काठमाडौं - करिब सात महिनाअघि नियुक्त भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई सरकारले दैनिक कामकाजमा रोक लगाएको छ।
प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाजमा रोक लगाउने निर्णय गरेका हुन्। डा रावल गत चैत २२ गते उपकुपतिमा नियुक्त भएका थिए। डा रावलको नियुक्तिका विषयमा नै प्रश्न उठेपछि कामकाजमा रोक लगाइएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्रीको यो निर्णयप्रति उपकुलपति डा रावलको भने चित्त दुखाई छ। मन्त्री खतिवडाले उक्त निर्णय अरुको प्रभावमा आएर गरेको उनको भनाई छ।
उनी भन्छन्, ‘यो मन्त्रीले चाहेकोभन्दा पनि उहाँ आसपासका मानिस, बिचौलियाहरुको चलखेलले हो जस्तो लागेको छ।’
आफूले प्रतिष्ठानमा कुनै चलखेल या भ्रष्टाचार गरेको प्रमाण भेटिए कारबाहीका लागि तयार समेत रहेको उनले बताए। तर बिना कारण कामकाजमा रोक लगाउनु ठिक नभएको उनको गुनासो छ।
‘प्रतिष्ठानमा गएर मैले कुनै भ्रष्टाचार तथा राजनीति गरेको प्रमाणहरु भेटिए कारबाही गर्नु स्वाभाविक पनि हो। तर कसैले भनेको भरमा यस्तो निर्णय गर्नु हुँदैन। मलाई एक पटक मात्र पनि यो विषयमा सोधिएको भए हुन्थ्यो। किनभने म हरेक कुरालाई स्पष्ट पार्न सक्थें’ उनले भने।
यस विषयमा डा रावलसँग स्वास्थ्यखबरले थप कुराकानी गरेको छ। उनीसँग गरिएको कुराकानी उनकै शब्दमा:
दसैं अघि स्वास्थ्यमन्त्रीलाई बधाई दिन म पुगेको थिए। त्यो बेला हामीले कर्णाली प्रतिष्ठानको वृद्धि विकासका लागि के गर्न सकिन्छ? अपेक्षा के छ? कसरी अघि बढ्न सक्छौं लगायत विषयमा कुराहरु राखेका थियौँ। तर स्वास्थ्यमन्त्रीज्यूले एक शब्द पनि केही बोल्नु भएको थिएन।
जब मैले यो कामकाजमा रोक लगाउने समाचार देखेँ। यो मैले कल्पना नै गरेको थिइन्। यो खबरले म आफैँ पनि अचम्ममा परेको छु। उहाँले किन कामकाजमा रोक लगाउनु भयो मलाई पनि ठ्याक्कै थाहा छैन। म एक पटक काठमाडौं गएर यो विषयमा कुरा गर्छु।
यो मन्त्रीले चाहेको भन्दा पनि उहाँ आसपासका मानिस, बिचौलियाहरुको चलखेलले हो जस्तो लागेको छ। मेरो नियुक्तिमा देखिएको विवादको विषयमा त न्यायालयले निर्णय गर्ने कुरा हो। स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबिन गर्न समिति बनाउने भनेको छ। समिति बनाएर सबै विषयमा छानबिन गर्दा हुन्छ। किनभने मैले कर्णालीको विकासको लागि गरेको काम र मेहनतको कुरा पनि देखिन्छ।
म कर्णालीको स्वास्थ्यको विकासको लागि के गर्छु भनेर अघि बढेको मानिसलाई काम नगर्नू भनिन्छ भने त यो कल्पना बाहिरको कुरा हो। म यहाँ नियुक्त भइसकेपछि प्रतिष्ठानमा एमबीबीएसको लागि सिट ल्याउन पहल गरें। बीएमएस सुरु गरें। राम्रो प्राध्यापकहरु ल्यायौँ र अध्ययन कोर्षहरुको विकास गर्न लागि रहेका छौँ। कर्णाली क्षेत्रको स्वास्थ्य सेवाको विकासका लागि धेरै कामहरु गर्ने योजना छ। मैले मेरो तर्फबाट गर्न सक्ने सबै काम गर्ने प्रयास गरिरहेको छु।
प्रतिष्ठानमा गएर मैले कुनै भ्रष्टाचार तथा राजनीति गरेको प्रमाणहरु भेटिए कारबाही गर्नु स्वाभाविक पनि हो। तर कसैले भनेको भरमा यस्तो निर्णय गर्नु हुँदैन। मलाई एक पटक मात्र पनि यो विषयमा सोधिएको भए हुन्थ्यो। किनभने म हरेक कुरालाई स्पष्ट पार्न सक्थें। तर मलाई एक पटक पनि मलाई यो विषयमा सोधिएन। म त यहाँ कर्णाली प्रतिष्ठानको विकास र सेवा गर्नका लागि आएको व्यक्ति हुँ।
म अब मन्त्रीलाई नै भेटेर यो विषयमा कुरा गर्छु। किनभने शहरी क्षेत्रको सेवा सुविधा छाडेर ग्रामीण क्षेत्रको विकासको लागि यहाँ आएको म जस्तो व्यक्तिहरुलाई त यस्तो कामले आत्मबल गिराउने काम गर्छ।