काठमाडौं - राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन हो। तर नेकपा एमाले विभाजित भएसँगै यो संघमा पनि विभाजन आएको छ। जसरी एमालेमा विभाजनका कारण असर र विवाद देखिएको छ त्यसैगरी राष्ट्रिय स्वास्थ्यकर्मी संघमा पनि देखिन थालेको छ।
नेकपा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा समाजवादी पार्टी गठन भएको छ। नयाँ पार्टी गठन भएसँगै स्वास्थ्यकर्मीमा पनि विभाजन देखिएको हो।
फरक सिद्धान्त र धारमा चल्न थालेको पार्टीको विवाद स्वास्थ्यकर्मी संघमा पनि प्रष्ट देखिन थालेको छ। विगतमा एक ढिक्का रहेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित हुने चरणमा पुगिसकेको छ। औपचारिक रुपमा नभएपनि अनौपचारिक रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दुई चिरा भइसकेको छ।
नेपाल निकट रहेका संघका अध्यक्ष भक्तिमान सुब्बाले संस्थाको कार्यदिशा एवं रणनीति तय गर्ने भन्दै यही मंसिर ३ र ४ गते काठमाडौंमा भेला बोलाएका छन्। भेलाको प्रमुख आतिथ्यता नै नेकपा समाजवादी पार्टीका अध्यक्ष नेपालले गर्दैछन्।
संघ दुई चिरामा देखिएपनि आफूहरु यसबाट अलग नभएको सुब्बा बताउँछन्। आफू नै संघको अध्यक्ष रहेको उनको दाबी छ।
उनी भन्छन्, ‘रामबहादुर चन्दलाई कार्यबाहक अध्यक्ष भनेर एमालेले तोकिदिएको हो। संघको तेस्रो महाधिवेशनबाट निर्वाचित अध्यक्ष त म हुँ। यसमा कुनै दम र तुक छैन। कर्मचारीहरुले कति हदसम्म राजनीति गर्ने हो भन्ने कुरा हो।’
ओली निकटका व्यक्तिहरुले नै संघ भित्र रहेर राजनीति गर्न खोजेको उनको बुझाई छ। पेशागत मुद्दाहरु उठानका लागि नै भेला गर्न लागिएपनि गलत तरिकाले प्रचार गरिएको उनको भनाई छ।
उनले भने, ‘हामी संघबाट छुट्टिएको होइन। यो संघलाई कसरी अघि बढाउने, पेशागत हक अधिकारका लागि के गर्ने भन्ने भनेर नै भेला गर्न लागेका हौँ। कुनै राजनीतिक विषयलाई उठान गर्न लागेका होइनौँ।’
संघका उपाध्यक्ष राम बहादुर चन्दले हाल कार्यबाहक अध्यक्षको रुपमा संघको नेतृत्व गरिरहेका छन्। अध्यक्ष सुब्बाले संघमा राजनीति गरेर विभाजन गर्न खोजेपछि उनलाई स्पष्टीकरण सोधिएको कार्यबहाक अध्यक्ष चन्द बताउँछन्। चित्त बुझ्दो स्पष्टीकरण नआएकाले नै उनलाई विधान अनुसार कारबाही स्वरुप संघबाट निकालिएको उनले बताए।
‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ट्रेड युनियन हो। यो हाम्रो आधिकारिक युनियन हो। संस्थाको विधान विपरित भक्तिमान दाइ अघि बढेपछि उहाँलाई स्पष्टीकरण सोध्यौँ,’ उनले भने, ‘स्पष्टीकरण चित्त बुझ्दो नआएपछि उहाँलाई कारबाही स्वरुप निकालिएको छ। त्यो संघ आधिकारिक होइन।’
अध्यक्ष सुब्बा सहित, वरिष्ठ उपाध्यक्ष कृष्ण गोपाल महर्जन र महिला उपाध्यक्ष राधा सिलवाललाई संघबाट निकालिएको उनले जानकारी दिए।
सुब्बाले संघको लेटरप्याडमा मंसिर ३ र ४ गते भेला बोलाएका छन्। तर उक्त भेलामा संघका तर्फबाट अरु कोही सदस्य उपस्थित नहुने चन्द बताउँछन्।
चन्दले कात्तिक ३० गते विज्ञप्ति जारी गरेर नै उक्त भेलामा सहभागी नहुन आग्रह समेत गरेका थिए। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नाम उनीहरुले दुरुपयोग गरेको उनको ठहर छ।
विज्ञप्तिमा भनिएको थियो, ‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नाममा यही मंसिर ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरिएको भन्ने भ्रमपूर्ण सूचनाहरु सामाजिक सञ्जाल र केही व्यक्तिहरु मार्फत सुनिन आएकोमा यस प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ।’
उनीहरुको अनावश्यक रुपमा भ्रामक प्रचारवाजी मात्र गरिरहेको चन्द बताउँछन्। संगठन सञ्चालन गर्ने हो भने अर्को नामको संघ स्थापना गरेर मात्र अघि बढ्नुपर्ने उनले बताए। एउटै संगठन भित्र दुई वटा कार्यसमिति संभव नभएको उनले बताए।
‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ एउटा भएपछि दुई वटा हुन सक्दैन। उहाँहरुले संगठन बनाउनका लागि फेरी अर्को संगठन बनाएर जानुपर्छ। तर एउटा संगठन भित्र दुई वटा कार्य समिति हुँदैन’ उनले भने।
हेरौं पत्रहरु