काठमाडौं - खोप (भ्याक्सिन)लाई निश्चित तापक्रममा सुरक्षित राख्ने ठाउँ हो, खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेन।
खोपमा रहेको गुण र यसको प्रभावकारितालाई कायम राख्न उत्पादनदेखि लगाउने समयसम्म तोकिएको तापक्रममा भ्याक्सिन राख्नुपर्दछ। यो प्रक्रियालाई नै कोल्ड चेन भनिन्छ। कोल्ड चेन, भ्याक्सिन व्यवस्थापनको महत्वपूर्ण र चुनौतीपूर्ण पाटो हो।
नेपालमा कोरोना खोप अभियान सुरु भएदेखि हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइएको छ। जसमध्ये १ करोड ६४ लाख ५८ हजार ४७५ जना (५४.२५ प्रतिशत) ले कम्तीमा एक मात्रा, १ करोड ३७ लाख ३४ हजार ३९० जना (४५.२ प्रतिशत) ले पूर्ण मात्रा लगाएका छन्। अतिरिक्त मात्रा लगाउनेको संख्या २ लाख ८२ हजार ७२४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
अझै पनि आधाजति जनसंख्या कोभिड १९ विरुद्धको खोपको पहुँच बाहिर छन्। सरकारले खोप लगाउनका लागि विभिन्न समयमा अनुदान तथा आफैँ खरिद गरेर बेला बेलामा खोप भित्र्यारहेका छन्।
भ्याक्सिन तथा कोल्ड चेन उपकरणको व्यवस्थापन गर्न स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखा अन्तर्गत टेकू र पथैलयामा गरी दुई वटा केन्द्रीय भ्याक्सिन स्टोर छन्। प्रदेश १ मा विराटनगर, मधेश प्रदेशमा धनुषा, बागमतीमा हेटौंडा र टेकू, गण्डकीमा पोखरा, लुम्बिनी प्रदेशमा बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिममा धनगढीमा भ्याक्सिन स्टोर छ।
केन्द्रीय खोप भण्डार टेकु सहित देशभर हाल राष्ट्रिय खोप कार्यक्रममा लगाइने खोप र कोभिड खोप गरी ३ लाख २९ हजार ७५० लिटर खोप भण्डार गर्ने क्षमता छ। जसमध्ये कोभिड खोपका लागि २ लाख २८ हजार ५०० लिटर क्षमताको कोल्ड चेन छुट्याइएको छ। यी सबै २ देखि ८ डिग्री सेल्सियस सम्मको स्टोर क्षमता भएका कोल्ड चेन हुन्।
माइनस १५ देखि २० डिग्रीसम्मको तापक्रममा खोप भण्डार गर्ने क्षमता केन्द्रीय खोप भण्डार टेकुमा मात्र छ। यहाँ यसको क्षमता ७ हजार ५ लिटर रहेको महाशाखाले जनाएको छ।
केन्द्रीय खोप भण्डार टेकुमा मात्र ७५ हजार ५०० लिटर स्टोर क्षमता छ। जसमध्ये ४१ हजार २५० लिटर कोभिड खोपका लागि छुट्याइएको छ।
राष्ट्रिय खोप कार्यक्रम अनुसार १२ प्रकारका खोप सञ्चालनमा छन्। नेपालमा हाल बिसिजि (क्षयरोग), डिपिटी–हेपाटाइटिस बि–हिव, ओपिभी (पोलियो), दादुरा–रुवेला, जापानिज इन्सेफेलाइटिस, आईपिभी (पोलियो), पिसीभी (निमोनिया), रोटा र टिडी (टिटानस र डिप्थेरिया) खोप सञ्चालनमा छन्।
व्यवस्थापन महाशाखाका अनुसार एक वर्षअघि नियमित खोपको लागि कोल्ड चेन केन्द्रको क्षमता ४५ हजार लिटर मात्र थियो। सरकारले देशमा कोरोना महामारी फैलिएपछि केन्द्र तथा प्रदेशमा रहेका कोल्डरुमको क्षमता र संख्या विस्तार गर्दै लगेको हो।
नेपालमा हाल भ्याक्सिन स्टोर क्षमता (२ देखि ८ डिग्री तापक्रम)
