काठमाडौं - संकल्प अर्थात् केही नयाँ कामको सुरूआत गर्ने अठोट। जसले जीवनमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
अंग्रेजी नयाँ वर्ष २०२२ आजबाट सुरु भएको छ। यस्तै हामी नेपालीले २०७७ साललाई बिदाइ गरी २०७८ साललाई स्वागत गर्दा पनि केही न केही संकल्प गरेका थियौँ। नयाँ वर्ष भन्नासाथ नयाँ उमंग, चुनौती अनि अवसरहरूको ढोका पनि हो। नयाँ वर्ष धेरैका लागि नयाँ कामको सुरूआत गर्ने, जीवनमा सकारात्मक परिवर्तन ल्याउने एक अवसरका रूपमा पनि लिन सकिन्छ।
आफूमा भएको नराम्रो बानी र त्यसलाई परिवर्तन गर्ने उचित समयको रूपमा पहिलो कदम चाल्ने अवसरका रूपमा पनि लिइन्छ, नयाँ वर्षलाई। नयाँ वर्षमा गरिएको संकल्प वर्षभरि पालना गर्नुपर्छ भन्ने धेरैको मान्यता पनि छ।
नयाँ वर्षको सुरूआत भनेको केहीका लागि स्वास्थ्यलक्षित लक्ष्य निर्धारण गर्नु, तौल घटाउनु, स्वस्थकर जीवनशैली अपनाउनु, समयमै सुत्ने र उठ्ने बानी लागू गर्नुलगायत हुनसक्छ। यी सबै काम गर्न व्यक्तिले संकल्प लिने गर्छन्।
कुनै बेला आफ्नो व्यवहार, दैनिकी, बानी, गतिविधिप्रति हामी आफैं सन्तुष्ट हुँदैनौ। आफ्ना गलत लाग्ने व्यवहारहरू छोड्न या परिवर्तन गर्न कोशिस गरिरहेका हुन्छौं, तर सकिरहेका हुँदैनौ। यी व्यवहारहरू परिवर्तनका लागि धेरैको रोजाइ नै नयाँ वर्ष बन्न पुग्छ।
नयाँ वर्षको सुरूआतसँगै गरिएको संकल्प पूरा गर्न सकिन्छ भन्ने धेरैको मनोवैज्ञानिक सोचाइ हुने मनोविद् डा. करूणा कुँवर बताउँछिन्। उनी भन्छिन्, ‘नयाँ वर्षको सुरूआतसँगै म नयाँ काम गर्छु, नयाँ भविष्य बनाउँछु भन्ने धेरैको सपना हुन्छ। त्यसैले जे हुनु हुँदैनजस्तो लाग्छ, त्यसको संकल्प गर्यो भने आउने वर्ष केही फरक हुनसक्छ कि भन्ने सोचाइका साथ नयाँ वर्षमा संकल्प गर्ने गर्छन्।’
यद्यपि,संकल्प लिन नयाँ वर्ष नै कुर्नु भने नपर्ने उनको भनाइ छ। यो गर्नैपर्छ, यो गलत हो गर्नु हुँदैन भन्ने लाग्छ भने कुनै पनि समय र दिनमा संकल्प गर्न सकिने डा. कुँवर बताउँछिन्।
संकल्प किन गर्ने?
संकल्पको अर्को नाम विश्वास पनि हो।संकल्प गरेपछि नै त्यसलाई परिपूर्ति गर्न सकिन्छ भन्ने धेरैको आत्मविश्वास हुन्छ।यद्यपि, धेरैलाई लाग्न पनि सक्छ, संकल्प किन र केका लागि गर्ने ?
