नेपालमा आयुर्वेदिक औषधि परम्परागत एवं संस्थागत रुपमा निर्माण एवं उपयोग हुँदै आइरहेको छ। नेपाली बजारमा विभिन्न स्थानमा उत्पन्न हुने दुर्लभ एवं उपयोगी जडिबुटीहरु; भारतबाट आयातीत औषधिहरू; नेपाली कम्पनीका औषधिहरू; परम्परागतरुपमा वैद्यहरूद्वारा बनाइने औषधिहरू पाइन्छन्। हाम्रो आफ्नै परिवेश र वातावरणमा हुने जडीबुटीबाट सजिलै औषधि निर्माण गर्नसकिने हुनाले यो जन-जनमा लोकप्रिय छ। विशेष तालिम एवं शिक्षाबिना पनि सबैको पहुँच हुने हुनाले आयुर्वेद औषधिको गुणस्तरीयता दिन प्रतिदिन घट्ने क्रममा छ। बढ्दो शहरीकरणसँगै प्राकृतिक स्रोत र साधनको घट्ढो अवस्थाले पनि आयुर्वेदिक औषधिको निर्माणलाई कठिन बनाउँदै लगेको छ। सेवामूलक स्वास्थ्य पेशामा बढी नाफा कमाउने होडबाजीका कारण पनि जनतामाझ गुणस्तरीय औषधिको दिनानुदिन कमी हुँदैगइरहेको छ। यस्तो परिस्थितिमा हामी सबैले आ-आफ्नो स्तरबाट योगदान दिन आवश्यक देखिन्छ।
उपभोक्ता: सर्वप्रथम उपभोक्ताले गुणस्तरीय आयुर्वेद औषधि मात्र सेवन गर्न सुरु गर्नुपर्छ। कसैले भनेको भरमा वा मेडियामा गरिएको प्रचारको भरमा औषधि खरीद गर्ने प्रवृतिलाई छाड्नुपर्छ। सधैं गुणस्तरीय कम्पनीको आयुर्वेद औषधि खरिद गर्ने, आयुर्वेद विज्ञको सल्लाह बमोजिम मात्र औषधि खरिद गर्ने आदि बानीको बिकास भएमा बजारमा गुणस्तरीय औषधि मात्र भित्राउन ठूलो योगदान हुनेछ। उपभोक्ताले नै गुणस्तरहीन औषधिको बहिस्कार गरेपछि कसैको केहि चल्दैन।
नियामक निकाय : नेपालमा औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग, आयुर्वेद चिकित्सक संघ, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, जस्ता ठूला संस्था एवं निकायहरू छन्। तिनको पनि नेपाली बजारमा बिक्री वितरण हुने औषधिहरूको गुणस्तरीयताको जाँच गराउने, अनुगमन एवं निरिक्षण गर्ने जिम्मेवारीहरू हुन्छन्। तसर्थ यस्ता संघ-संस्थाहरूले विधिपूर्वक कार्य गरेमा आयुर्वेदिक औषधिको गुणस्तरीयता व्यवस्था गर्न ठूलो योगदान पुग्नसक्छ।
आयुर्वेद स्वास्थ्यकर्मी: नेपालमा आयुर्वेद क्षेत्रमा विभिन्न तहमा स्वास्थ्यकर्मीहरू कार्यरत हुनुहुन्छ। शैक्षिक योग्यताको आधारमा वैद्य, कविराज, आयुर्वेद चिकित्सक, आयुर्वेद विज्ञ जस्ता पदमा रहेर कार्यरत रहँदा आयुर्वेद सेवाको र औषधिको गुणस्तरीयतालाई प्राथमिकता दिनु वहाँहरूको साझा भूमिका हो। गुणस्तरहीन औषधिलाई निरुत्साहित गरेर सधैँ गुणस्तरीय औषधिलाई प्राथमिकता दिनुभएमा, जनताको स्वास्थ्यलाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुभएमा पक्कै पनि ठूलो योगदान पुग्नेछ।
