मधुमेह भन्नाले चयोपचय विकार (मेटाबोलिक डिस्अर्डर) समूह जनित रोग हो। जसमा मुख्यतः रगतमा चिनीको मात्रा बढी हुने हाइपरग्लाइसेमिया। हाइपरग्लाइसेमियाको कारणहरुमध्ये इन्सुलिन हर्मोन कम मात्रामा उत्पादन हुनु, इन्सुलिन हर्मोनको उपभोग कोशिकाहरुले कम गर्नु तथा ग्लुकोजको उत्पादन शरीरमा बढी हुनु हुन्छ। मधुमेहमा हुने चयोपचयको गडबढीले शरीरको विभिन्न अंगहरुमा प्याथो फिजियोलोजिकल परिवर्तन ल्याई विभिन्न उपद्रवहरु जस्तै: मिर्गौला बिग्रिने, मोटोपना, डाइबोटिक रेटिनोप्याथी, डाइबोटिक न्युरोप्याथी, हाइपरटेन्सन आदि हुने हुन्छ।
डाइबेटिजलाई मुख्यतः टाइप-१ / टाइप-२ गरी विभाजन गर्न सकिन्छ। यसबाहेक जेस्टेशनल डाइबेटिज पनि हुन्छ, जुन जन्मजात हुन्छ। टाइप-२ मधुमेह मेटाबोलिक सिन्ड्रोम अन्तर्गत पर्दछ, जुन अव्यवस्थित खानपान र जीवनशैलीसंग सम्बन्धित हुन्छ। कतिपय अवस्थामा यो वंशानुगत पनि हुन्छ। टाइप-२ मधुमेह आहार विहार र स्वस्थ्यकर जीवनशैलीद्वारा नियन्त्रण गर्न सकिन्छ।
मधुमेह निदानको लागि रगतमा ग्लुकोजको जाँच गर्दा मुख्यतः चार किसिमले गरिन्छ र निम्नानुसार भए मधुमेह भएको ठहरिन्छ:
खाली पेटमा गरिने रगत जाँच – Fasting Plasma Glucose -FPG_ > 126 mg/dL
75 g Oral Glucose tolerance test-OGTT_ > 200 mg/dL
Random Plasma Glucose test > 200 mg/dL
HbA1C >6.5%
विश्व मधुमेह दिवस
हरेक वर्ष नोभेम्बर १४ तारीखको दिनलाई मधुमेह सम्बन्धि जनचेतना फैलाउने मुख्य उद्देश्यले विश्व मधुमेह दिवसको रुपमा मनाइन्छ। ई.सं. १९९१ देखि इन्टरनेशनल डाइबिटिज फेडरेशन र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसको रुपमा मनाउन थालिएको हो। नोभेम्बर १४ उनै सर फ्रेडेरिक बान्टिङ्गको जन्म दिन हो जसले चार्ल्स बेस्ट संग मिलेर सन् १९२२ मा इन्सुलिनको खोज गरि मानव जगतलाई मधुमेह र यसको उपद्रवबाट बच्न एउटा महत्वपूर्ण अस्त्र प्रदान गरे। संयुक्त राष्ट्र संघले ई.सं. २००६ मा एक प्रस्ताव पास गरि यस दिनलाई विश्व मधुमेह दिवसको रुपमा मनाउन अधिकारिकता प्रदान गर्यो।
हरेक वर्ष विश्व मधुमेह दिवसलाई एक विशेष नाराका साथ मनाइन्छ। यस वर्ष विश्व मधुमेह दिवसको नारा रहेको छ- 'मधुमेह स्याहारमा पहुँच—अहिले होइन भने कहिले'। यो नारा ई.सं. २०२१ देखि २०२३ सम्मको लागि तय गरिएको हो। विश्व मधुमेह दिवस मधुमेहको बारेमा जनचेतना फैलाउने एउटा अभियान हो र नीलो रंगको गोलाकार घेरा विश्व मधुमेह दिवसको अधिकारिक लोगो (चिन्ह) रहेकोछ, जुन सन् २००७ देखि प्रचलनमा ल्याइएको छ।
मधुमेहको समस्या विश्व भरि नै एउटा भयावह समस्या बन्दै गइरहेको छ। एउटा अध्ययनले देखाए अनुसार इस्वी सम्वत् २०३० मा टाइप २ मधुमेह रोगीको संख्या करिब ४३९ मिलियन हुने अनुमान गरिएको छ। Diabetes mellitus लाइ आयूर्वेदमा प्रमेह अन्तर्गतको वातज प्रमेह अन्तर्गत राख्न सकिन्छ। आचार्य सुश्रुतले मधुमेहको छुट्टै वर्णन पनि गरेका छन्।
आयुर्वेद अनुसार मधुमेहको उपचार रोगीको प्रकृति, वय आदिको विचार गरी गर्नुपर्दछ। मधुमेहको व्यवस्थापन तथा उपचारमा आहार विहारको ठूलो भुमिका छ। आयुर्वेदको भाषामा रोग तथा रोगीलाई हितकर आहार विहारलाई पथ्य र अहितकर आहार विहारलाई अपथ्य भनिन्छ। आहार भन्नाले खानपानलाई बुझाउँछ भने विहार भन्नाले दैनिकरुपमा गरिने क्रियाकलापलाई जनाउँछ। वैद्य जीवन ग्रन्थ अनुसार पथ्य आहार विहारको सेवन गर्दा रोग व्याधि लाग्ने सम्भावना कम हुन्छ र औषधि सेवन गर्नुपर्ने अवस्था कम हुन्छ तर अपथ्य सेवन गरिरहयो भने औषधि प्रयोगले पनि रोगव्याधिबाट छुटकारा पाउन सकिदैँन। तसर्थ मधुमेहमा खानपान, आहार विहार तथा योग प्रणायाम सहितको स्वस्थ जीवनशैलीको ठूलो महत्व छ।
