'जिन्दगीमा यो भुँडी भन्ने कुरा एकपटक लागेपछि लाग्यो लाग्यो, कसै गरे पनि उन्मुक्ति नपाइँदो रहेछ।'
डाक्टर'साब झसङ्ग बिउँझिए। उनलाई आफ्नै तस्वीर बोलेजस्तो लाग्यो। अँध्यारोमा छामछुम गरे अनि आफ्नो 'सामसुङ ग्यालेक्सी जे-सेभेन'को पावर बटन दबाए। रातको १ बजेको रहेछ। छेवैमा म्याडम घुरिरहनु भएको थियो। डिस्टर्ब होला कि भनेर डराउँदैडराउँदै, डाक्टर'साब सरक्क कोल्टे फर्किए।
सरक्क के भन्नु, पन्चानब्बे किलोको भीमकाय शरीर, थानकोटको उकालोमा ठँसठँस कन्दै टर्निङ लिइरहेको फुल लोडेड मालबहाक ट्रक जसरी बल्लतल्ल घुमाए। निकैबेरसम्म आँखा चिम्म गरिरहे तर पनि निद्रा परेन। बिचरा निदाउन् पनि कसरी। हिजो दिनभरि घटेको घटना उनको दिमागले रिवाइन्ड गर्दै प्ले गरिरहेको थियो। त्यो पनि दोहोर्याई, तेहेर्याई, इन्डियन च्यानलहरुले ब्रेकिङ न्युज दिए जसरी।
एकाबिहानै एकजना पत्रकारले फोन गरेका थिए, 'डाक्टर'साब आजको अंकमा तपाईसँग मिल्दोजुल्दो स्तम्भ लेखेको छु है, पढेपछि कस्तो लाग्छ प्रतिक्रिया गरिदिनुहोला।'
कहिल्यै पत्रिका पढ्न रूची नदेखाउने डाक्टर'साब त्यति सुनेपछि चाहिँ घरमै पत्रिका मगाएर लेख पढ्न तम्सिए। भित्री पृष्ठमा कतै उनको
आँखा झ्याट्ट पर्यो, 'गान्धीको चिनी र नेपालाका इन्डोक्राइनोलोजिस्ट'। ओ इन्ट्रेस्टिङ, चियाको चुस्की लगाउँदै डाक्टर'साब पत्रिकामा घोत्लिए:
'महात्मा गान्धीको छिमेकमा एकजना बच्चा बस्दो रहेछ जो हरेक दिन चिनी चोरेर खाँदो रहेछ। जति गर्दा पनि आफ्नो छोराको यो बानी छुटाउन नसकेपछि त्यो बच्चाकी आमा गान्धीजीको शरणमा पुगिन्। गान्धीजीले पनि सबैकुरा सुनेपछि, अर्को साता उनकै घरमा आएर छोरालाई सम्झाइदिने वाचा गरे। दुई हप्ता बित्यो, तेस्रो पनि बित्यो तर गान्धीजी आएनन्। बच्चाकी आमा रिसाउँदै पुनः गान्धीजीकहाँ पुगिन्, 'हैन तपाईंले मेरा लागि त्यत्ति पनि गरिदिन सक्नुहुन्न?'
