मनको अत्यधिक वेचैनी, वेखुशी वा चञ्चलताबाट शरीरमा कष्ट उत्पन्न हुने क्रियालाई रोग भनिन्छ भने मनमा आएका दुःख कष्ट तथा मनका विकारहरुबाट मुक्त भइ आफ्नो स्वरुप वा आनन्दमा रमाउनु निरोगिता हो।
योगश्चित्तवृत्तिनिरोध (योग दर्शन) मनका वृत्तिहरुको निरोध नै योग हो। योग चिकित्सा पञ्चकोषमा आधारित छ। अर्थात योग चिकित्साले मानव अस्तित्वमा ५ तहको बर्णन गरेको छ। जसलाई पञ्चकोष भनिन्छ।
तैत्तरिय उपनिषदका अनुसार पञ्चकोषमा अन्नमय कोष, प्राणमय कोष,मनोमय कोष, विज्ञानमय कोष र आनन्दमय कोष पर्दछन। योग चिकित्साका अनुसार हाम्रो शरीरमा देखिने रोग २ किसिमका हुन्छन। आन्तरिक कारणले मनको अत्याधिक वेचैनि, चञ्चलता वा वेखुशी जस्ता अवस्थाबाट उत्पन्न हुने रोगलाई आधिज ब्याधी भनिन्छ भने बाहिरी कारण चोटपटक, विषादी र जिवाणुका कारणले हुने रोगलाई अनाधिज ब्याधी भनिन्छ।
त्यसैले अनाधिज ब्यधी (रोग)को उपचार अन्य विधि र पेथीबाट सहजै सम्भव छ भने आधिज ब्यधी वा हाम्रा मनका विकारहरु, वेग वा वृतिहरुका कारणले हुने रोगको उपचार योग चिकित्सामा प्रभावकारी मानिन्छ। योग चिकित्सामा वर्णन गरिएका पाँच तहको अध्ययन गर्दा अन्यमय कोष वा भौतिक शरीरलाई स्वस्थ्य राख्न सात्विक तर सन्तुलित भोजन, आसन, षटकर्म, मुद्रा, वन्ध जस्ता योगिक प्रयोगात्मक क्रियाहरु महत्वपूर्ण छन। त्यसैगरी प्रणमय कोषलाई क्रियाशिल राख्न प्राणायामका विधिहरुको प्रयोगात्मक अभ्यास गरिन्छ। स्वास प्रश्वासको गतिलाई यथाशक्ति नियन्त्रण गर्दै शरीर भित्रका आन्तरिक अंगहरुमा आएको निश्क्रियता हटाउने प्रणायामको मुख्य उद्देश्य हो।
मनोमय कोषलाई क्रियाशिल र गतिशिल बनाउनका लागि ध्यान तथा भजनकृतन, नृत्य, संगितयोग जस्ता क्रियात्मक अभ्यासको आवश्यकता पर्दछ। विज्ञानमय कोषलाई उर्जावान र क्रियाशिल वनाइ राख्न ज्ञान विभिन्न शास्त्रहरुको अध्ययन, विवेचन, छलफल , नयाँ विषयहरुको खोज अनुसन्धान र योग मनोपरामर्शको आवश्यकता महत्वपूर्ण छ।
आनन्दमय कोष जहाँ सदा खुशी र कर्मयोग सेवा , सामाजिक भाव , समाज प्रतिको दायित्व वोध , जनचेतना अभियान जस्ता क्रियात्मक अभ्यास पर्दछन। विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ्य भनेको केवल रोगबाट मुक्त हुने मात्र नभइ शारीरीक, मानसिक, सामाजिक र आध्यामिक रुपमा स्वस्थ्य हुनु हो। त्यसैले योग चिकित्सामा अध्ययन गरिने पञ्चकोष भित्र विश्व स्वास्थ्य संगठनले परिभाषा गरेको स्वास्थ्यको परिकल्पना अहिलेको अवस्थामा विज्ञान संगत खोजनिय विषय बनेको छ।
