नवजात शिशुहरुमा जन्मजात विभिन्न रोगदेखिन्छन्।तीमध्ये उनीहरुमा देखिने आम समस्या हो, बाल मुटुरोग।
एक सय जना शिशु जन्मँदा एकदेखि दुई जनालाई मुटु सम्बन्धी रोग हुन सक्छ। धेरैजसो मुटुरोगमा बच्चा ठूलो हुँदै जाँदासमस्या आफैँठीक हुन्छ। तर, हजार शिशुमध्ये एक जनामा जटिल खालकोसमस्या देखिन्छ। यस्तो समस्या भएका शिशुलाई जन्मने बित्तिकै उपचार वा शल्यक्रियाको खाँचो पर्छ।
नवजात शिशुहरुमा मुटुरोग हुनुको विभिन्न कारण छन्। यो समस्या वंशाणुगत पनि हुन सक्छ। गर्भवती भएको समयमा विभिन्न रोगको औषधि प्रयोग गरेका, मधुमेह, उच्च रक्तचाप भएका आमाहरुले जन्माउने शिशुमा मुटु रोगको समस्या देखिने संभावना धेरै हुन्छ।
कुनै पनि महिला गर्भवती भएको सुरुको चार हप्ताभित्र मुटु बनिसकेको हुन्छ। गर्भवती भएको थाहा नपाउँदै मुटु बनिसकेको हुने हुँदा महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिएको हुँदैन। त्यसैले आमाको स्वास्थ्य र उसले गर्ने व्यवहारले पनि कतिपय शिशुको मुटुमा असर गरिसकेको हुनसक्छ।
मुटु रोग भएका बच्चा जन्मने क्रममा सामान्य हुँदैनन्। उनीहरु कालो रङको देखिन्छन्। शरीरमाअक्सिजनको अभाव हुन्छ।उनीहरुलाई तत्कालउपचारको आवश्यक पर्छ। तत्काल उपचार नपाए मृत्यु पनि हुनसक्छ।
यसकोउपचार दुई किसिमको हुन्छ। पहिलो, बेलुनको मद्दतले नचिरिकन गरिने शल्यक्रिया। दोस्रो, चिरेर गरिने शल्यक्रिया। कुनै बच्चाहरुमा भने यी दुई वटै उपचारको आवश्यकता पर्न सक्छ । यद्यपि,यो संभावनाशून्य दशमलव एक प्रतिशत मात्र हुन्छ।
केही बच्चामा भने मुटुसम्बन्धी समस्या भएपनि हेर्दा सामान्य देखिन्छन्। उनीहरुमा जन्मिने बित्तिकै मुटु सम्बन्धी समस्या देखिँदैन। तर एक/डेढ महिनापछि मात्रसमस्या देखिन थाल्छ। तर, पहिचान गर्न गाह्रो छैन ।
आमाको दूध राम्रोसँग चुस्न नसक्ने, दूध खाने क्रममा छिटो–छिटो श्वास फेर्ने, आमाको दूध छोड्दै तान्ने, दूध खाने बेला एकदम पसिना आउने समस्या हुन्छ।योसँगै ती बच्चालाई निमोनिया हुने, परीक्षणका क्रममा मुटुमा फरक किसिमको आवाज आउने रतौल आवश्यकता अनुसारबढेको हुँदैन। यी लक्षण देखिए अभिभावकले आफ्नो बच्चामा मुटुसम्बन्धी रोग छ की भनेर शंका गर्नुपर्छ।
बच्चाहरुमा देखिने मुटु रोगहरुमा पनि मुटुमा प्वाल पर्ने एक आम समस्या हो। यो समस्या पनि धेरै किसिमको हुने गर्छ। मुटुमा हुने प्वाल सानोदेखि ठूलोसम्म हुन्छन्।
कुनै बच्चाहरुको मुटुमा एकदमै सानो प्वाल हुन्छ। यसले मुटुलाई खासै असर गरेको हुँदैन। कतिपय बच्चाहरु ठूलो हुँदै जाँदा ती साना प्वालहरु आफैँ बन्द पनि हुन्छन्। ती बच्चालाई हामी फलोअपमा मात्र राख्छौँ । तर, कुनै बच्चाको मुटुमा ठूलो प्वाल हुन्छ।