यो प्रश्नमा त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज ओझा भन्छन्, ‘जसको कारणले आफ्नै दैनिकीमा असर गर्यो, हाम्रो शारीरिक, मानसिक र सामाजिकरूपमा असर गर्यो भने त्यसलाई सुधार गर्न संकल्प गर्नुपर्छ।’
यो भनाइलाई बुझाउन उनी उदाहरण दिन्छन्, जस्तोः रक्सी, चुरोट खाएका कारण कलेजो फोक्सो बिग्रनलाग्यो भने रक्सी र चुरोट खान छाड्ने संकल्प गर्नुपर्छ। इन्टरनेटको बढी प्रयोग गर्दा पढाइ र स्वास्थ्यमा असर गर्यो भने त्यहाँ संकल्प लिन सकिन्छ।
संकल्प गर्नुको पछाडि एउटा निश्चित कारण हुनुपर्छ। शारीरिक, मनोवैज्ञानिक र सामाजिक कारणले असर गरिरहेको छ भने संकल्प गर्नुपर्छ। यी तीनवटै कुरामा नकारात्मक असर गरेको गरेको अवस्थामा संकल्प गर्नुपर्ने उनले बताए।
डा. ओझा संकल्पको अर्को नाम आत्मविश्वास भएको बताउँछन्।उनका अनुसार संकल्प गर्नु भनेको सकारात्मक उत्प्रेरणाको विकास गर्नु हो।
भन्छन्, ‘म यति वर्षमा यो काम गर्छु भनेर संकल्प लिनुपर्छ। संकल्प लिइसकेपछि मानिसमा एक किसिमको विश्वास के हुन्छ भने मैले गर्न हुन्न र यो काम गर्नैपर्छ भन्ने ठूलो उत्प्रेरणा मिल्छ।’
तर, त्यसका लागि भिजन र मिसन दुवै हुन आवश्यक छ।संकल्पलाई सकारात्मक रूपमा लिन सक्यौँ भनेमात्र मिसन र भिजन दुवै पूरा हुनसक्ने उनी बताउँछन्।
‘सकारात्मक संकल्प हुनेबित्तिकै गरिएको संकल्प पूरा हुनसक्छ,’ उनले भने, ‘सराकात्मक संकल्प लियो भने मनोवैज्ञानिक रूपमा पनि उत्प्रेरणा दिनसक्छ र यो परिणाममुखी पनि हुनसक्छ।’
किन पूरा हुँदैनन् संकल्पहरू?
नयाँको सुरूआतसँगै संकल्प धेरैले गर्छन्। तर, व्यवहारमा लागू गर्न भने कमैले मात्र सक्छन्।संकल्प सधैँ व्यावहारिक र पूरा गर्न सकिने खालको मात्र गर्नुपर्छ।
मनोविद् डा. कुँवरका अनुसार मैले संकल्प किन गर्ने, कस्तो अवस्थामा यो तोडिनसक्छ, कसरी पूरा गर्न सक्छु भनेर सधैँ विश्लेषण गर्नुपर्छ।अधिकांशले बिनाविश्लेषण संकल्प गरेका कारण नै बीच समयमा संकल्प तोडिन पुग्ने उनले बताइन्।
‘संकल्प लिँदा आफंैले गरिने व्यवहारमा कतै चुनौती आउँछन् कि तोडिनसक्छ कि, तोडियो भने अर्को संकल्प लिने कि नलिने भनेर विश्लेषण गर्न आवश्यक हुन्छ,’ उनले भनिन्।
डा. कुँवरका अनुसार गरिएका अधिकांश संकल्पहरूतोडिनुको पछाडि एउटै कारण छ–आफ्नो निर्णयप्रति विश्वास नहुनु।आफूले गरेका निर्णयहरूलाई सम्मान गर्न नसक्दा पनि मानिसहरूले संकल्प बीचमै छाड्ने गरेको उनको बुझाइ छ।
कतिपय संकल्पहरू अव्यावहारिक भएका कारणले पनि बीचमै तोडिने गरेको डा. ओझा बताउँछन्।
संकल्प पूरा गर्न यसो गरौँ
आफूलाई गलत लाग्ने व्यवहार र बानीहरू संकल्पबाट नै परिवर्तन गर्न सकिन्छ।अव्यावहारिकभन्दा पनि आफ्नो आवश्यकता र कारणलाई बुझेर गरिएको संकल्प नै पूरा गर्न सकिन्छ।
सबैभन्दा पहिले त संकल्प किन गर्ने भनेर आफैंलाई एक पटक प्रश्न गर्नुपर्छ। अनि आफैं विश्लेषण गरौँ, मैले गरेको यो संकल्प पूरा गर्न सक्छु या सक्दिन।संकल्प सधैँपूरा गर्नसक्ने खालको मात्र गर्नुपर्नेमा डा. ओझा जोड दिन्छन्।