भ्याक्सिन स्टोर | कुल क्षमता (लिटरमा) | कुलमध्ये कोभिडका लागि (लिटरमा) |
केन्द्रीय खोप भण्डार, टेकू | ७५५०० | ४१२५० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगर | २९७५० | २२२५० |
केन्द्रीय मेडिकल स्टोर, पथैलया | ४०७५० | २९७५० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जनकपुर | ४६००० | ३६००० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडा | २२२५० | २०००० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, पोखरा | २९७५० | २२२५० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र केन्द्र, बुटवल | ३१२५० | २३७५० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र केन्द्र, नेपालगञ्ज | ७५०० | ३७५० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र केन्द्र, सुर्खेत | १७२५० | ७२५० |
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र केन्द्र, धनगढी | २९७५० | २२२५० |
जम्मा | ३२९,७५० | २२८,५०० |
स्रोत: आपूर्ति व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा विभाग
खोप भण्डारणमा छैन समस्या
आजभन्दा एक वर्षअघि नेपालमा नियमित रुपमा सञ्चालन हुँदै आएका खोपहरुको मात्र भण्डारण हुने गर्दथ्यो। कोभिड महामारी सुरु भएपछि मात्र कोभिड १९ विरुद्धको खोप भण्डारणको काम सुरु भएको हो।
कोभिड महामारी र यस विरुद्धको खोपको व्यवस्थापन विश्वकै लागि नयाँ थियो। खोप व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी थिएन। निश्चित क्षमतामा रहेर खोप भण्डार गर्दै आएकोमा कोभिडपछि भण्डार क्षमता बढाउनुपर्यो। एकै पटक लाखौँ खोप आएपछि भण्डारणमा चापाचाप भयो। भएका स्टोर पनि कोभिड खोपले भरिए।
सुरुवाती दिनमा समस्या भएपनि हाल कोभिड-१९ विरुद्धको खोप भण्डारणमा कुनै समस्या नभएको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनी बताउँछन्। खोप भण्डारणका लागि आवश्यकता अनुसार फ्रिजरहरु थप गरिएकोले भण्डारणमा हाल कुनै समस्या नरहेको उनले बताए।
‘हामीलाई खोप भण्डारणमा अहिले कुनै समस्या छैन। काम भइरहेका छन्। एक वर्षअघि भण्डारण क्षमता कम थियो। अहिले क्षमता बढेको छ। आवश्यकता अनुसार थप गर्दै जाने हो’ उनले भने।
टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा ८५ हजार लिटर क्षमता भएको केन्द्रीय खोप भण्डार स्टोर निर्माण कार्य भइरहेको छ।
केन्द्रीय कोल्ड चेनको क्षमता कम भएपछि अत्याधुनिक र बढी क्षमता भएको भवन बनाउने गरी गृहकार्य सुरु भएको थियो। आगामी एक वर्षभित्र यो स्टोर तयार हुने मरासिनीले बताए।
कर्मचारी भन्छन्- भण्डारणमा मुख्य तीन समस्या छन्
कोभिडपछि लाखौँको संख्यामा आएको खोप भण्डारण गर्न सुरुवाती दिनमा निकै समस्याको सामना गर्नु परेको विभागका कर्मचारीहरु बताउँछन्। नियमित खोप कार्यक्रम त थियो नै। कोभिड खोपको व्यवस्थापनले चुनौती पनि बढाए।
