ऊ आज पनि त्यसैगरी आएको थियो जसरी अरु दिन आउँथ्यो। चारघोडे ठूलो बग्गीमा आफ्ना दुई सहयोगीका साथ। घोडाहरु सकीनसकी बग्गीलाई तानिरहेका थिए। बाहिर सडकमा बिस्तारै–बिस्तारै मानिसहरुको ठूलो भिड जम्मा भइरहेको थियो। भिडले एकै स्वरमा भनिरहेको थियो, ‘च्याम्बरलेन आऊ ज्यान बचाउ।’
ऊ च्याम्बरलेन परिवारको कान्छो सदस्य, हुग च्याम्बरलेन थियो। करिब सय वर्ष हुन लाग्यो, जब–जब च्याम्बरलेनहरु बग्गी लिएर सडकमा निस्कन्छन् तब–तब लन्डनका गल्लीमा उनीहरुको चर्चा हुन थाल्छ। चर्चा न बग्गीको हुन्थ्यो न त त्यस बग्गीलाई तान्ने घोडाहरुको नै। चर्चा त केवल त्यस बग्गीभित्र रहेको त्यो बाकसको हुन्थ्यो जसको रहस्य जान्न हरेक लन्डनवासी उत्सुक हुन्थे।
त्यो बाकस हुगका जिजुबुवा पिटर च्याम्बरलेनले ल्याएका थिए। च्याम्बरलेनका अनुसार उनीहरुलाई त्यो बाकस भगवान जिजस क्राइस्टले दिनु भएको हो र त्यसभित्र चामत्कारिक औजारहरु छन्। उनीहरुले के पनि भन्ने गरेका थिए भने, यदि ती औजारहरुको रहस्य आममानिसलाई थाह दिए ती स्वतः निस्क्रिय भएर जान्छन्।
हुन पनि हो, त्यो बाकस आफैँमा चामत्कारिक थियो, किनभने त्यसले हजारौेँको ज्यान बचाइसकेको थियो। पिटर च्याम्बरलेनले त्यो बाकस ल्याउनुअघि ‘ब्रिच’ अर्थात् आमाको पेटमा उल्टो फर्किएर बसेको बच्चालाई ज्युँदो जन्माउने कार्य असम्भव नै थियो। बच्चा जन्माउँदा कुनै कारणवश बच्चा अड्किएमा के गर्ने भन्ने कसैलाई थाह थिएन।
सामान्य ‘डेलिभरी’ त अरुले पनि गराउँथे। तर, शहरमा जब–जब आमा र बच्चाहरु मृत्युको मुखमा पुगेका हुन्थे तब–तब च्याम्बरलेनहरु ईश्वरका अवतारझैँ झुल्कन्थे अनि सकुशल डेलिभरी गराएर फर्किन्थे।
त्यसैले त सडकमा जम्मा भएका मानिसहरु भनिरहेका हुन्थे, ‘च्याम्बरलेन आऊ ज्यान बचाउ।’
पछिपछि भिडमा गाइँगुइँ सुनिन थाल्यो, के आज पनि च्याम्बरलेनले आमा र बच्चा दुवैलाई बचाउन सफल होलान्? के होला त्यस बाकसभित्र?
