काठमाडौं - भाइरस परिवतर्नशील छ। आफू बाँच्न र औषधिविरुद्ध लड्न भाइरसले आफ्नो आणुवांशिक तत्व (जीन)मा परिवर्तन गरिरहन्छ। जसलाई म्युटेसन भनिन्छ।
हरेक पटकको म्युटेसन खराब नै हुन्छ भन्ने हुँदैन। तर कहिलेकाँही म्युटेसनले ठूलो परिवर्तन ल्याइदिन्छ। जसले गर्दा भाइरस बढी संक्रामक हुन सक्ने, छिट्टै फैलिने, भएका औषधिले पनि काम नगर्ने हुन सक्छ।
दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पनि यही कोरोना भाइरसको परिवर्तित स्वरुप हो। विश्व स्वास्थ्य संगठन डब्लुएचओले ओमिक्रोन भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ को नामाकरण गर्दै ‘संसारमा खतराको घन्टी बजेको’ भन्दै चेतावनी समेत दिएको छ।
ओमिक्रोन भेरियन्टको बाहिरी सतहमा रहेको स्पाइक जीनमा ३२ वटा म्युटेसन अर्थात् उत्परिवर्तनहरु देखिएको सुक्ष्म जीवाणु विज्ञ डा सन्तोष दुलाल बताउँछन्।
उनका अनुसार नोभेम्बरमा संकलन गरिएका नमुनाको भाइरसको जेनेटिक सिक्वेन्सिङ अन्तर्गत अनुसन्धान र विश्लेषण गर्दा सार्स कोभ-२ को आरएनए अक्षहरुमा डेल्टा भेरियन्टको तुलनामा ३२ वटा म्युटेसन देखिएको छ। जुन डेल्टा भेरियन्टको तुलनामा तीन गुणा बढी हो। यसअघि डेल्टा भेरियन्टमा ९ वटा मात्र म्युटेसन भएको थियो।
३२ पटक म्युटेसन भएको ओमिक्रोन भेरियन्ट छिटो फैलन सक्ने, पुनः संक्रमण गराउने, एन्टीबडीले काम नगर्ने र प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने देखिएको उनले बताए। यद्यपि यो अध्ययन र अनुसन्धानबाट पुष्टि हुन भने बाँकी छ। धेरै म्युटेसन भएकाले पनि ओमिक्रोन भेरियन्टलाई हाल बनेका खोपहरुले रोक्न नसक्ने आँकलन पनि गरिएका छन्।
‘यो भाइरसमा २९ हजार देखि ३० हजार आरएनएको अक्षरहरु हुन्छन्। त्यसको स्पाइक प्रोटिन अर्थात् बाहिरी सतहमा ३२ वटा म्युटेसन भएका छन्।’ उनले भने, ‘त्यसमा ३० वटा एम्युनो एसिड परिवर्तन भएका छन्। यसले गर्दा शरीरमा बनेको एन्टीबडीले र खोपले पनि काम गर्न नसक्ने हो की भन्ने आँकलन गरिएको छ। तर पुष्टि भने भइकेको छैन।’
म्युटेसनका कारण नै यसले महामारी ल्याउन सक्ने हो की भन्ने उनको अनुमान छ। हालसम्म ओमिक्रोन संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको उनी बताउँछन्। यसको संक्रमणले मानिसमा कत्तिको गम्भीर असर गर्छ भन्ने विषय हेर्न बाँकी नै रहेको उनले बताए।
उनले भने, ‘प्रारम्भिक अध्ययनले यो त्यतिधेरै सिभियर छ भनेर पनि भनेको छैन। यो भेरियन्टले के कत्तिको गम्भीर असर गर्छ भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन। तर हालसम्म संक्रमणले कुनै पनि व्यक्तिको मृत्यु चाँही भएको छैन।’
म्युटेसन धेरै भएकाले नै ओमिक्रोन भेरियन्ट धेरै संक्रामक हुन सक्नेमा भाइरोलोजिस्ट डा लुना भट्ट पनि सहमत छिन्। यसले खोपको उपयोगितामै प्रश्न आउन सक्ने उनले बताइन्। उनका अनुसार कोभिड १९ विरुद्धको खोपलाई थप प्रभावकारी बनाउन बुस्टर डोजको आवश्यक छ।
‘त्यसै त खोपले ६ महिनाभन्दा धेरै काम गर्दैन बुस्टर डोज दिइराख्नु पर्छ भन्ने थियो। त्यसमा पुनः संक्रमण भइरह्यो भने त्यति भ्याक्सिन दिने की परिवर्तन गर्ने भन्ने कुरा पनि आएको छ’ उनले भनिन्।
डेल्टा भेरियन्ट कत्तिको घातक भन्ने विषयमा विज्ञहरुले अहिले नै अनुमान लगाउन सकेका छैनन्। ओमिक्रोन भेरियन्ट डेल्टाले जति नै असर गर्छ÷गर्दैन या कम गर्छ भन्ने विषयमा अहिले नै भन्न नसकिने उनले बताइन्। तर ओमिक्रोन भेरियन्टको संक्रमणका कारण माइल्ड लक्षण मात्र देखिएका बिरामी र अस्पताल भर्ना भएका बिरामी पनि भेटिएको उनले बताइन्।
उनले भनिन्, ‘दक्षिण अफ्रिकाको कतिपय ठाउँमा माइल्ड लक्षणहरु देखिएका छन्। तर फेरि त्यति दक्षिण अफ्रिकाको अर्को ठाउँमा हेर्यौँ भने गम्भीर असर देखिएर अस्पताल भर्ना भएका बिरामीहरु पनि छन्। त्यसैले यसले निम्त्याउने गम्भीरता बारे नै अहिले भन्न सकिदैन।’
उनका अनुसार हालसम्म संक्रमित व्यक्ति नयाँ त्यस्तो कुनै लक्षणहरु देखिएका छैनन्। महामारी निम्तन नदिन नेपालमा पनि रोकथामका लागि सावधानी अपनाउनुपर्नेमा उनी जोड दिन्छन्।
ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलन सक्ने क्षमता भएको र पुनः संक्रमण गराउन सक्ने भन्ने भनिएको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउँछन्। तर पनि यो भेरियन्ट कति घातक छ र हाल भएका खोपले यसलाई रोक्न सक्छ÷सक्दैन भन्ने विषयमा अध्ययन हुन बाँकी रहेको उनले बताए।
उनले भने, ‘यो भाइरस छिटो फैलन सक्ने र पुनः संक्रमण गराउन सक्ने भन्ने छ। तर कतिको घातक छ र खोपलाई छल्न सक्छ/सक्दैन भन्ने विषयमा अध्ययनकै विषय छ। खोपले पूर्ण रुपमा नभई यसको प्रभावकारिता घट्ने हो की भन्ने कुराहरु छ।’
सावधानी नअपनाइए महामारी निम्तन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न उनको आग्रह छ। अन्तर्राष्ट्रिय विमानस्थलदेखि सीमानाकामा कडाई गर्नुपर्ने उनले बताए।