काठमाडौं- लगातार ज्वरो आएपछि काठमाडौं मैतीदेवीकी ४८ वर्षीया एक महिला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन्।
ज्वरोसँगै उनलाई टाउको दुख्ने, शरीर चिलाउने र आँखा दुख्ने समस्या थियो। समस्या बढ्दै गएपछि उनी कात्तिक १७ गते शुक्रराज अस्पताल पुगेकी थिइन्।
त्यही दिन कोटेश्वरका एक युवक पनि टाउको दुख्ने, ज्वरो आउने, शरीर तथा आँखा दुख्ने समस्या लिएर अस्पताल पुगे। उनलाई तीन दिनदेखि ज्वराले सताएको थियो।
दुवैको डेंगुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुको परीक्षण भयो। रिपोर्टले पनि उनीहरुलाई डेंगु भएको प्रमाणित गर्यो।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार कात्तिक/मंसिरमा काठमाडौंमा डेंगुको समस्या देखिने गर्दछ। काठमाडौंमा दसैँ आसपासदेखि नै डेंगुका बिरामी देखिन थालेको डा पुन बताउँछन्।
उनी भन्छन्, ‘विगतका दिनहरुमा हेर्यौँ भने काठमाडौंमा कात्तिक–मंसिरमा डेंगुका बिरामी भेटिने गरेको देखिन्छ। त्यस आधारमा हेर्दा अहिले पनि मंसिरसम्म डेंगुको समस्या देखिने अनुमान लगाउन सकिन्छ।’
काठमाडौंमा डेंगुका बिरामी देखिन थालेपनि शुक्रराज अस्पतालमा भने कमै मात्र बिरामी पुग्ने गरेका छन्। कोभिडका बिरामीको उपचार हुने भएकाले पनि शुक्रराज अस्पतालमा डेंगुका बिरामी धेरै नआएको हुन सक्ने उनले बताए।
काठमाडौंमा तथ्यांक संकलन सुरु, हालसम्म ३२ जना भेटिए
काठमाडौंका विभिन्न ठाउँमा डेंगु देखिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले तथ्यांक संकलन गर्ने काम सुरु गरेको छ। डेंगु फैलिएको हो वा डेंगुको अवस्था विगतका वर्षमा झैं हो भन्ने हेर्न पनि स्वास्थ्य कार्यालयले काठमाडौंको तथ्यांकलाई सुक्ष्म ढंगले हेर्न थालेको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले संकलन गरेको तथ्यांक अनुसार काठमाडौंमा हालसम्म ३२ जनामा डेंगुका बिरामी भेटिएका छन्। यद्यपि यो अन्तिम तथ्यांक भने होइन।
प्रभावित स्थानहरुबाट हाल तथ्यांक र जानकारी लिने काम भइरहेको कार्यालयकी भेक्टर कन्ट्रोल निरिक्षक गीता आचार्यले बताइन्।
उनले भनिन्, ‘काठमाडौंमा डेंगु फैलिएको खबर आएपछि हामीले आधिकारिक रुपमा तथ्यांक लिने र अवस्था बुझ्ने काम गरिरहेका छौँ।’
स्वास्थ्य कार्यालय काठमाडौंले उपलब्ध गराएको तथ्यांक अनुसार घट्टेकुलोमा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका छन्। घट्टेकुलोमा मात्र हालसम्म ६ जना बिरामी भेटिएको कार्यालयले जनाएको छ।
अनामनगरमा १, बागबजारमा २, बानेश्वरमा १, डिल्लीबजारमा १, घट्टेकुलोमा ६, जैसीदेवल, कमलपोखरी, कान्तिपथ, कोटेश्वर, पुतलीसडक, सामाखुशी र शान्तिनगरमा १/१, मैतीदेवीमा २ जना डेंगुका बिरामी फेला परेका छन्। यस्तै, काठमाडौं मात्र भनिएको तर ठेगाना नखुलेको ११ जना बिरामी पनि रहेको आचार्यले जानकारी दिइन्।
यी ३२ जना बिरामीहरु काठमाडौंका विभिन्न अस्पतालमा गरिएको परीक्षणका क्रममा भेटिएका हुन्।
