काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेका छन्।
करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर्ना हुने कोभिडका बिरामी विस्तारै बढ्न थालेका हुन्। अस्पतालको इमरजेन्सीमा हाल दैनिक तीनदेखि चार जना बिरामीहरु भर्नाका लागि पुग्ने गरेको इमरजेन्सी इन्चार्ज लिलानाथ भण्डारीले बताए। भर्ना हुने अधिकांश बिरामीहरु सामान्य उपचारले निको हुने खालका रहेको उनले बताए।
उनले भने, ‘एक हप्तादेखि बिरामीहरु बढ्न थालेका छन्। तर दोस्रो लहरमा जस्तो आइसीयू, अक्सिजन चाहिने बिरामीहरु निकै कम छन्। ज्वरो आउने, शरीर दुख्ने सामान्य लक्षण भएकाहरु आउने गरेका छन्। सामान्य उपचार गरेर निको हुने खालका बिरामीहरु बढी छन्।’
हाल देखिएको ओमिक्रोन भेरियन्ट डेल्टाजस्तो खतरनाक नदेखिएको उनको अनुभव छ। हाल फैलने दर धेरै देखिएपनि गम्भीर खालका बिरामीहरु भने निकै कम रहेको उनले बताए।
उनका अनुसार दोस्रो लहरमा एउटै बिरामी ६०/६५ दिनसम्म पनि अस्पतालमा बस्नु परेको थियो। तर हाल भर्ना भएका बिरामीहरु केही दिनको उपचारमै निको हुने गरेको उनले बताए। पछिल्ला दिनमा भएका सभा सम्मेलन र भीडभाडका कारण पनि संक्रमितको संख्या बढेको हुन सक्ने उनको भनाई छ।
हाल तीन जना आइसीयू र सात एचडीयूमा गरी १० जना कोभिडका बिरामी उपचाररत रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।
ज्वरोका बिरामी आउन थालेपछि केही समयका लागि बन्द भएको फिभर क्लिनीक गत शुक्रबारदेखि पुनः सञ्चालन गरिएको छ। तर करिब एक सातादेखि रुघाखोकी र ज्वरोका बिरामीहरु भने बढ्न थालेको अस्पतालले जनाएको छ।
हाल रुघाखोकी र ज्वरोको समस्या लिएर दैनिक २५ देखि ३० जना फिभर क्लिनीकमा आउने गरेको गौतमले बताए। फिभर क्लिनीकमा यो समस्या लिएर आउने अधिकांशलाई पीसीआर परीक्षणका क्रममा कोरोना भेटिने गरेको छ।
‘अस्पतालमा रुघाखोकी र ज्वरोको समस्या लिएर आउनेहरु धेरै छन्। पीसीआर परीक्षणका क्रममा धेरैलाई कोरोना पनि पुष्टि भएको छ। तर गम्भीर अवस्था भने देखिएको छैन।’ उनले भने।
शुक्रराज अस्पतालमा पीसीआर परीक्षणका लागि पुग्नेको संख्या पनि बढ्दो छ। पीसीआर परीक्षणका क्रममा भेटिने पोजिटिभ दर पनि बढ्दो रहेको उनले बताए।
यस अस्पतालमा हाल दैनिक एक सयको हाराहारीमा पीसीआर परीक्षण हुने गरेको छ। सोमबार मात्रै १०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको थियो। यसअघि ८४ जनाको पीसीआर गर्दा १२, ६५ जनाको पीसीआर गर्दा ६ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
गौतमका अनुसार अघिल्लो हप्ता ७०/८० जनाको पीसीआर गर्दा मात्र चार जनामा कोरोना भेटिने गर्दथ्यो। फिभर क्लिनीकमा आउने बिरामी बढ्न थालेपछि अस्पतालले उनीहरुलाई टिकट काट्नका लागि छुट्टै काउन्टरको व्यवस्था समेत गरेको छ।