अन्दाजी बीस वर्षकी अन्जली (नाम परिवर्तन गरिएको) कृषि विषयमा स्नातक तह अध्ययनरत छिन्। विगत तीन वर्षदेखि उनलाई कहिलेकाहीँ मध्यम खालको टाउको दुख्ने गर्दथ्यो। सामान्यतः दुखाइ कम गर्ने औषधिले टाउको दुखाइ कम गर्ने हुँदा त्यसलाई उनले खासै ध्यान दिएकी थिइनन्।
तर झण्डै एक वर्ष अगाडि उनलाई एक्कासी धेरै टाउको दुख्यो। सधैंजसो सेवन गर्ने औषधिले दुखाइ कम नै गरेन। दुखाइ सहन नसक्दा झण्डै उनी बेहोसनै भइन्। सुतेको सुतै भइन्। भोलिपल्ट बिहान उठ्दा एक्कासी उनको बोलीमा परिवर्तन भयो। उनको भाषाको उच्चारण नबुझिने चिनियाँ भाषा जस्तै भयो। सुरुमा कमजोरीको कारण यस्तो भयो होला भन्ने ठानेर उनले खानपिनमा ध्यानदिन थालिन् र भाषा पुनः सामान्य अवस्थामा आयो। तर फेरि एक महिना नबित्दै पुनः टाउको बेस्सरी दुख्न थाल्यो। दुखाइको कारण दैनिक क्रियाकलाप नै गर्न नसक्ने भइन् उनी। बोलीमा पुनः परिवर्तन भयो। सबैले कस्तो स्वाङ पारेको, नक्कल गरेको, किन चिनियाँ जसरी बोलेको भनी जिस्काउन थाले। कसैले उनलाई मानसिक समस्या भएको त कसैले उनमा देवी चढेको भनी अड्कल काट्न थाले। समाजमा उनको चर्चा परिचर्चा सुरु भयो।
पढाइमा अब्बल उनी अब भने चिन्तित हुन थालिन्। आमाबुबाको सपना पुरा गर्ने अठोट बोकेकी अन्जली यसरी पटक–पटक बिरामी पर्दा घरपरिवार सबै चिन्तामा डुबे। अब उनको स्वास्थ्य परीक्षण नगरी हुँदैन भनी चेकजाँचको लागि नेपालका थुप्रै अस्पताल र चिकित्सककहाँ पुगे। सबैले आवश्यक जाँचपड्ताल, परीक्षण गरेपश्चात् उनलाई ‘डिप्रेसन’ भएको भनी डिप्रेसनको औषधी चलाए र तनाव नलिन सल्लाह दिए। तर ती औषधीले झन् झन् नकारात्मक प्रभाव पार्यो। रोग बीसकौ उन्नाइस भएन। टाउको दुःखाइमा कुनै परिवर्तन आएन। स्वयम् उनलाई पनि कतै आफूलाई मानसिक समस्या नै भएको त होकि भन्ने लाग्न थाल्यो।
केही गर्दा पनि रोग निको हुने छाँटकाट नदेखेपछि उनी धामीझाँक्रीकहाँ पुगिन्। भूतको आत्माले दुःख दिएको भन्दै धामीले फुकफाक गरी कुखुराको बली दिन लगाए। झण्डै दुई हप्तासम्म उनी ठिक भए जस्ती भइन्। उनमा धामीप्रति ठूलो विश्वास पलायो। तर दुई हप्ता बित्न नपाउँदै फेरि टाउको दुख्न थाल्यो र पुनः बोलीको लबजमा पनि परिवर्तन आयो। चिनियाँ मानिसले बोले जस्तै चिनियाँ लबजमा उनी बोल्न थालिन्। चाइनिजको आत्माले दुःख दिएको भन्दै सबैले स्वस्तिशान्ति गर्ने सल्लाह दिए। शङ्कालु दृष्टिले हेर्न पनि थाले। समाज, परिवार अनि आफन्तको उनीप्रतिको दृष्टिले उनमा छट्पटी र भुटभुटी हुनथाल्यो। उनी जति जति चिन्तित र उत्तेजित हुन्थिन् रोगले झन् बढी च्याँप्थ्यो।
सबैको सल्लाहले स्वास्थ्य परीक्षणको लागि काठमाडौंका थुप्रै चिकित्सक र अस्पताल पुगेकी उनलाई सबैले डिप्रेसननै भएको हो भनी रोग निदान गरे। फेरि उनीमाथि औषधिको परीक्षण गरिएता पनि रोग निको हुने छाँटकाँट देखिएन।
अन्तमा एकजना काकाको सल्लाहमा केही हुन्छ कि भन्ने झिनो आशामा उनी अन्नपूर्ण न्यूरो अस्पताल, माइतिघर पुगिन्। त्यहाँ कार्यरत न्युरो फिजिसियनले इइजी, सिटी स्क्यान, एमआरआइ साथै आवश्यक सम्पूर्ण रगत परीक्षण गराए। सबै परीक्षणको आधारमा उनलाई ‘फरेन एक्सेन्ट सिन्ड्रोम’ समस्या भएको भने र त्यसै अनुसार रोगको उपचार गरे। झण्डै तीन महिना औषधि सेवनपश्चात् फलोअपमा आएकी उनी पूर्णतः स्वस्थ थिइन्। अहिले उनी अब आफू पूर्णरूपमा निको हुनेमा विश्वस्त छिन् र आफ्नो पढाइ पुनः सुचारु गरेकी छिन्।
के हो फरेन एक्सेन्ट सिन्ड्रोम ?
