धनगढी- नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको एक दशक बढी भइसकेको छ, तर सुदूरपश्चिम प्रदेशमा भने अझैं पनि कुष्ठरोगको चुनौति कायमै छ।
सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा नै वर्षेनी नयाँ कुष्ठरोगी पहिचान हुने क्रम जारी रहेको छ। प्रदेशमा वर्षेनी दुई सयदेखि तीन सय नयाँ कुष्ठरोगीहरूको पहिचान भइरहेको तथ्याङ्कले देखाएको छ।
सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा कुष्ठरोगीहरूको सङ्ख्यामा केही कमी आए पनि गत आर्थिक वर्ष २०७७/७८ मा पुनः कुष्ठरोगीहरूको सङ्ख्यामा बृद्धि भएको छ।
स्वास्थ्य निर्देशनालय, दीपायलका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७४/७५ मा दुई सय ९८ नयाँ कुष्ठरोगीहरू थपिएका थिए। त्यसको अर्को वर्ष २०७५/०७६ मा नयाँ रोगीहरूको सङ्ख्यामा केही कमी आएर दुई सय ५४ मा झरेको थियो। त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा एक सय ३७ जना नयाँ कुष्ठरोगी थपिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ।
प्रदेशमा दुई आर्थिक वर्षको अवधिमा नयाँ कुष्ठरोगीको बृद्धिदरमा केही कमी आए पनि पुनः आर्थिक वर्ष २०७७/७८ मा बृद्धि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशमा दुई सय आठ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका थिए। तीमध्ये दुई सय २२ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन।
गत आर्थिक वर्षमा प्रदेशका कैलाली र कञ्चनपुरका दुई/दुई र अछामका एक जना गरी पाँच जनामा कुष्ठरोग पुनः बल्झिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्यस्तै, गत आर्थिक वर्ष २०७७/७८ मा कैलालीका १२, अछामका दुई तथा बैतडी, बझाङ र अछामका एक/एक गरी १७ जना कुष्ठरोगीहरूमा अपाङ्गता समस्या भएको छ। गत आर्थिक वर्षमा नयाँ फेला परेका कुष्ठरोगीमध्ये ९० जना महिला र छ जना बालबालिका रहेका छन्।
चालू आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म प्रदेशमा ८६ जना नयाँ कुष्ठरोगीहरू फेला परिसकेका छन। स्वास्थ्य निर्देशनालय दिपायलले उपलब्ध गराएको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा बढी विरामी रहेका छन। सो तथ्यांक अनुसार कैलालीमा पुस मसान्तसम्म ५२ जना नयाँ कुष्ठरोगीहरू फेला परेका छन्।
त्यस्तै, अछाममा १६, कञ्चनपुरमा १२, डोटीमा तीन, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एक नयाँ बिरामी फेला परेको जनाइएको छ।
नयाँ विरामी फेला परेकामध्ये ४९ जना महिला रहेका छन भने चार जनामा पुनः रोग बल्झिएको तथ्याङ्कमा उल्लेख छ। स्वास्थ्य निर्देशनालयका अनुसार यस अवधिमा दुई सय ४९ जना कुष्ठरोगीहरू उपचाररत रहेका छन। त्यस्तै, ११ जना विभिन्न किसिमका शाररिक अपाङ्गता समस्या देखिएको छ।
सुदूरपश्चिम प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा नयाँ बिरामी पत्ता लाग्ने दर आठ प्रतिशत रहेकोे स्वास्थ्य निर्देशनालयले जनाएको छ। कैलाली, कञ्चनपुर र अछाममा नयाँ कुष्ठरोगी पत्ता लाग्ने दर उच्च रहेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४५ जना महिला र १० जना बालबालिकामा कुष्ठरोग देखापरेको थियो।
निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा एक सय १२ जनामा १२ महिना उपचार गर्नुपर्ने नयाँ विरामी फेला परेका थिए। भने पाँच जनामा कुष्ठरोगका कारण अपाङ्गताको समस्या देखिएको थियो।
सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण हुने अपाङ्गताको दरमा पनि घटबढ भइरहेको तथ्याङ्कले देखाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा आर्थिक वर्ष २०७३/७४ मा कुष्ठरोगका कारण २० जना शारीरिक रूपमा अपाङ्ग भएका थिए। सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगका कारण अपाङ्ग हुने सङ्ख्या आर्थिक वर्ष २०७४/७५ मा २२ तथा आर्थिक वर्ष २०७५/७६ मा १७ जना रहेको थियो।
नेपाल सरकारले २०६६ साल माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो। सरकारले प्रति दश हजार जनसङ्ख्यामा एक प्रतिशतभन्दा बढी कुष्ठरोगी रहेको जिल्लालाई कुष्ठरोगको बढी जोखिम रहेको मानेको छ। सुदूरपश्चिम प्रदेशमा हाल प्रति दश हजार जनसङ्ख्यामा सून्य दशमलव ७८ जना कुष्ठरोगका बिरामी उपचारमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगको बढि जोखिम रहेको छ। तथ्यांक अनुसार कैलाली जिल्लामा ०७६/७७ मा एक सय २२ जना उपचाररत रहेका छन भने कञ्चनपुरमा ४५ र अछाममा २९ जना उपचाररत रहेका छन्।
कैलालीमा आर्थिक वर्ष २०७४/०७५ मा एक सय ६०, आर्थिक वर्ष २०७५/०७६ मा एक सय ७६ जना कुष्ठरोगी उपचारमा रहेका थिए भने आर्थिक वर्ष एक सय २२ जना उपचाररत रहेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एक सय ३४ र चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक सय ४५ जना उपचाररत रहेका छन।
त्यस्तै, अछाममा आर्थिक वर्ष २०७४/०७५ मा ३३, आर्थिक वर्ष २०७५/०७६ मा ५१, आर्थिक वर्ष २०७६/७७ मा २९ र आर्थिक वर्ष ०७७/७८ मा २६ जना कुष्ठरोगी उपचारमा थिए भने चालु आर्थिक वर्षमा ४१ जना उपचारमा रहेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयले दिएको तथ्यांक अनुसार कञ्चनपुरमा २०७४/७५ मा ७३, आर्थिक वर्ष २०७५/०७६ मा ४६ जना, आर्थिक वर्ष २०७६/७७ मा ४५ र आर्थिक वर्ष २०७७/७८ मा ३८ जना उपचारमा थिए भने चालु आर्थिक वर्षमा ३६ जना कुष्ठरोगी उपचारमा रहेका छन्।
सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा कुष्ठरोगीका बिरामीको सङ्ख्या घटबढ भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
समाजमा अझैं पनि कुष्ठरोगीप्रति गरिने अपहेलना तथा विभेदको व्यवहार र सोचका कारण कुष्ठरोगको लक्षण देखापरे पनि बिरामीहरू उपचारका लागि आउन संकोच मान्नेगरेको पाइन्छ।
उपचार गरेमा कुष्ठरोग निको हुन्छ र अङ्गभङ्ग हुनबाट जोगिन्छ भन्ने जानकारीको कमीका कारण अझैं पनि स्वास्थ्यकर्मीले खोजपडताल गरेर बिरामी पत्ता लगाएर उपचार प्रक्रियामा ल्याउनु पर्ने अवस्था रहेको प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशी बताउँछन्।
निर्देशक डाक्टर जोशीले शरीरमा जुनसुकै रंगको नदुख्ने र नचिलाउने तथा लाटो दाग देखिएमा तुरून्त स्वास्थ्य संस्था वा अस्पताल गएर उपचार गराउन आग्रह गरे। उनले कुष्ठरोग लागेको शुरूवाती चरणमा उपचार गराएमा शरीरमा अंगभंग हुनबाट जोगिने बताए। उनले ढिलो गरी उपचार गराउँदा रोग निको भएपछि शरिरमा भएको क्षति हटाउन नसकिने बताए। तथ्यांक अनुसार ढिलो गरि कुष्ठरोगको उपचार गराउन आएका कारण नेपालमा ३० हजार बढि नेपालीहरू अपांग भएका छन्।
देशका विभिन्न जिल्लामा कुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि नेपाल सरकारले सन् २०२० सम्म देशका सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। सन २०२१ पुरा भई २०२२ लाग्दा समेत प्रदेशमा झन कुष्ठरोगीहरूको सङ्ख्या बढ्दै गइरहेको छ।
