काठमाडौं - सन्तानको रहर पुगिसकेका दम्पत्तिले गर्ने परिवार नियोजनका उपायमध्ये एक हो, स्थायी बन्ध्याकरण।
परिवार नियोजनका दुई तरिकाहरु छन्। एउटा, स्थायी बन्ध्याकरण र दोस्रो, अस्थायी साधनहरुको प्रयोग। पुरुषले गर्ने स्थायी बन्ध्याकरणलाई भ्यासेक्टोमी र महिलाले गर्ने स्थायी बन्ध्याकरणलाई मिनिल्याप भनिन्छ।
स्थायी बन्ध्याकरण महिला र पुरुष दुवैले गर्न मिल्छ। तर महिलाहरुले नै बढी स्थायी बन्ध्याकरण गराउने प्रचलन नेपालमा अझै पनि छ। जबकी, महिलामा भन्दा पुरुषमा स्थायी बन्ध्याकरणको प्रक्रिया धेरै सरल र सहज हुन्छ।
सही सूचनाको अभाव र भ्रमका कारण महिलाहरुले नै धेरै स्थायी बन्ध्याकरण गर्ने गरेको परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख कविता अर्याल बताउँछिन्।
उनी भन्छिन्, ‘स्थायी बन्ध्याकरण सम्बन्धी अझै पनि धेरै भ्रम छन्। बन्ध्याकरण गरेपछि यौन क्षमतामा ह्रास आउने, शरीर कमजोर हुने जस्ता भ्रम अझै पनि छन्।’
उनका अनुसार तराईका अधिकांश जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिला नै हुन्छन्। निर्णायक तहमा पुरुष भएकाले पनि महिलाहरुले स्थायी बन्ध्याकरण गर्न बाध्य भएको उनले बताइन्। कतिपय अवस्थामा त महिला आफैँले पनि स्थायी बन्ध्याकरण गराउने गरेको उनले बताइन्।
‘पुरुषहरु निर्णय गर्ने तहमा हुन्छन्। यिनै भ्रमहरुका कारण उनीहरुले श्रीमतीलाई नै बन्ध्याकरण गराउँछन्,’ उनले भनिन्, ‘ महिलाले पनि मेरो श्रीमानले काम गरेर परिवार पाल्नु पर्छ। त्यसैले म आफैँ बन्ध्याकरण गर्छु भन्छन्। भ्रम र चेतनाको कमी दुवैमा छ।’
परिवार नियोजन सेवाको दुई वटा विधि मात्र पुरुषले गर्न सक्छन्। एक, कण्डमको प्रयोग र दोस्रो, स्थायी बन्ध्याकरण। तर यी दुवै विधि प्रयोग गर्नेको संख्या कम रहेको अर्याल बताउँछिन्।
वर्षेनी घट्दै स्थायी बन्ध्याकरण
हाल स्थायी बन्ध्याकरण गराउनेको संख्या पनि वर्षेनी घट्दै गइरहेको छ। परिवार कल्याण महाशाखाको गत तीन वर्षको तथ्यांकले यही देखाउँछ। पछिल्लो तीन वर्षको अवधिमा १५ देखि ४९ वर्षका ६४ हजार ७३६ जनाले स्थायी बन्ध्याकरण गराएका छन्।
आर्थिक वर्ष २०७५÷७६ मा २६ हजार ९९४, २०७६÷७७ मा २१ हजार ३५२ र २०७७÷७८ मा १६ हजार ३९० जनाले स्थायी बन्ध्याकरण गराए। यो तथ्यांकले पनि स्थायी बन्ध्याकरण गराउनको संख्या वर्षेनी घट्दै गइरहेको स्पष्ट पार्छ। आ.व २०७६÷७७ मा स्थायी बन्ध्याकरण गराउनेको संख्या ५ हजार ६४२ र २०७७÷७८ मा ४ हजार ९६२ जनाले घटेको छ।
गत वर्ष ४ हजार ९६२ जनाले स्थायी बन्ध्याकरण गराउँदा त्यसमा महिलाको संख्या मात्र ७८ प्रतिशत छ। तर तराईका जिल्लाहरुमा भने करिब ९९ प्रतिशत महिलाले नै स्थायी बन्ध्याकरण गराउने गरेको अर्यालले बताइन्।
कुनै बेला त तराइको जिल्लामा ५ सय जनाले स्थायी बन्ध्याकरण गराउँदा त्यसमा पुरुषको संख्या तीन मात्र हुने गरेको अर्याल सुनाउँछिन्।
गत वर्ष कोरोना महामारी र लकडाउनका कारण स्थायी बन्ध्याकरण गराउनेको संख्या घटेको अर्यालले बताइन्।
उनले भनिन्, ‘कोरोनाले गर्दा धेरै भीडभाड गर्न मिलेन। अनि यसको लागि गरिने क्याम्प र कार्यक्रमहरुमा असर पुग्यो।’
बन्ध्याकरण वर्षभरी नै गर्न मिल्ने भएपनि अधिकांशले मंसिरदेखि चैत महिनासम्ममा मात्र गर्छन्। जिल्लास्थित सरकारी स्वास्थ्य संस्थाहरुमा कुनै पनि व्यक्तिले निशुल्क रुपमा स्थायी बन्ध्याकरण सेवा लिन सक्ने अर्यालले बताइन्।
भ्रमलाई चिरौँ
पाठेघरमा रहेको अण्डनली बाँध्ने प्रक्रियालाई मिनिल्याप भनिन्छ। पुरुषहरुको शुक्रकिट लैजाने नलीलाई बाँध्ने गरिन्छ, जसलाई भ्यासेक्टोमी भनिन्छ। यसमा महिला, पुरुष दुवैलाई बेहोस नबनाई लोकल एनेस्थेसिया (जहाँ गर्ने हो, त्यहाँ मात्र सुई लगाएर गरिन्छ) मार्फत गरिन्छ।
यो प्रक्रिया महिलाको तुलनामा पुरुषमा सहज हुने बताउँदै थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा र्कीतिपाल सुवेदी भन्छन्, ‘महिलाको पेट चिरेर नली भेटाएर बाँध्नु पर्छ। तर पुरुषको भने शरीरभित्र पुग्नु पर्दैन। नली भेटाउन पनि सहज हुने भएकाले पुरुषमा केही सहज हुन्छ।’
केही महिलाले बच्चा जन्माउने क्रममै सन्तानको चाहना पुगेकाहरुले स्थायी बन्ध्याकरण गराउने गरेको डा सुवेदीले बताए।
यौन क्षमतामा कमी आउने, कमजोर हुने भ्रमका कारण पुरुषहरुले महिलालाई नै स्थायी बन्ध्याकरण गराउन प्रेरित गर्ने गरेको उनले बताए। तर स्थायी बन्ध्याकरणपछि पुरुषमा यौन क्षमतामा कमी आउने, कमजोर हुने भन्ने कुरामा कुनै सत्यता नभएको डा सुवेदीले स्पष्ट पारे।
उनले भने, ‘पुरुषको स्थायी बन्ध्याकरणमा शुक्रकिट जाने नलीलाई मात्र बन्द गर्ने हो। अरु कुनै पनि भागलाई चलाइदैन। त्यसैले यौन क्षमतामा कमी आउने र कामहरु गर्न नमिल्ने भन्ने सबै भ्रमहरु मात्र हुन्।’