संकल्प पूरा नहुँदा नकारात्मक विचार आउने, निराशापन हुने र आत्मबल कमजोर हुने उनले बताए।
मनोवैज्ञानिक रूपमा आफूले गर्ने संकल्पलाई सकारात्मक रूपमा विकास गर्नुपर्ने बताउँदै उनी भन्छन्,‘संकल्प पूरा नहुँदा कहिलेकाहीँ मनोवैज्ञानिक रूपमा फ्रस्टेसन हुन्छ।मैले संकल्प गरँे तर केही नतिजा नै प्राप्त भएन भनेर मानिस एक किसिमको तनावमा पनि जान सक्छ।’
मनोवैज्ञानिक समस्या आउन नदिन संकल्प गर्नुअघि एकपटक विचार गर्नुपर्ने उनी सुझाउँछन्।संकल्प पूरा गर्न नसकिएको अवस्थामा दुःखी हुनुभन्दा पनि किन पूरा गर्न सकिनँ भनेर समीक्षा गर्नुपर्ने उनले बताए।
सकारात्मक सोचका साथ अघि बढेमात्र संकल्पलाई पूरा गर्न सकिने उनले बताए।तर, असफल हुँदैमा दुःखी हुने र निराश हुने गरे झन् कमजोर हुने उनले बताए।
उनले भने,‘संकल्प गरेर पूरा गर्न सकिएन भने दुःखी हुनु भएन। किनभने असफल पनि त हुन सकिन्छ। तर, असफल भयो भन्दैमा दुःखी हुनु हुँदैन। त्यसबाट समीक्षा गर्दै किन मैले यो गर्न सकिनँ, मेरो के कमजोरी रहेछ भनेर समीक्षा गरी अर्को सक्ने संकल्प गर्नुपर्छ।’
आफूले लिएको संकल्पले जीवनमा के–कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने मनोविद् कुँवरको जोड छ।
भन्छिन्, ‘आफूले गरेको संकल्पबाट महिना दिनमा के–कस्तो प्रभाव पार्यो। सकारात्मक ऊर्जा दियो या कस्तो नतिजा दियो भनेर समीक्षा गर्न सक्यौँ भने यो धेरै सहयोगी हुन्छ।’
संकल्प गर्नुअघि लक्ष्य तय गर्नुपर्ने उनी बताउँछिन्।लक्ष्य तय गरेर मात्र नभई लक्ष्य प्राप्त गर्न पनि सक्रिय भएर अघि बढ्नुपर्ने उनले बताइन्।एकैपटक धेरै संकल्प गर्नुभन्दा पनि सानै भए पनि गर्न सकिने संकल्पमात्र लिनुपर्नेम उनी जोड दिन्छिन्।
त्यसो भए कस्तो खालको संकल्प गर्ने त ? विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ अनि पूरा पनिः
१. स्वः हेरविचार गर्ने
स्वः अर्थात् आफ्नो हेरविचार।व्यस्त जीवनशैली र भागदौडका बीच हामी आफ्नै स्वास्थ्यप्रति हेलचेक्र्याइँ गरिरहेका हुन्छौँ।हामी सधैँ अरूको कुरा गरिरहँदा आफ्नो स्वास्थ्यको हेरविचारलाई त्यति ख्याल गर्दैनौं। तर,स्वः हेरविचारको संकल्प सधँै हाम्रो पहिलो प्राथमिकतामा हुनुपर्दछ।
२. बिहान छिटो उठ्ने
बिहान छिटो उठ्नु स्वास्थ्यका निम्ति फाइदाजनक छ।तर,ण् धेरैजसोलाई बिहान उठ्न गाह्रो हुन्छ।विज्ञहरूका अनुसार सूर्योदयभन्दा अघि उठ्नु लाभदायक मानिन्छ।त्यसैले बिहान छिटो उठ्ने संकल्प गर्नु आवश्यक छ।
३. स्वस्थकर खानपान गर्ने
स्वस्थ शरीरका लागि स्वस्थकर खानपान अति नै जरुरी छ।तयारी र प्रशोधित खानपानले विभिन्न रोगहरू निम्त्याउँछ।त्यसैले सधैँ स्वस्थकर खापान गर्ने संकल्प हाम्रो लागि आवश्यक छ।
४. दैनिक व्यायाम गर्ने
दैनिक कम्तीमा ३० मिनेटसम्म व्यायाम गर्न चिकित्सकहरू सुझाउँछन्। दैनिक गरिने व्यायामले शरीरलाई स्वस्थ राख्नुका साथै अनावश्यक तौल बढ्न दिँदैन।आफूलाई पायक पर्ने कुनै पनि किसिमको क्रियाकलाप गरी शरीरलाई सक्रिय राख्नुपर्दछ।
५. समयमै सुत्ने
