एलर्जी एक शारीरिक अवस्था हो। यस अवस्थामा मानिसको प्रतिरक्षा प्रणाली कुनै बाहिरी तत्वको लागि बढी संवेदनशील हुन्छ। संसारका १० देखि ३० प्रतिशत मानिसहरुमा एलर्जीको समस्या रहेको पाइन्छ। वर्तमान विश्वमा नसर्ने रोगहरु मध्ये मुटुरोग, क्यान्सर र मधुमेह पछि एलर्जी चौथो सबैभन्दा बढी देखिने रोग हो । हाम्रो वातावरण तथा रहनसहनको कारणले यो अवस्था अझ बढ्दो क्रममा छ तसर्थ एलर्जी एक विश्वव्यापी महामारीको रूपमा देखिंदै छ । प्राय युरोप तथा उत्तर अमेरिकाका धनी राष्ट्रहरुमा व्याप्त यो समस्या केहि दशक यता एसियाका विकासशील देशहरुमा पनि गुणात्मक रुपमा बढ्दै गइरहेको छ। फलतः नेपालमा पनि एलर्जी ठुलो जनस्वास्थ्य समस्याको रुपमा देखिन थालेको छ।
एलर्जी बिरामीमा विभिन्न तरिकाबाट प्रस्तुत हुन सक्छ जस्तै: एलर्जीक राइनाइटिस (एलर्जीले नाक बग्नु, रुघा लाग्नु), एलर्जीक दम, एलर्जीक डाबर, खटिरा (urticaria), एलर्जीक छालाको रोग (atopic dermatitis), एलर्जीक आँखा पाक्ने रोग (allergic conjunctivitis), औषधि वा खानाको एलर्जी र आनाफाइलाक्सिस (anaphylaxis)। यी रोगहरु मध्ये धेरै जसो रोगले मानिसको दैनिक जीवन, काम, निद्रा र उत्पादनशीलतामा ह्रास ल्याउदछन भने कुनै रोगहरुले (anaphylaxis) ज्यान समेत खतरामा पार्न सक्दछ।
एलर्जीक राइनाइटिसमा नाकबाट पानी बग्ने, नाक चिलाउने, हाच्छिउ आउने र नाक बन्द हुने हुन्छ । कोहि बिरामीमा आँखा चिलाउने, आँसु आउने, आँखा सुन्निने हुन सक्छ। एलर्जीक दम भएका मानिसहरुमा खोकी लाग्ने, सास फेर्न गारो हुने, छाती भरि हुने र छाती कुईकुई कराउने समस्या देखा पर्दछन। छालाको एलर्जी भएमा छाला चिलाउने र रातो डाबर आउन सक्छ। कुनै खानाको एलर्जी भएमा शारीरमा डाबर आउने, ओठ सुन्निने, झाडा पखाला लाग्ने, पेट वा टाउको दुख्ने, सास फेर्न गारो हुन सक्दछ।
एलर्जी गराउने कारक तत्वहरु बिरुवा, रुखका पराग, धुलोमा हुने कण, ढुसी, औषधि, खाना, किरा, घरपालुवा जनावर आदि हुन सक्दछन्। हालको परिस्थितिमा बाल्यवस्था र युवावस्थामा एलर्जीको समस्या देखिंदै छ तसर्थ निकट भविष्यमा एलर्जीको समस्या झन् बढ्ने र यसले झन् बिकराल रुप लिने कुरा निश्चित जस्तै छ। बढ्दो औद्योगीकरण, वातावरणीय प्रदुषण, धूम्रपान, रसायनहरुको बढ्दो प्रयोग खानपानमा पश्चिमा शैलीको प्रचलन आदि एलर्जीको समस्या बढ्नुको मुख्य कारण हुन। मानिसको जीन र वातावरणीय परिवर्तनको जटिल समिश्रणले कुनै व्यक्तिलाई एलर्जी हुने र कुनै व्यक्तिलाई नहुने हुने गर्दछ।
नेपालमा एलर्जी सम्बन्धी निदान, अनुसन्धान तथा उपचार सुरुवाती चरणमा छन्। यसका बाबजुद नेपालमा एलर्जीको कारक तत्व (allergen) पत्ता लगाउने बिधिहरु उपलब्ध छन्। ती मध्ये skin prick test एक भरपर्दो, सस्तो र तत्काल परिणाम दिने एलर्जीको जाँच हो। यस टेस्टमा विभिन्न किसिमका एलर्जी गराउने तत्वहरुको प्रसोधित घोललाई छालामा राखी allergen पत्ता लगाइन्छ। एलर्जी गराउने तत्वहरुको प्रसोधित घोल प्रयोग हुने हुँदा यस टेस्टबाट allergen सटिक रुपमा पत्ता लगाउन सकिन्छ। यसरी allergen पत्ता लागिसके पश्चात त्यस allergen संगको सम्पर्क कम गर्न सके अथवा त्यस allergen को विरुद्धमा इम्मुनोथेरापी गरिएमा त्यस एलर्जीको दीर्घकालीन उपचार सम्भव छ।
Skin prick टेस्ट छिटो, छरितो, सस्तो, भरपर्दो allergen पत्ता लगाउने जांच पद्धती हो। एलर्जीको उपचार एन्टी एलर्जीक औषधि मात्र लिनु कदापि हैन, व्यक्ति पिच्छे allergen पत्ता लगाई त्यही अनुसारको उपचार नै सहि मानेमा एलर्जीको उपचार हो।
- लेखक डा डंगोल त्रिवि शिक्षण अस्पतालमा नाक, कान, घाँटी रोग विशेषज्ञका रुपमा कार्यरत छिन्।