आयुर्वेद संहिताहरुमा प्रमेह वा मधुमेहमा प्रयोग हुने अनेक एकल तथा मिश्रणयुक्त औषधिहरु उल्लेख गरिएको पाइन्छ। औषधिहरु उल्लेख गरिएका छन्। चरक संहितामा उल्लेखित एकल द्रव्यहरु मध्ये अमला, आम्र त्वक, गोक्षुर, गुर्जो, गुग्गलु, हर्रो, हलेदो, इन्द्रायण, अर्जुन, काफलको बोक्रा, केबुक, मञ्जिष्ठा, नीम, खयर, पिप्पली, तिनिश, तिन्दुक, विजयसार गरि जम्मा १८ प्रमेहघ्न द्रव्यहरुको आधुनिक अध्ययन अनुसन्धानबाट मधुमेहनाशक द्रव्यहरुको रुपमा सिद्ध भएका छन्।
त्यसैगरी आयुर्वेदमा मेटेरिया मेडिका भनिने मुख्य निघण्टु भावप्रकाश निघण्टुमा वर्णित ४२६ द्रव्यहरु मध्ये ४७ औषधजन्य वनस्पत्ति (द्रव्य) प्रमेहहर, प्रमेहघ्न वा मेहघ्न द्रव्यहरुको रुपमा उल्लेख गरिएका छन्। चरक संहितामा उल्लेखित वनस्पत्ति द्रव्यहरु लगायत अर्कपुष्पी, अतिबला, बाकुची, बृहन्लोनी, ब्राम्ही, चिरबिल्व, देवदारु, धव, द्रोणपुष्पी, गोजिह्वा, काकमाची, कम्पिल्लक, करञ्ज फल, कारवेल्लक वा तिते करेला, कटभी, कटुकी, महानिम्ब, मण्डूकपर्णी, मेषश्रृंगी वा गुडमार, मूवा, पलाश, पाषाणभेद, सर्जक, शितिवरा, वराहीकन्द,असुरो र वृद्धदारु भावप्रकाश निघण्टुमा प्रमेहमा उपयोगी भनि उल्लेख गरिएका छन्। त्रिकटु, त्रिफला र अष्टवर्ग पनि प्रमेहनाशक योगको रुपमा भावप्रकाश निभघण्टुमा उल्लेख गरिएको छ। भावप्रकाश निभघण्टुमा उल्लेख गरिएका प्रमेहहर द्रव्यहरु मध्ये ४३ वटा वनस्पत्तिहरु मधुमेहमा प्रभावकारी देखिएका छन्।
मधुमेह रोगको लागी पथ्य तथा अपथ्य आहार विहार
पथ्य आहार
१. धान्य वर्ग वा अन्न
गहुँ , षष्टिक शाली (साठी रशाली चामल), कोदो, कंगु, मधुलिका, समा, मकै,
२. शिम्बी वर्ग– चना, अरहर, गहत, मूँग, मसूरो।
३. शाक वर्ग - कुभिण्डो, करेला, परवल, बरेला (कर्कोटिक), सहजन, भन्टा, विम्बी, इन्द्रवारुणी, प्याज, लसुन, तितेलौकी, घिरौला काँचो केरा
४. हारीत वर्ग – लोनिका, सहजनको पात, द्रोणपुष्पीको पात, गुर्जोको पात, काकमाची पत्र,
५. फल वर्ग — खजुर, आरु, कपित्थ, जामुन, डुम्री, तरबूजा,
६. तैल वर्ग — सर्स्यूको तेल वा तोरीको तेल, तिलको तेल
७. अन्य वर्ग —तक्र (मोही), परेवा, तितिर आदि पँक्षीको मासु, कमल कन्द, खयर, अन्य तितो पदार्थ
पथ्य विहार - व्यायाम, योग, उबटन
अपथ्य आहार र विहार
• जतिखेर पनि खाइ रहने बानी
• नयाँ अन्न सेवन
• दही
• उखु
• घिउ सिमी
• मिष्ठान्न
• अत्यधिक जलसेवन
• बढी गुलियो, अमिलो पदार्थको सेवन
• विरुद्ध अन्नपान – विरुद्ध अन्नपान भन्नाले दुइ वा दुइ भन्दा बढी आहार द्रव्यको मिश्रण जसले हानिकारक प्रभाव उत्पन्न गर्दछ। जस्तै दूध र माछा एकसाथ सेवन गर्नु।
• मुत्रको वेग धारणा गर्नु
• धूम्रपान
• मद्यपान
• दिउँसो सुत्नु
मधुमेहमा उपयोगी आसन तथा प्रणायाम - नाडी शुद्धि प्रणायाम, भ्रामरी, कपालभाँति, मण्डूकासन, परिवृत्त त्रिकोणासान, बक्रासन, अद्र्धमत्स्येन्दा्रासन, उष्द्रासन, भुजङ्गासन, धनुरासन, सर्वाङ्गसन।
-(आयुर्वेद चिकित्सक केशरी आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुमा कार्यरत छन्।)