कसैले लख काटे, ‘त्यस बाकसभित्र जिजसको काटिएको हात छ, जसको स्पर्शले मात्रै पनि बच्चा सकुशल जन्मन्छ।’ कसैले भने, ‘होइन त्यो बाकस खाली छ। बच्चा जन्माउने त च्याम्बरलेनको सीपले गर्दा हो। जिजस नै भइदिएको भए त गत साता मार्थाको बच्चा त्यसै मर्ने थिएन।’
एकाध घटना बाहेक, च्याम्बरलेनहरुले जनताका मनमा अमिट छाप छोड्न सफल भइसकेका थिए। पिटर च्याम्बरलेनले त त्यो बाकस ल्याएको साल राजपरिवारमै लगालग दुई जटिल डेलिभरीहरु गराए। त्यसपछि त के चाहियो र, उनीहरुको यश एककान दुईकान मैदान भयो।
बाकसको रहस्य परिवारभन्दा बाहिर नजावोस् भन्ने कुरामा च्याम्बरलेनहरु एकदमै सचेत थिए। कतिसम्म भने, डेलिभरी गराउन जाँदा उनीहरु आफ्ना छोरीहरुलाई कहिल्यै लाँदैन थिए, ता की बिहे गरेर जाँदा उनीहरुका साथ रहस्य अर्काको घरमा नपुगोस्।
आज पनि बडो सतर्कताका साथ हुग च्याम्बरलेन बग्गीबाट ओर्लिए। उनका पछि–पछि दुई सहयोगी थिए, जसको हातमा निकै नै उज्यालो र ठूलो बाकस थियो। बाकसको बाहिरी आवरणमा अनेक मणि–माणिक्य जडित थिए। घामको प्रकाश ती आभूषणबाट यसरी आँखामा फर्कन्थे कि, जोकसैले पनि त्यस बाकसमा एक झलकभन्दा बढी हेर्नै सक्दैनथ्यो।
चामत्कारिक बाकस लिएर जब उनीहरु घरभित्र प्रवेश गरे, तब घरका बाँकी सदस्य बहिर निस्किए। हुग च्याम्बरलेन भित्र पसे र ढ्याप्प ढोका लगाए। उनका सहयोगीहरु भने बाहिर बसेर अनेकथरी आवाज निकाल्न थाले। कहिले ठूलो आवाजमा बेल बजाइदिन्थे त कहिले विभिन्न धून निकाल्थे। ता कि बाहिर बसेका मानिसको ध्यान केन्द्रीकृत नहोस्। कहिले–काहीँ भने भित्रबाट रोएको र चिच्चाएको आवाज आउँथ्यो, जसले परिवारका सदस्यलाई त्रसित बनाइदिन्थ्यो।
भित्र प्रवेश गर्नासाथ सर्वप्रथम हुगले ती महिलाको आँखामा कालो पट्टी बाँधिदिएका थिए ता कि गर्भधारण गर्ने माहिलालाई पनि त्यस बाकसको रहस्य थाह नहोस्। त्यसपछि भने उनले बाकस खोले। बच्चाको टाउको बाहिर देखिइसकेको थियो, तर पनि पूूरै शरीर निस्किन सकिरहेको थिएन। परिवारजनको चिन्ता झनै बढिरहेको थियो। उता बाहिर जम्मा भएका मानिसहरु आज भने च्याम्बरलेन असफल हुने भए भनेर कानेखुसी गरिरहेका थिए।
त्यत्तिकैमा अचानक भित्रबाट बच्चा रोएको आवाज सुनियो। आफ्नो सन्तानको मुख हेर्ने हतारोले बाबु भित्र पस्न खोजे। तर, उनलाई पनि च्याम्बरलेनका सहयोगीले रोके। हुगले बाकसमा पुनः ती सामानहरु राखे, राम्रोसँग त्यसमा ताल्चा कसे, महिलाको आँखाबाट पट्टी हटाइदिए अनि मात्र परिवारका सदस्यलाई भित्र आउन जनाऊ दिए।
बाहिर उनलाई हेर्न थुप्रै मानिस जम्मा भएका थिए। भिडतर्फ फर्किएर उनले एकपल्ट हात हल्लाए अनि सरासर बग्गीमा चढेर आफ्नो बाटो लागे।
