काठमाडौं- गत वैशाख २८ गते नेपालमा एकै दिन ९ हजार ४८३ जना कोरोना संक्रमित भेटिए। २२५ जनाको मृत्यु भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमध्ये यो नै दोस्रो लहरमा देखिएको सबैभन्दा उच्च अंक थियो।
स्वास्थ्य मन्त्रालयले चैत २ गतेदेखि यताको अवस्थालाई कोरोनाको दोस्रो लहर मानेको छ। चैतदेखि बढ्न थालेको संक्रमितको संख्या वैशाखमा ह्वात्तै बढेको थियो।
उक्त अवधिमा जटिल खालका संक्रमितले देशका विभिन्न अस्पतालका आइसीयू र भेन्टिलेटर भरिए। सहज रुपमा आइसीयू र भेन्टिलेटर पाउने अवस्था थिएन। अक्सिजन समेत अभाव भएको थियो। अधिकांश संक्रमितलाई गम्भीर बनाउनुमा कोरोनाको डेल्टा भेरियन्ट जिम्मेवार रहेको स्वास्थ्य मन्त्रालयले बताएको थियो।
डेल्टा भेरियन्ट एकदमै संक्रामक भएकाले तिव्र गतिमा फैलियो। निकै संक्रामक रुप लिएको कोरोनाको डेल्टा भेरिन्टले नेपालमा पनि थुप्रै मानिसहरु संक्रमित भए। जसका कारण सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा नै लागू गर्नुपर्यो।
तर हाल नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ।
शुक्रबार मात्र ७६४ जनामा कोरोना संक्रमित भेटिए। कुल १० हजार ६८८ जनाको परीक्षण हुँदा ७६४ जनामा संक्रमण पुष्टि भयो। सोही अवधिमा १० जना संक्रमितले ज्यान गुमाए।
यसअघि बिहीबार १० हजार ६७२ जनाको परीक्षण हुँदा ८०५ जनामा संक्रमण पुष्टि भएको थियो। ८ जनाले ज्यान गुमाएका थिए।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या भदौको अन्तिमबाट विस्तारै घट्न सुरु गरेको देखिन्छ। यद्यपि असोज १५ गतेसम्म संक्रमितको संख्या एक हजार माथि र १५ सय तल आसपास घुमेको देखिन्छ। त्यसपछि भने कोरोना संक्रमितको संख्या एक हजार तल झरेको मन्त्रालयको तथ्यांक छ।
वैशाख र जेठमा धेरैलाई संक्रमित बनाएको र गम्भीर अवस्थामा पुर्याएको डेल्टा भेरियन्ट नै अहिले संक्रमित भएका लगभग सबैजसोमा देखिएको छ। भाइरसको भेरियन्ट एउटै भएपनि संक्रमण दर कम हुँदै गएका कारण धेरैले नेपालमा डेल्टा भेरियन्ट कमजोर हुँदै गएको अनुमान लगाइरहेका छन्।
के साँच्चै नेपालमा डेल्टा भेरियन्ट कमजोर हुँदै गएको हो त?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेल भन्छन्, ‘डेल्टा भेरियन्ट कमजोर नै भएको भनिहाल्ने बेला भएको छैन।’
निकै संक्रामक रुपमा प्रस्तुत भएको डेल्टा भेरिन्टले एक व्यक्तिबाट ५ देखि ७ जना व्यक्तिलाई कोरोना सार्न सक्ने डा पौडेलले बताए। सोही कारण पनि डेल्टा भेरियन्ट छिटो फैलिएको उनले बताए। उनका अनुसार असोजको सुरुमा १० प्रतिशत हाराहारीमा रहेको कोरोना संक्रमण दर हाल १० प्रतिशतभन्दा कम भएको छ।
भाइरसको कमजोर भएको होइन भने किन संक्रमण कम भयो त?
