ब्याकग्राउन्डमा एकोहोरो शंख बजिरहेको छ। उदेक लाग्दो शंखको धुन। मान्छेहरु भनिरहेका छन्– राम नाम सत्य हो।
भीडमा लगभग ५० जना थिए कि।
म सब सुन्न सक्छु, बुझ्न सक्छु अनि महसुस गर्न पनि। मेरो नाक मुन्तिर झिँगा भन्किरहेको छ, अनि त्यसले मलाई निकै सकस पनि पुर्याइरहेको छ। तर त्यसको पर्वाह कसैलाइ छैन। म आफैँ पनि बिल्कुल निसहाय भएको छु। तीनचार पटक भयो नाकमा हात पुर्याउन खोजेको तर मेरो शरीर त पुरै प्यारालाइज्ड छ। चुपचाप झिँगा आतंक सहनु बाहेक अरु कुनै विकल्प छैन।
म देखिरहेको छु, मेरा मलामीहरुलाई। यो भीडमा ठूलो स्वर पारेर रुने त मेरै हत्यारा देखिरहेको छु। अहो, मान्छेलाई कतिसम्म नाटक गर्न आउने रहेछ। अझ यी मेरा हत्यारालाई त यो शताब्दिकै महान् कलाकार घोषणा गरिदिए हुन्छ। कसरी पो सकेको होलान् आँसु खसाल्न ?? सायद यसैलाइ भन्छन् होला गोहीको आँसु।
मंसिरको जाडो, बिहानपखको समय, बागमती नदिबाट बहेको हावाको एक लहर सिधै मेरो कनपट्टीमा आइपुग्यो अनि ओढाइराखेको पिताम्बर शिरबाट हलुका पर सारिदियो अनि दृश्यमा आयो, मेरो मलामी ‘मने’ सरकार। निश्चित रुपमा फेरि पनि भन्छु, मलामी थियो मने सरकार।
कसैले चिन्नु भयो म मृतकलाई ?
मेरो परिचय आफैं दिन्छु। म माथेमा प्रतिवेदन। जति सजिलै मेरो हत्या भयो, जन्मिएको त्यति सजिलै थिइनँ।
मलामी नम्बरका १ को परिचय दिउँ।
नाम : ‘मने’ सरकार। निश्चित रुपम चिन्नुभो होला तपाईंले।
यी मलामी देख्नेबित्तिकै मलाई त्यो रातको घटना याद आयो। जुन दिन मलाई मारियो। मेरो मुख्य हत्यारा थियो ‘मने’ सरकार। उसलाई जोस्याइरहेका अरुले थिए।
‘यो (माथेमा प्रतिवेदन) जिउँदो रह्यो भने त हामी बाँच्दैनौं। अहिले सानै छ त यति चुरीफुरी, भोलि ठूलो भयो भने के गर्ला ?’ एउटा भन्दै थियो।
अर्काे भन्दै थियो, ‘यहीबेला हो यसलाई मार्न सकिने। हाम्रो हातमा अहिले हतियार (सरकार) छ। हतियार नभएको अवस्थामा त यसलाई केही गर्नै सकिदैन।
‘भोलि फेरि हतियार (सरकार) लिनु छैन। यो हुक्र्याे भने त बाटै बन्द हुन्छ हजुर,’ अर्काे सुर्याउँदै थियो।
‘मने’ सरकार एकपल्ट अलमलियो र भन्यो, ‘उता यसकी आमा (डा गोविन्द केसी) केही नखाएर घुर्कि लाउँदैछे। छोरालाई अधिकार दिनुपर्यो भनिरहेकी छे। समस्या त हुँदैन।’
‘यसलाई मारियो भने केही समय रुन्छे, विस्तारै बानी पर्छ। जिउँदो राखियो भने त यसका लागि उसले अधिकार मागेको माग्यै गर्छे। छाड्नुहुँदैन,’ अर्काेले आँट दियो।
मलाई राम्रो सम्झना छ, प्रहार ‘मने’ले नै गरेको थियो। पहिलो चोट छातीमा, दोस्रो सिधै मुटुमा, त्यसपछि के भयो मलाई केही याद छैन। होस् आउँदा घाटमा थिएँ। भन्नेहरु भन्दै थिए, ‘साह्रै जाति थियो अकालमै गयो। राम्रो त दैवलाई पनि चाहिँदो रहेछ, चाँडै बोलाउँछन्।’
म चिच्याएर मेरा ती शुभचिन्तकलाई ‘म जिउँदै छु’ भन्न खोज्दै थिएँ। किनभने मलाई उनीहरुले मार्ने कोशिश मात्रै गरेका हुन्, मार्न सकेका छैनन्। श्वास चलिरहेको छ मेरो। तर, यही अवस्थामा म चिच्याएँ भने भूत भनेर ढुंगा हानेर मार्छन्। मेरो सास चल्दै छ, यो कुरा कि मलाई थाह छ कि मेरी आमालाई। तर, मेरी आमाको कुरा कसले स्वीकार्ने ? उनलाई उहिल्यै ‘पागल’ घोषणा गरिसके एकथरिले।
म को हुँ भन्ने बिर्सिनुभएको त छैन। म क्या उही माथेमा प्रतिवेदन।
उमेरः लगभग डेढ वर्ष।
मेरो जन्मकथा अत्यन्त असाधारण छ। जब–जब धर्तीमा असत्य, दुराचार र पापको घैँटो भरिन्छ, तब–तब म जस्तो असाधारण बालकको जन्म हुन्छ। करिब एक सय वर्षअघि विश्वको महाशक्ति राष्ट्र अमेरिकामा फ्लेक्जनर रिपोर्टको रुपमा मेरा दौँतरी जन्मियो। फरक यत्ति छ, ऊ बढ्यो, हुर्कियो अनि जगत हल्लाउने अभिमान आफ्नो राष्ट्रलाइ दिएर गयो। म जन्मिएँ निहत्था जनताको क्रान्तिबाट। एक चिकित्सकको तपस्याबाट। तर शिशु अवस्था मै मारिन खोजिदैछु। त्यो पनि सरकारमा रहेकाहरुकै षड्यन्त्रबाट।
