क्रान्तिकारी मन र प्रजातान्त्रिक दिमाग भएको थियो उ। अन्याय सहनु अनि त्यसविरुद्ध आन्दोलन नगर्नु उसको फिद्रतमा थिएन। अध्ययन उसको धर्म थियो अनि सफलता र विफलताहरु उसको पहिचान। मानिसहरु प्रेरणाको कथा भनी उसको विफलताको तराई र पहाडदेखि सफलताको चुचुरोसम्म सुनाउँथे। एमविविएस पढ्दाको साथी थियो उ मेरो। उसको गाउँलेहरु घरघरमा छोराछोरीलाई उसैको नामको आशिष दिन्थे।
उ भन्थ्यो 'हेर भाइ मेडिकल क्षेत्रमा एउटा थिति बसाउने आन्दोलन सुरु गर्नुपर्छ'। शैक्षिक डिग्रीलाई आफ्नै पकेटमा रहेको धागो मानेर कसैलाई त्यसको माला त कसैलाई त्यसको पासो लगाउने प्रोफेसर र फेकल्टीहरु जन्माउने पद्धतिविरुद्धको आन्दोलनको कुरा उ अक्सर गर्थ्यो। र भन्थ्यो हेर केटा हो हामी पहिले यही सिस्टमबाट बाहिर निस्कौं र पछिको पिँढीको सहजताको लागि यो सिस्टम ढाल्ने आन्दोलन गरौं। म उसको कुरा बुझ्थिन, सोच्थे हामी जस्ता साना भुराले के सिस्टम परिवर्तन गर्न सकिएला र? तर उ सम्झाउथ्यो बिचारमा ठुलो विकिरणिय शक्ति हुन्छ, देखिदैन तर फैलिन्छ र सब परिवर्तन गरिदिन्छ, त्यसैले हामीले गर्ने भनेको सहि टाइममा यो बिचार बाहिर पोख्ने मात्रै हो।
उसको यही कुराले सुसुप्त रहेका मेरा इन्द्रियहरु एकाएक जागरुक हुन्थे। यो लामो मेडिकल यात्रामा आफ्ना कैयन साथिहरु यो पद्धतिको सिकार भए, कति मानसिकरुपमा बिमार भए, कति त सहिद भए। अक्सर समाचारमा आइरहेका हुन्छन यस पद्धतिका प्रतिविम्बहरु खाली हामी त्यसको गहिराइ बुझ्दैनौं। 'फलानो मेडिकल विद्यार्थीले सुसाइड गर्यो', 'फलानो मेडिकल विद्यार्थी बेपत्ता भयो'। आखिर यस्तो आन्दोलनको कुरा गर्ने मेरो साथी यही पद्धतिको सिकार भइ बेपत्ता भन्ने खबर सुन्नु पर्ला भनेर मैले सोचेको पनि थिइन।
एमविविएस /एमडी एमएसमा फाइनलमा फेल भएका विद्यार्थी सबै फेल नै हुन योग्य हुँदैनन् ति मध्ये कति फेकल्टी र प्रोफेसरको दुरासयले फेल हुन्छन्। मेडिकल स्कुल एउटा यस्तो जेल हो जहाँ जेलरहरुको रुपमा फेकल्टी हुन्छन् र सायद मन्दिर हुन पर्ने थलो जेल हुनुमा यिनीहरु नै उत्तरदायी छन्। 'हामीले भनेको जस्तो गरिनस् भने पास हुन्नस् नी' यी नरपिचासहरु खुल्लम खुल्ला भन्छन्। यो पद्धति नेपालका मेडिकल स्कुलमा जताततै छ र यसको सबैभन्दा गम्भीर उदाहरण भनेको मेडिकल स्नातकोत्तरको अध्ययनकाल हो।
पास हुनको लागि केके मात्र गर्दैनन् विद्यार्थीहरु। धनीमनीहरु फेकल्टीलाई महँगा गिफ्ट दिन्छन्। विद्यार्थीहरु घरायसी काम सम्म गर्छन्। कोहि कोहि फेकल्टीहरु विदेशी विद्यार्थीबाट पैसा सम्म लिन्छन्। नेपालमा मेडिकल स्कुलमा फेल भएको व्यक्तिले अमेरिकाको मेडिकल लाइसेन्सको परीक्षामा अल्मस्ट टप गर्छ। यो असम्भव हुनुपर्ने हो तर सत्य हो र दुःखद पनि।
खैर सुसाइड त ती शिक्षकहरुले गर्नुपर्ने हो जसले सधैं परीक्षालाई हाउगुजी बनाएर यो पवित्र मन्दिरमा आफ्ना गन्धगी फैलाए। खैर सबै फेकल्टीहरु यस्तै नरपिचास नै भने हुँदैनन्। केहि देउतासमान पनि हुन्छन्, जसले आफ्ना विद्यार्थीलाई बेष्ट बनाउन हरदम प्रयत्न गरिरहेका हुन्छन्।
अब यसको समाधान कसरी सम्भव हुन्छ भन्ने कुरा महत्वपूर्ण छ। पहिले त युनिभर्सिटीहरुमा ग्रेडिङ सिस्टम लागू हुनुपर्दछ। जसमा विद्यार्थी फेल नै नहोस् तर बोर्ड लाइसेन्सको परीक्षा यतिसम्म कडा हुनुपर्छ कि जो कोही असक्षम पनि सो परीक्षा पार गरेर सिधै बिरामीमा आफ्नो सिपको अभ्यास नगरोस्। नेपाल मेडिकल काउन्सिलले लिने परीक्षालाई युएसएमएली (अमेरिकन मेडिकल लाइसेन्सको परीक्षा) जस्तै गुणस्तरिय बनाउनु पर्छ। अहिले मार्केटमा प्रोफेसरलाई खुसि बनाई पास भएका र सहज मेडिकल लाइसेन्स परीक्षा पास गरेर बिरामीमाथि अभ्यास गरिरहेकाहरु पनि त छन्। तसर्थ अहिलेको पद्धति परिवर्तन गरिनु पर्दछ।