‘संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव छ। तीन तहका सरकारले कुष्ठरोग निवारणका लागि विशेष अभियानको थालनी गर्नुपर्ने हुन्छ’ कुष्ठरोग क्षेत्रमा काम गरिरहेका नेदरल्याण्ड लेप्रोसि रिलिफ (एनएलआर) नेपालका सुदूरपश्चिम प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने– समाजमा लुकेर बसेका कुष्ठरोगीहरू उपचारमा आइरहेका छैनन्। हामीले शंकास्पद गरेका व्यक्तिहरूलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन सल्लाह दिइरहेका हुन्छौं तर, अर्कोपल्ट सम्पर्क गर्न खोज्दा सम्पर्कविहिन हुन्छन। बिभेदको सामाजिक सोचका कारण उनीहरू उपचारमा आउँन चाहदैनन। उपचारमा आएका व्यक्तिहरूले पनि नियमित औषधि सेवन गर्दैनन। जसले गर्दा पुनः रोग बल्झिने गरेको छ।’
नेपाल सरकारको कुष्ठरोग निवारण नीति २०१६ ले बालबालिकामा हुने कुष्ठरोग र कुष्ठरोगका कारण हुने अपांगता दर सून्यमा झार्ने र कुष्ठरोगको दर प्रति एक लाखमा एक भन्दा कममा झार्ने लक्ष्य लिएको छ। तर, सुदूरपश्चिम प्रदेशमा अझै पनि कुष्ठरोगका कारण हुने अपाङ्गता दरमा सुधार हुन नसकेको तथ्यांकहरूले देखाइरहेको छ।
सरकारले अहिले सून्य कुष्ठरोगको लागि (सन २०२१–२०३०) राष्ट्रिय मार्गचित्र लागु गरेको छ। सो अनुसार पालिका स्तरमा कुष्ठरोगको संक्रमण रोक्ने लक्ष्य लिइएको छ।
कोरोना महामारीले दिवस प्रभावित
आज ६९ औं विश्व कुष्ठरोग दिवस। विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरेर हरेक वर्ष मनाइने यो दिवस यस वर्ष भने प्रभावित भएको छ।
कोरोना महामारीको तेस्रो लहरका कारण कुनै पनि गोष्ठी, समारोह, अन्र्तक्रिया लगायतका कार्यक्रमको आयोजना नगरिने स्वास्थ्य निर्देशनालयले जनाएको छ। ‘कोरोना महामारीका कारण यस वर्ष हामीले भव्य कार्यक्रमको आयोजना नगर्ने भनेका छौं’ एनएलआरका प्रदेश फिल्ड संयोजक मुकेश पन्तले भने– प्रदेश भरीमा रहेका रेडियो तथा एफएममा कुष्ठरोग सम्बन्धी जानकारीमुलक सामाग्री र रोगका विशेषज्ञ चिकित्सकहरूसंग संवाद लगायतका कार्यक्रम प्रसारण गर्ने भनेका छौं।'
यस वर्ष यो दिवसलाई सफल पार्न ‘सून्य कुष्ठरोगको लागि हाम्रो प्रतिवद्धता, आत्मसम्मानको लागि ऐक्यवद्धता’ भन्ने नारा दिइएको छ।
कुष्ठरोग दिवस १८५३ मा फ्रान्सका मानवतावादी रोयल फोलेरेयुले शुरु गरेका थिए। त्यस्तै, भारतमा महात्मा गान्धीको मृत्युपछि उनको स्मृतिलाई समेत जोडेर विश्व कुष्ठरोग दिवस जनवरी महिनाको अन्तिम आइतबार मनाउदै आइरहेको छ।
विश्व कुष्ठरोग दिवस मनाउनुको मुख्य उद्देश्यनै कुष्ठरोग नै नहुने अवस्था ‘सून्य कुष्ठरोग’ हुनु हो। कुष्ठरोग सम्बन्धि विभिन्न तथ्यहरू हेर्दा अझपनि यो हाम्रो समाजमा लुकेर रहेको छ र यस सम्बन्धि फरक फरक अवधारणहरू पाइन्छन।
कुष्ठरोग के हो?
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। यो रोग मानिसबाट मानिसमा सर्छ।
उपचार नगरेको कुष्ठरोग विरामीसंग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वास प्रश्वासको माध्यामबाट यो रोग सर्न सक्छ। शुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरूलाई सर्दैन। यो रोग बहुऔषधीको एक मात्रा सेवनबाट नै ९९ प्रतिशत रोगका किटाणुलाई शिथिल बनाई रोग अरूलाई नसर्ने हुन्छ। समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुन्छ र अपांगता हुदैंन। कुष्ठरोग पनि अरू रोग जस्तै साधारण सरूवा रोग हो। कुष्ठरोगका विरामी र प्रभावितलाई सामाजिक भेदभाव नगरौं।
निवारणमा चुनौति
कुष्ठरोगका विरामी तथा प्रभावितहरू प्रति सामाजिक भेदभावलाई शून्य बनाउने, गुणस्तरिय उपचार सेवाको निरन्तरता, रोगको संक्रमणलाई घटाई कुष्ठरोग शुन्य समाज निर्माण गर्ने, कुष्ठरोग निवारणको स्थितिलाई दिगो राख्ने, प्रभावितहरूलाई समुदायमा आधारित पुनस्र्थापना गर्ने, सवै नगर/गाउँपालिकाहरूमा कुष्ठरोग निवारण (प्रति दश हजार जनसङ्ख्यामा एक भन्दा कम विरामी) गर्ने र कुष्ठरोगसंग सम्वन्धित जनशक्तिको व्यवस्थापन गर्न नसक्नु कुष्ठरोग निवारणमा देखिएका चुनौति हुन।