैले दिनमा २० देखि ४० जना बिरामीलाई हेरिरहेको छु भने सरकारको यी कार्यक्रममा सहभागी भएर योगदान दिन सके भने ठूलो समुदायलाई सहयोग गर्न सक्नेछु भन्ने भावनाले आएकी हुँ।’
२०७२ सालमा नवौँ तहबाट उनले सरकारी जागिर सुरु गरिन्। दुर्गम जिल्लामै जानुपर्छ भन्ने बाध्यता उनलाई थिएन। सुगम जिल्ला छनोट गर्ने अधिकार थियो उनलाई। तर करारमा रहँदा विभिन्न जिल्लामा पुगेर काम गरेको अनुभव उनलाई प्यारो लाग्यो। त्यसैले उनले सल्यान जिल्ला नै रोजिन्। पहिलो पटक ठूलो जिम्मेवारी लिएर सल्यान पुगेको थिइन् डा रावल। जिल्ला स्वास्थ्य प्रमुखसँगै जिल्ला अस्पताल सल्यानको मेडिकल सुपरिटेन्डेण्टको जिम्मेवारी पनि थियो।
घर परिवार र नौ वर्षकी सानी छोरीलाई छाडेर जानुको पीडा त थियो नै तर सेवा गर्ने भावले उनलाई रोक्न सकेन।
भन्छिन्, ‘म माथि ठूलो जिम्मेवारी थियो। म त्यहाँ परिवार छोडेर गएकी थिएँ। त्यो पीडा छुट्टै छ। तर म जिम्मेवारीका साथ कुर्चीमा बसेपछि म महिला हुँ, मैले सजिला काम गर्नुपर्छ, लगायत कुराहरु कहिल्यै सोचिन। र, सोच्नु पनि हुँदैन।’
काम गर्ने शिलशिलामा महिला भएकै कारण हेपिएको अनुभव उनीसँग पनि छ। सल्यानमै काम गर्दा उनको जिल्ला प्रमुख लगायत व्यक्तिसँग छलफल गर्नुपर्ने थियो।
केही विषयमा भएको असमझदारीलाई स्पष्ट पार्ने क्रममा उनलाई फरक र हेपाहा प्रवृत्तिको व्यवहार गरियो। त्यो हेपाहा प्रवृत्तिलाई सम्झदा आज पनि उनलाई यो प्रश्न गर्न बाध्य गराउँछ, ‘यदी मेरो ठाउँमा पुरुष भएको भए त्यो हेपाहा प्रवृत्ति हुन्थ्यो हुन्थेन ? म महिला भएकै कारण उहाँको सोचाई त्यस्तो भएको हो की ?’
अझै पनि समाजमा पुरुषवादी सोच हावी रहेको उनको अनुभव छ। स्वास्थ्य क्षेत्रमै पनि यो प्रवृत्ति हावी रहेको उनले बताइन्। कतिपय अवस्थामा गरिने काम, ल्याइने प्रस्तावमा महिलालाई भन्दा पुरुषलाई बढी महत्व दिइने गरेको उनले बताइन्।
‘त्यही प्रस्ताव, योजना एउटै स्तरका पुरुष र महिलाले ल्याउँदा पाउने महत्व फरक हुन्छ। किनभने ती पुरुषहरु कामपछि पनि गफ गर्छन्। सँगै खाजा, चिया खान्छन्। तर म त गर्दिन। म त एउटा काम विशेषले मात्र भेट्न जान्छु। यसले गर्दा पनि धेरै फरक पर्ने रहेछ,’ उनले भनिन्।
२१ दिनको सुत्केरी, पटुकी बाँधेर एमडी अध्ययन
एमडी सुरु गर्दा डा रावल २१ दिनको सुत्केरी थिइन्। महाराजगञ्ज चिकित्सा क्याम्पसमा एमडी अध्ययनका लागि उनले पहिले नै भर्ना गरीसकेको थिइन्।
उनले जेनरल प्राक्टिस एण्ड इमरजेन्सी मेडिसिन (एमडीजिपी) मा एमडी गरेकी हुन्। भर्ना हुनुअघि उनी आठ महिनाको गर्भवती थिइन्। एमडीको भर्ना गरिसकेका कारण उनलाई पछि हट्न सकिनन् र मनले मानेन पनि।
उनले भनिन्, ‘मैले पहिले नै भर्ना भएर सबै शुल्कहरु तिरिसकेको थिए। सुत्केरी भएको मान्छेलाई कुनै पनि परिवारले पढ्न जाउँ त भन्दैन। मेरोले पनि भनेन। तर फेरि यो मौका नआउन सक्छ भन्ने मलाई लाग्यो। त्यही भएर म बच्चा पाएको २१ दिनमा कलेज गएँ।’