मुटुमा ठूलो प्वाल भएका बच्चालाई निमोनिया भइरहने, भेन्टिलेटरमा राख्नुपर्ने र विशेष उपचारको आवश्यकता पर्छ। एकदेखि डेढ वर्षभित्रमा शल्यक्रिया गरेर ती ठूला प्वाल बन्द गर्नुपर्छ। धेरै ढिलो भए ती प्वाल पछि बन्द गर्न नसकिने हुन्छन्।यो समस्या भएका बच्चाहरु चिकित्सकसँग निरन्तरसम्पर्कमा रहनैपर्छ।
एक्सरे, इसिजी गरेर पनि मुटुको अवस्था हेर्न सकिन्छ। तर, रोगको निदान गरी उपचार चाहिने÷नचाहिने पत्ता लगाउन भने बच्चाको ‘इको कार्डियोग्राफी’नै गर्नुपर्छ। ‘इको कार्डियोग्राफी’ गरेपछि मात्र समस्याको अवस्था र उपचारको किसिमबारे चिकित्सकले सल्लाह दिन्छन्।
यस्तो समस्या भएका बालबालिकाकाअभिभावकले उनीहरुको खानपान र पोषणमा विशेष ध्यान दिनुपर्छ। सामान्य बच्चालाई भन्दा पोषणको बढी खाँचो पर्छ।
मुटुरोग भएका बालबालिकाहरु जीवनभर अस्पताल धाइरहनुपर्छ भन्ने हुँदैन। मुटुमा भएका प्वाललाई समयमै बन्द गर्न सक्यौँ र फोक्सोको दबाब सामान्य भयो भने औषधि खाइरहनु पर्दैन। सुरुको दुई÷चार वर्ष फलोअपका लागि आउनु परेपनि पछि नपर्ने हुन्छ।
यी समस्या सुरुमै पहिचान भए भने धेरैजसो निको पार्न सकिन्छ। उनीहरु विभिन्न खेलमा भाग लिन सक्ने र एक स्वस्थ मानिस सरह जीवन जीउन सक्ने हुन्छन्। तर, ढिलो भयो भने मात्र समस्या जटिल बन्दै जान्छ।
जोखिममा रहेका गर्भवतीहरुले शिशुको मुटुमा समस्या भए/नभएको जाँच गर्न सकिन्छ। ती महिलाले ‘फिटल इको’ गरेर पेटभित्रको शिशुमा मुटुरोग छ कि छैन भनेर हेर्न सकिन्छ। सबै गर्भवतीका लागि यो आवश्यक छैन। तर, जोखिम समूहमा रहेका गर्भवतीले भने फिटल इको गराउनुपर्छ। १८ देखि २२ हप्तासम्ममा फिटल इको गर्न सकिन्छ। नेपालमा यो सुविधा भित्रिएको धेरै वर्ष भइसकेको छ।
यदि कुनै महिलाले सन्तानको योजना बनाउँदै छिन् भने विभिन्न विषयमा ध्यान दिनुपर्छ। मधुमेहको समस्या भएका महिलाको चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ। छारेरोग, रगत पातलो बनाउने औषधि, मुटुदेखि विभिन्न रोगको उपचार गरिरहेका महिलाले बच्चाको विकासलाई असर नगर्ने किसिमको औषधि खानुपर्छ।
जन्मजात मुटुरोगको यकिन कारण अहिलेसम्म पत्ता लागेको छैन। ८० देखि ८५ प्रतिशतमा हुने जन्मजात मुटु रोगको कारण थाहा हुँदैन। यकिन कारण थाहा नभएका कारण पनि यसको रोकथाम चुनौतीको विषय हो। यद्यपि, जोखिम समूहमा पर्ने महिलाले विशेष ध्यान दिनैपर्छ।
हुन त मानिसहरु अहिले यो रोगप्रति केही सचेत हुँदै गइरहेका छन्। धेरै ठाउँमा यसको परीक्षण तथा उपचार हुने भएकाले पनि यो रोग प्रारम्भिक अवस्थामै पत्ता लगाउन सकिन्छ। र, यसको निदान हुने क्रम पनि केही बढ्दै गइरहेको छ।
निजी अस्पतालहरुमा पनि यो रोगको उपचार सुविधा छ। शहीद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रियासहितको उपचार हुन्छ। गंगालाल अस्पतालमा १५ वर्षमुनिका बालबालिकाको भर्ना गर्नुपरे उपचार निःशुल्क हुन्छ।
(बाल मुटुरोग विशेषज्ञ डा पुनम शर्मा शहीद गंगालाल हृदय केन्द्रमा कार्यरत छिन्।)