यदि कुनै पनि महिलाको मृत्यु गर्भावस्थामा वा बच्चा जन्मेपछिको ४२ दिन भित्र विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले हुन्छ भने त्यसलाई मातृ मृत्यु भनिन्छ। गर्भावस्था र त्यतिबेला हुने जटिलताहरु सँगै सुत्केरी हुँदा र पछि हुनसक्ने जटिलताका कारण अहिले पनि धेरै आमाहरुले ज्यान गुमाउनु परेको छ। र ती मृत्युका कारण सबैजसो रोक्न सकिने अर्थात रोकथाम गर्न सकी अकालमा हुने मृत्युलाई घटाउन सकिने प्रकृतिका हुन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा अहिले पनि हरेक दिन ८०० जना महिलाको ज्यान गर्भावस्थासँग सम्बन्धित कारणले हुने गर्दछ। जसमध्ये सबैजना लगभग ९९ प्रतिशत महिला हाम्रो जस्तो विकासन्मुख देशका हुन्छन्। यसरी हुने मृत्युका कारण रोक्न सकिने प्रकृतिका भएकाले पनि उचित सावधानी र सजगता अपनाएको खण्डमा यसलाई न्यूनिकरण गर्न सकिन्छ। विभिन्न खालका स्वास्थ्य नीति तथा कार्यक्रम अनि अभ्यासका कारण सन् १९९० देखि २०१० को विचमा मातृ मृत्यु ५० प्रतिशतले घटेको पाइएको छ।
नेपालमा मातृ मृत्युको अवस्था
सन् २०१६ को जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) का अनुसार नेपालमा मातृ मृत्यदर २३९ प्रति १ लाख जिवित जन्म रहेको छ। धेरैजसो मृत्यु भौगोलिक विकटता, विपन्नता र स्वास्थ्य संस्थामा पहुँच अनि दक्ष स्वास्थ्यकर्मीको अभावका कारणले हुने गर्दछन्। मृत्युको प्रमुख कारण बच्चा जन्मेपछि अत्याधिक मात्रामा रगत बग्ने (पोस्टपार्टम हेमोरोज) रहेको छ।
नेपालमा आमा सुरक्षा तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम लागू भएदेखि यसको अवस्था सुधारउन्मुख भएको देख्न सकिन्छ। यसै अनुसार दीगो विकास लक्ष्यसँगै मातृ मृत्यु न्युनिकरण गर्न रोडम्याप २०३० तयार गरेको छ। जसमा २०३० सम्ममा मातृ मृत्युदर ७० प्रति १ लाख जिवित जन्म बनाउने लक्ष्य लिएको छ। यसको लागि मृत्युदरलाई हरेक वर्ष ७.५७ प्रतिशतका दरले घटाउनु पर्ने देखिन्छ। यस कार्यक्रमको मुख्य उदेश्य भनेको नेपालमा मातृ मृत्युदर र नवजात शिशुको मृत्युदर र विमारिपनलाई घटाउनुका साथै आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनु नै हो।
विभिन्न अध्ययन अनुसन्दालका आधारमा मृत्यु हुने प्रमुख कारणहरुमा ३ वटा ढिलाई लाई औल्याइएको छ।
स्वास्थ्य स्थितिबारे चेकजाँचको महत्त्व बुझ्नुमा ढिलाई: स्वास्थ्य संस्थामा गई आवश्यक चेकजाँच गराइ उपचार गराउनु पर्छ भन्ने मानसिकताको विकास नहुनु, यसमा आर्थिक, सामाजिक, संस्कृतिक तथा विभिन्न परम्परागत कुराले महत्वपुर्ण भुमिका खेल्दछन।
स्वास्थ्य संस्थामा पुग्न ढिलाई : यसमा विशेषगरी भौगोलिक विकटताले गर्दा, आवतजावत गर्न यातायातको समस्याले गर्दा समयमा नै उपचारका लागि सम्वन्धित निकायमा पुग्नमा ढिलो भएको पाइन्छ।
उपचारमा ढिलाई : स्वास्थ्य संस्थामा पुगिहाले पनि दक्ष जनशक्तिको अभाव, उचित उपकरण तथा औषधिको अभावले समयमा नै उपचार पाउन नसकिने देखिन्छ।
आखिर किन मर्छन् त महिला?
गर्भावस्था र सुत्केरी गराउने बेला आउने जटिलताले गर्दा नै महिलाको ज्यान जान्छ। धेरैजसो जटिलता गर्भवति भएको बेला आउने गर्दछन भने कुनै कुनै पहिले देखिका रोगव्यथा र अन्य अवस्था गर्भको कारणले जटिल बन्न सक्छन। ८० प्रतिशत भन्दा बढि महिलाको ज्यान लिने जटिलताहरुमा तलका ४ वटा पर्दछन्।
अत्याधिक मात्रामा रगत बग्नु (मुख्यत बच्चा जन्मि सकेपछि)
संक्रमण (सुत्केरि पछि)
उच्च रक्तचाप ( गर्भवस्थमा )
असुरक्षित गर्भपतन।
कसरी बचाउन सकिन्छ त?
यसरी अकालमै हुने मातृ मृत्युका कारणरु धेरैजसो रोकथाम गर्न सकिने खालका हुन्छन जसको लागि निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्ने देखिन्छ।
यदि सन्तान पुगिसकेका छन भने समयमै स्वास्थ्यकर्मीको सल्लाह अनुसार भरपर्दो परिवार नियोजनको साधन प्रयोगमा ल्याउने।
केही गरि नचाहादा नचाहादै वा साधन प्रयोग गर्दागर्दै गर्भ रहेमा सुरक्षित तवरले तोकिएको स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन गराउने।
योजना अनुसार गर्भ बसेको खण्डमा, सोही अनुसार स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउने।
गर्भावस्थामा देखिने केही खतराका चिन्हहरूका बारे जानकारी राखि त्यस्तो केही देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार अघि बढ्ने।
सुत्केरी गराउन स्वास्थ्य संस्थामामा नै जाने।
स्वास्थ्य संस्थामा पनि दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मिबाट सुत्केरि गराउने।
माथिका कुनै पनि अवस्थामा स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले यदि कुनै पनि जटिलताका लागि आफ्नो तवरबाट हुन नसक्ने जस्तो देखिन्छ वा भोलिका दिनमा जटिलता अझ बढ्ने जस्तो देखिन्छ भने समयमै माथिल्लो निकाय वा स्वास्थ्य संस्थामा रिफर/प्रेषण गर्ने।
- (प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रेग्मी प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा कार्यरत छन्।)