आयुर्वेद व्यवसायी : अहिले आयुर्वेद स्वास्थ्यकर्मी एवं विज्ञभन्दा धेरै गुणा आयुर्वेद व्यवसायीहरू यस क्षेत्रमा सक्रिय हुनुहुन्छ। व्यवसायको मुख्य उद्देश्य नै आय आर्जन गर्ने भएता पनि जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्न जरुरी छ। गुणस्तरीय सेवा प्रदान गरेर दिर्घकालिन व्यवसाय गर्ने कि छणिक फाइदाको लागि मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने भन्ने कुराको मनन व्यवसायीले राम्ररी गर्न जरुरी छ।
आयुर्वेद औषधि निर्माण कम्पनी: नेपालमा आयुर्वेद औषधि कम्पनीहरु धेरै संख्यामा छन्। अधिकांश कम्पनीहरू आयुर्वेद विज्ञको अनुपस्थितिमा सञ्चालित छन्। कम्पनीहरू नाफा कमाउने उद्देश्यले सञ्चालित हुन्छन् र कम्पनीहरूको आफ्नै व्यवहारिक कठिनाइहरु हुने भएतापनि मानिसको स्वास्थ्यसँग सम्बन्धित व्यवसाय भएको हुनाले सचेत हुन जरुरी देखिन्छ। बजारमा जडिबुटीहरु को अभाव हुनु, गुणस्तरीय जडिबुटीहरुको अभाव हुनु, विभिन्न मिलावट हुनु, मूल्यमा एकरुपता नहुनु, आयुर्वेदीय औषधि निर्माणमा धेरै संख्यामा जडीबुटीहरूको प्रयोग हुनु जस्ता विभिन्न समस्याहरु कम्पनीहरुले भोग्नुपरेको छ। साथ-साथै विभिन्न टेण्डर पार्ने होडमा कम्पनीहरुले गुणस्तरहीन कमसल औषधिहरूको निर्माण गरी जिल्ला आयुर्वेद जस्ता संस्थाहरूमा पठाउने गरेको कुरा पनि देख्न र सुन्न पाइन्छ। यसले मानिसको स्वास्थ्यलाई जोखिम पुर्याउने मात्र नभई आयुर्वेदिक औषधिको गुणस्तरीयता र त्यसमा विश्वसनीयतालाई पनि कम गर्दै लगेको छ। जसले कालान्तरमा समग्र आयुर्वेद क्षेत्रलाई नै असर पुर्याउने देखिन्छ। कम लागतमा गुणस्तरीय औषधि निर्माण गर्न कुनै हालतमा सम्भव हुँदैन, यो कुरा संघ-संस्थाका पदाधिकारी एवं औषधि कम्पनीका व्यवसायी दुवैले राम्ररी बुझेका छन्। तापनि व्यवहारमा भने उतारिएको देखिँदैन। व्यवसायमा स्वास्थ प्रतिस्पर्धाको विकास हुनुपर्ने देखिन्छ।
गुणस्तरीय औषधि कुनैपनि चिकित्साको आधारस्तम्भ हो। आधार नै कमजोर भएपछि कुनैपनि पद्धति दिगो रहन सक्दैन। उपभोक्ता, नियामक निकाय, आयुर्वेद स्वास्थ्यकर्मी,एवं आयुर्वेद व्यवसायीको साझा प्रयासले मात्र आयुर्वेदिक औषधिको गुणस्तरीयता स्थापित गर्न सम्भव छ। हाम्रो मौलिक चिकित्सा पद्धति आयुर्वेद दिनानुदिन गुणस्तरहीन हुनबाट हामी सबैको साझा प्रयासबाट मात्र जोगाउन सकिन्छ। तसर्थ यस दिशामा सबैको ध्यान जानु अपरिहार्य देखिन्छ। समृद्ध राष्ट्रको आधार स्वास्थ्य जनता हुन् भन्ने कुरा सबैले मनन गर्नुपर्छ। जय गुरु धन्वन्तरी! जय आयुर्वेद!
-(डा क्षेत्री पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्र धुलिखेलका सह- प्राध्यापक हुन्)