प्रतिउत्तरमा गान्धीजीले भने, 'हेर्नुस्, कसैलाई कुनै काम नगर भनेर सम्झाउन पहिला आफू त्यो कामबाट टाढा रहेको हुनपर्छ। मेरो आफ्नै चिनी चोरेर खाने बानी छ, जुन छुटाउन म प्रयासरत छु। अनि त्यसपछि बल्ल तपाईंको घर आउनेछु। अन्यथा, आफैँले त्यो आदत बोकेर, अर्कालाई नगर भन्नुको कुनै तुक रहँदैन।'
त्यति पढ्नासाथ डाक्टर'साबले के बुझे कुन्नि, पत्रिका फ्यात्त फ्याँकिदिए। जुरुक्कै उठे, अनि मुर्मुराउँदै भान्छातिर लागे, 'हैन, मेरो भुँडीले तीनको के बिगार्देको छ हँ? बडो रिस गर्छन्। सक्ने भए तिनले पनि बनाएर देखाउन्।'
डाक्टर'साब रन्थनिँदै भान्छामा पुगे अनि अर्डर दिए, 'म्याडम खाना, हस्पिटल जान अबेर भो।'
सायद बाथरुमतिरबाट आवाज आयो, 'आज खाना खान ममीले बोलाइस्या छ। ओपिडी सकेर उतै धोबीघाट आइस्यो। त्यत्रो भुँडी छ, दुई-चार घन्टा नखाँदा केही पनि हुँदैन।' डाक्टर'साब वाल्ल परे।
कोल्टे सुतिरहेका डाक्टर'साब बिस्तारै उत्तानो फर्किए, अनि टाइम हेर्न फेरि मोबाइल थिचे, बल्ल १:१० भएको रहेछ।
त्यो दिन घरबाट निस्किएको १० मिनेटमा उनी अस्पताल पुगिसकेका थिए। शनिबार भएकाले डाक्टर'साब खासै धेरैबेर अस्पतालमा बस्न पर्दैनथ्यो। २ घन्टा जति ओपिडीमा बिरामी हेर्यो अनि छुट्टी। अरु स्टाफ पनि कम हुन्थे। तर आज भने डाक्टर'साबलाई अलि ज्यादा नै सुनसान लाग्यो। काउन्टरका धोबाल दाइलाई बोलाएरै सोधे, 'आज अरु डाक्टर'साबहरु नआउने हो कि कसो? खालीखाली छ त सबै क्याबिन।'
'ए साँच्चै भन्नै बिर्सिएछु, आज सबैजना हाइकिङ जानुभा'को छ शिवपुरी। सरलाई चाहिँ हिँड्न नसक्नु होला भनेर नभनेका होलान्। के गर्नु फेरि हिँड्ने-हिँड्नेका ग्रुपमा, एउटा नहिँड्ने पर्यो भने सबैलाई अप्ठ्यारो।' डाक्टर'साब प्रतिक्रियाविहीन भए, फेरि वाल्ल परे।
सायद घडीमा १:२० भएको हुनपर्छ। डाक्टर'साबले सुतिसुती प्रतीज्ञा गरे, 'भोलिदेखि सबेरै एक घन्टा मर्निङ वाक जान्छु। १५ दिनमा यो सब तौल घटाउँछु अनि अर्को महिना फेरि सबैलाई हाइकिङ लिएर जान्छु। को हिँड्न सक्ने, को हिँड्न नसक्ने दूधको दूध, पानीको पानी हुन्छ।'
'बिहान खाली पेटमा दूध चाहिँ खान हुन्छ कि हुँदैन डाक्टर'साब?' उनले ओपिडीको घटना सम्झिए। बिरामीले के खान हुने, के खान नहुने सोधेर उकालो लागिरहेको डाक्टर'साबको पारोलाई झनझन तताइरहेका थिए। उनको यसमा अक्सर एउटै जवाफ हुन्थ्यो, 'तपाईंको यो बिमारीमा, डाक्टरको दिमागबाहेक सबैथोक खान हुन्छ।'
एकजना डाइबेटिजका पुराना बिरामी, फलोअपमा आएका थिए। डाक्टर'साबले तिनलाई थोरोल्ली जाँचे, रिपोर्टहरु हेरे अनि पहिलेकै औषधि निरन्तर गर्ने भन्दै सुझाव दिए, 'अरु सबैथोक नर्मल नै छ, लगातार एक्सरसाइज गर्ने, अनि तौलचाहिँ बढ्न नदिने।'
यति भनिसक्दा अघिसम्म डाक्टर'साबको आँखामै हेरिरहेका बिरामीले नजर अलि तलतिर झुकाए अनि मुसुक्क हाँसे। फेरि डाक्टर'साबले के बुझे कुन्नि, कुर्सीबाट जुरुक्कै उठे अनि नाकको पोरा फुल्लाउँदै हप्काए, 'तपाईं जानोस्, गइहाल्नोस् यहाँबाट। कस्ता-कस्ता मान्छे आउँछन् यार।'