एक वर्षअघि नियमित खोपसँगै कोभिडको खोप भण्डारणको काम गर्न समस्या भएको आपूर्ति व्यवस्थापन महाशाखाका खोप सुपरभाइजर अधिकृत ओम प्रसाद उपाध्याय बताउँछन्। उनका अनुसार खोपको काम बढेपनि त्यो बेला जनशक्ति बढाइएको थिएन।
खोप भण्डारणमा हाल कुनै समस्या नरहेको भनिएपनि कर्मचारीहरु यसमा सहमत छैनन्। उनीहरुका अनुसार अझै पनि आफुहरुले मुख्य गरी यी तीन वटा समस्या भोग्नु परिरहेको बताउँछन्:
एक, ‘नियमित र कोभिड खोप भण्डारका लागि मापदण्ड अनुसारको पर्याप्त भण्डारण छैन।’
दोस्रो, ‘पर्याप्त दक्ष जनशक्तिको अभाव।’
तेस्रो, ‘ढुवानीका साधन थप्नुपर्ने।’
खोप सुपरभाइजर अधिकृत उपाध्याय भन्छन्, ‘२०३५ सालमा भएको जनशक्तिले काम चलेको थियो। तर समायोजनका बेला जथाभावी दरबन्दी कटौती भयो। यसले गर्दा यो सम्बन्धी दक्ष जनशक्तिको अभाव अहिले पनि छ। नियमित खोपका लागि जनशक्तिको अभाव पहिले नै थियो। कोभिड खोप पनि थपिएपछि त झन् जनशक्तिको अभाव खड्किरहेको छ।’
भ्याक्सिन ढुवानीका लागि आवश्यक पर्ने सवारी साधनको मात्रा बढाउनुपर्ने उनले बताए। हाल विभागसँग दुई वटा मात्र रेफ्रिजेरेटर भ्यान छन्। रेफ्रिजेरेटर भ्यानको संख्या पनि थप गर्नुपर्ने उनको बुझाई छ। यो सँगै अभिलेख व्यवस्थापन गर्नुपर्नेमा पनि उनको जोड छ।
‘यी समस्याहरु हामीले सुरुवाती दिनमा भागेका थियौँ। अहिले पनि यही नै समस्याहरु यथावत छन्। मुख्यगरी पूर्वाधारको चुनौती अहिले पनि छ’ उनले भने।
संघीय प्रणालीमा देश होमिएपछि प्रादेशिक र स्थानीय सरकारसँगको समन्वय अभाव उनले अनुभव गरेका छन्। केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारबीच अहिले पनि समन्वयको अभाव देखिएको उनले बताए।
एकै पटक ठूलो मात्रामा खोप आउँदा समस्या
भारतले अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएसँगै नेपालमा खोप अभियान सुरु भएको थियो। त्यसपछि भारतसँग २० लाख डोज खोप सरकार आफैँले खरिद समेत गरेको थियो।
एकै पटक लाखौँ संख्यामा खोपहरु नेपाल भित्रदा खोप भण्डारण तथा व्यवस्थापनमा समस्या भोगेका मध्ये एक हुन्, महाशाखाका खोप सुपरभाइजर अधिकृत कुशराम अधिकारी।
एक वर्ष अगाडीको अनुभव उनी यसरी सुनाउँछन्, ‘कोभिड महामारी आयो त्यसपछि हामीले विभिन्न समस्याको सामना गर्नुपर्यो। सुरुमा कोभिसिल्ड भ्याक्सिन आएको थियो। हामी त नियमित खोपको व्यवस्थापनमा काम गरिरहेका थियौँ। एकै पटक धेरै खोप आउँदा स्टोरेजदेखि ट्रान्सपोटेसनमा समस्या रह्यो नै।’
त्यो बेला खोपको व्यवस्थापनमा उनी दिनरात नभनी पनि खटे। कति पटक खोप लिनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातसम्म पनि खटिएको अनुभव उनीसँग छ।
हाल भने कोल्ड रुम थपिदै गएकाले खोप भण्डारमा समस्या नरहेको उनको भनाई छ। टेकू परिसरमा बन्दै गरेको कोल्ड स्टोरले पूर्णता पाएपछि काम गर्न थप सहज हुने उनको अपेक्षा छ।