काठमाडौं - चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न जाने बिरामीको संख्या वर्षेनी बढ्दो छ।
अस्पतालको गत २२ वर्षको तथ्यांकले उपचारका लागि पुग्ने बिरामीको संख्या वर्षेनी बढ्दो क्रममा रहेको देखाएको छ। गत २२ वर्षमा १८ लाख २ हजार ९७९ जना बिरामीले ओपिडी सेवा लिएका छन्। सन् २०१४ बाट उपचार सेवा लिनेको संख्या एक लाख माथि पुगेको अस्पतालको तथ्यांक छ।
तर कोभिड १९ महामारीका कारण सन् २०२० मा भने उपचार लिन पुग्ने बिरामीको संख्यामा कमी आएको छ। वर्षेनी करिब डेढ लाख बिरामीले उपचार लिदै आएकोमा कोभिडका कारण सन् २०२० मा ९० हजार ५७१ जना बिरामीले मात्र उपचार लिएका छन्।
कोभिड महामारी अघि दैनिक ८ सयदेखि एक हजारसम्म बिरामी आउने गरेकोमा हाल ५ सयदेखि ६ सयसम्म मात्र बिरामी आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले बताए।
उनले भने, ‘कोभिड अघिसम्म यहाँ वर्षेनी करिब डेढ लाख बिरामीले उपचार सेवा लिने गर्थे। यो संख्या वर्षेनी बढ्दो क्रममा थियो। तर अहिले घटेर ९० हजारमा पुगेको छ। दैनिक सेवा लिन आउने बिरामीको चाप पनि घटेको छ।’
गत वर्ष उपचारका लागि आएका ९० हजार ५७१ मध्ये २४ हजार ८९ जना नयाँ बिरामी थिए।
कुल बिरामीमध्ये पनि २ हजार ९१ पुरुष र २ हजार ५१७ महिला गरी ४ हजार ६०८ जना क्यान्सरका नयाँ बिरामी रहेको अस्पतालले जनाएको छ। अस्पतालमा उपचारका लागि आउने कुल बिरामीमध्ये वर्षेनी २५ देखि ३० हजार क्यान्सरका बिरामी हुने गरेको डा गौतमले जानकारी दिए।
उनले भने, ‘कुल बिरामीमध्ये एक तिहाई एक चौथाई क्यान्सर रोगका बिरामी हुन्छन्। वर्षेनी ६ देखि ८ हजार क्यान्सरका नयाँ बिरामीको उपचार हुन्छन्। देशभरीका कुल क्यान्सरका बिरामीमध्ये ७५ प्रतिशत बिरामीलाई हाम्रो अस्पतालले सेवा दिइरहेको छ।’
क्यान्सरका बिरामीमध्ये पहिलो नम्बरमा फोक्सो (५५४), दोस्रो पाठेघरको मुख (४९५), तेस्रो स्तन (४६६), चौथोमा पेट (२३५), पाँचौमा अण्डाशय र गल ब्लाडर (२१३), छैठौँमा जिब्रोको (१६३) क्यान्सर छन्। पुरुषमा फोक्सोको क्यान्सर मुख्य समस्या देखिएको छ भने महिलामा पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा छ।
सन् २०२० मा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देखिएका मुख्य १० क्यान्सर
१. फोक्सोको क्यान्सर (५५४)
२. पाठेघर मुखको क्यान्सर (४९५)
३. स्तन क्यान्सर (४६६)
४. पेटको क्यान्सर (२३५)
५. अण्डाशयको क्यान्सर (२१३)
६. गल ब्लाडरको क्यान्सर (२१३)
७. जिब्रोको क्यान्सर (१६३)
८. रेक्टमको क्यान्सर (१६२)
९. ब्लाडरको क्यान्सर (१५०)
१०. हड्डी, जोर्नी र अन्य (१३८)
क्यान्सर हुनेमा ६० देखि ६४ वर्ष उमेर समूहका सबैभन्दा धेरै छन्। ६० देखि ६४ वर्षका ५६५, ५५ देखि ५९ वर्षका ५२५, ६५ देखि ६९ वर्षका ४७४, ४५ देखि ४९ वर्षका ४५३, ७० देखि ७४ वर्षका ३६७ जना छन्। २० वर्ष मुनिका २६४ जना छन्।
गत वर्ष २ हजार ७४२ वटा मेजर अपरेशन भएका छन् भने ३ हजार १६६ जनाले किमोथेरापी सेवा लिएको अस्पतालले जनाएको छ।
५ हजार ६६१ जनाले सामजिक सेवा इकाई अन्तर्गत विपन्न नागरिक कोषबाट सेवा पाएका छन्। सरकारले क्यान्सर लगायत विभिन्न आठ प्रकारका रोगको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
ओपिडीसँगै अस्पताल भर्ना भएर उपचार गर्ने बिरामीको संख्या पनि वर्षेनी बढ्दो छ। सन् २०२० मा ७ हजार २५० बिरामी भनाई भई उपचार सेवा लिएका छन्। गत २२ वर्षमा १ लाख ६४ हजार ८८९ जना बिरामी भर्ना भई उपचार सेवा लिएको अस्पतालको तथ्यांक छ।
कुन वर्ष कतिले ओपिडी सेवा लिए?
