ए पटमुर्ख हो
किन झ्वाम्म फाल हानेको महाकालीमा?
अहिले छिटा पर्छ अनि
ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास देश डुबेकै छैन
किन उठाउँछौ खुन्खार पौडेबाजलाई यति छिटै?
ए गिद्द हो
किन सहर पसेका?
बित्थामा अहिले तिम्रो सिनो गन्हाएर
ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास जनता मरेकै छैनन्
डुङ्डुङ्ती लास त गन्हाउन देओ पहिले।
ए बज्रस्वाँठहरु हो
किन लखरलखर हिँडिरहेछौ तिमीहरु
शहरबाट गाउँतिर
माम पाइने ठाउँतिर
थपक्क दूध-भात खाएर एकै ठाउँ थच्चिन सकिँदैन?
अहिले तिम्रा खस्रक-खस्रक हिँडाइले
ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास रोग, भोक र शोक त फैलिएकै छैन सहरमा
अझ केहीबेर कोलाहल मच्चिन त देओ।
खबरदार सेता कोटधारी हो
किन चाहियो अहिल्यै स्वास्थ्य सामाग्री?
किन चाहियो अहिल्यै उपकरणहरु?
बित्थामा खरिद बिक्रीका कुरा कानमा परे
सलबलाउनुहुन्छ प्रधानमन्त्री
अहिले ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
ए मुटु नभएकाहरु हो
किन छापिरहेछौ पत्रपत्रिका?
किन घन्काइरहेछौ टिभी र रेडियोहरु?
किन भरिरहेछौ इन्टरनेटका भित्ताहरु?
तिम्रा किइबोर्डबाट निस्किएका खत्रक-खत्रक आवाजले
अहिले ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
खास बाँसुरी बजाउने त बेलै भएको छैन
पख न केहीबेर रोम जसरी दनदनी शहर त जलोस्
ए जनता हो
किन चिच्याइरहेछौ ठूलोठूलो स्वरमा
किन चाहियो नि:शुल्क स्वास्थ्य उपचार?
किन खान पर्यो गरिबले दुई छाक खाना?
किन हुल्न पर्यो रोगव्याधी बोकेकालाई देशभित्र?
के हुन्छ दुईचार स्वास्थ्यकर्मी सहिद हुँदैमा?
तसर्थ
यस महासंकटको घडीमा
कसरी घरभित्रै निष्क्रिय बस्ने
देशकै अभिभावकबाट सिक्नुहोस्
नभए प्रमुख प्रतिपक्षीसँग सिक्नुहोस्
देशबासीहरु कृपया सवैजना शान्त बसिदिनुहोस्
प्रधानमन्त्री सुतिरहनुभएको छ
हाम्रा प्रधानमन्त्री सुतिरहनुभएको छ।