अब भने डाक्टर'साबले आफ्नो मोबाइलमा अर्लाम नै राखे, भोलि बिहान ५ बजे जसरी पनि उठ्छु भनेर। मनमनै कहाँसम्म हिँड्ने भनेर रुट पनि बनाए।
त्यसदिन उनी ओपिडीमा खासै धेरैबेर बसेनन्। आफ्नो प्यारो मारुती अल्टो के-टेन लिएर ससुरालीतर्फ हानिए। एफएममा सुमधुर गित बजिरहेको थियो। डाक्टर'साब स्लो स्पिडमा गाडी हाँकिरहेका थिए। एफएममा गीत बजिसकेर विज्ञापन आयो, 'के तपाईं अत्याधिक तौल बढ्ने अनि मोटोपनको समस्याबाट ग्रसित हुनुहुन्छ? हुनुहुन्छ भने आजै हामीकहाँ आउनुहोस्। विश्वको सबैभन्दा पुरानो 'रिकाचु-क्षय' पद्दतिबाट ग्यारेन्टीका साथ मात्र १० दिनमा तपाईंको सम्पूर्ण तौल घटाइदिनेछौँ।'
डाक्टर'साबले यसो कान ठाडो मात्र के बनाएका थिए, अचानक पछाडिबाट एउटा ट्याक्सीले उनको कलेजोको टुक्रामा ड्याङ्ग ठोकिदियो। 'आज म यसलाई छाड्दिनँ' डाक्टर'साब जङ्गिए। ह्यान्ड ब्रेक ताने अनि बाहिर निस्कन जुरुक्क मात्र के उठेका थिए, उनले लगाएको टाइट पाइन्टको बटन स्वाट्टै टुट्यो, फस्नर धरर खुल्यो अनि पाइन्ट कम्मरबाट सलल तल बग्न थाल्यो। बिचरा डाक्टर'साब पूरै निरीह भए, अनि पाइन्ट सम्हाल्दै गाडीभित्रै बसिरहे। फेरि रिकाचु-क्षय पद्दतिबारे विज्ञापन बजी पो हाल्छ कि भनेर कुर्दै।
कसो गाडीमा म्याडमका सेप्टी पिनहरु रहेछन्। डाक्टर'साबले बटनको ठाउँमा सेप्टी पिन लगाए, फस्नर अलि माथि सारे अनि सर्टलाई अलि तलसम्म तानेर ससुराली जाने निधो गरे।
डाक्टर'साबले कतै पढेका थिए, राति निद्रा परेन भने, उल्टो गन्न पर्छ। गन्न सुरु गरिहाले, उनान्सय, अन्ठानब्बे, सन्तानब्बे...
नब्बे पुगेपछि मोबाईलमा अलार्म लाग्यो कि लागेन पुनः कन्फर्म गरे अनि फेरि उनान्नब्बे, अठ्ठासी, सतासी...।
डाक्टर'साबको दिमागले ससुरालीको पिक्चर खासै राम्रोसँग प्ले गर्न सकिरहेको छैन। सायद उल्टो गन्तीको प्रभाव हुनपर्छ। कता-कता उनलाई कान्छी साली बोलेको तर्कना आइरहेको छ। डाक्टर'साब गएर सोफामा मात्र के बसेका थिए, कान्छी सालीले किचेनबाटै आफ्नी सानी छोरीलाई कराइरहेकी थिइन् 'याँ धेरै छुकछुक नगर, ठुलोबाबा आउनु भयो जस्तो छ, जाऊ गएर भुँडीमा काउकुती लगाइदेउ।'
'घरै पिँडालु, वनै पिँडालु, ससुराली गयो झन् बाह्र हात लामो पिँडालु।'
सत्तचालीस गनिसक्दा भने डाक्टर'साब भुस भइसकेका थिए।
भोलि बिहान,
मोबाइलले आफ्नो धर्म बिर्सिएन, ५ बजे अलार्म बज्यो। अलार्म टोन बजिसकेपछि डाक्टर'साब पनि सल्बलाए, मोबाइललाई आफ्नो हातमा ताने अनि एकएक गरी फेरि हिजोका घटना सम्झिन थाले। पत्रकार महोदयलाई सम्झिए, हाइकिङ गएका साथीहरू सम्झिए, आफ्नो गाडीलाई ठोक्ने ट्याक्सी सम्झिए, साली र भतिजीलाई सम्झिए, नजर पेटतिर दौडाउने बिरामीलाई सम्झिए। एकचोटि मागको ठन्डीलाई खाटबाटै झ्यालको पर्दा उघारेर चिहाए।
त्यसपछि डाक्टर'साबले अर्को प्रतिज्ञा गरे, 'आज अलि चिसो जस्तो छ, भोलिदेखि चाहिँ पक्का मर्निङ वाक जान्छु।'
(दाहाल आइओएममा एमबिबिएस चौथो वर्षमा अध्ययनरत छन्)