एक्कासी जब कुनै पनि मानिस आफ्नो सामान्यत बोलचालको भाषाभन्दा फरक प्रकारको पहिले कहिल्यै नजानेको, नबोलेको विदेशी लबजमा अर्थात् विदेशी उच्चारणमा बोल्न थाल्दछन् भने त्यो अवस्थालाई फरेन एक्सेन्ट सिन्ड्रोम (एफएएस) भनिन्छ। बच्चा अवस्थामानै हामीले आफ्नो मातृभाषा सिक्दछौं। अठार उन्नाइस वर्षको किशोरावस्थापश्चात् हाम्रो भाषाको उच्चारणमा खासै परिवर्तन हुँदैन, स्थिर रहन्छ। तर यो सिन्ड्रोममा व्यक्तिले आफ्नो राष्ट्रिय भाषा त बोल्दछ तर भाषाको उच्चारण अरु कोही जसले दोस्रो भाषाको रुपमा सिकेजस्तो बोल्दछन्। मानसिक रुपमा भने व्यक्ति पूर्ण रुपमा स्वस्थ हुन्छ।
फरेन एक्सेन्ट सिन्ड्रोमका कारणहरू के के हुन् त?
टाउकोमा चोटपटक, मस्तिष्कघात अथवा अन्य कुनै कारण मस्तिष्कमा आघात पुगेमा एफएएसको अवस्था देखिन सक्छ। मस्तिष्कको रगतको नली फुल्ने समस्या एन्युरिजमका साथै चोटपटक नलागेमा पनि अन्य रोग जस्तै माइग्रेनका बिरामीहरूमा पनि एफएएसको अवस्था आउनसक्छ। यस्तो रोगमा हाम्रो मस्तिष्कको देब्रे भागमा रहेको बोलीचालीको क्षेत्र (ब्रोकाज एरिया) मा असर पुगेको हुन्छ।
फरेन एक्सेन्ट सिन्ड्रोमको अवस्था
यो सिन्ड्रोमको अवस्था विश्वभरमानै दुर्लभ मानिएको छ। सन् १९०७ मा सर्वप्रथम यो रोगको पहिचान भएको थियो। अहिलेसम्म विश्वभरमा केवल सयवटा जति मात्र एफएएसका बिरामीहरूको पहिचान भएको छ। विश्व रेकर्ड हेर्दा एक अष्ट्रेलियन महिलाले कार दुर्घटनापश्चात् फ्रेन्च भाषाको लबज निकालेकी थिइन्। त्यस्तै सन् २०१८ मा अमेरिकन महिला एरिजोनाको टाउको अत्यधिक दुखेपश्चात् सुतेर भोलिपल्ट उठ्दा फरक प्रकारको अष्ट्रेलियन, ब्रिटिस लबजका साथ ब्युँझिएका घटनाहरू भेटिन्छन्।
- (डा अविनाश चन्द्र नशा रोग विशेषज्ञ हुन् भने डा जया सत्याल अकुपञ्चर विशेषज्ञ हुन्। हाल उनीहरु अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छन्।)