काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियषुक्तिका लागि नयाँ कार्यविधि तयार पारेको छ। मन्त्रालयले स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड २०७३ को दफा ९ को उपदफा २ बमोजिम राप्तीका लागि नयाँ कार्यविधि बनाएको हो।
मन्त्रालयले सोमबार उक्त कार्यविधिका स्वीकृत गरेको हो।
कार्यविधिमा उपकुलपति नियुक्तिका लागि सिफारिस सम्बन्धि व्यवस्थामा उपकुलपतिका लागि योग्यता र अयोग्यता उल्लेख छ।
उपकुलपतिका लागि योग्यतामा निम्न २ वटा कुरा उल्लेख छ।
१. मान्यता प्राप्त शैक्षिक संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको।
२. कम्तिमा प्राध्यापक वा मन्त्रालय सम्बद्ध निकायमा एघारौं तह वा सो सरहको पदमा काम गरेको।
यस्तै उपकुलपति नियुक्तका लागि अयोग्यतामा भने निम्न ७ वटा कुराहरु रहेका छन्।
१. गैर नेपाली नागरीक
२. पैतिस वर्ष उमेर पूरा नभएको।
३. भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव वेचविखन, लागू औषधिको कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धि कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाए पाएको।
४. प्रचलित कानुन बमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पुरा नभएको।
५. कुनै विदेशी मुलुकमा स्थायी आवासयीय अनुमति प्राप्त गरेको।
६. सार्वजनिक निकायसँग कुनै ठेक्कापट्टा सम्झौता गरी काम गर्दै गरेको।
७. मानसिक सन्तुलन ठिक नभएको।
उपकुलपतिका लागि नाम सिफारिस समितिले बुधबार इच्छुकहरुसँग आवेदन माग गरेको छ। समितिले प्रतिष्ठानको उपकुलपति नियुक्ति सम्बन्धी कार्यविधि २०७८ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन सार्वजनिक सूचना निकालेको हो।आवेदन दिने म्याद ७ दिन छ।
प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री विरोध खतिवडाको अध्यक्षतामा नाम सिफारिस समिति गठन भएको छ। समितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला सदस्य छन्।
प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीको पदावधी मंसिर २६ गते सकिएको छ।
हेरौं कार्यविधि