डा पौडेलका अनुसार हाल कतिपयको शरीरमा खोप लगाएर र प्राकृतिक रुपमा एन्टीबडी बनेकाले कोरोना संक्रमण दर केही घटेको हो। नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सरकारले गरेको सेरो प्रिभिलेन्स अध्ययनमा ६८ प्रतिशत व्यक्तिमा कोरोना भाइरस विरुद्धको एन्टीबडीको विकास भएको पाइएको थियो।
नेपालमा नयाँ भेरियन्ट नआएसम्म कोरोना संक्रमणले भयावह स्थिति लिने संभावना भने केही कम रहेको उनले बताए।
‘यदी नयाँ भेरियन्ट आएन भने र खोप तथा प्राकृतिक रुपमा शरीरमा बनेको एन्टीबडीले केही महिना त काम गर्छ। त्यसैले अहिले तत्काल ह्वात्तै बढ्दै नजानुपर्ने हो’ उनले भने।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोला पनि हाल कोरोना संक्रमण दर घटेको बताउँछन्। व्यक्तिहरुमा भाइरस विरुद्धको एन्टीबडी विकास भएकाले पनि संक्रमितहरुको संख्या घटेको हुन सक्ने उनले बताए।
उनले भने, ‘समुदायमा पनि रोग प्रतिरोधात्मक शक्ति बनिसकेको तथ्यांकमा पनि आएको छ। त्यो हिसाबले पनि संक्रमितहरुको संख्या घटेको हो।’
हाल कोरोना संक्रमितको संख्या मात्र होइन, परीक्षणको दर पनि घटेको देखिन्छ। भदौ र असोज महिनामा कुल कति परीक्षण भए र कतिमा संक्रमण देखियो? यसलाई हामीले तथ्यांकमा उतारेका छौँ।
भदौ महिनाको तथ्यांक
भदौ १ – परीक्षण १७६८९, संक्रमित ३२७४, मृत्यु २७
भदौ २ – परीक्षण १६८३८, संक्रमित ३४०३, मृत्यु ४२
भदौ ३ – परीक्षण १६४३८, संक्रमित ३०७५, मृत्यु ३३
भदौ ४ – परीक्षण १७६५४, संक्रमित ३०४२, मृत्यु २६
भदौ ५ – परीक्षण १३०७५, संक्रमित २०७५, मृत्यु ३०
भदौ ६ – परीक्षण १२५१६, संक्रमित १९२०, मृत्यु २४
भदौ ७ – परीक्षण ११३२६, संक्रमित १८०१, मृत्यु २४
भदौ ८ – परीक्षण १४८१०, संक्रमित २५२५, मृत्यु ३५
भदौ ९ – परीक्षण १५२९०, संक्रमित २४८२, मृत्यु ४४
भदौ १० – परीक्षण १४३७४, संक्रमित २४३३, मृत्यु २६
भदौ ११ – परीक्षण १३११७, संक्रमित २०६५, मृत्यु २५
भदौ १२ – परीक्षण १३१७६, संक्रमित १८५७, मृत्यु २७
भदौ १३ – परीक्षण १०२९७, संक्रमित १३८८, मृत्यु २४
भदौ १४ – परीक्षण १६२३३, संक्रमित २२९५, मृत्यु १६
भदौ १५ – परीक्षण १२२२२, संक्रमित १६६४, मृत्यु २०
भदौ १६ – परीक्षण १४९३५, संक्रमित २०५२, मृत्यु २०
भदौ १७ – परीक्षण १४६५०, संक्रमित २००४, मृत्यु १६
भदौ १८ – परीक्षण १४३३४, संक्रमित १७५६, मृत्यु २३
भदौ १९ – परीक्षण ९८७५, संक्रमित १२६८, मृत्यु ९
भदौ २० – परीक्षण ७९७१, संक्रमित १०८९, मृत्यु २०
भदौ २१ – परीक्षण १५९७९, संक्रमित १८९७, मृत्यु २०
भदौ २२ – परीक्षण १५०३४, संक्रमित १६७७, मृत्यु २१
भदौ २३ – परीक्षण १३४५५, संक्रमित १६४०, मृत्यु १०
भदौ २४ – परीक्षण ११९४४, संक्रमित १२७१, मृत्यु १४
भदौ २५ – परीक्षण १०९१६, संक्रमित ११४६, मृत्यु २१
भदौ २६ – परीक्षण ९८४०, संक्रमित ९९४, मृत्यु १२
भदौ २७ – परीक्षण ११०१८, संक्रमित ९११, मृत्यु १३
भदौ २८ – परीक्षण १६५३९, संक्रमित १४८६, मृत्यु १६