च्याम्बरलेनको यस कार्यको चर्चा लन्डनमा मात्र होइन बिस्तारै–बिस्तारै सारा युरोपभरि हुन थालिसकेको थियो। फ्रान्स, जर्मनी लगायतका देशमा लाख कोसिसका बाबजुद पनि त्यस्ता जटिल डेलिभरीहरु सफलतापूर्वक गर्न सकिएको थिएन। त्यसैले त, सबैतिर च्याम्बरलेनहरु महान् ठानिन्थे।
यता, हुग च्याम्बरलेनको उमेर दिन–प्रतिदिन ढल्कँदै थियो। तर, उनले छोरा पाउन सकेका थिएनन्। पहिलो श्रीमतीबाट लगातार तीन छोरी जन्मिएपछि उनले दोस्रो विवाह गरे। तर, दोस्री श्रीमतीले पनि उनलाई छोरा दिन सकिनन्। त्यसपछि भने एक सय वर्षदेखि चल्दै आएको च्याम्बरलेनको इतिहास कसलाई हस्तान्तरण गर्ने भन्ने कुराले उनलाई निकै पिरोलिरह्यो।
एक दिन उनीमाथि अर्को समस्या आइलाग्यो। च्याम्बरलेनहरुलाई चुनौती दिँदै फ्रान्सका एक जना फिजिसियन त्यस्तै बाकस लिएर आए। ती फिजिसियनले के दावा गरे भने, त्यस्ता बाकसहरु हजारौँको संख्यामा उत्पादन गरेर विभिन्न ठाउँमा पुर्याइनेछ जसले धेरै मानिसलाई फाइदा पुग्नेछ।
हुग च्याम्बरलेन चलाख थिए। उनले ती फिजिसियनलाई आफूले भनेको एउटा महिलामा सफल डेलिभरी गरेर देखाउन चुनौती दिए। हुग विश्वस्त थिए कि, ती फिजिसियनले बनाएको औजारले एउटी होची महिला जसको पाठेघर र बच्चाको टाउकोको अनुपात मेल खाँदैन, त्यस्तोमा सफलता हासिल गर्न सक्दैनन्। आखिरमा हुन पनि त्यस्तै भयो, नयाँ बाकसले ती महिलाको बच्चा जोगाउन सकेन।
त्यस घटनापछि त च्याम्बरलेनप्रति मानिसहरुको विश्वास झन्–झन् प्रगाढ भयो। तर, च्याम्बरलेन एकैचोटि सबै ठाउँमा पुग्न सक्दैन थिए। एकपटक त उनलाई एकै समयमा चार ठाउँबाट बोलावट भयो। कहाँ पहिले जाने भनेर निर्णय गर्दागर्दै सबैतिर ढिला भयो। कालान्तरमा यस घटनाले उनलाई निकै ठूलो चोट पुर्यायो।
भनिन्छ, मृत्युको अघिल्लो क्षणसम्म पनि हुग च्याम्बरलेन द्वीविधामा बाँचिरहे, आफ्नो परिवारको बिरासत आफैँसँग लिएर जाने कि, त्यो रहस्य संसारलाई बताएर जाने? आखिर उनले दोस्रो बाटो रोजे।
उनको मृत्यु शय्याको अघितिर एउटा बाकस खुला लडिरहेको थियो। बाकसभित्र फलामका औजारहरु थिए। दुई छुट्टाछुट्टै फलामका लाम्चा ‘ब्लेड’। ब्लेडहरु थोरै घुम्रिएका थिए, जसले बच्चालाई च्याप्प अँठ्याउँथ्यो। ती ब्लेडहरुमा ‘लक सिस्टम’ पनि थियो, जसले गर्दा ती एक अर्कामा ‘लक्ड’ हुन्थे र बच्चा तान्न सजिलो हुन्थ्यो। यसरी समग्रमा ती फलामे औजारहरु ‘फोरसेप्स’ अथात् चिम्टाको स्वरुपमा ढल्दथे जसले गर्दा अड्किएको बच्चालाई सजिलै तान्न सकिथ्यो।
सुन्दा सामान्य लागे पनि च्याम्बरलेनहरुको यो बाकस करिब तीन सय वर्ष पछाडि अर्थात् आजको दिनमा पनि उत्तिकै महत्वका साथ प्रयोग गरिन्छ। त्यसैले त त्यो बाकस साँच्चै चामत्कारिक थियो र छ।
('सेक्रेसी अफ च्याम्बरलेन्स' को नेपाली अनुवाद)