बिहान छिटो उठ्नु जति जरुरी छ, राति समयमै सुत्नु पनि उत्तिकै महत्वपूर्ण छ।कम्तीमा पनि ७÷८ घण्टाको निन्द्रा पूरा गर्नुपर्दछ।ढिला सुत्ने बानीले शरीरमा विभिन्न रोगहरू निम्त्याउनसक्छ।त्यसैले राति समयमै सुतेमात्र बिहान पनि छिटो उठ्न सकिन्छ।
६. मोबाइललगायत डिजिटल उपकरणहरू कम चलाउने
मोबाइल लगायत विभिन्न डिजिटल उपकरणहरू अहिले हाम्रो लागि अत्यावश्यक बनिसकेको छ। यसको आफ्नै महत्व र फाइदाहरू छन्। यद्यपि, यी उपकरणहरूलाई आवश्यक मात्रामा मात्र चलाउन पनि उत्तिकै जरुरी छ।
७. शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गर्ने
मानसिक स्वास्थ्य हाम्रो लागि महत्वपूर्ण विषय हो। शरीरमात्र स्वस्थ भएर हुँदैन। मानसिकरूपमा पनि स्वस्थ हुनुपर्दछ।धेरै तनाव लिने, अनावश्यक कुरा सोच्नेलगायत कुराले मानिसहरूलाई मानसिक स्वास्थ्य समस्या सिर्जना गर्दछ। त्यसैले शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गर्ने संकल्प गर्नुपर्छ।
८. जे गर्छु निरन्तरता दिन्छु भन्ने अठोट गर्ने
हामी दैनिक विभिन्न योजना बनाउँछौ। कतिपय योजना पूरा हुन्छन् त कति अधुरै रहन्छ।सुरू गरेका कामलाई पनि हामी निरन्तरता दिन सकिरहेका हुँदैनौ। त्यसैले यस वर्ष जे गर्छु निरन्तरता दिन्छु भन्ने अठोटका साथ संकल्प गर्नुपर्दछ।
९. धुमपान तथा मद्यपान त्याग्ने
धुमपान तथा मद्यपान स्वास्थ्यका निम्ति हानिकारक चिज हुन्। तर पनि अधिकांश यसको अम्मली छन्। छोड्न चाहन्छन्, तर सकिरहेका हुँदैनन्।तर, प्रयास भने गर्न आवश्यक छ।धुमपान तथा मद्यपानले साना रोगदेखि प्राणघातक क्यान्सरसम्म गराउँछ।यो नयाँ वर्षमा चुरोट, रक्सी, सूर्तिजन्य पदार्थ आजैदेखि त्याग्छु भन्ने संकल्प गरौँ।
१०. घुमफिर गर्ने
घुमफिर र रमाइलो गर्न जो कोहीलाई मन लाग्छ।घुमफिरले मानिसलाई ताजा बनाउँछ।खुसी बनाउँछ।तर, भागदौडको जीवनमा घुमफिरका लागि चाहेर पनि समय निकाल्न सक्दैनन्। त्यसैले समय समयमा घुमफिर गर्ने संकल्प गर्न आवश्यक छ।
११. प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी खाने
फलफूल तथा सागसब्जी स्वास्थ्यका निम्ति अति नै आवश्यक छ। शरीरलाई चाहिने फाइबरदेखि विभिन्न भिटामिनजन्य तत्वहरू हामीले फलफूल तथा सागसब्जीबाट प्राप्त गर्न सक्छौँ।खानामा बाहिरी कुराभन्दा पनि फलफूल तथा सागसब्जीको मात्रा बढाउनुपर्छ।
१२. अनिवार्यरूपमा मास्क लगाउने, साबुन पानीले हात धुने
कोभिड–१९ को महामारीपछि मास्क लगाउने, साबुन पानीले हात धुने व्यवहार अनिवार्यजस्तै बनेको छ।यो व्यवहारले कोरोनाबाट मात्र नभई विभिन्न सरुवा रोगहरूबाटसमेत बचाउँछ।त्यसैले अनिवार्यरूपमा मास्क लगाउने र साबुन पानीले हात धुने बानीलाई सधैँ निरन्तरता दिनुपर्छ।
१३. असुरक्षित यौनसम्पर्क नगर्ने
असुरक्षित यौनसम्पर्क विभिन्न रोगको कारक हुन्। एचआईभी एड्सलगायत विभिन्न रोगहरू असुरक्षित यौनसम्पर्कका कारण सर्ने गर्दछ।त्यसैले यौनसम्पर्कलाई सुरक्षित बनाउने संकल्प गर्नुपर्दछ।
१४. तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्ने