भदौ २९ – परीक्षण १४४४३, संक्रमित १५६२, मृत्यु १९
भदौ ३० – परीक्षण १६८४४, संक्रमित १७६०, मृत्यु ७
भदौ ३१ – परीक्षण १५१७९, संक्रमित १५११, मृत्यु ११
असोज महिनाको हालसम्म तथ्यांक
असोज १ – परीक्षण १२३८५, संक्रमित १५५८, मृत्यु १०
असोज २ – परीक्षण ११३८५, संक्रमित १०६६, मृत्यु १६
असोज ३ – परीक्षण १००१३, संक्रमित ७३४, मृत्यु १२
असोज ४ – परीक्षण १३८१७, संक्रमित १०९५, मृत्यु ८
असोज ५ – परीक्षण १३६२२, संक्रमित १३३०, मृत्यु ५
असोज ६ – परीक्षण १३९३०, संक्रमित १४७८, मृत्यु ६
असोज ७ – परीक्षण १५२४३, संक्रमित १२३९, मृत्यु १३
असोज ८ – परीक्षण १५६९०, संक्रमित १४७६, मृत्यु ९
असोज ९ – परीक्षण १०५७९, संक्रमित ९५३, मृत्यु ६
असोज १० – परीक्षण १३७३६, संक्रमित ८३४, मृत्यु ९
असोज ११ – परीक्षण १५४८८, संक्रमित १२८२, मृत्यु ७
असोज १२ – परीक्षण १४००३, संक्रमित ११५८, मृत्यु १२
असोज १३ – परीक्षण १४५४१, संक्रमित ११५७, मृत्यु ८
असोज १४ – परीक्षण ११७६५, संक्रमित १०७८, मृत्यु १२
असोज १५ – परीक्षण १३३६८, संक्रमित १०६६, मृत्यु १३
असोज १६ – परीक्षण ८२१९, संक्रमित ८६७, मृत्यु ९
असोज १७ – परीक्षण १०९२०, संक्रमित ६७९, मृत्यु ७
असोज १८ – परीक्षण १०८७४, संक्रमित १०३०, मृत्यु १०
असोज १९ – परीक्षण १६०४२, संक्रमित ९६८, मृत्यु ६
असोज २० – परीक्षण १५४६५, संक्रमित १०४३, मृत्यु १२
असोज २१ – परीक्षण १०६७२, संक्रमित ८०५, मृत्यु ८
असोज २२ – परीक्षण १०६८८, संक्रमित ७६४, मृत्यु १०
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
चाडपर्वले जोखिम बढाउने चिन्ता
नजिकिदो चाडपर्वले कोरोनाको जोखिम बढाउने विज्ञहरुको चिन्ता छ। मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम कोरोनाबाट बच्ने र बचाउने मुख्य उपाय हुन्। तर यही जनस्वास्थ्यका मापदण्ड चाडपर्वमा लागू नहुने संभावना धेरै देखिन्छ।
नयाँ भेरियन्टको उत्पत्ति जुनै पनि बेला हुन सक्ने भएकाले सचेत रहन डा पौडेलको आग्रह छ। कोरोना संक्रमितको संख्या केही घटेपनि जोखिम उस्तै रहेको उनले बताए।
‘नयाँ भेरियन्ट कुनै बेला कतै उत्पत्ति हुन सक्छ।’ उनले भने, ‘त्यो नयाँ भेरियन्ट हाम्रो देशभित्र पनि हुन सक्छ। दसैँ मान्न आउने कोही आफन्तबाट पनि आउन सक्छ। कोरोनाको जोखिमलाई कम आकलन गर्न मिल्दैन।’
नेपालमा हालसम्म ३७ प्रतिशत अर्थात् ८० लाख ४१ हजार जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। पूर्ण मात्राको खोप लगाउनेको संख्या मात्र २९ दशमलव ६ प्रतिशत अर्थात् ६४ लाख ४१ हजार ६३२ छ।
अझै पनि धेरै व्यक्ति र १८ वर्ष मुनिका बालबालिकाले कोरोनाको खोप लगाउन बाँकी छ। त्यसैले कोरोना संक्रमणको जोखिमलाई कम आकलन नगर्न उनको आग्रह छ।
‘नयाँ भेरियन्ट आउने जोखिम छ। शत प्रतिशत खोप लगाउन सकिएको छैन। १८ वर्ष मुनिका बालबालिकालाई खोप दिन सकिएको छैन। त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ’ उनले भने।