पछिल्ला दुइ तीन वर्ष यता विश्व कोभिड-१९ ले आक्रान्त छ। जुन समस्याबाट हाम्रो देश र हामी पनि अछुतो रहन सकेनौं। कोरोना महामारी सुरु भएपछि मानिसमा कोरोना भाइरसले गर्ने क्षतीभन्दा मनोत्रास जन्य डरले सतायो। जसले गर्दा आम नागरिकमा मनोवल घट्दै गयो। मनोवल घट्दै जादा आत्मवल कमजोर हुने र रोगले बढी सताउने जस्ता कारणहरु सिर्जना भए। भाइरसको सक्रमणसँगै मनमा उब्जिएका अनेक खाले शंका उपशंकाले अनिद्रा, अरुचि, उच्च रक्तचाप, स्वाशप्रश्वास जन्य समस्याहरु आए। शरीर भित्र अक्सिजनको सन्तुलन विग्रिने जस्ता शारीरिक तथा मानसिक समस्याका कारण थुप्रै मानिसहरुले दुःखद मृत्युवरण भोग्नुपरेको हामी सबैले देख्यौं। नागरिकमा आएका मनोत्रास जन्य कारणहरुलाई केही मात्रमा भएपनि हटाउने उद्देश्यले संघीय सरकार, स्वास्थ्य मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र लुम्विनी प्रदेश सरकारले एउटा निर्देशिका जारी गर्यो र भन्यो, 'जनस्वास्थ्य मापदण्ड पालना गर्दै स्थानिय सरकार र प्रदेश सरकारले व्यवस्थापन गरेका आइसोलेसनहरुमा प्रयोगात्मक योग अभ्यास गराउ।'
सरकारको निर्देशिकालाई अक्षरस पालना गर्दै कोरोना संक्रमित आम नागरिक बसेका आइसोलेसनमा हामी पुग्यौं। सुरुका केही दिनहरु असहज भएपनि नियमित योग अभ्यासले एक किसिमको उर्जा थपियो। मनको डर कम भयो। मनोवल तथा आत्मवल बढाउन योग अभ्यासले राम्रो भुमिका खेलेको सहभागिहरुले उजागार गरे। जसले पनि योगको महत्व लाई बढाएको अनुभुति गरियो। साथै शरीर भित्र असन्तुलन भएको अक्सिजनलाई सन्तुलनमा ल्याउन पनि नियमित योग अभ्यासले महत्वपूर्ण भुमिका खेलेको अनुभव हामी सबैका लागि नयाँ शिक्षा नै थियो।
कोरोना महामारी मात्रै हैन अहिले विश्वमा बढ्दो शहरीकरणका साथै अव्यवस्थीत जीवन शैलीले दिनप्रतिदिन नयाँ नयाँ रोगहरु उत्पन्न भएका छन। ती नयाँ नयाँ रोगको भय एकातीर छ भने अर्को तर्फ नसर्ने रोगहरु पनि बढ्दै छन। अहिलेको मृत्यु तंथ्याकलाई अध्ययन गर्दा करिव दुइ तिहाइ मानिसको मृत्यु नसर्ने रोगबाट भएको पाइन्छ। नसर्ने रोगहरु (उच्च रक्तचापका कारण सिर्जना हुने मुटुजन्य समस्या, मधुमेह, स्वाशप्रसश्वास जन्य रोग र क्यान्सर) जीवनशैली जन्य रोगहरु हुन। जीवनशैली व्यवस्थापन गर्न सकियो भने यी रोगबाट बच्न सकिन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार नसर्ने रोगका मुख्य ४ कारण छन।
क. चुरोट एवंम सुर्तीजन्य पदार्थको सेवन
ख. मध्यपान
ग. अस्वस्थ्यकर खाना
घ. शारीरीक निष्कृयता तथा मानसिक तनाव
यी माथि उल्लेखित ४ कारणहरुको ब्यवस्थापनमा योगले खेल्ने भुमिकाहरु निम्न अनुसार चर्चा गर्न सकिन्छ।
