एटोपिक डर्माटाइटीस संसारमा धेरै मानिसहरुमा देखिइने छालाको इन्फ्लाम्मएटोरी रोग हो। यो रोग भएका व्यक्तिमा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिन्छन्।
कस्ता मानिसहरुलाई एटोपिक डर्माटाइटिस हुने जोखिम बढी हुन्छ?
एटोपिक डर्माटाइटिस रोग बालबालिका र वयस्कहरुमा देखिन सक्ने भएता पनि धेरै जसो एक वर्षभन्दा मुनिका शिशुहरुमा देखिने गर्दछ।करिब ८० प्रतिशत बालबालिकाहरु ६ बर्षको उमेर पार गर्नु अघि नै यो रोगको सिकार हुने गर्दछन्।
वंशाणुगतरुपमै एटोपिक रोगको जोखिम भएका व्यक्तिहरुमा छालामा देखिने एटोपिक डर्माटाइटिससंगै रुगाखोकी लागिराख्ने, स्वास-प्रस्वासमा समस्या भइ दमको लक्षण देखिने र खानपिनको एलर्जी हुने जस्ता लक्षण देखिने गर्दछ।
के कारणले एटोपिक डर्माटाइटिस हुन्छ?
एटोपिक डर्माटाइटीस शरीरका कोषिकाहरुमा हुने वंशाणुगत 'जीन' र वातावरणबीचको परस्पर अन्तरक्रियाका कारण हुन्छ। वंशाणुगत 'जीन'का कारण छाला कमजोर भइ यसले आफ्नो संरचना कायम राख्नत नसक्ने भएकाले र बाहिरी किटाणु र वातावरणले छालामा संक्रमण हुने हुँदा यो रोग लाग्ने गर्दछ।
एटोपिक डर्माटाइटिसका लक्षणहरु के के हुन्?
एटोपिक डर्माटाइटिसका लक्षण मुलतः स्थायी नभइ 'आउने-जाने' हुने गर्दछ र यो प्रक्रिया लामो समय चल्छ। तीव्र रुपमा छाला रातो हुने, पानी फोका आउने, पानी बगिरहने जस्ता लक्षण देखिन्छन् भने समयसंगै छाला बाक्लो हुने, कालो हुने, छालामा धर्साहरु देखिने, कत्ला निस्किने, घाउ हुने र लामो समयमा रातोपना कम हुने गर्दछ।
शिशुहरुमा र बालबालिकामा देखिने एटोपिक डर्माटाइटिसका लक्षण के-के हुन्?
जन्मजात शिशुहरुमा र केही महिना उमेर पुगेका शिशुहरुमा कपालमा हुने खालको चायाको एलर्जी जस्तै: कपाल, काखी र काछमा छाला सुक्खा हुने, साह्रो हुने, जस्ता लक्षण देखिन्छन् र समयसंगै गाला र छालाका अन्य भागमा पनि असर पर्दछ।
बालबालिकाहरुमा भने घुँडा र कुइनो टेकेर हिड्न सक्ने भइसक्ने हुनाले घुँडा र कुइनोमा लक्षणहरु देखिने गर्दछ। उठेर हिड्न सक्ने बालबालिकाका हकमा भने शरीरका लचिला भागहरु जस्तै: कुइनोको अगाडीपट्टिको भाग र घुँडाको पछाडिपट्टिको भाग (जसमा धेरै लचकता हुन्छ र माडिने गर्छ)मा छाला रातो हुने, सुक्खा हुने, फुट्ने, छाला निस्किने र लामो समय भएमा साह्रो हुने हुन्छ।
बालबालिकामा र्याखल चुहिने र खानाको एलेर्जीकै कारणले मुखको वरिपरि रातो हुने, छाला सुक्खा हुने, फुट्ने, पानी फोका आउने, छाला निस्किने र दीर्घ रुपमा छाला सारो, कालो र धर्सायुक्त हुने हुन्छ।
वयस्कहरुमा एटोपिक डर्माटाइटिसका लक्षणहरु के-के हुन्?
वयस्कहरुमा पनि बालबालिकामा देखिने जस्तै शरिरका लचिला भागहरुमा र केहि मानिसमा फैलिएर शरीरका सबै भागमा लक्षण देखिन्छन्। दीर्घरुपमा छाला साह्रो हुने, कालो हुने, धर्सा आउने, गिर्खा आउने, आखीभुईँका रौँहरु झर्ने आदि हुन्छन्।
आफ्नो बाल्यावस्थामा एटोपिक डर्माटाइटिस भएका वयस्कहरुमा यो रोग पुरै निर्मूल हुन पनि सक्छ वा हत्केला/पैतालामा पुनः यो रोग देखिन सक्ने सम्भावना पनि हुने गर्दछ।
एटोपिक डर्माटाइटिसका जटिलता के के हुन्?
एटोपिक डर्माटाइटिस भएको छालामा रोग प्रतिरोधात्मक रसायन कम हुने हुँदा ब्याक्टेरिया, भाइरस र ढुसीको संक्रमण हुने गर्दछ। त्यस्तै छालामा पिप जम्ने, रगतमा संक्रमण फैलने, मुटु र दिमागमा संक्रमण फैलने खतरा पनि हुन्छ।
एटोपिक डर्माटाइटिस लामो समय रहने खालको रोग भएकाले यसले मानिसको दैनिकी एवं मानसिक स्वास्थ्यमा समेत प्रभाव पनि पार्न सक्छ।
एटोपिक डर्माटाइटिस कसरी पत्ता लगाउन सकिन्छ?
एटोपिक डर्माटाइटिसलाई छालामा देखिने लक्षणको आधारमा पत्ता लगाउन सकिन्छ र यसलाई कुनै विशेष प्रयोगशालाको जाँचको आवश्यकता पर्दैन।
एटोपिक डर्माटाइटिसका उपचार विधि के-के हुन्?
१. सामान्य उपचार विधिः
छालामा एलेर्जी गराउने लुगा, रसायन, आदि नलगाउने र एलेर्जी गराउने प्रकारको खाद्य पदार्थको सेवन नगर्ने। मानसिक स्वास्थ्यको लागि आवश्यक परे मनोचिकित्सकको सल्लाह लिने।
२. मुख्य उपचार विधिः
छाला ओसिलो पार्न र बाहिरी किटाणुलाई भित्र छिर्न नदिन मोइस्चराइजर (भ्यासलिन) लगाई राख्ने । किटाणुको संक्रमण रोक्न एन्टीसेप्टिक प्रयोग गर्ने र चिकित्सकको सल्लाह बमोजिम औषधि लगाउने।
चिलाउन कम गर्ने (एन्टी हिस्टमिन) औषधि र चिकित्सकको सल्लाह बमोजिमका अन्य औषधि सेवन गर्ने।
यसैगरि, प्रकाशका माध्यमबाट गरिने थेरापी (फोटो थेरापी) पनि एटोपिक डर्माटाइटिसको उपचारका लागि प्रयोग गरिन्छ।
-(डा पुडासैनी निजामती कर्मचारी अस्पतालमा कार्यरत छन्)