काठमाडौं - निजामती अस्पताल सरकारले फाइजर खोप लगाउन तोकिएका २४ खोप केन्द्रमध्ये एक हो। बिहान १० बजेदेखि खोप लगाउन सुरु हुने भएकाले अभिभावकहरु आफ्ना सन्तानलाई खोप लगाउन अस्पताल पुगे।
सरकारले लक्षित समूह तोकेर खोप लगाएकाले त्यहाँ खोप लगाउन आउनेको खासै भीड थिएन। सबैले जाने बित्तिकै पालो पाइरहेका थिए। केही व्यक्तिहरु भित्र खोप लगाइरहेका थिए भने केही खोप लगाइसकेपछि खोप केन्द्र बाहिर नै आराम गरिरहेका थिए।
तिनैमध्ये एक थिए, तीनकुनेका केयुर पराजुली। उनी खोप लगाउन आमा बिन्जु पौडेलसँग अस्पताल पुगेका थिए। छोरासँगै रहेकी आमा बिन्जुलाई हामीले सोध्यौँ, ‘छोरालाई खोप लगाउन पाउँदा कस्तो लागेको छ?’
उनले भनिन्, ‘अब मेरो छोरा कोरोना संक्रमणबाट सुरक्षित भयो भन्ने लागेको छ। त्यसैले निकै खुशी छु।’
आमा बिन्जुका अनुसार केयुरको जन्मजात नै ठूलो आन्द्रामा समस्या थियो। तीन महिनासम्म उनको उपचार चल्यो। थप उपचारका लागि उनलाई भारत समेत लगिएको थियो। त्यहाँ देखाउँदा छोरामा वृद्धि विकासमा पनि अवरोध देखिएको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘भारतमा लगेर देखाउँदा मेरो छोरा डाउन सिन्ड्रोम अन्तर्गत पर्दैन तर डिभलपमेन्ट डिले भएको बालबालिकामा पर्छ भनिएको छ। सबै बुझ्छ तर बोल्नमा अलि समस्या छ।’
नेपालमा कोरोना महामारी फैलदा आफ्नो छोरालाई सबैभन्दा पहिले कोभिड–१९ विरुद्धको खोप लगाउने उनको ठूलो चाहना थियो। केयुर अहिले १४ वर्षको भए। उनको छोरा अन्य बालबालिकाभन्दा फरक छन्। त्यसैले पनि छोरालाई कोरोना संक्रमण हुने हो की भन्ने डरले उनलाई सधै सताई रहन्थ्यो। तर ढिलै भएपनि छोरालाई खोप लगाउन पाउँदा उनी निकै खुशी छिन्।
‘मैले आफूले लगाउनुभन्दा पनि पहिले नै छोरालाई खोप लगाउन पाए हुन्थ्यो जस्तो लागेको थियो। उसलाई केही गरी कोरोना भएको भए उसले राम्रोसँग बताउन सक्दैन थियो’ उनले भनिन्, ‘चाँडै आएको भए हुन्थ्यो जस्तो लाग्थ्यो। तर आज खोप लगाएपछि खुशी छु।’
सरकारले कोभिड–१९ विरुद्धको खोप सकेसम्म सबैको पहुँचमा पुर्याउन उनको आग्रह छ।
सिन्धुपाल्चोककी लक्ष्मी श्रेष्ठ पनि निजामती अस्पतालमा रहेको खोप केन्द्र बाहिर छोरीसँगै थिइन्। खोप लगाएपछि ३० मिनेट आराम गर्नुपर्ने भएकाले छोरीसँगै कुरा गर्दै थिइन्।
आफ्नी १७ वर्षीया छोरीलाई कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा निकै खुशी लागेको उनले बताइन्। उनको छोरीलाई ब्लड क्यान्सरको समस्या छ। सात महिना अघि मात्र छोरीलाई ब्लड क्यान्सर भएको बारे थाहा पाएको उनी बताउँछिन्।
उनी भन्छिन्, ‘दीर्घ रोगीहरुलाई सरकारले अहिले खोप लगाउने कुरा सुन्दा एकदम ठिक लागेको छ। मैले पनि छोरीलाई खोप लगाउन पाएँ, त्यसैले खुशी छु।’
खोप नलगाउँदासम्म छोरीलाई कोभिड हुने हो की भन्ने डर उनको मन सधैँ भइरहन्थ्यो। तर खोप लगाएपछि भने त्यो डर कम भएको उनी बताउँछिन्। दीर्घ रोगीहरुलाई केन्द्रित गरेर यस किसिमको अन्य खोपको सुविधा ल्याउन पनि सरकारलाई उनको आग्रह छ।
भक्तपुरका १६ वर्षीय राजीव न्यौपानले पनि आज फाइजर खोप लगाए। खोप लगाएपछि उनको प्रतिक्रिया यस्तो थियो, ‘मैले आज खोप लगाएँ। अब कोरोनाबाट सुरक्षित हुन्छु भन्ने सोचाईले खुशी लागेको छ।’
उनी जन्मदा नै अपांग थिए। उनको खुट्टामा समस्या छ। हाल उनी थाइराइडको औषधि पनि खाइरहेका छन्। उनी अन्य बालबालिकाभन्दा केही सुस्त भएको आमा तारादेवी न्यौपानले बताइन्।
‘मेरो छोरा एकदम कमजोर छ। केही सुस्त पनि छ। छोराले खोप लगाउन पायो त्यसैले खुशी छु’, उनले भनिन्।
सरकारले आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ।
१२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन सुरु गरेको हो। यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ। खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ। सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो।
काठमाडौं उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिनेछ।