काठमाडौं - गत २४ घण्टामा देशभर एकैदिन ९६८ संक्रमित थपिए। यो संख्या नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएपछिकै सबैभन्दा धेरै हो।
पुस २० गतेसम्म दुई सय माथि रहेको संक्रमितको संख्या करिब दुई गुणाले बढ्दै २१ गते ४३५ पुगेको थियो। त्यसपछि क्रमशः बढ्दै २२ गते ५४० र २३ गते ९६८ संख्या थपिए।
कोरोनाको बढ्दो ग्राफले पनि संक्रमितको संख्या दैनिक उकालो लाग्न थालेको पुष्टि गर्छ। दुई सयदेखि तीन सयको बीचमा रहेको संक्रमितको संख्या गएको चार दिनदेखि ह्वात्तै बढेको छ। तर ओमिक्रोन भेटिएको यो एक महिनामा मृतकको संख्या भने स्थिर देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक केलाउँदा ओमिक्रोन भेटिएको एक महिनापछि संक्रमितको संख्यामा बढ्न थालेको देखिन्छ। तर मृतकको संख्या भने स्थिर छ।
पुस | जम्मा परीक्षण | पोजिटिभ | मृत्यु | प्रतिशत |
१ | ११०१८ | १८४ | २ | १.६७ |
२ | ९०१६ | २७४ | ३ | ३.०४ |
३ | ७९९७ | १८९ | २ | २.३६ |
४ | १८७२ | १८१ | १ | १.८३ |
५ | ४१४१ | २२० | १ | ५.३१ |
६ | १७०८९ | २९० | ३ | १.७० |
७ | ११३९० | २३६ | २ | २.०९ |
८ | ११६२६ | २९३ | २ | २.५२ |
९ | ११८९८ | २६० | १ | २.१९ |
१० | ६४४७ | १६७ | १ | २.५९ |
११ | ९६७७ | २१९ | २ | २.२६ |
१२ | १०८८६ | २७१ | १ | २.४९ |
१३ | १२५६६ | २६० | २ | २.०७ |
१४ | ७६०८ | २५३ | २ | ३.३३ |
१५ | ८८९७ | २४१ | ० | २.७१ |
१६ | ९०८४ | २३५ | ४ | २.५९ |
१७ | २०९५९ | ३८२ | ० | १.८२ |
१८ | ७६३१ | २०९ | २ | २.७४ |
१९ | १२४९८ | ३२६ | २ | २.६१ |
२० | ९३२९ | २६३ | ३ | २.८२ |
२१ | १०२६७ | ४३५ | ० | ४.२४ |
२२ | १२०९९ | ५४० | १ | ४.४६ |
२३ | १४९७१ | ९६८ | ० | ६.४७ |
नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट मंसिर २० गते दुई विदेशी नागरिकमा पुष्टि भएको थियो।
दक्षिण अफ्रिकामा ओमिक्रोन भेटिएको १२ दिनपछि नेपालमा पनि यो पुष्टि भयो। दक्षिण अफ्रिकामा पहिलो पटक नोभेम्बर २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।
शुक्रबार मात्रै थप २४ जनामा ओमिक्रोन भेरियन्ट पत्ता लागेको छ। यो सँगै नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको संक्रमितको संख्या २७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ्ग गर्दा २५० वटामा एस जिन नेगेटिभ भेटिएको थियो। एस जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट मन्त्रालयले जनाएको छ।
ओमिक्रोनकै कारण संक्रमितको संख्या बढेको हो त?
नेपालमा ओमिक्रोन भेरियन्ट भेटिएपछि सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले भनेका थिएः
‘ओमिक्रोन भेरियन्ट भेटिएपछि अब कतै केसहरु बढ्दै छ की? त्यसमा पनि जटिल या सामान्य कस्ता खालका संक्रमितहरु आइरहेका छन् की भनेर सरकारले नियाल्नुपर्ने हुन्छ।’
अर्थात् सरकारले कोरोना संक्रमितको संख्यामा आएको उतारचढावलाई नियाल्नुपर्ने उनको सुझाव थियो। बढ्दो संक्रमितको संख्याले ओमिक्रोन विस्तारै फलिदै गएको संकेत गरेपनि ओमिक्रोनकै कारण संक्रमितको संख्या बढेको कुरा यकिन गर्न नसकिने उनले बताए। डा पुनको बुझाईमा ओमिक्रोन फोबियाका कारण पनि परीक्षण गराउनेको संख्या बढेको हुन सक्छ।
उनले भने, ‘यो संख्याले विस्तारै फैलिरहेको संकेत गर्छ। तर भएका सबै संक्रमितहरु ओमिक्रोनकै कारणले हो भन्नलाई चाँहि भन्न सकिँदैन। २२ प्रतिशतलाई अनुमान गर्ने हो भने बढ्दै गएको भन्न मिल्छ। तर बाँकी ८० प्रतिशत के हो त? त्यसैले अहिले नै ओमिक्रोनकै कारण भनी हाल्न मिल्दैन।’
ओमिक्रोनकै कारण संक्रमितको संख्या बढ्यो भन्ने आधार नभएको उनी बताउँछन्।
तेस्रो लहरको संकेत, स्वास्थ्य प्रणालीलाई चुनौती
संक्रमितको संख्या बढीरहँदा यसका विज्ञहरुले तेस्रो लहरको चेतावनी समेत दिन थालेका छन्।
कोरोना भाइरसको उतारचढावलाई नजिकबाट नियालिरहेका सूक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बढीरहेको संक्रमितको संख्याले तेस्रो चरणको संकेत गरेको बताउँछन्।
भन्छन्, ‘आजभन्दा एक साताअघि संक्रमण न्यून जस्तै भएको थियो। परीक्षणमा १ देखि २ प्रतिशत मात्र पोजिटिभ रेट थियो। तर हिजोको तथ्यांकलाई हेर्ने हो भने ७ दशमलव ७ प्रतिशत पोजिटिभ रेट हो।’
हाल बढेको संक्रमितको संख्या ओमिक्रोनकै कारण हो भन्न नसिकएपनि मुख्य जिम्मेवार ओमिक्रोन भएको उनी बताउँछन्। अबको दुई/तीन हप्तामा संक्रमितको संख्या झनै बढेर जान सक्ने उनको अनुमान छ।
उनले भने, ‘नेपालमा पनि दैनिक २० हजार संक्रमित थपिन सक्ने दिन आउन सक्छ। ओमिक्रोन डेल्टा भेरियन्टभन्दा तीन गुणा बढी संक्रामक छ भनेर विभिन्न अध्ययनले देखाएको छ।’
ओमिक्रोनलाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए। कोभिड-१९ विरुद्धको खोप लगाएका व्यक्तिमा ओमिक्रोनको लक्षण कम देखिने गरेको उनले बताए। ज्वरो नआउने तर ज्वरो आउने, सिगान बग्ने, नाक टालिने, हाँछ्यु आउने खालको लक्षण देखिने गरेको उनले बताए। यी लक्षण भएका व्यक्तिहरु परीक्षणको दायरा बाहिर रहेको उनले बताए।
स्वास्थ्य प्रणाली कमजोर भएको ठाउँमा संक्रमितको संख्या बढीरहँदा चुनौतीहरु पनि थपिने उनले बताए। भयावह स्थिति आउन नदिन सरकारले पूर्व तयारी गर्नुपर्ने उनको सुझाव छ। जोखिमका आधारमा सरकारले लक्षित वर्गहरुलाई तत्काल बुस्टर डोज दिनुपर्नेमा उनी जोड दिन्छन्।
‘पहिलो लहरबाट हामीले केही सिक्न नसक्दा दोस्रो लहरमा हामीले धेरै ठूलो क्षति बेहोर्नुपर्यो। त्यसैले तेस्रो लहरको पूर्व तयारीका लागि सरकारले ओमिक्रोनकै कारण संख्या बढीरहेको हो की डेल्टाले हो भनेर भाइरस सर्भिलेन्स गर्नु आवश्यक छ।’ उनले भने।
संभावित भयावह स्थिति आउन नदिन सरकारलाई डा दुलाल यस्ता सुझाव दिन्छन्ः
एक, ‘समुदायस्तरमा भाइरसको फैलावटबारे सर्वेक्षण गर्ने।’
दोस्रो, ‘खोपको दायरा बढाउने।’
तेस्रो, ‘जोखिमका आधारमा तत्काल बुस्टर डोजको व्यवस्था गर्ने।’
चौथो, ‘पिसिआर परीक्षणको दायरा बढाउने।’
उनले भने, ‘जो परीक्षणको दायरामा आउँछन्। उनीहरुको मात्र परीक्षण भइरहेको छ। तर समुदायस्तरमा यसको फैलावट बारे सर्वेक्षण गर्नुपर्छ। सिटि भ्यालु २२ भन्दा कम भएकालाई एन्टीजेन परीक्षणले मात्र डिटेक्ट गर्न सक्दैन। त्यसैले पिसिआरको दायरा बढाउनुपर्छ। खोपको पहुँच बढाउनुपर्छ भने उच्च जोखि भएकाहरुलाई तत्काल बुस्टर डोजको व्यवस्था गर्नुपर्छ।’
सरुवा रोग विशेषज्ञ डा पुनको भनाई भने उनको भन्दा केही फरक छ। तेस्रो लहरको संकेत भनेर बताइरहँदा उनी यसलाई दुई भागमा विभाजन गर्छन्।
एक, ‘संक्रमितको संख्याको लहर’
र, ‘दोस्रो अस्पताल भर्ना हुने संक्रमितको लहर’
उनी भन्छन्, ‘तेस्रो लहर आउन सक्छ। तर संक्रमितको संख्याको लहर हो या अस्पताल भर्ना हुने संक्रमितको लहर हो ? यसमा फरक छुट्याउनुपर्छ। किनभने संक्रमितको संख्या बढीरहँदा मृत्यु हुनेको संख्या स्थिर रहेकाले मैले यो भनेको हुँ।’
अस्पताल भर्ना हुने गम्भीर बिरामीको संख्यालाई मुख्य गरी नियाल्नुपर्ने उनले बताए। तिव्र गतिमा फैलिएपनि डेल्टाले जस्तो जटिलता ओमिक्रोनले नल्याउन सक्ने उनले बताए। भारतमा संक्रमित बढेको एक दिनमै नेपालमा बढीहाल्छ भन्न नमिल्ने उनको भनाई छ।
सरकारको तयारी
एस जिन नेगेटिभ आउने संख्या बढ्न थाल्नु नै ओमिक्रोन भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले बताइन्। जोखिम बढ्न थालेको भन्दै भयावह स्थिति आउन नदिन पूर्व तयारी थालिएको उनले बताइन्।
उनले भनिन्, ‘एस जिन नेगेटिभ देख्न थाल्यो। एस जिन नेगेटिभ आउने बित्तिकै ओमिक्रान भन्ने हुन्छ। जोखिम बढ्न थालेको छ। त्यसैले पूर्वतयारी पनि अघि बढाएका छौँ।’
संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन सबै अस्पतालहरुलाई निर्देशन दिइएको, खुला सीमानाकामा सर्भिलेन्स बढाएको, खोपको पहुँच बढाएको, बुस्टर डोजको तयारी अघि बढाएको उनले बताइन्।