वर्ष (सन्) | ओपिडी सेवा लिनेको संख्या |
१९९० | ७९६४ |
२००० | ४७७०८ |
२००१ | ४७९२६ |
२००२ | ४६६८१ |
२००३ | ५११५३ |
२००४ | ५०२१३ |
२००५ | ६५३२७ |
२००६ | ६५११६ |
२००७ | ६५५५० |
२००८ | ७२५६० |
२००९ | ७०९४३ |
२०१० | ८७०४२ |
२०११ | ९००२२ |
२०१२ | ९४७८८ |
२०१३ | ९५३२६ |
२०१४ | ११२४७६ |
२०१५ | ११३७९९ |
२०१६ | १२११३५ |
२०१७ | १२५०४१ |
२०१८ | १३७८६२ |
२०१९ | १४५७७६ |
२०२० | ९०५७१ |
स्रोत: बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
अस्वस्थकर जीवनशैली बढायो क्यान्सर
अस्वस्थकर र निस्क्रिय जीवनशैली, धुम्रपान तथा मद्यपान सेवनका कारण नेपालमा क्यान्सर रोग वर्षेनी बढ्दै गइरहेको क्यान्सर सर्जन डा अनिल कार्कीले बताए।
उनले भने, ‘अस्वस्थकर जीवनशैली यसको मुख्य कारण हो। यो सँगै मानिसहरु सचेत हुन थालेका छन्। क्यान्सरको परीक्षण गर्ने क्रम पनि बढ्दो छ। सरकारले क्यान्सरको उपचारमा एक लाख रुपैयाँ सहुलियत दिएकाले पनि मानिसहरु उपचारका लागि आउने क्रम बढेको देखिन्छ।’
नेपालमा अझै पनि धेरै बिरामीहरु उपचारको पहुँच बाहिर रहेको उनले बताए। उपचार पाउनुपर्ने जनता र सेवा दिने निकाय बीचको दूरीका कारण बिरामीरु पहुँच बाहिर रहेको उनको बुझाई छ।
‘अझै पनि समाजमा क्यान्सर सम्बन्धी चेतनाको राम्रोसँग विकास भइसकेको छैन। क्यान्सर कसरी लाग्छ, कहाँ उपचार गर्न जाने, कुन समयमा परीक्षण तथा उपचार गर्न जाने भन्ने बारेमा अझै पनि धेरैलाई थाहा छैन। हामीसँग भएका स्रोत साधन पनि समान रुपमा वितरण भएको छैन’ उनले भने।
सबै बिरामीलाई उपचारको पहुँचमा ल्याउन सरकारले विशेष नीति अवलम्बन गर्नुपर्ने उनले बताए। प्रत्येक प्रदेशमा क्यान्सरको उपचार हुने स्वास्थ्य संस्था हुनुपर्नेमा उनको जोड छ। क्यान्सर उपचार लामो र महँगो हुने भएकाले यसको रोकथाममा सबैले ध्यान दिनुपर्ने उनले बताए।