शरीरको सबै भाग नियन्त्रण गर्ने दिमाग न्यून मात्राको करेन्टको (माइक्रो भोल्ट) सञ्चारले चलेको हुन्छ। कुनै कारणबस करेन्टको सञ्चार धेरै मात्रामा भए सोही दिमागको हिस्साले नियन्त्रण गर्ने शरीरका अंगमा अचानक करेन्ट लागे झैँ झट्का दिन थाल्छ। यही असन्तुलन पटक–पटक भइरहेको अवस्थालाई छारे रोग (इपिलेप्सी) भनिन्छ।
सबै छारे रोगका बिरामीहरुलाई एकै प्रकारको लक्षण देखिदैन। छारे रोगको लक्षण धेरै प्रकारको हुन्छ। कुनै छारे रोगमा शरीर काम्ने तथा बेहोस हुने, शरीरको आधा भाग काम्ने या कुनै भाग मात्र काम्ने गर्दछ। ट्वाल्ल पर्ने, हिँड्दा हिँड्दै लडने (ड्रप एट्याक), शारीरिक कमजोरी देखिने, आँखा पल्टाउने, फिज काँड्ने साथै कपडामा दिशा पिसाव हुने लगायत लक्षणहरु देखिन्छन्। यी लक्षणहरु व्यक्ति अनुसार पनि फरक पर्न सक्छ।
विश्वव्यापी रुपमा हेर्ने हो भने छारे रोग अहिलेको सन्दर्भमा बढ्दो क्रममा देखिएको छ। यो जनस्वास्थ्य सरोकारको विषय पनि बनेको छ। विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार विश्वमा अहिले करिब पाँच करोडलाई छारे रोगले असर गरेको छ। जसमध्ये करिब ८० प्रतिशत छारे रोगको बिरामीहरु (लगभग ४ करोड ) न्यून आयश्रोत तथा विकासोन्मुख देशहरुमा छन्। यसमध्ये पनि करिब ७५ प्रतिशत बिरामीहरु उपचारको पहुँच बाहिर रहेको पाइएको छ।
यस्तै, विभिन्न अनुसन्धान अनुसार विश्वभर प्रत्येक १ हजार जनामध्ये ४ देखि १० जनामा छारे रोग देखिने र न्यून आयश्रोत भएका देशमा प्रति हजारमा ७ देखि १४ जनामा छारे रोग देखिने गरेको पाइएको छ। न्यून आय स्रोत साथै स्वास्थ्यको न्यून स्रोत–साधन भएको देशहरुमा छारे रोग एक किसिमको चुनौतीको रुपमा देखिन्छ। जहाँ करिब ८५ प्रतिशत सामान्य तथा दीर्घ रोगीका र करिब ७५ प्रतिशत छारे रोगका बिरामीहरु हुने गर्दछन्। साथै यी मुलुकहरुमा स्वास्थ्यको लागि छुट्याएको बजेट विश्वव्यापी कुल बजेटको करिब १२ प्रतिशत मात्र हुने गर्दछ।
नेपालमा मात्र नभई विश्वका अधिकांश भागमा छारे रोगका बिरामीहरुलाई समाजमा नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ। समाजमा छारे रोगलाई देवीदेवताको श्राप, पूर्व जन्मको पापको रुपमा हेरिन्छ। निको नहुने रोग छारे रोगको बिरामीसँग बिवाह सम्बन्ध अस्विकार हुने, बिरामीलाई विद्यालय तथा कार्यलयमा फरक दृष्टिकोणले हेर्ने र अन्धविश्वासमा भरोसा गर्ने गरेको पाईन्छ। हाम्रो समाजमा यस प्रकारका नकारात्मक दृष्टिकोणले गर्दा पनि कतिपय बिरामी र उनका परिवारले रोग लुकाउनुका साथै उचित उपचारको बाटो नखोज्ने गरेको पाईन्छ ।
नेपालमा छारे रोगको समस्या हेर्ने हो भने धेरै जसो छारे रोग फित्ते किराको फुलबाट भएको अध्ययनले देखाएको छ। जुन फोहोर पानीमा राम्रोसँग नपखालिएको काँचो खानाबाट सर्ने गर्छ। विदेशी अध्ययनमा बाल्यकाल तथा बुढेसकालको क्रममा छारेरोग देखिएपनि नेपालमा गरिएको एक अध्ययनमा युवा अवस्थामा छारे रोग धेरै पाइएको छ। छारे रोगको बारेमा नेपालमा धेरै अध्ययान र अनुसन्धान भएका छैनन्। तर केही अस्पताल र समुदायमा गरिएको अध्ययन अनुसार प्रत्यक १ हजारमा ७ दशमलव ३ जनालाई छारे रोग देखिने र कुल छारे रोगका बिरामीमध्ये करिब ८० प्रतिशत उपचारबाट बञ्चित रहेको पाईएको थियो।
प्राथमिक निदान तथा समयमै गरिएको उपचारेले छारे रोग लोगेका बिरामी निको हुने र करिब २५ प्रतिशत छारे रोग लाग्नुभन्दा अगाडि नै रोकथाम गर्न सकिन्छ। समयमै औषधि सेवन, निरन्तर चिकित्सकसँग परामर्श गर्नाले बिरामीले यो रोगलाई बोझको रुपमा नलिई सामान्य जीवन बिताउन सक्छन्।