नियमित योग अभ्यासले धुम्रपान, मध्यपान तथा लागु पदार्थको सेवनको चाहाना कम गर्छ। साथै धुम्रपान र मध्यपान सेवनबाट उत्पन्न हुने दुस्प्रभाव कम गरी कुलतबाट छुटकरा दिलाउछ। नियमित योग अभ्यास जन्य जीवन शैलीले सात्विक र सन्तुलित तथा स्वस्थकर आहारमा केन्द्रीकृत बनाउँछ। नियमित योग अभ्यासले शारीरीक निष्कृयता जन्य ४० प्रतिशत रोगहरुलाई न्यूनिकरण गर्दछ।
योगले सिरोटोनिन गावा जस्ता स्नायु प्रणाली सँग सम्वन्धित रसायन बढाइ, मानसिक तनाव कम गर्न मद्दत गर्दछ।
नियमित योग अभ्यासले आनन्दमा आधारित जीव शैली परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्र्दछ।
नियमित योग अध्यासले रगतमा भएको बाेसोजन्य खराव चिजको मात्र कम गरी रक्तनलीहरुलाई सक्रिय राख्दछ। यसबाट हृदयघात, मस्तिष्कघात तथा मुटुजन्य समस्याहरु न्यूनीकरण गर्न सकिन्छ। योगले मुटुका नली साघुरिएर हुने कोरोनरी हार्ट डिजिजमा फाइदा गर्दछ। जुन कुरा अमेरिकी चिकित्सक डिन अर्नेसले रिसर्जद्धारा प्रमाणित गरेका छन।
योगले स्वतन्त्र नाडी संस्थान अन्तर्गत सिम्पाथेटिक नर्भस सिस्टमको गतिविधिलाई कम गरी उच्च रक्तचाप तथा मानसिक तनाव कम गर्न भुमिका खेल्दछ। योगले भेगस नर्भको गतिविधि बढाइ, मुटु र स्वासको गति कम गरी तनाव जन्य डर त्रासहरु नियन्त्रण गर्दछ।
नियमित योग अभ्यासले हाम्रो शरीर भित्र निष्कृय भएका कोषहरुलाई सक्रिय बनाउनुको साथै नया कोषहरु निर्माणमा समेत महत्वपूर्ण भुमिका खेल्दछ। जसले क्यान्सर जस्ता रोगहरु सग लड्ने उर्जा प्राप्त हुन्छ।
योगले इन्सुलिन निर्माण गर्नुका साथै इन्सुलिन अवरोधलाई कम गरी रगतमा चिनीको मात्र कम गर्दछ। जसबाट मधुमेह रोग न्यूनिकरण गर्न मद्दत मिल्छ।
योगले मुडडिसअडर, सिजोफ्रेनिया, सोमाटाइजेशन, डर, चिन्ता जस्ता मानसिक रोगको उपचारमा प्रयोग भएका औषधिका दुस्प्रभाव कम गर्दछ। योगले मस्तिष्कको भावनात्मक केन्द्र लिम्विक कर्टेक्सलाई प्रभाव पारी सम्पूर्ण स्नायु प्रणालीको काममा सहजता ल्याउँछ।
नियमित योग अभ्यासले अचानक आइ पर्ने महामारी, दुःख, पीडा, अनुकुलता, प्रतिकुलता, जीतहार जस्ता भावनात्मक आवेगमा संयमित राख्दै उच्च मनोवल राख्न महत्वपूर्ण भुमिका खेल्दछ। योग चिकित्सा मानव स्वस्थ्का लागि अत्यन्तै महत्वपूर्ण छ। योगको महत्वलाई सबैले आत्मसाथ गरेमा जीवन सुखी र खुशी बनाउँन सकिन्छ। यस तर्फ सबैको ध्यान जानु अहिलेको आवश्यकता हो।
-(लेखक लुम्बिनी आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद स्वास्थ्य सहायक तथा योग अभियान्ता हुन्)