वीर अस्पतालमा १०, ग्राण्डी इन्टरनेशनल अस्पतालमा ३, कान्ति बाल अस्पतालमा १, काठमाडौं मोडल अस्पतालमा ६, नेपाल मेडिसिटी अस्पतालमा ४, नर्भिक अस्पतालमा ६, ओम अस्पताल र शुक्रराज अस्पतालमा १/१ जना बिरामी भेटिएको कार्यालयको तथ्यांक छ।
घट्टेकुलोमा डेंगुका बिरामीहरु बढी देखिएकाले बिहीबार त्यहाँका सम्बन्धित निकायहरुसँग छलफल गर्ने तयारी भएको आचार्यले बताइन्।
उनले भनिन्, ‘हालसम्म घट्टेकुलोमा डेंगुका धेरै बिरामी देखिएका छन्। तर पनि काठमाडौंका कुन/कुन स्थानमा देखियो भन्ने बारेमा हामी बुझ्दै छौँ। घट्टेकुलोका सम्बन्धित व्यक्तिहरुसँग हामी छलफल गर्ने तयारीमा पनि छौँ।’
गएको आर्थिक वर्ष २०७७/७८ सालमा देशभर डेंगुका ४८९ जना बिरामी मात्र भेटिएका थिए। कोभिडका कारण पनि उक्त आर्थिक वर्षमा डेंगुका बिरामी कम देखिएको हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भनाई छ।
७७/७८ मा प्रदेश १ मा २८, प्रदेश २ मा ४, बागमतीमा ७०, गण्डकीमा १४५, लुम्बिनीमा ७३, कर्णालीमा ४८ र सुदूरपश्चिम प्रदेशमा १२१ गरी ४८० जना डेंगुका बिरामी भेटिएका थिए। त्यो वर्ष म्याग्दीमा सबैभन्दा धेरै ८९ जनामा डेंगु पुष्टि भएको थियो।
यस्तै, २०७३/७४ मा २ हजार १११, २०७४/७५ मा ८११ र २०७५/७६ मा ३ हजार ४२५ जना डेंगुका बिरामी भेटिएको महाशाखाको तथ्यांक छ।
आ.व २०७३/७४ मा प्रदेश १ मा ५४३, प्रदेश २ मा ६०९, बागमतीमा ९५, गण्डकीमा २४, प्रदेश ५ मा ८३६, कर्णालीमा ३ र सुदूरपश्चिम प्रदेशमा १ जना डेंगुका बिरामी भेटिएका थिए।
आ.व २०७४/७५ मा प्रदेश १ मा १९, प्रदेश २ मा १२, बागमतीमा ६४, गण्डकीमा ५६८, प्रदेश ५ मा १२०, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा २७ जना डेंगुका बिरामी भेटिएको महाशाखाले जनाएको छ।
यस्तै, आ.व २०७५/७६ मा प्रदेश १ मा ३ हजार १५२, प्रदेश २ मा १२, बागमतीमा १२६, गण्डकीमा २६, प्रदेश ५ मा ९६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १२ जना डेंगुका बिरामी भेटिएका थिए।
डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। घर वरिपरि फालिएका बाल्टिन, प्लास्टिक, गाडीका टायरहरुमा पानी जम्मा भए यो लामखुट्टेको लार्भाहरु प्रशस्त हुन सक्ने डा पुनले बताए।
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्।
निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु भएको डा पुनले बताए। उनका अनुसार डेंगु भएका बिरामीमा रगत जाँच गर्दा प्लेटेलेट्सको संख्या तिव्र गतिमा घट्ने गरेको पाइएको छ।
डेंगु फैलाउने लामखुट्टे र रोगको पहिचान समयमै गर्न सके प्रकोप तथा संक्रमित जटिल अवस्थामा जानबाट रोक्न सकिने डा पुन बताउँछन्। डेंगु देखिएको ठाउँमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नुपर्नेमा उनी जोड दिन्छन्।
‘खतराका संकेतहरु देखिने बित्तिकै चिकित्सकको परामर्श जानु पर्दछ। डेंगुको नियन्त्रण भनेको लामखुट्टलाई नष्ट गर्नु नै हो। डेंगु देखिएको ठाउँमा खोज र नष्ट गर अभियान सञ्चालन गर्नु पर्दछ’ उनले भने।