डा अनुप बास्तोलाका अनुसार शुक्रराज अस्पतालमा कोरोना भएर भर्ना हुनेमा अधिकांशजसो खोप नलगाउने व्यक्तिहरु नै बढी छन्। खोप नलगाएका, खोप लगाएर पनि रोग प्रतिरोधात्मक क्षमता नबनेका व्यक्तिहरु कोरोनाको उच्च जोखिममा रहेको उनले बताए। सबै व्यक्तिलाई खोपले काम गर्छ भन्ने पनि नहुने उनले बताए।
संक्रमितको संख्या घट्दो क्रममा रहेपनि जोखिम कम भइनसकेको बताउँदै उनले भने, रोग प्रतिरोधात्मक शक्ति नबनेका, खोप नलगाएका र खोप लगाएरपनि रोग प्रतिरोधात्मक शक्ति नबनेका, पहिले संक्रमित नभएका व्यक्तिहरु जोखिममा छन्।
दसैँ मनाउँदा पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न उनको आग्रह छ। कोरोना संक्रमितको संख्या केही घटेपनि जोखिम कायमै रहेकाले मास्क लगाउने, हात सफा गर्ने र सामाजिक दूरी कायम गरेर मात्र दसैँ मनाउन उनको सुझाव छ।
‘कोरोनाको संक्रमणबाट परिवारको जोगाउन सबैको जिम्मेवारी हुन्छ। त्यसको लागि जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य छ। परिवारका ज्येष्ठ नागरिक, बालबालिकाहरु सबैभन्दा बढी जोखिममा हुन्छन्। त्यसैले धेरै भीडभाड नगरी मापदण्ड पालना गरेर मात्र दसैँ मनाउन मेरो आग्रह छ’ उनले भने।
डेल्टा भेरियन्ट के हो?
कोभिड-१९ को डेल्टा भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले भिरयन्ट अफ कन्सर्न भनेको छ। किनकि डेल्टा भेरियन्ट पहिचान गरिएका ठाउँहरुमा सो भेरियन्ट मानिसहरुबीच द्रुत गतिमा फैलिएको छ।
के डेल्टा भेरियन्ट बढी संक्रामक छ?
डेल्टा भेरियन्ट अघिल्लो भेरियन्टको तुलनामा दुई गुणा बढी संक्रामक रहेको पाइएको छ। अधिक संक्रामक भए पनि भिडभाड नगर्ने, अरुबाट भौतिक दूरी राख्ने, मास्क लगाउने अनि कुनै पनि सतह छोएपछि साबुन पानीले हात धुने गर्नाले डेल्टा भेरियन्टबाट बच्न सकिन्छ।
के कोभिड १९ विरुद्धका खोपहरु डेल्टा भेरियन्ट विरुद्ध प्रभावकारी छन्?
छन्। विश्व स्वास्थ्य संगठनबाट अनुमति प्राप्त कोभिड १९का खोपहरु डेल्टा भेरियन्ट सहित अन्य कोभिड १९का भेरियन्ट विरुद्ध प्रभावकारी छन्। यी खोपहरुले गम्भीर बिरामी हुने जोखिम न्यूनिकरण गर्न मद्दत गर्दछ। त्यसैले आ आफ्नो पालो अनुसार खोपको पूर्ण मात्रा लगाउनु जरुरी छ।
के बालबालिकाहरुलाई डेल्टा भेरियन्ट संक्रमण हुने अधिक सम्भावना छ?
डेल्टा भेरियन्टले विशेष गरी बालबालिकाहरुलाई संक्रमित गर्छ भन्ने कुरा साँचो होइन। सबै उमेर समूहहरुमा सो भेरियन्टको संक्रमणको दर बढेको पाइएको छ। डेल्टा भेरियन्ट अन्य भेरियन्टहरु भन्दा धेरै संक्रामक छ। भिडभाडमा जाने र खोप नलगाएका मानिसहरुलाई डेल्टा भेरियन्ट संक्रमण हुने बढी सम्भावना हुन्छ।
डेल्टा प्लस भेरियन्ट के हो?
मानव कोशिकाहरुमा प्रवेश गर्नका लागि भाइरसले प्रयोग गर्ने स्पाइक प्रोटिनमा नयाँ उत्परिवर्तन आएपछि यसलाई डेल्टा प्लस भेरियन्ट नामाकरण गरिएको हो। यो भाइरस डेल्टा भेरियन्टसँग निकै नजिकको भएकोले यसलाई ग्रीक वर्णमालाको अर्को अक्षरको साटो डेल्टा प्लस भनिएको हो।