औषधिले नियन्त्रण नभएका छारे रोगको उपचार शल्यक्रियाबाट पनि गर्न सकिन्छ। र, यो पद्धति नेपालमै उपल्ब्ध पनि छ। छारे रोगको निदान तथा उपचारमा विभिन्न कार्य योजना, शिक्षा तथा जनचेतनामूलक कार्यक्रमको आवश्यक छ। छारे रोग सम्बन्धी नीति नियममा प्राथमिकता दिन सकिए हाम्रो देशका साथै अन्य न्यून आयस्रोत भएका देशहरुमा पनि छारे रोगको कारक तत्व उन्मूलन साथै उपचारको दायरा पनि बढाउन सकिनेछ। तर यसका विभिन्न चुनौतीहरु छन्। तल उल्लेख गरिएका विभिन्न चुनौतीहरु समाधान गर्दै रोग निर्मूल गर्न र उपचार सहज गर्न टेवा पुग्नेछ:
१. उपचारको दायरा र सहजीकरण: नेपालमा गरिएको अध्ययन अनुसार कुल छारे रोगको बिरामीमध्ये करिब ७० प्रतिशत उपचारको दायरा बाहिर छन्। सबै ठाउँमा उपचारको पहुँच सहज र सुलभ नभएका कारण छारे रोगको औषधि सम्बन्धित स्थानमा पुगेको छैन। समाजमा नकारात्मक दृष्टिकोण, छारे रोग सम्बन्धी शिक्षा र चेतनाको कमीले उपचारको दायरामा कमी पाइएको छ। सरकारी निकायबाट प्रदान गरिने फस्ट लाइन ड्रग तोकिएर सहज र सुलभ रुपमा बिरामीहरुलाई प्रदान गर्नुपर्ने कुरामा पनि कमी देखिन्छ।
२.विशेषज्ञ चिकित्सक तथा उपकरण अभाव: सामान्यता नेपालमा छारे रोगलाई सामान्य चिकित्सकद्वारा उपचार गराइएको पाइएको छ। देशका विभिन्न ठाउँमा स्नायु रोग विशेषज्ञहरुको कमी र रोग पत्ता लगाउने सिटि÷एमआरई जस्ता उपकरणको अभावले समयमै रोग पत्ता लाग्न सक्दैन। यसले गर्दा पनि बिरामीको संख्या र रोगको असर बढदो पाइएको छ।
३.देशव्यापी अभिलेखिकरणको अभाव: नेपालमा सरुवा रोग तथा अन्य रोगहरुको देशव्यापी अभिलेख भएतापनि छारे रोगको लागि विशेष अभिखेलको अभाव छ। देशव्यापी रुपमा छारे रोगको अभिलेखको विकास गरी स्वास्थ्य संस्थाको तथा समुदायमा स्वास्थ्यसँग सरोकार राख्ने निकायको मार्फत छारे रोगको विवरण संकलन गर्दा रोगको आकडा, रोगको किसिम साथै निदान तथा उपचार सहज हुने वातावरण सिर्जना हुनेछ।
४.जनस्वास्थ्यको प्राथमिकता: छारे रोग आजको सन्दर्भमा जनस्वास्थ्यको सरोकार भएको हुनाले स्वास्थ्यको नीति नियम र कार्यक्रम विकास तथा सञ्चालन गर्ने निकायले यस रोगलाई अन्य रोग झैँ प्राथमिकता दिनुपर्ने देखिन्छ।
५. छारे रोग सेन्टर: केही स्वास्थ्य संस्थामा छारे रोग सम्बन्धी विशेषज्ञ चिकित्सक साथै यस सम्बन्धी उचित उपचार पद्धति अनुसरण गरिने हुनाले सम्बन्धित निकायले यस्ता संस्थाहरुलाई छारे रोगको रिफरल सेन्टर (ईपीलेप्सी सेन्टर) को रुपमा संज्ञा दिई बिरामीलाई उचित मार्गमा उपचार गर्न सहयोग गर्नुपर्ने देखिन्छ।
६.अध्ययन/अनुसन्धानको खाँचो: नेपालमा छारे रोग सम्बन्धी अध्ययन अनुसन्धान भएता पनि यी अनुसन्धानहरु केही स्वास्थ्य संस्था तथा समुदायमा मात्र केन्द्रित छन्। छारे रोग सम्बन्धी गरिने अध्ययन र अनुसन्धानको दायरा थप बढाउन आवश्यक छ। यसले नेपालका विभिन्न भागमा रहेका बिरामीहरुको समयमा नै पहिचान गर्न र रोगको कारक तत्वको पहिचान गरी सम्बन्धित कार्य योजना बनाउन सहज हुनेछ।
७. विभिन्न निकायको सहकार्य: छारे रोग निर्मूल गर्नका लागि नेपालमा केही संघ सस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन्। विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय, सरकारी तथा गैर सरकारी संघ सस्थासँग सहकार्य गरी अगाडि बढन सके र दातृ निकायहरुको सहयोगमा रोगको निदान उपचार तथा अध्ययन अनुसन्धानमा दिनुपर्ने आवश्यकता छ।
नेपालमा अझै पनि छारे रोगको पहिचान र उपचार चुनौतीपूर्ण रहेकोमा दुई मत छैन। उचित उपचारको अभाव, अन्धविश्वास, जनचेतनाको कमी, आर्थिक अभाव तथा सामाजिक भेदभाव जस्ता कारक तत्वहरुलाई निर्मूल पार्नु जरुरी छ।
अन्य देशहरुमा जस्तो जनचेतनामूलक कार्यक्रम, सहज औषधि, स्वास्थ्यकर्मीलाई छारे रोग सम्बन्धी तालिम, अध्ययन/अनुसन्धानमा जोड, विभिन्न सरकारी, गैर सरकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकार्य गरी यसको रोकथाम र उपचार पद्धति र दायरामा बढवा दिन सके यो रोग निमूल पार्न सहज हुनेछ।
(डा गजुरेल अन्नपूर्ण न्यूरो अस्पतालका पब्लिक हेल्थ डाइरेक्टर हुन्)