उनको ड्युटी पाटन अस्पतालमा थियो। बिहान ८ देखि ५ बजेसम्म कक्षामा बस्नुपथ्र्यो। त्यो बेला उनी लाजिम्पाटमा बस्थिन्। पाटनसम्म पुग्न दुई वटा माइक्रो परिवर्तन गर्नुपर्थ्यो।
कम्मरमा पटुकी बाँधेर २१ दिनको सुत्केरी ड्युटी गर्न जाँदा सहकर्मी र शिक्षकहरु पनि अचम्ममा नपरेका होइनन्। तर शिक्षकहरुले भने उनलाई साथ दिए। उनको ड्युटी भएपनि सुत्केरी भएको थाहा पाएर उनलाई केही दिनसम्म सहयोग गरेको उनले बताइन्।
जीवनको संघर्ष यहीबाट सुरु भएको उनको बुझाई छ। त्यही संघर्षका कारण ती दिन सम्झिदा पनि उनलाई अहिले सन्तुष्टी मिल्छ।
‘त्यो पल मेरो जीवनको संघर्षको पहिलो खुड्किला थियो। त्यो बेला मैले पढ्ने निर्णय नगरेको भए या दुख नगरेको भए सायद म आज यो ठाउँमा आउने थिइन होला।’ उनले भनिन्।
महिलाको सफलता पछाडी परिवार र श्रीमानको भूमिका महत्वपूर्ण हुन्छ
विवाह अघिबाटै उनी जागिरे जीवनमा सक्रिय थिइन्। त्यही भएरपनि विवाहपछि उनले परिवारलाई समय दिन सकिनन्। तर परिवार र विशेषगरी श्रीमानबाट भने उनले ठूलो साथ पाइन्।
स्वास्थ्य सेवा विभागको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा प्रकाश बुढाथोकी र डा रावल श्रीमान श्रीमती हुन्।
‘सुत्केरी अवस्थामा म रेजिडेन्सी गर्न गएँ। मेरो बच्चाको पालन पोषणमा परिवारको ठूलो भूमिका छ। श्रीमानले धेरै साथ दिनुभयो।’ उनले भनिन्, ‘व्यावसायिक र अध्ययनले गर्दा विगतमा म एउटा राम्रो आमा बन्न सकिन होला। तर मेरो श्रीमानले आमा र बुवा दुवैको भूमिका उदाहरणीय रुपमा निर्वाह गर्नुभयो।’
अध्ययन र व्यावसायिक रुपमा अघि बढेपछि परिवारलाई समय दिन नसकेको उनलाई बोध हुन थाल्यो। अब उनलाई व्यावसायिक जीवनसँगै पारिवारिक जीवनलाई पनि समय दिनु थियो। बोर्डिङको होस्टेलमा रहेको छोरीलाई घरमा ल्याएर समय दिनु थियो।
त्यसैले उनी २०७४ सालमा काठमाडौं सरुवा भएर आइन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निर्देशकको रुपमा उनको सरुवा भयो। त्यसपछि उनी विभिन्न भूमिका रहँदै काम गरेपछि हाल पुनः शुक्रराज अस्पतालको निर्देशकको रुपमा कार्यरत छिन्।
प्रशासकिन जिम्मेवारी त छँदैछ, पारिवारिक जिम्मेवारी पनि उनले निर्वाह गर्नुपर्छ। आमा, श्रीमती, बुहारी थुप्रै रुपमा उनले जिम्मेवारी निर्वाह गर्नुपर्छ।
सामाजिक तथा पारिवारिक बन्धनका कारण महिलाहरु अझै पनि अघि बढ्न नसकेको उनी बताउँछिन्। तुलनात्मक रुपमा महिलाहरु अहिले अघि बढ्न थालेपछि सन्तोष मान्न नसकिने उनले बताइन्।
उनी भन्छिन्, ‘जतिसुकै परिवर्तन आएपनि महिलाप्रति हेर्ने दृष्टिकोण अझै पृथक भइसकेको छैन। सामाजिक रुपान्तरण आवश्यक छ। महिलालाई अघि बढ्न उसको परिवार र श्रीमानको साथ निकै आवश्यक छ। यहाँसम्म आउनुमा मेरो परिवार र श्रीमानको महत्वपूर्ण भूमिका छ।’