तनाव व्यवस्थापनका लागि अहिले मेडिटेसन अर्थात् ध्यान उपयुक्त हुने विज्ञहरू बताउँछन्।योग तथा मेडिटेसनले शरीरलाई स्वस्थमात्र बनाउँदैन, तनाव व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ।आफ्नो लागि थोरै समय निकालेर भएपनि तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्नुपर्दछ।
१५. नियमितरूपमा आवश्यक स्वास्थ्य परीक्षण गर्ने
कुनै रोग लागेपछि मात्र अस्पताल धाउने अधिकांशको बानी छ।तर, नियमितरूपमा आवश्यक स्वास्थ्य परीक्षण गरे भविष्यमा लाग्ने रोगबाट बच्न सकिन्छ।त्यसैले समय–समयमा स्वास्थ्य परीक्षण गर्ने संकल्प गर्नुपर्छ।
१६. तौल नियन्त्रण गर्ने
स्वस्थकर जीवनशैली र खानपानका कारण शरीरको तौल बढ्ने समस्या अहिले धेरैको छ। विभिन्न रोगको कारकको रूपमा मोटोपनलाई लिन सकिन्छ।त्यसैले नियमित व्यायाम गर्छु, स्वस्थकर खानपान गर्छु र शरीरको तौल नियन्त्रण गर्छु भन्ने संकल्प आजैदेखि गरौँ।
१७. छालाको स्याहार गर्ने
छालाको स्याहार अर्को महत्वपूर्ण विषय हो।हामी बाहिरी सुन्दरतालाई मात्र ध्यान दिने गर्छौं। तर, छालाको हेरविचारमा त्यति ध्यान दिँदैनौ।आफूखुसी विभिन्न कस्मेटिक उत्पादनहरू प्रयोग गर्छौं। प्रशस्त मात्रामा पानी पिउँदैनौ। जसका कारण छालामा विभिन्न समयस्या देखिन्छ।त्यसैले छालाको स्याहारमा ध्यान दिनुपर्छ।
१८. रक्तदान गर्ने
रक्तदान जीवनदान हो। तर, हामी रक्तदान गर्न अझै पनि हिचकिचाहट गर्दछौं। आफ्नो स्वास्थ्य अवस्थाअनुसार रक्तदान गर्ने संकल्प गर्नु पनि आवश्यक छ।
१९. बोसोयुक्त, चिल्लो खानेकुरा तथा प्रशोधित खानेकुरा नखाने
यी खोनकुराले जिब्रोलाई अवश्य नै लोभाउँछ। तर,स्वास्थ्यका निम्ति भने निकै हानिकारक हो।बोसोयुक्त, चिल्लो अनि प्रशोधित खानेकुराले शरीरमा रोग बढाउनेमात्र काम गर्दछ।त्यसैले यस्ता खानेकुरा सकेसम्म त्याग्ने नसके कम गर्ने संकल्प गर्नुपर्छ।
२०. प्रशस्त मात्रामा पानी पिउने
पानी शरीरका लागि नभई नहुने कुरा हो। दिनमा कम्तीमा पनि आठ गिलास पानी पिउन चिकित्सक सुझाउँछन्।प्रशस्त मात्रामा पानी पिएमात्र शरीरलाई स्वस्थ राख्न सकिन्छ। पानीको अभावमा मिर्गौला, मुटुदेखि पूरा शरीरमै असर पुग्छ।
२१. गुलियो खानेकुरा कम खाने
गुलियो खानेकुरा धेरैको रोजाइमा पर्छ।स्वादमा गुलियो मिठो लागे पनि स्वास्थ्यका निम्ति ठीक छैन।गुलियो खानेकुराले मधुमेह रोग लाग्नुका साथै शरीरमा अनावश्यक तौल बढाउँछ।त्यसैले बाहिरी प्रशोधित गुलियोभन्दा पनि प्राकृतिकरूपमा उपलब्ध गुलियो खानेकुरा खानुपर्छ।
२२. दिनको दुईपटक दाँत ब्रस गर्ने
दाँतलाई स्वस्थ राख्न दिनको दुईपटक ब्रस गर्नु आवश्यक छ। बिहान र रातिको खाना खाइसकेपछि दाँत ब्रस गर्नुपर्दछ।दिनको समयमा भने केही खानेकुरा खाइसकेपछि कुल्ला गर्ने बानी बसाल्नुपर्छ।
२३. नियमितरूपमा ६/६ महिनामा दाँतको परीक्षण गराउने
मुख स्वास्थ्य हाम्रो लागि आवश्यक छ। तर, अधिकांशले मुख स्वास्थ्यलाई प्राथमिकतामा राखेका हुँदैनन्।दाँत किराले खाएपछि, दुखाइ सहन नसकेपछि, गिजा सुन्निएपछि मात्र अस्पताल धाउने धेरैको बानी छ। तर, नियमितरूपमा ६/६ महिनामा दाँतको परीक्षण गराए यी सबै समस्याबाट बच्न सकिन्छ।