आज अक्टोवर–२९, विश्व पक्षघात दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ। यस वर्षको मुख्य नारा ‘समय मूल्यवान’ भन्ने छ, जसको अर्थ समयमै पक्षघातको लक्षणहरु पहिचान गरेर बिरामीलाई अस्पताल लगेमा दिमागको नसाहरु निस्क्रिय हुनबाट बचाउन सकिन्छ। जसले गर्दा मस्तिष्कघात बाट हुने दीर्घगामी असरबाट हामी बच्न सक्छौं।
विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख जनालाई मस्तिष्कघात हुन्छ। यसले गर्दा वर्षेनी ५५ लाख जनाको मृत्यु हुने गरेको छ। हरेक ६ सेकेन्डमा एकजनालाई मस्तिष्कघातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मस्तिष्कको लक्षण देखिन्छ। संसारमा पक्षघात (स्ट्रोक) मुटुको रोगपछि दोस्रो ठूलो मृत्युको कारण हो। यो आकडा हेर्दा मस्तिष्कघातको असर भयावह रुपमा देखिन्छ।
खासगरी अल्पविकसित र विकासोन्मुख देशमा सम्पूर्ण मस्तिष्कघात मध्ये ७०–८० प्रतिशत मस्तिष्कघातका बिरामीहरु भेटिन्छन्।
नेपालको सन् २०१८ को आकडा हेर्दा सम्पूर्ण मृत्युको ९.७३ प्रतिशत मृत्यु (१६२०३ जना) स्ट्रोकको कारण भएको देखिन्छ र सोही वर्ष करिब ३२ हजार जना स्ट्रोकले प्रभावित भएको देखिन्छ। पछिल्लो सामुदायिक अध्ययनमा पक्षघातको प्रिभेलेन्स २.४ प्रतिशत देखिन्छ। हरेक एक लाखमा करिब ३ हजार जनामा समुदायमा पक्षघातको बिरामी भटिन्छन्।
पक्षघात किन हुन्छ? लक्षण के–के हुन्?
मस्तिष्कघात/पक्षघात भएकामध्ये करिब ६०–७० प्रतिशतमा मस्तिष्कमा रगत सञ्चालन हुने नसा बन्द हुनु हो। जसलाई हामी इस्केमिक स्ट्रोक भन्छौं। यस्तै २० –३० प्रतिशत रगतको नसा फुट्ने हुन्छ र त्यसलाई हेमोरेजिक स्ट्रोक भनिन्छ। नसा बन्द भएपछि जुन ठाउँको रगत सञ्चालन बन्द भयो त्यही मस्तिष्कको हिस्साले गर्नुपर्ने काममा असर आउँछ र विभिन्न लक्षणहरु देखिन्छ।
सामान्यतया मष्तिष्कघातका प्रमुख लक्षणलाई स.अ.ज.ब.ह.स भनेर सम्झन सजिलो हुन्छ।
मस्तिष्कघातका प्रमुख लक्षण यी हुन्
स –सन्तुलन गुम्नु
अ – अनुहार बांगो हुनु
ज –आँखाको ज्योती गुम्नु
ब – बोली लरबराउनु
ह – हात खुट्टा लुलो हुनु
स –समयमा उपचार गराउनु
माथि दिइएका मुख्य लक्षणमध्ये कुनै पनि लक्षण कुनै व्यक्तिमा देखिएमा मस्तिष्कघात हुनसक्छ भनेर तुरुन्त अस्पताल लैजानुपर्दछ।
पक्षघातका कारक तत्वहरु के–के हुन्?
विभिन्न जोखिम कारक तत्वले पक्षघात हुनसक्छ। उच्च रक्तचाप मधुमेह, मोटोपना, धूम्रपान, निस्क्रिय जीवनपद्धति, अस्वस्थ आहार र मुटुको चालको गडबडी मुख्य कारक तत्वहरु हुन्।
यी सबै कारक तत्वहरुलाई नियन्त्रण गरेमा हामी ८०–९० प्रतिशत मस्तिष्कघातबाट बच्न सक्छौं। यदि तपाईंलाई आफ्नो मस्तिष्कघातको हुन सक्ने सम्भावनाको आकलन गर्न इच्छा छ भने स्ट्रोक रिस्कोमिटर भन्ने मोबाईल एप निशुल्क नेपाली भाषामा पनि पाउन सकिन्छ।
मस्तिष्कघातको उपचार कसरी गरिन्छ?