ब्रम्हनालको समय भयो। मलाई निवस्त्र पारियो अनि कालिको मुर्तिअगाडि पछारियो। मेरो सास चलिरहेको ज्ञान मेरी आमालाई थियो तर उनी घरमै निराहार बसिरहेकी थिइन्। मेरा लागि अधिकार माग्न। तर, यता मेरो हत्या गर्ने षड्यन्त्र भइरहेको थियो। भित्रभित्रै ममाथि प्रहार भइसकेको थियो। यसकारण म लाचार अनि निःसहाय भएँ। एकजनाले बागमतीको पानी अँजुलिमा कसेर मेरो मुखमा हालिदिए। पानी घुटुक्क निल्न खोजेँ, सक्दै सकिनँ। तब लाग्यो साँच्चै मरिएछ कि क्या हो।
यत्तिकैमा दृश्यमा आए मेकस बहादुर। मेकस बहादुर उर्फ मेडिकल कलेज सञ्चालक। उनको काम थाहै छ, जसरी हुन्छ अकुत पैसा कमाउने।
त्यस रात मेरो हत्या गर्न चक्कु यिनैले ल्याएका थिए। उफ् ! कसरी मलामी आउन सकेका होलान्।
मेरो छातीमा मेरा पिताहरुले जे लेखिदिएका थिए, त्यसले यिनलाई निकै सकस पुर्याइरहेको थियो।
म भन्थेँ, मानिसको जिवन र मरणसँग जोडिएको विषयमा पैसाको खेला हुनुहुँदैन तर यिनलाई त पैसा कमाउनु थियो, अकुत पैसा।
म भन्थेँ कुना–कन्दरामा बसेका जनताले पनि आधारभूत सेवा–सुविधा पाउनुपर्छ। तर यिनलाई त दुईचार वटा शहरमा सिमित वर्गका लागि मात्र आफ्नो धन्दा चलाउनु थियो।
म भन्थेँ, ठिक्क क्षमता अनुसार भर्ना गर । तर यिनलाई त फ्याक्ट्रीबाट चाउचाउ निस्किए जसरी डाक्टर निकाल्नु थियो।
म सही थिएँ वा उनी। त्यो त भविष्यले देखाउला तर आज उनको पैसाको जित भएको छ। त्यस रात पनि बियरको चुस्की लगाउँदै भनेका थिए, ‘जो ना करे बाबु भैया, वो करे रुपैयाँ।’
ब्रम्हनालबाट उठाएर सिधै मलाई चितामा राखियो। सायद प्लटको क्लाइमेक्स। म अब हल्ला गर्नेवाला थिएँ। उठेर भीडलाई धकेल्दै दौडिने तर्खरमा थिएँ। शरीरमा झन् तागत थपियो जब मैले असाधारण जन्मबारे सम्झिएँ।
मेरा पिताहरु (माथेमा कमिटी) लोकले मानेका अनि इतिहासले चुनेका हस्तिहरु हुन्। त्यस्ता दिग्गजको सुवीर्यबाट मेरो जन्म भएको थियो। पान्डु, धृतराष्ट्र र विदुरलाई ब्यासले जन्माएको भन्दा पनि अलौकिक। अनि सारा मिश्र सभ्यताले पुकारेर जन्माएको हरम्यासिस भन्दा पनि पृथक पद्धतिबाट मेरो जन्म भएको थियो। करिब ६ महिना मन्थन भयो बढो कष्टले, समुद्र मन्थन भए जस्तै वा त्यो भन्दा बढी। एकपटक होइन अनेक पटक कालकुट बिषहरु निस्किए तर हरेकपल्ट बिषपान गर्ने निलकन्ठ एकै थिए। दश पटक आमरण अनशन अनि हरेकपटक बिष घुटुक्क निलिदिन्थे। त्यसैले भन्दैछु मेरो जन्म कति अलौकिक अनि असाधारण छ।
मलाई यो मने सरकारले बैधानिक छोरा मान्यो भने मेरो नाम हुनेछ, ‘चिकित्सा शिक्षा ऐन’। मेरो नाम ऐन भएकै दिनदेखि म माफियाको राम नाम सत्य गर्न लागिहाल्छु। किनकि त्यो बेला मसँग ताकत हुनेछ।
दागबत्ति दिने निधो गरिदैथ्यो। म भागें। मलाई तिनै मलामी मध्येका केहीले भूत भनेर लखेटे। तर, म बेतोडसँग दौडिसकेको थिएँ। अहिले म लुकेर बसेको छु। तर, मने सरकार र मेकस बहादुर मलाई खोजिरहेका छन्। भेट्यो कि गोली हान्ने आदेश छ रे।
काठमाडौंबाट भागेर म झापा पुगेको छु। एउटा बिल्डिङ छ यहाँ बी एण्ड सी लेखिएको। त्यहीं लुकेको छु। लौ न कोही बचाउ। तिनीहरुले यसलाई पनि आफ्नो आधार ईलाका घोषणा गरेको (सम्बन्धन दिएको) दिनबाट मेरो मृत्युको दिनगन्ती सुरु हुन्छ।
(दाहाल आईओएममा एमबिबिएस अध्ययनरत छन्। उनी मेडिकल शिक्षामा रहेका विकृति विरुद्धको लडाइँमा सरिक छन्।)