काठमाडौं- दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको १२ दिनपछि नेपालमा पनि यो पुष्टि भएको छ। दक्षिण अफ्रिकामा पहिलो पटक नोभेम्बर २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ७१ र ६६ वर्षीय दुई विदेशी नागरिकमा ओमिक्रोन भेटिएको पुष्टि गरेको छ। ६६ वर्षीय पुरुष मंसिर ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए। ६६ वर्षीय पुरुष नेपाल आउँदा नियम अनुसार पिसिआर रिपोर्ट नेगेटिभ र कोरोना विरुद्धको दुवै मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ।
नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन आग्रह गर्छन्।
उनले भने, ‘कोरोनाको कुनै पनि नयाँ भेरियन्ट आएपनि मुख्य गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। किनभने जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही गर्नुहुँदैन।’
सरकारले अब कोरोना संक्रमितको संख्यामा आएको उतारचढावलाई नियाल्नुपर्ने उनको सुझाव छ। त्यसमा पनि कस्ता खालका व्यक्तिहरु कुन अवस्थामा संक्रमित भइरहेका छन् भन्ने विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए।
‘कतै केसहरु बढ्दै छ की। त्यसमा पनि जटिल या सामान्य कस्ता खालका संक्रमितहरु आइरहेका छन् भनेर सरकारले नियाल्नुपर्ने हुन्छ,’ उनले भने।
ओमिक्रोन भेरियन्टसँग तर्सिने भन्दा पनि सर्तक हुन आवश्यक रहेको उनले बताए। ओमिक्रोन भेरियन्ट के कत्तिको घातक छ भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेकाले पर्ख र हेरको अवस्था रहेको उनले बताए। तर हालसम्मको अवस्थालाई नियाल्दा ओमिक्रोन डरलाग्दो नदेखिएको उनको भनाई छ।
उनले भने, ‘दक्षिण अफ्रिका या भारतमा भेटिएका केसहरुलाई हेर्दा आत्तिहाल्नुपर्ने जस्तो देखिइसकेको छैन। तर सतर्कता भने एकदमै अपनउन आवश्यक छ। किनभने यसले कुन समूह र कसलाई समस्यामा ल्याउँछ या ल्यादैन भन्ने बारेमा थाहा हुन बाँकी नै छ।’