काठमाडौं– ‘तपाईं आइतबार बिहानै स्वास्थ्य मन्त्रालय पुग्नुपर्यो, अर्जेन्ट छ’, डा जितेन्द्र कँडेललाई फोन आयो।
डा कँडेल भने म्याग्दीको बेनीमा थिए। मन्त्रालय आउन भनिए पनि किन र के कारणले भन्ने कुराको जानकारी उनलाई दिइएको थिएन। अर्जेन्ट छ भनिएपछि उनी पनि हतारमा काठमाडौं आए।
आइतबार बिहान २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। त्यो बेलासम्म पनि उनले आफू पुरस्कृत हुन लागेको थाहा पाएका थिएनन्। उनले त्यतिखेर थाहा पाए जुन बेला सञ्चारमाध्यममा आफू सम्मान हुन लागेको भन्ने समाचार पढे।
‘शनिबार साँझ मात्र आइतबार बिहान जसरी पनि स्वास्थ्य मन्त्रालय पुग्नु भनेर फोन आयो। मलाई अरु केही पनि थाहा थिएन,’ उनी भन्छन्, ‘आइतबार बिहान मात्र मिडियाबाट म सम्मानित हुन लागेको कुरा थाहा पाएपछि मात्र मलाई त्यही भएर बोलाइएको रहेछ भनेर थाहा पाएँ।’
डा कँडेल १५ महिनादेखि बेनी अस्पताल म्याग्दीमा निमित्त मेडिकल सुपरिटेन्डेण्टको रुपमा कार्यरत छन्। उनले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मन्त्रालयले एक लाख रुपैयाँ राशीसहित पुरस्कृत गरेको हो।
यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा प्राप्त गरेका डा कँडेल पुरस्कारले काम गर्ने थप हौसला मिलेको बताउँछन्। राज्यले यसरी नै स्वास्थ्यकर्मीहरुको कामलाई मूल्यांकन गर्न आवश्यक रहेको उनले बताए।
‘यो खुशीसँगै सम्मानले जिम्मेवारी पनि थपिदिएको छ। आजसम्म जसरी गरे अब मैले गरेको भन्दा दुई गुणा बढी गर्नुपर्छ भन्ने जिम्मेवारी बोध मलाई यो सम्मानले गराएको छ’ उनले भने।
विशेषज्ञ र वरिष्ठतालाई बेवास्ता गर्दै नमिल्ने ठाउँमा फालियो
उनलाई कहिल्यै पनि विदेश जाने सोच आएन। उनको नेपालमै बसेर बिरामीको सेवा गर्ने रहर बुझ्ने उमेर हुँदादेखि नै थियो। तर अहिले स्वास्थ्य क्षेत्रमा उनले आफ्नो भविष्य देख्न छाडेका छन्।
सरकारले गरेको कर्मचारी समायोजन प्रति उनी सन्तुष्ट छैनन्। ठाउँ, विशेषज्ञता र स्तर नमिलाई समायोजन गरेको बताउँदै उनले भने, ‘मेरो समायोजन लुम्बिनी प्रदेशको स्थानीय तहमा भएको छ। त्यहाँ मेरो ठेगाना, विशेषज्ञता र वरिष्ठता पनि मिल्दैन। मेरो वरिष्ठता बेवास्ता गर्दै त्यहाँ फालिएको छ। पटक-पटक गुनासो पोखे। तर सुनुवाइ भएको छैन।’
उनको समायोजन लुम्बिनी प्रदेशको पालिनन्दन गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्रमा भएको छ। विशेषज्ञता र वरिष्ठता अनुसार समायोजन गरिदिन पटक पटक मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म सुनुवाइ नभएको उनको भनाइ छ।
उनले भने, ‘गुनासो सुनुवाइ हुने क्रममा २०७४ सालमा लोकसेवा दिएर इन्ट्री गरेकोलाई एमडी गरिसकेको भएर संघमा ल्याउनुपर्ने भनेर निर्णय गरेको छ। तर म २०७२ सालमा एमडी सकेर लोकसेवा छिरेको भएर पनि मेरो गुनासो सुनुवाइ भएन।’
समायोजनमा अन्याय गरेको भन्दै उनी थप्छन्, ‘समायोजनले मलाई धेरै अन्याय गरेको छ। अहिले स्वास्थ्य मन्त्रालयले तपाईंको केही हुँदैन भनेको छ। केही हुँदैन भने ठिकै छ, जहिल्यै सम्म सकिन्छ, जागिर खाने नभए छोड्नु बाहेक विकल्प छैन।’
आफूभन्दा जुनियरलाई विज्ञताको आधारमा संघमा ल्याउँदा आफू के कारणले फालिएको भन्ने उनको प्रश्न छ।
उनी अझै पनि मन्त्रालयमा न्यायको माग गरिरहेका छन्।
डा कँडेलले स्वास्थ्य मन्त्रालयमा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार लिँदै गर्दा मन्त्रालयमा उपस्थित अन्य कर्मचारी भन्दै थिए, 'सरकारले पुरस्कृत त गर्यो तर उहाँ अन्यायमा परेको कर्मचारी भएकाले न्याय पनि दिए हुन्थ्यो।'
पहिलो नियुक्तिमै मुगु रोजे