कसैको परिवारको सदस्य वा समुदायको कसैलाई माथि उल्लेखित लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्दछ। अस्पतालमा आकस्मिक कक्षमा तपाईंको प्रारम्भिक जाँच गरिन्छ।
सिटी स्क्यान वा एमआरआई गरेर कुन प्रकारको मस्तिष्कघात हो, छुट्याइन्छ। यदि मस्तिष्कघात इस्केमिक हो भने रगतको ढिक्का फुटाउने औषधि दिएर बन्द भएको नसालाई खोल्ने प्रयास गरिन्छ। यदि ठूलो नसा बन्द छ भने औषधिको साथै बिरामीलाई क्याथल्याब रगतको ढिकालाई विशेष प्रकारको पाइप वा जाली प्रयोग गरेर नसा खुलाउने प्रयास गरिन्छ।
यदि मस्तिष्कघात भएको साढे चार घन्टा भित्र अस्पताल पुगियो भने मस्तिष्कघातबाट हुने दुरगामी असर र प्यरालाइसिसबाट बच्न सक्छौं। मस्तिष्कघात फेरि नदोहोरियोस् भनेर रगत पातलो गर्ने औषधिहरु दिइन्छ। साथै जोखिमका कारण विशेषगरी उक्त रक्तचाप र मधुमेहको उचित नियन्त्रण गरिन्छ। अस्पतालमा र अस्पतालबाट डिस्चार्ज भएपछि पनि फिजियोथेरापीका साथै पुनर्स्थापनामा विशेष जोड दिइन्छ।
नेपालमा पक्षघात उपचारको अवस्था र चुनौती
हाम्रो देशको भौगोलिक अवस्था तथा विकटता र उपचारको साधन स्रोतका साथै मानव शक्तिको अभाव पक्षघातको उपचारका चुनौतीहरु हुन्। यसका लागि सरकारी प्रतिवद्धताका साथै पक्षघातलाई जनसमुदायको आपतकालीन रोग पहिचान गरेर निम्न कदमहरु चाल्नुपर्ने देखिन्छ।
१. अहिले विद्यमान मानव स्रोत र सेवा सुविधाको आकलन गरेर आवश्यकता र विद्यमान अवस्थाको खाडललाई पहिचान गर्ने।
२. हरेक क्षेत्रीयस्तरमा कम्तिमा एक–एक ओटा पक्षघात उपचार गर्न मिल्ने अस्पतालको विकास गर्ने र उपयुक्त उपचार र जनशक्तिलाई तालिम गराई चरणवद्ध रुपमा पक्षघातको सेवा सुरु गर्ने।
३. जनमानसमा पक्षघातको जनचेतना फैलाउने।
४. देशव्यापीरुपमा पक्षघातको तथ्याङकलाई व्यवस्थापन गर्ने।
५. टेलिस्ट्रोक विकास गर्ने जसले गर्दा दुर्गम ठाउँमा यसको उपयोग गरी पक्षघातको बिरामीलाई समयमै पहिचान गरी उपचार गर्ने सकियोस्।
नेपाल पक्षघात संघले पक्षघात सम्बन्धी जनचेतना फैलाउनुका साथै विभिन्न ठाउँमा चिकित्सकहरुलाई तालिम र ज्ञानवर्धक कार्यक्रमहरु गर्दै आएको छ। नेपाल पक्षघात संघले युनिभर्सिटी अफ हाईडलबर्गको सहकार्यमा ‘नेपाल स्ट्रोक प्रोजेक्ट’ सञ्चालन गर्ने जमर्को गरिरहेको छ।
-(डा पौडेल स्नायु रोग विशेषज्ञ हुन्)