सन् २००९ मा उनले नेपालगञ्ज शिक्षण अस्पतालबाट एमबीबीएस अध्ययन पुरा गरे। एमबीबीएस सकेपछि उनले महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा एक वर्ष काम गरे। त्यसपछि कालीकोट जिल्ला अस्पतालमा काम गरेपछि २०७२ सालमा उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एमडीजिपी अध्ययन पुरा गरेका थिए।
करारमा काम गर्दै आएका उनी २०७३ सालमा लोकसेवामा नाम निकाल्न सफल भए। स्थायी भएपछि पहिलो नियुक्ति बुझेर उनी मुगु तर्फ लागे। उनी स्वास्थ्य मन्त्रालय वा कुनै मन्त्रीको निर्देशनमा मुगु गएका होइनन्। उनी आफैँले ग्रामीण क्षेत्रमा सेवा गर्ने भन्दै मुगु रोजका हुन्।
उनले भने, ‘स्थायी भएपछि म मुगु जान्छु। मैले एमडीजिपी गरेको हुँ। मेरो विशेषज्ञता त्यहाँ बढी खाँचो हुन्छ। पछि के हुन्छ भन्न सकिदैन। तर केही वर्ष म दुर्गममा काम गर्छु,मलाई मुगुमा पदस्थापना गरिदिनु भनेर म त्यहाँ गएको थिएँ।’
त्यो बेला मुगु अस्पतालको अवस्था निकै दयनीय थियो। बल्ल अस्पतालको नयाँ भवन बनाउने प्रक्रिया सुरु भएको थियो। स–साना कोठामा सेवा सञ्चालन गर्नुपर्ने बाध्यता थियो। सीमित स्रोत–साधनका बावजुद पनि उनले त्यहाँ एक वर्ष सेवा गरे।
मुगुमा उनले गरेको कामका आधारमा नै उनले स्वास्थ्यखबर हेल्थ अवार्ड समेत पाउन सफल भए।
२०७४ सालमा मुगुबाट डडेल्धुरा अस्पतालमा सरुवा भयो। दुई वर्षसम्म काम गरेपछि उनको २०७६ सालमा टिकापुर अस्पतालमा सरुवा भयो। ९ महिनापछि २०७७ मंसिरमा उनी म्याग्दीको बेनीमा पुगे।
सरकारी सेवा सुरु गर्नुअघि उनी अध्ययनको शिलशिलामा २०६८ सालमा कालिकोट पुगेका थिए। त्यहाँ स्वास्थ्य सेवा सहज थिएन। सडकको सुविधा थिएन। मानिसहरु सामान्य उपचार नपाएर पनि मरिरहेका थिए। कालिकोटको त्यही दर्दनाक स्थिति देखेर उनले एमडीजिपी अध्ययन गर्ने निधो गरे।
‘२०६८ सालमा यदी म कालिकोट नबसेको भए सायद म एमडीजिपी अध्ययन गर्दिन थिए होला। त्यहाँ सडकको पहुँच थिएन। सबै कुरा गाह्रो थियो। आधारभूत सेवा नपाएर पनि मानिसहरु मरिरहेका थिए। यसैले गर्दा मैले एमडीजिपी पढेको हुँ।’
बिरामीको चाप बढ्दो तर जनशक्ति घट्दो
बेनी अस्पताल ५० शय्याको हो। तर डा कँडेल बेनी पुग्दा ३५ शय्यामा मात्र सञ्चालित थियो।
कारण, ‘भौतिक पूर्वाधार र जनशक्तिको कमी’
बेनी अस्पतालमा यो समस्या अहिले पनि छ। अहिले पनि मेडिकल अधिकृत पर्याप्त मात्रा छैनन्। अस्पतालमा दुई जना एमडीजिपी, एक गाइनोकोलोजिस्ट र एक जना इएनटी सर्जन सहित चार जना मेडिकल अधिकृत छन्। सेवा लिन आउने बिरामीको चाप अनुसार जनशक्ति पर्याप्त नभएको उनी बताउँछन्।
भन्छन्, ‘दैनिक डेढ सयदेखि दुई सय ओपिडीमा बिरामी आउँछन्। डेलिभरी महिनामा ७० देखि ८० हुन्छ। जसमध्ये १० देखि १५ वटा सिजेरियन हुन्छ। आइसीयू सेटअप भएको छ। तर चलाउने जनशक्ति छैन।’
भौतिक पूर्वाधार र जनशक्तिको कमी हुँदा सेवा दिन निकै समस्या हुने गरेको उनी सुनाउँछन्। अस्थायी संरचना निर्माण गरेर भएपनि हाल अस्पतालको शय्या क्षमता ६५ पुर्याइएको उनी बताउँछन्। बिरामीको अपेक्षा र वास्तविकतामा ठूलो दूरी रहेको उनको अनुभव छ।
भवन, उपकरण सरकारको प्राथमिकतामा परेपनि त्यसलाई सञ्चालन गर्ने जनशक्ति भने कम प्राथमिकतामा परेको उनको बुझाई छ। आवश्यक मात्रामा जनशक्ति भएपनि सरकारले त्यसलाई व्यवस्थापन गर्न नसकेको उनले बताए।
‘यो अस्पतालमा यति सेवा पनि नपाइने भनेर बिरामीहरुले धेरै गुनासो गर्नुहुन्छ। तर बिरामीको अपेक्षा र हाम्रो वास्तविकतामा धेरै ग्याप छ।’ उनले भने, ‘सामान छ, त्यसलाई चलाउने जनशक्ति छैन। अनि बिरामी आएर मलाई गाली गरेर जान्छ। सामान पठाइसकेपछि त्यसलाई चलाउने जनशक्ति पठाउने जिम्मेवारी पनि त मन्त्रालयको हो।’